रूसले युक्रेनमाथि सैन्य हमला गरेपछि अन्तर्राष्ट्रिय बजारमा विभिन्न वस्तुहरूको मूल्य बढ्ने क्रम जारी छ। पेट्रोलियम पदार्थ, लत्ताकपडा, खाद्यान्न मात्र होइन, यसले छपाई कागजको मूल्य पनि बढेको छ।
कागज उत्पादन गरेर आपूर्ति गर्नेमा रूस एक प्रमुख राष्ट्र हो। रूस युद्धमा होमिएकाले त्यहाँ कागज उत्पादन कम भई अन्तर्राष्ट्रिय बजार प्रभावित भएको हो। यसको असरबाट नेपाल पनि अछुतो छैन।
छपाई कागजको मूल्य वृद्धिले नेपालका छापाखाना र खासगरी पत्रपत्रिकाहरू प्रभावित भएका छन्। उनीहरूले भारत, कोरिया लगायत देशबाट छपाई कागज आपूर्ति गर्ने भए पनि विश्व बजारमा भएको मूल्यवृद्धिले स्थानीय बजार प्रभावित छ।
अहिले विश्व बजारमा मूल्य बढेकाले आवश्यक मात्रामा कागज ल्याउन नसकेको गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले जानकारी दिए।
'हामीले खोलेको टेन्डरमा कम्पनीहरूले निवेदन हालेका छैनन्,' उनले भने, 'अहिले मूल्य केही बढाएर खोलेका छौं, तै पनि निवेदन आएको छैन।'
गोरखापत्र लगायत सकरकारी संस्थाले सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आह्वान गरेर वस्तुहरू किन्नु पर्छ। सरकारी प्रक्रियाका कारण आफूहरू प्रतिस्पर्धी मूल्यमा जान नसकेको उनले बताए।
'कतिसम्म उच्च मूल्यमा जान सकिन्छ भन्ने ऐनले तोकेको छ। बजारमा मूल्य बढे पनि, हामी तोकेभन्दा बढी मूल्यमा जान सक्दैनौं,' उनले भने।
सरकारी नीति नियम र खरिद ऐनअनुसार सामान किन्न पर्ने भएकाले निजी कम्पनीलाई जस्तो सहज नहुने उनको तर्क छ। निजी कम्पनीले जस्तो आफूहरूले बार्गेनिङ गरेर किन्न नसक्ने पनि उनले जानकारी दिए।
'हामी बजार मूल्यअनुसार टेन्डर खोल्न सक्दैनौं,' उनले भने, 'त्यसैले कोही कम्पनीले चासो देखाएका छैनन्। गोरखापत्रलाई मात्रै होइन, अन्यलाई पनि त्यस्तै समस्या छ। फरक यत्ति हो निजीलाई सहज छ, उनीहरू तत्काल किनेर ल्याउन सक्छन्।'
उनका अनुसार गोरखापत्रमा दुई-तीन महिनादेखि कागज अपुगको समस्या थियो। पहिले कागज अपुग हुँदा संस्थानले साल्ट ट्रेडिङबाट ल्याएको थियो। अहिले संस्थानसँग केही दिनलाई पुग्ने कागज मौज्दात रहेको उनले जानकारी दिए।
'कागज अभावमा गोरखापत्र बन्द त हुँदैन, हामी स्वदेशी कम्पनीसँग सहकार्य गर्दै छौं,' उनले भने।
साल्ट ट्रेडिङसँग पनि पत्रिका छपाइको कागज भनेजति मात्रामा छैन। उसले सम्झौता भएका कम्पनीहरूलाई मात्र कागज उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक पंकज जोशीले जानकारी दिए। मूल्य बढेकाले धेरै कागज नल्याइएको र उपलब्धता कम भएको उनको भनाइ छ।
'कागजको भाउ बढेको छ। हामीले सम्झौता गरेका कम्पनीबाट ल्याइरहेका छौं,' उनले भने, 'अनि सम्झौता भएकालाई नै दिइरहेका पनि छौं। नयाँ माग्न आउनेलाई दिएका छैनौं।'