नेपाल आयल निगमले फायर फाइटिङसहितको अत्याधुनिक पार्किङ बनाउन लागेको छ। निगमले विराटनगर, थानकोट, भैरहवा, नेपालगञ्ज र अमलेखगञ्ज गरी पाँच ठाउँमा पार्किङ बनाउन लागेको हो।
पार्किङ बनाउन निगमले आठ करोड बजेट विनियोजन गरेको छ। पार्किङ चालू आर्थिक वर्ष २०७७/०७८ भित्रमै सम्पन्न गरिने निगका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
आयल इन्डष्ट्रिज सेफ्टी डाइरेक्टिभ स्ट्याण्ड (ओआइएसडी)को मापदण्डअनुरूप पार्किङ बनाइने छ। उनका अनुसार पार्किङ ट्यांकरको साइज अनुसार दुईदेखि तीन बिगाहा जग्गामा बन्ने छ।
एउटा पार्किङको लागत एकदेखि डेढ करोडसम्म रहेको छ। पार्किङ स्थलमा १२ फिटको वाल लगाइने छ। पार्किङमा सुरक्षाका सबै सामग्री राखिन्छ। गेटबाट सिधै लोड-अनलोड गर्न सकिने सुविधा रहने छ।
फायर सेफ्टीको लागि फायर हाइड्रेण्ट सिस्टम जडान गरिएको छ। जसले गर्दा ५० मिटर परसम्मको आगो निभाउन सकिन्छ। साथै, अर्थिङ सिस्टम पनि जडान गरिने छ। पार्किङभित्र ट्वाइलेट बाथरूमको पनि सबै व्यवस्था गरिएको हुने छ।
पार्किङ गर्ने स्थल नहुँदा बाटोमा पार्किङ गर्नु परेकाले आफ्नै पार्किङ बनाउन लागिएको निगमका प्रवक्ता उपाध्यायले बताए। अहिले निगमले आफ्नो जग्गा भएको ठाउँमा अत्याधुनिक पार्किङ बनाउन लागेको हो।
आफ्नो जग्गा नभएको ठाउँमा भने स्थानीय तहसँग समन्वय गरेर पार्किङ बनाइने निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए। ‘आफ्नो जग्गा भएको ठाउँमा त हामी बनाउँछौं। नभएका ठाउँमा पार्किङ बनाइदिन सहयोग गरिदिनु पर्यो भनेर स्थानीय तहलाई पत्र लेख्छु,’ उनले भने।
विराटनगरमा दुईदेखि तीन बिगाहा जग्गा पार्किङ बनाउन छुट्याइएको विराटनगर डिपो प्रमुख नकुलप्रसाद भण्डारीले बताए। विराटनगरमा पाँच बिगाहा १४ कठ्ठा निगमकै जग्गा छ।
उनका अनुसार पार्किङ बनाउन एक करोड छुट्याइएको छ। कोरोनाले गर्दा परामर्शदाता छान्न र ठेक्का लगाउन समय भएको उनले बताए। हाल भने निगमले त्यहाँ एक बिगाहा जग्गा भाडामा लिएर पार्किङ गरेको छ।
आफ्नो पार्किङस्थल बनेपछि त्यहीँ सार्ने योजना रहेको उनले बताए।
भैरहवामा १४ कठ्ठा जमिनमा पार्किङ बनाउन लागिएको भैरहवा डिपो प्रमुख प्रलयङ्कर आचार्यले बताए। उनका अनुसार पार्किङ बनाउन दुई करोड २३ लाखमा टेण्डर गरिएको छ। त्यहाँ ७० वटा गाडी अट्नेछन्। ‘काम सुरू भइसकेको छ। यो आर्थिक वर्षमा सकिन्छ,’ उनले भने।
नेपालगञ्जमा ३ हजार १८ स्क्वाएर मिटरमा पार्किङ बन्ने छ, जहाँ ६० देखि ६५ गाडी अटाउने छन्। थानकोटमा डेढ करोड लगानीमा १५ रोपनी जग्गामा नमूना पार्किङ बनिसकेको थानकोट डिपो प्रमुख प्रदीप यादवले बताए। उनका अनुसार त्यहीँ २५ रोपनी जग्गामा अर्कौ ठूलो पार्किङ बनाउन अध्ययन जारी छ।