चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा वैदेशिक लगानी प्रतिबद्धता ३३ अर्ब ३७ करोड रूपैयाँ आएको छ।
यो गत आर्थिक वर्षको सोही अवधि (साउनदेखि चैतसम्म) को तुलनामा २७ प्रतिशत बढी हो। गत साउनदेखि चैतसम्ममा एक सय ४२ परियोजनाका लागि २६ अर्ब १४ करोड रूपैयाँ प्रतिबद्धता आएको थियो।
उद्योग विभागको तथ्यांकअनुसार यसपालि कृषि तथा वनजन्यमा चार, ऊर्जामा आधारित एक, सूचना प्रविधिमा छ, उत्पादनमूलक २७, सेवामा आधारित ५४ र पर्यटन क्षेत्रमा ६२ गरी एक सय ५४ वटा परियोजनामा प्रतिबद्धतामा आएको छ।
यी उद्योग सञ्चालनमा आए एक हजार जनाभन्दा बढीले रोजगारी पाउने विभागको तथ्यांकले देखाएको छ।
सबभन्दा बढी चिनियाँ लगानीकर्ता आकर्षित देखिएका छन्।
चिनियाँ लगानीकर्ताले कृषि तथा वनजन्यमा चार, सूचना प्रविधिमा दुई, उत्पादनमूलकमा १७, सेवामा आधारित ४७ र पर्यटनमा ५२ गरी एक सय २२ परियोजनामा २४ अर्ब ५५ करोड रूपैयाँ लगानी प्रतिबद्धता गरेका छन्।
त्यस्तै दोस्रोमा भारतीय लगानीकर्ताले उत्पादनमूलकमा छ, सेवामा आधारित दुई र पर्यटनमा एक गरी नौ वटा परियोजनामा एक अर्ब ७७ करोड रूपैयाँ प्रतिबद्धता गरेका छन्।
भियतनामबाट पर्यटन क्षेत्रका लागि पाँच करोड रूपैयाँ प्रतिबद्धता आएको छ।
अमेरिकी लगानीकर्ताबाट सूचना प्रविधिमा तीन, उत्पादनमूलकमा दुई, सेवामा आधारित एक र पर्यटन क्षेत्र तीन गरी नौ वटा परियोजनामा ४० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ।
अस्ट्रेलियन लगानीकर्ताले सूचना प्रविधि, सेवा र पर्यटनमा एक-एक गरी तीनवटा परियोजनामा ३४ करोड ५० लाख रूपैयाँ प्रतिबद्धता व्यक्त गरेका छन्।
फ्रान्सेली, इटालियन, स्वीस लगानीकर्ताबाट पर्यटन क्षेत्रका लागि पाँच/पाँच करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ।
जापानी लगानीकर्ताबाट उत्पादनमूलक उद्योगका लागि पाँच करोड र सिंगापुरबाट एक अर्ब रूपैयाँ लगानी प्रतिबद्धता आएको छ।
दक्षिण कोरियाबाट सेवामा आधारित उद्योगका लागि पाँच करोड, स्पेनबाट चार अर्ब ८५ करोड लगानी प्रतिबद्धता आएको छ।
नेदरल्यान्ड्सबाट ऊर्जामा आधारित उद्योगका लागि पाँच करोड ६२ लाख रूपैयाँ, बेलायती लगानीकर्ताबाट सेवा र पर्यटन क्षेत्रमा एक-एक गरी दुइटा परियोजनाका लागि १० करोड रूपैयाँ प्रतिबद्धता आएको विभागको तथ्यांकले देखाएको छ।
परियोजनामध्ये अधिकांश लगानीकर्ताले होटलमा चासो देखाएका छन्।
विभागमा दर्ता भएका एक सय ५४ वटा परियाजनामध्ये सबभन्दा बढी, ६४ वटा होटलका छन्।
त्यस्तै कार्गो, विद्युतीय उपकरण बनाउने, दुईपांग्रे सवारीको एसेम्बल (जडान), मास्क उत्पादन, तयारी पोशाक, निर्माण सेवा, सफ्टवेयर विकास, वधशाला तथा मासु प्रशोधन लगायत परियोजना सञ्चालन गर्न प्रस्ताव आएको विभागको तथ्यांकले देखाएको छ।
यसअघि लगानीकर्ताहरू उत्पादनमूलक उद्योगमा केन्द्रित थिए।
संसारभर कोरोना महामारीका कारण पर्यटन क्षेत्र शिथिल भएको छ। यस्तोमा होटलमा लगानी गर्ने जोखिम धेरैले उठाउन चाहँदैनन्। तर यही क्षेत्रमा लगानी प्रस्ताव धेरै आउँदा विदेशीहरूले नेपालमा पर्यटन सम्भावना प्रचूर देखेका हुन सक्ने होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन्।
'कोरोना महामारीका कारण संसारभरका मान्छे भ्रमण गर्न पाइरहेका छैनन्। यस्तोमा महामारीपछि उकुसमुकुस भएका मान्छेहरू धेरै घुम्न जाने सम्भावना छ। योसँगै होटल क्षेत्र फस्टाउने सम्भावना अधिक भएकाले पनि व्यवसायीहरूले अहिल्यैदेखि होटल दर्ता गरिरहेको हुन सक्छन्,' शाहले भने।
उनका अनुसार अहिले दर्ताको प्रक्रिया मात्र भएको छ। लगानीकर्ताले दर्ता गर्दै बैंकिङ प्रक्रिया अगाडि बढाउँछन्। सञ्चालनमा आउन समय लाग्छ।
खासगरी चिनियाँ, अमेरिकी, भारतीय, भियतनामी, इटालियन, फ्रान्सेली, स्वीस, अस्ट्रेलियन र बेलायती लगानीकर्ताले नेपालमा होटल खोल्न चासो देखाएका छन्।
विभागको तथ्यांकअनुसार सबभन्दा बढी चिनियाँ लगानीकर्ताले ५४ वटा होटलमा लगानी गर्ने भनेका छन्।
त्यस्तै अमेरिकीले तीन, फ्रान्सेली, भारतीय, भियतनामी, इटालियन, स्वीस, अस्ट्रेलियन र बेलायती लगानीकर्ताले एक-एक वटा होटल खोल्ने प्रस्ताव गरेका छन्।
कुल परियोजनाका लागि आएको ३३ अर्ब ३७ करोड रूपैयाँमध्ये दस अर्ब ३८ करोड रूपैयाँ होटलले ओगटेको छ। ५४ वटा होटलका लागि चिनियाँ लगानीकर्ताले मात्र नौ अर्ब ७० करोड खर्च गर्ने भनेका छन्।
त्यस्तै अमेरिकी लगानीकर्ताले तीन होटलमा १५ करोड रूपैयाँ लगानी गर्ने बताएका छन्। अस्ट्रेलियन लगानीकर्ताले एउटा होटलमा २२ करोड ५० लाख लगानी गर्ने बताएका छन्। भारतीय, भियतनामी, इटालियन, फ्रान्सेली, स्वीस, र बेलायती लगानीकर्ताले पाँच-पाँच करोड रूपैयाँ लगानी गर्ने बताएका छन्।
भारतीय लगानीकर्ताले स्वदेशी उद्योगीसँग सहकार्य गरी ९६ बेड र ३० सिटको रेस्टुरेन्ट भएको होटल खोल्ने भएको छ। भियतनामले शतप्रतिशत आफ्नै लगानीमा २४ बेड र ८० सिट रेस्टुरेन्ट भएको होटल खोल्ने भएको छ। यो सञ्चालनमा आए ३५ जनाले रोजगार पाउने छन्।
फ्रान्सेली लगानीकर्ताले शतप्रतिशत विदेशी लगानीमा ३० सिटको रेस्टुरेन्ट खोल्ने भएका छन्। यो सञ्चालनमा आए १५ जनाले रोजगारी पाउने देखिएको छ।
इटालियन लगानीकर्ताले २३ बेडको होटल र एक सय सिटको रेस्टुरेन्ट खोल्ने बताएका छन्। यसमा स्वदेशी र विदेशी लगानीकर्ता सहकार्य हुने छ। यो सञ्चालनमा आए ५६ जनाले रोजगारी पाउने छन्।
अस्ट्रेलियन लगानीकर्ताले ४८ बेडको होटल र ५० सिटको रेस्टुरेन्ट खोल्ने भएका छन्। यसमा २५ प्रतिशत स्वदेशी र ७५ प्रतिशत विदेशी लगानी हुनेछ। यो सञ्चालनमा आए ५७ जनाले रोजगारी पाउने विभागको तथ्यांकले देखाएको छ।
बेलायती लगानीकर्ताले शतप्रतिशत विदेशी लगानीमा २३ बेडको होटल र एक सय सिटको रेस्टुरेन्ट खोल्ने भएका छन्। यो सञ्चालनमा आए २१ जनाले रोजगारी पाउने छन्।
स्वीस लगानीकर्ताले शतप्रतिशत विदेशी लगानीमा ३० बेडको होटल र ३० सिटको रेस्टुरेन्ट खोल्ने भएका छन्।
अमेरिकी लगानीकर्ताले सञ्चालन गर्ने एउटा होटल ३५ बेड र रेस्टुरेन्ट ६० सिट क्षमताको हुनेछ। होटलमा पचास प्रतिशत स्वदेशी र पचास प्रतिशत विदेशी लगानी हुने भनिएको छ। त्यस्तै अर्को २४ बेडको होटल र एक सय सिटको रेस्टुरेन्ट हुनेछ। यसमा भने शतप्रतिशत अमेरिकी लगानी रहनेछ। एक अर्को ३० बेडको होटल र ३० सिटको रेस्टुरेन्ट हुनेछ। यो शतप्रतिशत अमेरिकी लगानी रहने विभागको तथ्यांकले देखाएको छ।
अमेरिकी लगानीका यी होटल सञ्चालनमा आए क्रमशः ३५, ५० र १८ जनाले रोजगारी पाउने छन्।
चिनियाँ लगानीकर्ताले सञ्चालन गर्ने होटल भने कुनै मझौला र कुनै साना छन्। ती होटलमा ३५ देखि ९५ बेड र १५० देखि ८० सिट क्षमताको रेस्टुरेन्ट हुनेछ।
प्रस्तावित प्रायः सबै होटल काठमाडौं, भक्तपुर लक्षित छन् भने भारतीय लगानीकर्ताले पर्सामा खोल्ने बताएको छ।