लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पर्यटन नीति निर्माणमा जुटेको प्रदेश सरकारले नीति निर्माणका लागि सुझाव संकलन सुरू गरेको छ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पर्यटनमैत्री नीति कसरी निर्माण गर्न सकिन्छ? भन्ने विषयमा जनप्रतिनिधि तथा सरोकारवालाहरूसँग सुझाव लिन सुरू गरेको हो।
केही समय अघि ‘घुम्न जाउँ बर्दिया’ भन्ने कार्यक्रम गरी सरोकारवालाहरू सँग पर्यटनमैत्री नीति कस्तो बनाउने भन्ने बारेमा सार्वजनिक रुपमै सुझावहरू संकलन गरेको थियो। यो मन्त्रालयले दाङ देउखुरीको भालुवाङमा पनि त्यस्तै कार्यक्रम आयोजना गरी पर्यटन नीतिका बारेमा छलफल चलाएको थियो।
पर्यटन मन्त्री प्रचण्ड बिक्रम न्यौपानेका आनुसार भेगीय रूपमै सुझाव संकलनको काम गर्दै आएको र त्यसको आधारमा पर्यटन नीति निर्माण गरिने बताए।
यो मन्त्रालयले माघ २९ गते बाँकेको कोहलपुरमा त्यस क्षेत्रका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायिबाट पनि सुझाव संकलन गरेको थियो। त्यो कार्यक्रममा पनि बाँके तथा बर्दियाका सरोकारवालाहरूको सहभागिता थियो।
पर्यटन नीतिलाई कसरी पर्यटन मुखी बनाउन सकिन्छ? कस्तो खालको नीति बन्यो भने हाम्रो प्रदेशको पर्यटन विकासमा फड्को मार्न सहज हुन्छ? भन्ने उद्देश्यले सुझाव लिने काम भइ रहेको मन्त्री न्यौपानेले बताए।
उनका अनुसार मन्त्रालयले फागुन ६ गते रोल्पा र फागुन ८ गते बुटवलमा सुझाव संकलन गर्ने कार्यक्रम तय भएको छ।
पर्यटन नीति निर्माणका लागि सुझाव संकलन भइरहेको हुँदा मन्त्रालयले तीनै सुझावका आधारमा नीतिको ड्राफ्ट तयार पार्ने उनले जानकारी दिए।
पर्यटन नीति पास गर्न लागि अर्थसहित कानुन मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने र त्यो मन्त्रिपरिषद बैठकबाट पारित भएपछि पर्यटन नीति कार्यान्वयनमा आउने मन्त्री न्यौपानेले बताए।
‘साना टुक्रे योजनाहरूमा लगानी गरेर पर्यटन प्रवर्द्धन हुन सक्दैन भन्ने सुझाव प्राप्त भएका छन,’ मन्त्री न्यौपानेले भने, ‘ठूला आयोजना छनौट गरेर त्यसमा लगानी गर्न सके मात्रै पर्यटकलाई आकर्षण गर्न सकिन्छ र त्यसबाट यहाँको पर्यटन विकासमा टेवा पुग्छ भन्ने निष्कर्ष सबैतिरबाट प्राप्त भएको छ।’