गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेको छैन।
चोभार सुख्खा बन्दरगाह सञ्चालनमा ल्याउन छलफल भइरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए।
‘प्रधानमन्त्रीसँग छलफल भइरहेको छ। यही साता सञ्चालनमा आउँछ,’ समितिका निर्देशक गजुरेलले भने।
काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह बनाइएको हो। तर भन्सार कार्यालय नभएकाले यो सञ्चालनमा आउन सकेको थिएन।
हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैंकलगायत सबै निकाय आइसकेको उनले जानकारी दिए।
विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।
समितिका निर्देशक गजुरेलका अनुसार चार वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको छ। बन्दरगाहमा सवारी साधन प्रवेशका लागि ठूला तीन वटा गेट बनाइएको छ। साथै, बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको छ।
काठमाडौं-तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना कम छ।
सरकारले नाकाहरूमा भएका बन्दरगाहको लोड घटाएर कन्टेनरमा दोहोरो सिल लगाएर काठमाडौं ल्याएर बन्दरगाहलाई बिजनेस दिने तयारी गरिरहेको छ। तर त्यसले चोभारको बन्दरगाहलाई दिगो रूपमा सञ्चालनका लागि भने समस्या हुने देखिन्छ।
कार्यकारी निर्देशक गजुरेल पनि बन्दरगाह सञ्चालनका लागि फास्ट ट्रयाकको निर्माण महत्वपूर्ण मान्छन्।
‘फास्ट ट्रयाक निर्माण सम्पन्न भए तीनदेखि चार घन्टामा वीरगन्जबाट काठमाडौं कन्टेनर आउन सक्छन्। गजुरेल भन्छन्, ‘व्यवसायीलाई त्यसले धेरै सहयोग पुग्छ।’
काठमाडौं-तराई फास्ट ट्र्याकको प्रस्थान बिन्दु खोकनाबाट चोभारस्थित बन्दरगाहमा जोड्ने गरी सडक निर्माण हुँदैछ। परियोजनाले बागमती नदीमा पुल बनाएर बन्दरगाह जोड्ने तयारी गरिरहेको छ। फास्ट ट्रयाक बन्न भने अझै तीन वर्षभन्दा धेरै समय लाग्ने देखिन्छ।
तत्कालका लागि भने वीरगन्ज भन्सारबाट कन्टेनरहरूमा सिल लगाएर चोभार पठाउने विषयमा सरकारले व्यवसायीसँग छलफल गरिरहेको छ।
‘आयात गर्दा जाँचपास गर्न कहिलकाहीँ पालो कुर्नुपर्छ। त्यस्तोमा उनीहरूले पार्किङ चार्जसमेत तिर्छन्। चोभारको बन्दरगाहमा भन्सार जाँचपास हुँदा व्यवसायीलाई सहज र छिटो हुन्छ,’ गजुरेलले भने।
व्यवसायीहरू पृथ्वी राजमार्गको घुमाउरो बाटो पार गर्दै चोभारसम्म आउनेमा शंका छ। अझ कतिपय व्यवसायीले तराईका जिल्लामा गोदाम राख्ने गरेका छन्। यस्तोमा चोभार भन्सार सञ्चालनमा आए पनि दीगो हुनेमा शंका छ।
गजुरेल चोभारको बन्दरगाह निर्माण गर्दा भारतको रक्सौल हुँदै आउने रेल र चीनबाट आउने रेलको समेत मिलन बिन्दु हुने गरी निर्माण गरिएको बताउँछन्। त्यसैले अहिले निर्माण भएको बन्दरगाह भविष्यका लागि महत्वपूर्ण भएको उनको तर्क छ।
बन्दरगाहमा दोस्रो चरणको निर्माणका लागि समेत ठाउँ छाडिएको छ। गजुरेलका अनुसार भविष्यमा थप गोदाम र सामान जाँच गर्ने ठाउँ बनाउन सकिन्छ।
बन्दरगाहको नजिकै नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय भवनसमेत रहनेछ।