हरेक मानिस आफ्नो मनको भावना वा उकुसमुकुस सुनाउने माध्यम खोजिरहेको हुन्छ। केही कुरा सुनाउन सकिएला, केही नसकिएला!
सुनाउन नसकिएका भावना मनमा गाँठो परेर गुम्सिरहन्छन्। ती भावना पोखूँ त कहाँ पोखूँ!
एक समय थियो, रेडियो र पत्रपत्रिका समाचार स्रोत मात्र होइन, मनको उकुसमुकुस पोख्ने माध्यम पनि थिए। त्यही समयको कुरा हो, सौरभ घिमिरे पत्रपत्रिकामा छापिने प्रेमका खुराक खुब चाख मानेर पढ्थे।
बाल्यकालदेखि पढेका तिनै सामग्रीबाट प्रभावित उनले पत्रिकाकै शैलीमा फिल्म बनाउने सोच बनाए। त्यही सोचअनुसार छोटो फिल्म 'संग्स अफ लभ एन्ड हेट' बनाउने तयारी पनि गरे।
त्यसैबीच उनलाई लाग्यो, पत्रिकामा छापिने सन्देशभन्दा रेडियोमा आउने संस्मरणहरू बढी प्रभावकारी हुन्छन्।
त्यसपछि उनले आफ्नो फिल्मलाई रेडियो शैलीमा ढाले।
हालै सम्पन्न काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा नेपाल प्यानारोमाअन्तर्गत फिक्सन विधामा अवार्ड जितेको 'संग्स अफ लभ एन्ड हेट' रेडियो नेपालको धुनबाट सुरू हुन्छ। अनि 'प्रेम' भन्ने पात्रले 'लभ एड्भाइस' नामको कार्यक्रम सुरू गर्छन्। उक्त कार्यक्रममा विभिन्न पात्रले प्रेमलाई फोन गर्छन् र आ–आफ्नो मनको बह पोख्न थाल्छन्।
यसरी मनको बह पोख्ने क्रममा तीन प्रकारका प्रेम सम्बन्ध फिल्ममा समेटिएको छ – अन्तरजातीय प्रेम, समलिंगी पुरूषको वैवाहिक सम्बन्धमा आउने उतारचढाव र केटा–केटीबीच उमेरमा धेरै अन्तर भएको वैवाहिक सम्बन्ध।
यो फिल्मले किम्फ मात्र होइन, अन्य विदेशी फिल्म महोत्सवमा पनि चर्चा बटुलिरहेको छ। बर्लिन महोत्सवमा यसले स्पेसल मेन्सन अवार्ड जितेको थियो।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाए पनि यो फिल्म निर्माण क्रममा निर्देशक सौरभलाई कसैले पत्याएका थिएनन्। उनले फिल्म बनाउलान् वा बनाए पनि यति राम्रो बनाउलान् भन्नेमा कसैको विश्वास थिएन। तर उनले आफ्नो क्षमतामाथि शंका गर्ने सबैलाई गलत साबित गरिदिए।
बेल्जियमको लुका स्कुल अफ आर्टसमा स्नातकोत्तर पढ्दा सौरभले कलेज प्रोजेक्टका रूपमा एउटा फिल्म बनाउनुपर्ने थियो। त्यही बेला 'संग्स अफ लभ एन्ड हेट' को आइडिया फुरेको उनी बताउँछन्।
'मसँग नेपालका विभिन्न ठाउँमा पदयात्रा गर्दा खिचेका भिडिओ फुटेज प्रशस्त थिए। त्यसैलाई माध्यम बनाएर फिल्म बनाउँछु भन्ने सोचेँ,' सौरभले भने, 'त्यस बेला म आफै वियोगमा थिएँ। आफूजस्तै प्रेम सम्बन्धबाट बाहिर आउन चाहने मान्छेको कथा भन्न मन थियो। पदयात्रामा खिचेका फुटेजमा विभिन्न पात्रको भावना समेटेर फिल्म बनाउँछु भन्ने मेरो दिमागमा आयो।'
सौरभसँग मोटामोटी योजना त थियो, तर कलेजका शिक्षकहरू 'यसले के गर्न खोजेको होला' भनेर आत्तिएका थिए।
सौरभलाई भने आफ्नो योजनामा पूरापूर विश्वास थियो। उनी नेपालका निर्देशक विभूषण बस्नेत र पूजा गुरूङको फिल्म 'द बिग हेडेड बोय' बाट प्रभावित थिए। भारतकी पायल कपाडिया निर्देशित 'अ नाइट अफ नोइङ नथिङ' ले पनि उनलाई छोएको थियो। उनले यी दुई फिल्मलाई प्रेरणा मानेर काम बढाए।
'सुरूमा त एउटा पात्र बनाएर उसैको माध्यमबाट कथा भन्छु भन्ने सोचेको थिएँ, पछि विभिन्न पात्र राखेर रेडियोको शैलीमा बनाउने विचार आयो,' उनले भने।
उनले एउटा पात्र कल्पना गरे, जो घरपरिवार र साथीभाइबाट एक्लिन चाहन्छ, तर रेडियो कार्यक्रमले उसलाई एक्लिन दिँदैन। त्यही पात्रसँग अरू पनि बिस्तारै जोडिँदै जान्छन्।
'यो आइडियामा काम सुरू गरेपछि मलाई रमाइलो लाग्न थाल्यो,' उनले भने, 'रेडियोको शैलीमा फिल्म बनाउन लागेकाले रेडियो नेपालकै धुन प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो। यो धुनले कम्तिमा दुई–तीन पुस्ताको मनमस्तिष्क छोएको छ भन्नेमा म विश्वस्त थिएँ।'
सौरभले यो फिल्म 'ब्ल्याक एन्ड ह्वाइट' मा बनाएका छन्, जुन उनले प्रेरणा लिएका दुई फिल्मको थिम हो। तर खास कारण अर्कै भएको उनी बताउँछन्।
'मैले पदयात्रामा जाँदा कहिले फोनबाट भिडिओ खिचेको थिएँ, कहिले क्यामराबाट। केही फुटेज धेरै राम्रा थिए भने केही फुटेजको गुणस्तर त्यति गतिलो थिएन,' सौरभले भने, 'सबै फुटेज एकनास होस् भनेर ब्ल्याक एन्ड ह्वाइटमा बनाएको हुँ। यसका लागि राम्रा फुटेजलाई पनि कम गुणस्तरमा झारेको छु।'
उनलाई यो फिल्म बनाउन जम्मा दुई सय डलर लागेको थियो। त्यो पनि साउन्ड इन्जिनियरलाई दिन खर्च गरेको उनको भनाइ छ।
फिल्मको नाम भने सौरभले आफूलाई मनपर्ने क्यानेडियन गायक लियोनार्ड कोहेनको एल्बम 'संग्स अफ लभ एन्ड हेट' बाट लिएका हुन्। करिब पाँच महिना लगाएर सम्पादन गरिएको यो फिल्म हेरेपछि सुरूमा आफूलाई नपत्याएका शिक्षक पनि दंग परेका थिए।
फिल्म निर्माण पूरा भएपछि सौरभले बेल्जियमकै दुइटा महोत्सवमा भाग लिएका थिए। त्यहाँ उनले केही फिल्मकर्मीलाई आफ्नो फिल्म देखाए। हेरेकाहरूले प्रतिक्रिया दिए, 'यति राम्रो फिल्म कुनै महोत्सवमा किन नदेखाएको?'
यस्तो प्रतिक्रियाले उनलाई हौसला थप्यो।
उनले संसारका प्रतिष्ठित महोत्सवहरूमा फिल्म पठाउन थाले। तर धेरै महोत्सवमा अस्वीकृत नै भयो। त्यही बेला बर्लिन फेस्टिभलबाट जबाफ आयो। त्यहाँ पनि अस्वीकृत नै भयो होला भन्ने उनले सोचेका थिए। त्यही भएर डराई डराई इमेल खोले।
जसै इमेल पढे, उनको खुसीको सीमा रहेन। उनको फिल्म बर्लिनमा छनौट भयो।
बर्लिनमा छनौट भएपछि अन्तर्राष्ट्रिय ख्याति कमाएका नेपाली निर्देशक मीन भाम निर्माताका रूपमा उनीसँग जोडिए। त्यस बेला मीन भामको 'शाम्बाला' पनि बर्लिन फिल्म फेस्टिभलमा छनौट भएको थियो।
त्यही फेस्टिभलमा वर्ल्ड प्रिमियरसँगै सौरभको फिल्मले स्पेसल मेन्सन अवार्ड जित्यो।
बर्लिन फिल्म फेस्टिभलमा अवार्ड पाएपछि निर्देशक सौरभ घिमिरे (दायाँ) र निर्माता मिन्सो लिम्बू। तस्बिर स्रोत: बर्लिन फेस्टिभलको वेबसाइट
'फिल्म हेरेका कतिपय दर्शकले नेपाली समाजको जातीय व्यवस्थालाई लिएर जिज्ञासा राखेका थिए। कतिपयले भने यसलाई फिल्म होइन, रेडियो शो भनेको भए हुन्थ्यो भनेर टिप्पणी गरेका थिए,' सौरभले भने, 'म भने डकु–फिक्सन भन्न रूचाउँछु।'
बर्लिन फेस्टिभलमा यो फिल्म १४ वर्ष माथिको उमेर समूहका लागि छनौट भएको थियो। त्यो उमेर समूहका युवायुवतीले यस्ता भावना र उकुसमुकुस सामना गर्नुपर्छ भनेर यो विधामा राखिएको उनको भनाइ छ।
'मेरो लागि त आफूले बनाएको फिल्म त्यहाँसम्म पुग्नु नै ठूलो कुरा थियो। यो महोत्सवले मलाई थुप्रै फिल्मकर्मीमाझ चिनायो,' उनले भने, 'त्यहाँ फिल्म देखाउन पाउँदा आफ्नो कामको महत्त्व त बढ्ने नै भयो, सँगसँगै अन्य महोत्सवले पनि फिल्म माग्न थाल्दा रहेछन्।'
बर्लिनमा राम्रो प्रतिक्रिया बटुले पनि नेपाली दर्शकले फिल्म स्वीकार नगर्ने हुन् कि भन्ने सौरभलाई डर थियो। यसपटक त्यो चिन्ता पनि हटेको छ। किम्फमा दुई शो पाएको उनको फिल्मले दर्शकलाई निराश बनाएन।
'यसले मेरो हौसला बढेको छ,' उनले भने, 'अब मलाई यस्तो प्रयोगात्मक र पुराना फुटेज (आर्काइभ) प्रयोग गरेर फिल्म बनाउन कुनै सुर्ता छैन।'
सौरभले योभन्दा अगाडि 'बार्किङ डग्स' बनाएका थिए, जसले अमेरिकाको तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा 'बेस्ट एक्सपेरिमेन्टल फिल्म' अवार्ड जितेको थियो। नेपालको पामे फिल्म महोत्सवमा 'बेस्ट स्टुडेन्ट अवार्ड' पनि पाएको थियो। तर 'संग्स अफ लभ एन्ड हेट' ले जति चर्चा पाएको थिएन।
'अहिले पाएको चर्चाले आगामी दिनमा थप राम्रा फिल्म बनाउन चुनौती थपिदिएको छ। आगामी दिनमा यही स्तरको फिल्म बनाउन सक्छु कि सक्दिनँ ठेगान छैन। तर आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु। म आफूलाई भन्न मन लागेका कथा भन्दै जानेछु। कुनै फिल्मले एकदमै हाइप पायो भन्दैमा त्यसलाई नै उत्कृष्ट भन्न मिल्दैन,' उनले भने, 'हामी कलाकारहरू आफूलाई व्यक्तिगत रूपमा छोएको, मनमा लागेको कुरा फिल्ममा उतार्छौं। त्यसले दर्शकमा केही न केही प्रभाव छाड्न सक्यो भने मात्र त्यो राम्रो फिल्म हो।'

अहिले फिल्म क्षेत्रमा उदाइरहेका सौरभको रूचि कुनै बेला लेखनमा धेरै थियो। उनी सानै उमेरदेखि धेरै किताब पढ्थे। कक्षा ५ पढ्दै गर्दा उनका बुबाले ब्रिटिस काउन्सिलको पुस्तकालयमा सदस्य बनाइदिएका थिए। त्यहाँ किताब पढ्ने बानीले उनको मनमा लेखक बन्ने रहर जाग्यो। तर १२ कक्षा पढ्दासम्म उनले आफ्नो लक्ष्य पहिल्याएका थिएनन्।
स्नातक पढ्दै गर्दा फिल्मतिर उनको झुकाव बढ्यो। उनी आफूसँग भएको क्यामराले मन लागेका दृश्य खिचिहाल्थे। भिडिओ सम्पादन पनि आफै गर्थे।
यही हुटहुटी पूरा गर्न एभरेष्ट फिल्म एकडेमीमा भर्ना भए। त्यसपछि त रातदिन नै फिल्मबारे मात्र सोच्न थाले।
'पहिले मलाई कथानक फिल्महरू बनाउन रूचि थियो। अहिले प्रयोगात्मक र आर्काइभल फिल्म बनाउन मन लागिरहेको छ। केही समय यही थिममा काम गर्छु होला,' उनले भने।
सौरभ अहिले दोस्रो विश्वयुद्ध बेला बर्माको लडाइँ लडेका आफ्ना हजुरबुबाको विगत समेटेर छोटो फिल्म 'मेमोरिज अफ वार' बनाउने तयारीमा छन्। यसमा हजुरबुबाका निकट साथीहरू र हजुरआमालाई पनि समेट्ने उनको योजना छ।
यसबाहेक पर्वतारोहण र सन् ९० दशकको संगीतलाई लिएर फिल्म बनाउने इच्छा पनि भएको उनले बताए।
आफ्ना इच्छा पछ्याउँदै फिल्म बनाउने सौरभ अन्य निर्माताहरूलाई भन्छन्, 'सकेसम्म व्यक्तिगत स्टोरी भन्ने प्रयास गर्नूस्। सर्ट फिल्ममा आफ्नो भ्वाइस खोज्ने बेला यही हो। सर्ट फिल्ममा धेरै खर्च लाग्ने भएकाले एक्सपेरिमेन्ट गर्ने समय यही हो। त्यसैले आफूलाई भन्न मन लागेको कुरा ढुक्कले भन्नूस्।'
***