फूलकुमारी र म चार/पाँच वर्ष अघिदेखि नजिक भएका थियौँ। स-सानो कुरा पनि हामी एकअर्कालाई भन्ने गर्थ्यौं। ऊ हृदयमानकी कान्छी छोरी हो। सानैमा आमाले छोडेपछि उहाँको बाबुले दोस्रो विवाह गर्नुभएको थियो।
आमाको यादमा फूलकुमारी निकै छट्पटाइ रहन्थी। बुबा रोजिरोटीका लागि भारतमा काम गर्ने, जेठी दिदी आफ्नै घरमा। सौतेनी आमा र फूलकुमारी मात्रै घरमा हुन्थे। सौतेनी आमाले फूलकुमारीलाई धेरै नै दु:ख दिने, आफू काम नगर्ने, घरायसी सबै काम गराउने र विभिन्न वचन सुनाउने, घुर्की लाउने र निकै सताउनु हुन्थ्यो।
फूलकुमारीले सबै कुरा मसँगकझ भेटमा रुँदैरुँदै भनेकी थिइन्। मैले फूलकुमारीलाई विवाह गरेर सुख दिने र सौतेनी आमाले दिएको दु:खबाट छुट्करा दिलाउँछु भनेर बाचा गरिसकेको थिएँ।
आफ्नो पनि सानैमा बुवा बित्नु भएको हुँदा घरको सबै जिम्मेवारी मेरै काँधमा थियो। घर खर्च जुटाउने, आफू पढ्ने, लेख्ने, स्कुलको फी, रासन पानी, लत्ताकपडा सबैको जोगाड मैले नै गर्नुपर्थ्यो। बुबा बितेपछि बुढी आमा आफैं कमजोर भैहाल्नु भयो। पछिपछि आमा पनि झन् बुढी हुँदै जाँदा एक्लै बस्न, खाना बनाउन सक्नु हुने हैन, अहिले आफैँ त गर्न सक्नुहुन्छ भन्ने हिसाबले म पनि फुत्त घरबाट निस्किएँ र विदेशतिर लागेँ। फूलकुमारीलाई पनि म धेरै कमाएर आउँछु, पर्खी बस ल भनेर गएँ।
एउटा कम्पनीमा काम गरिराखेको थिएँ। एकदिन त्यही कम्पनीमा दुई जना साथीहरूबीच भनाभन भयो। एकजना साथी चक्कु प्रहारबाट घाइते भयो। यही घटनामा मुछिएर म पनि केही दिन जेलमा बस्नुपर्यो। जेलमा बसेको कुरा गाउँमा पनि थाहा भएछ। यो कुरा फूलकुमारीलाई पनि थाहा नहुने कुरा भएन।
'उता उसलाई त अब फाँसी हुन्छ, तिम्रो उमेर बढिसक्यो कति पर्खेर बस्छ्यौ' भनेर घर परिवार र सौतेनी आमाको निकै दबाब बढ्न थालेछ। म त जेलबाट निस्केर फेरि काममा लागिसकेको थिएँ तर त्यो समयमा त्यस्तो मोबाइल फोन कम हुन्थ्यो। कोही विदेशबाटै घर आए खबर दिनुपर्ने हुँदा घरमा, गाउँमा म जेलबाट निस्केर काममा लागिसकेको कुरा पुगेको थिएन। विदेश गएको चार वर्षपछि अब म पनि विवाह गर्छु, फूलकुमारी पनि पर्खेर बसेकी होला भन्दै केही गरगहना लिएर घर फर्किएँ।
घर पुगेपछि ओल्लोपल्लो परिवारका सबै जना भन्न थाले- छोरा बाबु, तिमी आयौ? यता तिमीलाइ अब फाँसी हुन्छ, जेलमा छ अहिले भनेर खबर पुगेको थियो। के भएको बाबु?
उनीहरू रुन थाले। छोरा फर्केर आएको देख्दा मेरो आमाले पनि अंगालो मार्दै भक्कानो छोडेर रुन थाल्नुभयो। उहाँ निकै खुसी हुनुभयो।
म फूलकुमारीलाई आफ्नो घर भित्र्याउन पर्यो भनेर भेट्न पारि गाउँ उसको घरमा गएँ। तर त्यो घरमा त कोही देखिनँ। एकजना त्यही गाउँको बुढी आमाले मलाई सबै भन्नुभयो। फूलकुमारीको सौतेनी आमा त पौइल गइछिन्। बुवाको भारतमै गाडी दुर्घटनामा मृत्यु भएको रहेछ। र, फूलकुमारीको पनि त्यही पल्लो गाउँको केटासँग बिहे भैसकेको रहेछ!
आफूलाई सम्हाल्नै गाह्रो भयो। निकै पीर पर्यो। दिक्क लागेर भोलिपल्ट बजार गएँ। बजारमा एउटा पसलमा फूलकुमारीलाई बच्चाहरुको सानो-सानो लुगा समातेको देखेँ। मलाई त्यहाँ जाउँ कि नजाउँ भयो तर मनले मानेन। जे भयो भयो, एकछिन त बोलेर आउँछु भनेर पसलमा गएँ।
फूलकुमारीले समातेको बच्चाको लुगा मलाई देख्नासाथ उसको हातबाट भुइँमा खस्यो। आँखाभरि आँसु बनाउँदै मतिर हेरिरही तर केही बोलिन।
म आफैँले भनेँ- 'फूलकुमारी, बच्चाको लुगा कस्को लागि हो?'
फूलकुमारीले भनिन्, 'हजुर! छोराको लागि हो।'
'अनि किन रोएको त? म तिम्रो घर गएको थिएँ भेट्न। कोही देखिनँ। त्यही पल्लो घरको आमाले सबै कुरा मलाई भनिसक्नु भयो। ठिकै छ, जे भयो भयो। तिमी खुसी हुनू, राम्रोसँग बस्नू। म त्यसैमा खुसी हुनेछु,' भनेँ।
'हो हजुर, तपाईंलाई विदेशमा त्यस्तो भएको खबर पुगेपछि म दिनरात रोएर बस्थेँ। घर-परिवार त को थिए तर पनि काकाकाकीले थाहा पाएपछि मेरो अरुसँगै विवाह गरिदिनु भयो। अहिले सानो छोरा छ,' आँसु पुछ्दै फूलकुमारीले भनिन्, 'मेरो त विवाह भैसकेको हो!'