अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले नेपालस्थित अमेरिकी दूतावास र अमेरिकी वाणिज्य विभागअन्तर्गतको कमर्शियल सर्भिसको सहकार्यमा यूएस–नेपाल आइसिटी क्षेत्रमा व्यापार र लगानीका अवसरहरू विषयक वेबिनार सम्पन्न गरेको छ।
कार्यक्रममा एमच्याम, नेपाल उद्याग परिसंघ (सिएनआई), नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई), नेपाल एसोसिएन फर सफट्वेयर एण्ड आइटी सर्भिस कम्पनी (नासिट) का साथै सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित करिब १०० जनाको उपस्थिति थियो।
त्यस अवसरमा नेपाल र अमेरिकाका सरकारी तथा निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूले साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (एआई), डाटा केन्द्र, तथा अन्य नयाँ प्रविधिहरूमा व्यापार र लगानी विस्तारका सम्भावनाबारे धारणा राखे।
द्विपक्षीय व्यापार सहकार्यलाई प्रोत्साहन गर्ने, नेपालको डिजिटल परिवर्तनलाई सघाउने तथा नेपाली उद्यमीहरूलाई अमेरिकी प्रविधि क्षेत्रसँग जोड्ने उद्देश्यले वेबिनार आयोजना गरिएको आयोजक एमच्यामको भनाइ छ।
कार्यक्रमले अमेरिकी लगानीकर्ताहरूलाई नेपालको तीव्र गतिमा विकास हुँदै गएको सूचना प्रविधिका क्षेत्रबाट अधिकतम फाइदा लिन सकिने सम्भावनालाई पनि उजागर गरेको एमच्यामले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपाल सरकारको डिजिटल फ्रेमवर्क २.० बारे चर्चा गर्दै सूचना प्रविधि दशकले लिएको लक्ष्य हासिल गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए।
उनले नेपालको लोकतान्त्रिक मूल्यमान्यता, खुला बजार नीति र डिजिटल बजार विस्तारप्रतिको प्रतिबद्धतालाई अमेरिका–नेपाल व्यापार साझेदारीले सहयोग पुर्याउनेमा जोड दिए।
नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलरले नेपालमा सूचना प्रविधिमा भइरहेको विकासको प्रशंसा गरे।
उनले सगरमाथामा सरसफाइका लागि प्रयोग भएका नेपाली ड्रोन प्रविधि र नेपालमा स्थापित विश्वस्तरीय एनिमेशन स्टुडियोहरूले गरेको कामको खुलेर प्रशंसा गरे।
'सूचना प्रविधिको क्षेत्रमा नेपाल सम्भावनायुक्त बजार हो, जहाँ अपार प्रतिभावान जनशक्ति छन्,' उनले भने।
एमच्याम नेपाल सदस्य तथा वल्र्डलिंक कम्युनिकेसन्सका संस्थापक तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले अमेरिकी प्रविधिको प्रयोगबाट वल्र्डलिंकले ग्रामीण भेगमा इन्टरनेट पुर्याउन सकेको बताए।
'नेपालीहरूले अमेरिकी ब्रान्डमाथि विश्वास गर्छन्,' उनले भने, 'अमेरिकासँगको साझेदारी हाम्रो व्यापारिक वृद्धिको आधार हो।'
सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरूले वेबिनार आयोजना गरेकामा धन्यवाद दिँदै कार्यक्रमले यस क्षेत्रमा काम गर्नेका लागि हौसला प्रदान गरेको बताए।
'वेबिनार निकै राम्रो भयो, यसले नेपालमा अमेरिकासँग साझेदारी र लगानीमार्फत् वृद्धि सम्भावना पहिचानमा सहयोग गरेको छ, अमेरिकी कमर्शियल सर्भिसको सहयोग पनि उल्लेखनीय रह्यो,' मोसेसका प्रमुख कार्यकारी अधिकृत (सिएओ) तथा एमच्यामका संस्थापक सदस्य मंगेशलाल श्रेष्ठले भने, 'नेपालका लागि सूचना प्रविधिको विकास र भविष्यको आर्थिक वृद्धिसँग जोडिएको छ।'
डियरहोल्डका सञ्चालन निर्देशक सचिन कर्णजितले वेबिनारले दुवै देशमा भइरहेको प्रविधिको विकासलाई जोड्न सहयोग पुगेको बताए।
उनले भने, 'एक्जिम बैंक तथा सेलेक्टयूएसएमार्फत् हुनसक्ने अमेरिकी सहयोगबारे जानकार हुने अवसर प्राप्त भयो, यसले नेपालमा स्वास्थ्यसँग सम्बन्धित विश्वस्तरीय प्रविधि निर्माणमा महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास छ।'