गाउँबाट दसैं-तिहार मनाएर सुर्खेत आएको जम्माजम्मी दुई दिन भएको थियो। शनिबारको दिन थियो। एकाबिहानै मेरो मोबाइलमा सेभ नभएको नम्बरबाट कल आयो। सायद कुनै जरूरी कुराको लागि होला यति बिहानै कसैको फोन आएको ठानेर उठाएँ।
म यताबाट हेल्लो भन्दै थिएँ, उताबाट सिधै 'दिपु भाइ! के छ खबर? कता छौ कान्छो?' भनेर कोही बोल्दै थियो।
मैले पनि स्वरबाटै चिनिहालेँ उही 'सरकारी जागिर खाएको दिन छोरी माग्न आउनुहोला!' शीर्षकको मेरो लेखका पात्र मेरो प्यारो दाइ बोल्दै हुनुहुन्थ्यो।
मैले 'ठिक छ दाइ! म सुर्खेत छु। हजुर कता हुनुहुन्छ? नयाँ नम्बरबाट फोन गर्नुभयो त भनेँ।
उहाँले 'उम्म् भाइ, नयाँ सिम निकालेको हिजो। म पनि सुर्खेत छु। तिम्रो समय के कस्तो छ? यतै बसपार्कतिर आऊ, भेटघाट गरौंला दुई भाइ' भन्नुभयो।
मैले पनि 'हुन्छ दाइ! अहिले खाना पकाउनु छ। आइतबारबाट कलेज चल्ने हुनाले ड्रेस कपडा धुनुछ। नुवाइधुवाई गरेर दिउँसो १/२ बजेतिर आउँछु बजारतिर त्यतै भेटौँला नि है' भनेँ।
दाइले पनि 'हुन्छ भाइ, म यतै हुन्छु। तिमीले सके अलि छिटो गर्नु। मैले बेलुका ४ बजे काठमाडौंको लागि बसको टिकट काटिसकेको छु। सुर्खेत आएसी भाइसँग भेटेर नै जाऊ भन्ने लाग्यो त्यसैले' भन्दै हुनुहुन्थ्यो।
मैले पनि 'हस् दाइ' भन्दै फोन राखेँ।
फोन काटेसँगै मलाई पुरानै घटनाको याद आयो। त्यो साँझ जुन होटलमा दाइ र म बसेका थियौं र उहाँको आमाको निधन भएको खबर गाउँबाट आएको थियो। उक्त दु:खद् पल झलझल्ती याद आयो। आँसु टिलपिलाउन थाले।
त्यसदिन उहाँले आफ्नो प्रेम सम्बन्ध टुंगिएको कुरा मलाई सुनाउँदै गर्दा उहाँलाई आमा गुमाएको खबर उहाँको बहिनीले फोनबाट सुनाएकी थिइन्।
प्रेम वियोगको दुखाइ कम गर्न बियर पिउँदै कुरा पोख्दै गरेका दाइले त्यतिन्जेल रित्याउनु भएको थियो त केवल बियरको सिसी। तर आमाको वियोगको खबरपछि भने रित्तिएका थिए आँखाबाट आँसु, रित्तिएको थियो आमाको न्यानो माया, रित्तिएको थियो ल बाबु नास्ता खानु भनेर धरिको कुटुरो खोलेर पैसा दिने हातहरू। रित्तिएको थियो विवाह गरी घरमा बुहारी भित्र्याएर आमालाई खुसी दिन्छु भन्ने सपना! अझ होटलबाट निस्किँदै गर्दा खाएको बिल तिरेपछि रित्तिएको थियो उहाँको गोजीमा पैसा पनि।
उहाँले त चाहनुहुन्थ्यो रातारात भए पनि गाउँ पुग्न, आमाको मुहार हेर्न। तर के गर्नु न उहाँसँग आफ्नै मोटरसाइकल थियो, न मसँग नै थियो। न तत्काल रिजर्भमा गाडी लग्नलाई २०/२५ हजार पैसा थियो। उहाँले चिनेका जति उहाँले र मैले चिनेका जति मैले साधनवाला साथीहरूसँग सहयोग पनि माग्यौं।
तर के गर्नु साथीभाइ कोही भन्दै थिए 'साधन त छ ब्लुबुक रिन्यु गरेको छैन।' कोही भन्थे- लाइसेन्स छैन यार ट्राफिकले समात्न सक्छ। कोही भन्थे- साधन छ चलाउन आउँछ भने लैजाऊ। कोही भन्थे- त्यत्रो लामो रूट छ, बाइकको कन्डिसन ठिक छैन ब्रेक लाग्दैन। कोही भन्थे- म्याडमको चेकअपलाई नेपालगञ्च आएको छु।
यस्ता केही सत्य त केही झुट कारण र बहाना सबैले बनाएर टारे। कोही कसैले भनेनन् आऊ साथी बस म पुर्याउँछु तिमीलाई तिम्रो घरसम्म' भनेर। सबैले आमाको वियोगको खबर पाएर दु:ख व्यक्त गरे तर दु:खमा साथ दिन कोही तयार भएनन्। यतिसम्म कि त्यसदिन सहयोग माग्दा माग्दैमा सकिएको थियो फोनमा रिचार्ज पनि।
त्यसदिनदेखि लाग्यो बेरोजगार हुनु भनेको बेसहारा हुनु हो। बेरोजगारको अगाडि मानवता डगमगाउँदो रहेछ। सायद एउटा बेरोजगार हुनु भनेको अरूप्रति बढी आशावादी हुनु पनि रहेछ। तर अन्ततः बेरोजगारको जीवन आफ्नै बलजफ्ती र संघर्षले बाँचेको जीवन हुनेरहेछ। बेरोजगार मान्छे अरूलाई सहयोग गर्नलाई प्रयोग हुँदोरहेछ सहयोग पाउनलाई त मुस्किल रहेछ जस्तो विविध कुरा मनमा खेले।
निराशा र पीडा नै पीडाको मुटु बोकेर उहाँलाई हात दरिलो पारेर समाउँदै उहाँको डेरासम्म डोर्याएर लगे। भन्दै हुनुहुन्थ्यो- गाडी रिजर्भका कुरा त के भाइ भोलि बिहान गाउँ जान गाडीको टिकट काट्ने भाँडासम्म पुग्दैन जस्तो छ। हजार पन्ध्र सय जति तिमीसँग छ भने दिनुपर्यो भाइ!'
हुन पनि यस्तो दु:खमा दाइले माग्नुपर्ने स्थितिभन्दा अगावै मैले पिर नलिनु मसँग छ दाइ यति लिनु भन्नुपर्ने कर्तव्य हुँदो हो। तर के गर्नु म पनि एक अर्को बेरोजगार थिए। जो सय/पचास रुपैयाँ गोजीमा बोकेर लाखौंको खुसी खोज्दै भौंतारिने भुइँ मान्छे। सो दिन त्यहीँ सय/ पचास पनि गोजीमा थिएन। खुसी पनि थिएन। बस् दुखेको मन, भिजेका परेला मात्र थिए।
मैले केवल आँसुमा आँसु झारेर मात्र साथ दिन सकेको थिएँ। छोरा मान्छे भएर रूनु हुँदैन भन्ने आमा नै नरहेपछि कुन चाहिँ छोरा रूँदैन होला र? आमाको वियोगले विचारा दाइ! घुँकघुँक गरेर रूँदै हुनुहुन्थ्यो।
राति ११ बजिसकेको थियो। एक जना कोरियामा रहेको मेरो साथीलाई अनलाइन देखेँ। उसलाई म्यासेज गरेँ। 'हेल्लो दोस्त जरूरी कुरा गर्नुछ। म म्यासेन्जरमा कल गर्छु उठाऊ ल' भनेर अनुरोध गरेँ।
उताबाट तुरून्तै 'ओके' भनेर रिप्लाई आयो।
मैले कल गरेर वृत्तान्त सबै सुनाएँ। सहयोगलाई केही रकम पठाइदिन सहयोग मागेँ। साथीले कुनै पनि नाइँनास्ती, कारण र बहाना केही नगरी रेमिटेन्सबाट २ हजार ५ सय रकम पठाए। त्यतिबेला लाग्यो हाम्रा नेपाली दाजुभाइ विदेश नभएको भए, यसरी सहयोग नगर्ने भए नेपालमा रहेका गरिब पीडितका खुसीमा मलम कसले लगाइदिन्थ्यो होला?
देशलाई रेमिटेन्स यिनैले तिरेका छन्। छोराछोरी परिवार यिनैले पालेका छन्। नेपालमा रहेका दुखी बिरामीलाई बचाउन दान सहयोग यिनैले गरेका छन्। यिनैले देश, मानव र मानवता बचाएका छन्। यो कार्यले ममा एकाएक खाडी मुलुक लगायत यसरी विदेशमा रहेर श्रम गर्दै नेपालमा पैसा पठाउने नेपालीहरूप्रति सम्मान र श्रद्धा भाव बढेर आयो।
राजस्व चुहावट गरेर देश लुट्ने, आफै कमाऊ आफै खाऊ सोच राख्ने, पद र तलबको घमण्ड र अंहकार बोक्ने तिनी कतिपय नेता/कर्मचारीभन्दा अनेकौं पीडा मनले बोकेर, टनका टन भारी तनले बोकेर जहान परिवार पालेका, राजस्वमार्फत् देशको ढुकुटी रित्तो हुन नदिएका, सहयोगि भावनाका धनी वैदेशिक रोजगारमा पुगेका नेपाली दाजुभाइ कयौं गुणा जाति लाग्यो।
अनि मैले 'दाइलाई पैसा जुट्यो भोलि बिहान झिकौंला। अहिले सुत्नु' भनेँ। भन्नलाई त मैले सुत्नु दाइ भन्दै थिएँ तर पीडा त सुत्न सक्ने खालको कहाँ थियो र! छटपटीमै उज्यालो भयो।
बिहानै ५ बजे मंगलगढी एटिएममा पुगेर पैसा झिक्यौं। उहाँको लागि गाउँ जाने गाडीको टिकट काटेँ। जान त म पनि जान खोजेको थिएँ। मेरो चार दिनपछि छैटौं सेमेष्टरको फाइनल परीक्षा चल्दै थियो। दाइलाई यो सबै थाहा थियो। सो अवस्था बुझेर 'तिमी जानुपर्दैन यति सहयोग नै मेरो जीवनमा ठूलो गुण हो। म गैहाल्छु भाइ। तिमी परीक्षाको राम्रो तयारी गर' भन्नुभयो।
हिजोभन्दा आज अलि दरिलो मन बनाउनु भएको थियो। आँसु सकिएको थियो वियोगको दुखाइ त सकिएको थिएन तर आफूलाई बलियो भएको देखाउन खोज्दै हुनुहुन्थ्यो।
दाइले भनेजस्तै हुन पनि अघिपछि पढाइ जे जस्तो भए पनि परीक्षाको १/२ दिन अगाडि पढेर दिने नेपाली विद्यार्थीहरूको त विशेषता नै हो। मैले तयारी पनि गर्नु थियो। त्यसैले दाइलाई बसपार्कबाट गाडीमा चढाएर टिकट र बचेको रु. १५०० रकम हातमा थमाउँदै म आफ्नो कोठा फर्किएँ।
स्याँ!! स्याँ!!...!! एक्कासि कुकरको सिठ्ठी बज्यो। ल! भात जल्यो क्या! म त कुर्सीमा बसेर एकोहोरो विगतको त्यो घटना सम्झँदै सोच मग्न भएको रहेछु। हत्तेरीका भात पो पकाउँदै थिएँ। कुकरबाट बजेको सिठ्ठी त्यो कतियौं सिठ्ठी थियो? त्यो पनि पत्तो भएन। हत्तपत्त ग्यास बन्द गरेँ। खानपिन अनि नुवाइधुवाई गरेर दिउँसो दाइलाई भेट्न बसपार्क जानु थियो। सो सबै काम सकेपछि दाइलाई कल गरेँ। त्यतै बसपार्क पुगेँ।भेट भयो।
आमाको निधनले उहाँ गाउँ गएपछि हेल्लो! हाई! सन्चो बिसन्चो कुरा र सम्झना मात्र हुन्थे अरू बाँकी कुरा हुन सकेका थिएनन्। त्यसैले कालो चिया पिउँदै गाउँ पुगेपछिका घटनाबारे कुराकानी भयो।
दाइले आमाको ४५ दिने श्राद्ध सकेर गाउँबाट दुई दिन अगाडि सुर्खेत आउनु भएको रहेछ।
सुर्खेतको कोठा छाडेर काठमाडौं जान लागेको कुरासम्म सबै सुनाउनु भयो।
'३३ वर्ष पुगियो अझै २ वर्ष छ यतिकै आश मार्दिनँ भाइ। केही तयारी पुगेकै छ बाँकी व्यापक तयारी गर्छु। काठमाडौंमा क्लास लगेर हुन्छ कि टियु लाइब्रेरीमा रातदिन पढेर हुन्छ सरकारी जागिर चाहिँ खानु छ। यत्रो दुनियाँ लोक सेवामा सफल हुँदा म सफल कसो नहुँला र भाइ?' भन्दै हुनुहुन्थ्यो।
दिउँसोको ४ बजिसकेको थियो। बसले हर्न बजाइराखेको थियो सायद यात्रु खोज्दै थियो। हामी पनि नास्ता पसलबाट निस्केर हर्न बजाइराखेको बसनिर पुगिसकेका थियौं। उहाँ बसभित्र चढ्दै गर्दा मैले सोधेँ- अब कहिले फर्कनुहुन्छ दाइ यता अनि गाउँघर तिर?
'अब सरकारी जागिर नखाई गाउँ नफर्कने भाइ!' भन्दै बसको ढोकाबाट बाई बाईको इसारामा हात हल्लाउँदै हुनुहुन्थ्यो।
मैले शुभकामना सँगै शुभयात्रा भन्दै थिएँ।
बस बसपार्कबाट अगाडि बढ्यो।
सायद सरकारी जागिर खाएको दिन छोरी माग्न आउनुहोला भन्ने उसका बाको जबाफको इख बोकेर होस् अथवा आफ्नै उद्देश्यलाई जसरी पनि सफल पारी छोडछु भन्ने अठोट बोकेर होस्। सुर्खेत बसपार्कबाट काठमाडौंको लागि दाइ लम्किनु भयो। हुन त समाजले पढेलेखेको मान्छे गाउँमा बेरोजगार भएर बस्दा गर्ने प्रश्न, देखाउने व्यवहार र अपमानले जागिर खाएर देखाउँछु भन्ने प्रतिज्ञाले पनि गाउँ यसै नफर्कने सोच राख्नुभएको होला।
तर अचेल यसरी नै हजारौं युवाहरू काठमाडौं लगायतका विभिन्न सहरहरूमा लोकसेवाको लागि लम्किरहेका छन्। साथै उहाँको जस्तै विभिन्न सर्त, संकल्प र अठोट राखेर पढ्दै छन्। कोही स्थायी जागिर खाएपछि मात्र गाउँ फर्कने हो भन्दै, कोही सरकारी जागिर खाएपछि कपाल काट्ने हो भन्दै कपाल पालेर, कोही सरकारी जागिर खाएपछि मात्र विवाह गर्ने हो भन्दै विवाहको लगन धकेलेर, कोही स्थायी जागिर खाएपछि मात्र राम्रो मोबाइल किन्ने हो भनी पुरानै मोबाइल गुजारा चलाएर, कोही स्थायी जागिर खाएपछि मात्र फेसबुक प्रोफाइल पिक्चर चेन्ज गर्ने हो भनेर लोक सेवा तयारीमा लागिपरेका छन्।
यस्ता विविध संकल्प, अठोट, सर्त र योजना बुनेर भोलिको खुसी खोज्दै र सोच्दै हरेक आजलाई चिन्ता, तनाव र संघर्षमा बिताउँदै छन्। आखिर मनमनै लिएका निर्णय र संंकल्प पनि कति भयानक र डर लाग्दा छन् हेरौं त।
हुन पनि देशमा युवाहरूको लागि दुई वटा मात्र रोजाइ कि त लोक सेवा कि त विदेश बाहेक कुनै विकल्प छैन। उत्पादन, उद्यमशीलता र व्यापार रोजाइको विषय बन्न सकेको छैन। कदम कदाचित व्यापारतिर ध्यान लगाए त्यहीँ लोक सेवा पढाउने इन्स्टिच्युट र विदेशी भाषा पढाउने इन्स्टिच्युट, कन्सल्टेन्सीतिर छ। त्यसैले नेपाली युवाहरूको खुसी र सपना नै सरकारी जागिर र विदेशभन्दा अरू विकल्पमा छैन।
सामाजिक, आर्थिक, मनोवैज्ञानिक र विधि शास्त्रको दृष्टिकोणले आजको समाजको वस्तुस्थितिलाई अध्ययन गरेर हेर्दा स्वाभाविक रूपमा लोक सेवा सफल हुनेभन्दा असफल हुने संख्या कैयौंभन्दा कैयौं गुणा धेरै हुन्छ। वर्षौं विभिन्न तहको परीक्षापिच्छे असफल हुने संख्याले यो देश, समाज, परिवार र स्वयं आफैप्रति सोच्ने विचार, राख्ने भावना, देखाउने व्यवहार र जिउने जीवन अरूभन्दा फरक प्रकृतिको हुन्छ। जसले गर्दा राज्यमा पार्ने प्रभाव खासै सकारात्मक हुँदैन। त्यसैले डिप्रेसनका रोगी बढ्ने, भ्रष्टाचार, ठगी र मानव तस्करी जस्ता अपराध बढ्ने। त्यसका साथै राष्ट्र, सरकार, परिवार र स्वयं आफैप्रति घृणा गर्ने दर बढेको छ। त्यसैले राज्यले उत्पादन र उद्यमशीलतालाई ख्याल राख्नु जरूरी छ।
पी!! पी!! हर्न बज्छ! म झसंग भएँ। पछाडि अटो थियो। 'जाने हो भाइ' भन्दै थियो। मैले 'नाइँ' को संकेतले टाउको हल्लाएँ। यस्तै कुरा सोच्दै त्यतिन्जेल म बसपार्कदेखि एयरर्पोट जाने सडकको बायाँ साइड हिँड्दै बुलबुलेनिर पुगिसकेको रहेछु।