वीरगन्जको सुख्खा बन्दरगाह भन्सार कार्यलय, सिर्सियाले भन्सार छलेर विदेशी चुरोट ल्याउने आयातकर्ता र भन्सार एजेन्टलाई पक्राउ गर्न माग गरेको छ।
बारम्बार पत्राचार गरी भन्सार कार्यालयमा उपस्थित हुन बोलाउँदा पनि नआएपछि जिल्ला प्रहरी कार्यालय पर्सासँग पक्राउ पुर्जी माग गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए।
'हामीले पटक–पटक कार्यालयमा बोलायौं। सम्पर्कमा नआएपछि पक्राउ गर्न भनेका हौं,' भण्डारीले भने।
उनका अनुसार साउन ४ गते कम्पनी सञ्चालक र भन्सार एजेन्टका नाममा पक्राउ पुर्जी माग गरिएको छ। अवैध रूपमा ल्याएको विदेशी चुरोटको कर तिर्न भन्सारले आयातकर्ता र एजेन्टलाई ताकेता गरेको हो।
एक महिनाअघि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईबाट एक कन्टेनर मुङ दाल आएको थियो। भन्सारले उक्त कन्टेनरको अघिल्लो भागमा दाल र पछाडिको भागमा विदेशी चुरोट राखिएको पाएको थियो। कन्टेनरमा चार सय कार्टन चुरोट फेला परेको भण्डारीले जानकारी दिए। उक्त परिमाणको चुरोटको कर १० करोड ७२ लाख रूपैयाँ निर्धारण गरिएको छ। चुरोट भन्सार कार्यालयले बरामद गरेको छ।
सामान्यतया कृषि तथा खाद्यान्नजन्य कन्टेनरलाई कडाइ साथ जाँच गरिँदैन। तर उक्त कन्टेनरमा शंका लागेकै कारण जाँच गरिएको उनी बताउँछन्। उनले शंका गर्नुपर्ने दुई प्रमुख कारण रहेको बताए।
पहिलो, दुबईबाट सामान आउँदा प्रायजसो २० फुट कन्टेनरमा आउँथ्यो। तर त्यो कन्टेनर ४० फुटको थियो।
दोस्रो, अहिलेसम्म दुबईबाट मुङ दाल आएको थिएन।
'हामीले शंका गरेर जाँच गर्ने भनेपछि एजेन्टहरू डराए,' भण्डारीले भने, 'त्यसले पनि हामीलाई थप मद्दत गर्यो।'
सम्बन्धित एजेन्ट र आयातकर्ता कम्पनीको इजाजत पत्र निलम्बनमा राखिएको भन्सारले जानकारी दिएको। भन्सार कार्यालयका अनुसार मुङ दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौं टोखास्थित कालिका इन्टरप्राइजेज हो। यसका सञ्चालक नवराज घिमिरे हुन्। भन्सार क्लियरिङ एजेन्ट निरञ्जन घिमिरे छन्।
प्रमुख भन्सार अधिकृत भण्डारीका अनुसार पछिल्लो समय चुरोटमा लाग्ने कर बढ्दै गएपछि आयातकर्ताले भन्सार छल्न थालेका छन्।