२०५७ साल भदौतिरको कुरा हो। म त्यति बेला नौ कक्षामा पढ्थेँ। मलाई अझै याद छ, त्यो शुक्रवारको दिन थियो। शुक्रवार जम्मा चार वटा विषय मात्र पढाई हुने भएकाले म अरू दिनभन्दा चाँडो घर आएको थिएँ।
त्यति बेला हाम्रो घरमा ग्रुप फोर सेक्युरिटी कम्पनीमा काम गर्ने दुई जना दाइहरू डेरा गरेर बस्नुहुन्थ्यो। दुई मध्ये एक जना दाइको घर लमजुङ थियो। अर्का दाइ, जसलाई हामी कार्की दाइ भनेर चिन्थ्यौँ, वहाँको घर बागलुङ थियो। उहाँहरू हाम्रोमा डेरा गरेर बस्न थालेको धेरै नै भइसकेको थियो, त्यसैले पनि उहाँहरू हाम्रो परिवारसँग नजिक भइसक्नु भएको थियो।
मलाई लहरे आँप खुब मन पर्थ्यो। दाइहरूले सुरक्षा दिने होटेलको बगैँचामा थुप्रै लहरे आँप फल्थे। दाइहरूले मलाई सम्झेर लहरे आँप टिपेर ल्याइदिनुहुन्थ्यो। म खुब मिठो मानेर खान्थेँ। यसरी लहरे आँपको बहानामा म पनि उहाँहरूसँग नजिक भएको थिएँ।
त्यस दिन म घर आइपुग्दा कार्की दाइ सप्ताहान्त मनाउन आफ्नो गाउँ जान ठिक्क परेर बस्नुभएको रहेछ।
‘म त मेरो गाउँ जान लागेको, तिमी पनि जान्छौ र? जाने भए हिँड, भोलि र पर्सि बिदा छँदै छ क्यारे! नयाँ ठाउँ देख्न हुन्छ। तिमी जत्रै छोरा छ मेरो पनि गाउँमा! उसैसँग गाउँ डुलौला, खेलौला। के भन्छौ?,’ म स्कुलबाट आएको देख्ने बित्तिकै दाइले सोध्नुभयो।
दाइको प्रस्तावले म बिलखबन्दमा परेँ। मलाई नयाँ ठाउँहरू घुम्न मन पर्थ्यो, तर मैले बुवा आमालाई नसोधीकन दाइलाई हुन्छ भन्न सकिनँ।
‘एकैछिन है दाइ, म आमालाई सोधेर आइहाल्छु?,’ म झोला पिँढीको खाटमा फालेर भान्छातिर गएँ। आमा मेरो लागि भनेर खाजामा हाँडीमा मकै-भटमास भुट्दै हुनुहुन्थ्यो।
‘ए आइपुगिस्!’ म भित्र छिरेको सुइँको पाउनासाथै आमाले धुवाँले पोलेका आफ्ना आँखा चिम्सा पारेर भन्नुभयो।
एकैछिनमा फेरि म स्कुल ड्रेसमै भान्छामा छिरेको ख्याल गरेपछि झपार्दै भन्नुभयो- ‘लौ लौ, कपडा पनि नफेरी, हातखुट्टै नधोई काँ भान्छामा छिरेको? जा खुरुक्क कपडा फेरेर, हात खुट्टा धोएर आइज!’
‘सुन्नु न आमा, कार्की दाइ बागलुङ आफ्नो गाउँ जाने रे। मलाई पनि जान्छौ भनेर सोध्नु भएको थ्यो, के गरौँ, जाऊँ र?,’ मैले आमाको आदेश पुरै बेवास्ता गरेर एकै सासमा सोधेँ।
‘बालाई सोध्नुपर्छ,’ मेरो प्रश्नको उत्तरमा आमाले बस् यत्ति भन्नुभयो।
‘बा आउने बेलासम्म त ढिलो हुन्छ। दाइ तयार भएर बसिसक्नुभएको छ। जान्छु न! बालाई भरे तपाईंले नै भन्दिनु न,’ मैले बाल हठ व्यक्त गरेँ।
‘ल उसो भए, कपडा फेर् अनि खाजा खाएर जा! दाइलाई पनि मोही र मकै खाएर जान भन्,’ आमाले स्वीकृति दिनुभयो। मेरो खुसीको सीमा रहेन।
यसरी खाजा साजा खाई ओरी घरबाट निस्किँदा त्यस्तै साढे दुई बजेको हुँदो हो। हामीले जरेवरबाट जिरो किलोमिटर सम्मको बस समात्यौँ। जिरोबाट अर्को बस समातेर हामी बागलुङ बसपार्कतिर लाग्यौँ। ठ्याक्क-ठ्याक्क बस भेटेकाले घरबाट निस्केको आधा घण्टामा हामी बागलुङ बसपार्क पुग्यौँ। बसपार्कमा तीन बजेको बसले यात्रु कुरेर बसेको थियो, हामी त्यसैमा चढ्यौँ। हामी चढेको केही बेरमै बसले राजमार्गमा गति लियो।
बागलुङ बजार पुग्दा साँझको ६ बजिसकेको थियो। बसबाट झर्ने बित्तिकै दाइले मलाई एउटा कटेरोको रेस्टुरेन्टमा लिएर जानुभयो। मलाई भोक लागेको थियो। चना-आलुको तरकारी र समोसा आँत भरिने गरी खाएँ।
दाइले गिलासमा धमिलो पानी जस्तो रक्सी मगाउनु भयो। साहुनीसँग नुन मागेर आफ्नो बाहिरी हत्केलामा राख्नुभयो र हेर्दाहेर्दै दाइले नुन लपक्क चाटेर त्यो धमिलो पानीजस्तो रक्सी एकै घुट्कोमा निल्नुभयो। यसरी पिउँदा रक्सी दाइको ओठको कुनाबाट फुत्किएर छातीभित्र कुद्यो। हत्केलाले मुख वरपर लागेको रक्सी पुछेपछि दाइले खाजा र रक्सीको पैसा तिर्नुभयो र हामी त्यहाँबाट हिँड्यौँ।
अब हिँड्ने बाटो सल्लाको जङ्गलको बाटो थियो। सल्लाको जङ्गलको बिचबाट मान्छे हिँड्न बनाइएको, अझ भनौँ मान्छे हिँड्दा-हिँड्दा बनेको खिरिलो बाटो थियो। बाटो ठाडो उकालो थियो। बाटोभरि रूखबाट झरेका सल्लिपिर र सल्लाका फूलहरू थिए। बाटो मेरो लागि बिलकुल नयाँ थियो। बुवाआमा साथमा नभईकन हिँडेको त्यो मेरो पहिलो यात्रा थियो। त्यसैले मेरो मनमा डर र रोमाञ्च दुवैले मिलेर डेरा जमाएका थिए।
बाटोमा घरी को, घरी को गरी पालैपालो हाबी हुन्थे।
बाटोभरि झोलुङ्गे पुल त कति हो कति पार गर्नु पर्थ्यो। सोही दिन मैले बागलुङलाई झोलुङ्गे पुलको जिल्ला किन भनिन्छ भनेर आफैँले अनुभव गरेको थिएँ। दाइ बेलाबेला खुसुक्क बाटो छेउका टहरा जस्ता देखिने भट्टीमा लुसुक्क छिर्नुहुन्थ्यो, सायद बजारमा जस्तै स्वाट्ट पार्नुहुन्थ्यो।
म बाटो छेउमा आफूले लिएको लौरीले भुइँ कोतर्दै अड्कल काट्थेँ। दाइ फेरि जति छिटो छिर्नु हुन्थ्यो, उति नै छिटो बाहिर पनि निस्किनु हुन्थ्यो र फटाफट अघि बढ्नुहुन्थ्यो। म खुरुखुरु उहाँलाई पछ्याउँथेँ।
यसरी बागलुङ बजारबाट उकालो लागेको पनि दुई घण्टा जस्तो बितिसकेको थियो। बाटो उक्लिँदा उक्लिँदा म थाकेर लखतरान परेको थिएँ। यसअघि उकालोको नाममा मामाघर जाँदाको डेढ घण्टाको उकालो बाटो बाहेक यसरी उक्लेको मलाई थाहा थिएन। हिँड्दा हिँड्दा साह्रै भएपछि बेलाबेलामा दाइलाई सोध्थेँ, ‘दाइ, अब कति बाँकी छ घर आइपुग्न?’
‘अब धेरै छैन। आइपुग्नै आँट्यो! ऊ त्यो बत्ती देख्यौ नि, हो, त्यहीँ पुग्ने हो,’ दाइले पर डाँडामा पिलपिलाइरहेको बत्ती देखाएर खाली यही उत्तर दोहोराउनु हुन्थ्यो।
म पर डाँडामा पिलपिलाइरहेको बत्ती देख्दा पनि त्यही नै पो हो कि दाइको घर भनेर अड्कल काट्थेँ। आफूले बोकेर हिँडेको लौरी र झोला मिल्काएर पिँढीमा ढल्केको कल्पना गर्थेँ। त्यति सोच्दा मात्रै पनि मनमा एकाएक जोस-जाँगर भरिएर आउँथ्यो। म फटाफट हिँड्थेँ। तर धेरै बेर हिँडिसक्दा पनि घर नआएपछि म फेरि फतक्क गल्थेँ।
लामो उच्छ्वाससहित कम्मरमा हात राखेर धकाउँथेँ। तर पनि हिँड्नु त छँदै थियो। त्यसैले सुस्तै सुस्तै हिँड्थे। दाइको लागि त त्यो बिहान-बेलुका पानी-पँधेरो, घाँस-दाउरा गर्न हिँड्ने बाटो भएकाले सहज थियो। म एकैछिन सुस्त हुँदा दाइ निकै पर पुगिसकेको हुनुहुन्थ्यो। मलाई एक्कासि बाघ भालुको डरले छोप्थ्यो र म अकस्मात् कतैबाट वरदानमा जाँगर पाएझैँ गरेर खुर्र दौडिएर दाइको नजिकै पुग्थेँ। मेरो डर छुमन्तर हुन्थ्यो।
पछि त म यति थाकेँ कि चार हातखुट्टाले टेकेर हिँड्न थालेको थिएँ। बेकार आएछु भन्ने पनि नलागेको कहाँ हो र!
राती ११ बजे चार हातखुट्टाले टेकेर जसोतसो हामी दाइको घर पुग्यौँ। घर अँध्यारो थियो। त्यति बेला फोनको सुविधा अहिले जस्तो सहज थिएन, त्यसैले भाउजूलाई हामी आउँदै छौँ भन्ने कुराको जानकारी नै थिएन। त्यसैले उहाँ र दाइको छोरा कामधन्दा सकेर सुतिसकेको थिए।
दाइले ढोका ढकढक्याएर आवाज दिएपछि भाउजूले अर्धनिन्द्रामा आँखा मिच्दै दैलो उघार्नु भयो। त्यस बेला राती आइपुगेका हामीलाई देखेर भाउजू चकित पर्नुभयो।
भाउजूले पानीको व्यवस्था गरिइदिनुभएपछि जुठेल्नुमा हामीले हातखुट्टा धोयौँ। दाइलाई बाटोको ठाडो घाँटीले छोडेको थिएन। त्यसैले दाइले छोरोलाई पनि उठाउनुभयो। उसलाई उठाएर दाइले छिमेकबाट हाँस लिएर आउन अह्राई पठाउनुभयो। बाबुको डरले आँखा मिच्दै ऊ आफ्नो बाबुले भनेतिर लुरुक्क गयो। अचम्मसँग, त्यति राती पनि उसले हाँस लिएर आयो। त्यो मध्यरातमा दाइले बडो मिहिनेत साथ हाँस काटेर तयार पार्नुभयो।
अन्ततः खाना तयार भयो। भोक र थकाइले लखतरान मैले पहिलोपल्ट हाँसको मासुको झोलसँग खाना खाएँ। भाउजूको निन्द्रा कचमचिएको भए पनि हाँसको मासुको स्वाद भने कचमचिन पाएको थिएन। मैले खुब मिठो मानेर खाएँ। त्यो देखेर भाउजू खुसी हुनुभयो।
दाइले हतार हतार खाना खाएर मुख चुठ्न जुठेल्नुतिर जानुभयो। त्यही मौका पारेर भाउजूले मलाई सोध्नुभयो, ‘बाबु, दाइ घरदेखि टाढा हुनुहुन्छ। हामी यता, दाइ उता हुनुहुन्छ। दाइको धेरै पिउने बानी छ। मलाई साह्रै चिन्ता लाग्छ दाइको। तपाईंको तिर दाइले कसैले भनेको मान्नुहुन्छ या कसैको कुरा खानुहुन्छ र? कोही छ त्यस्तो जोसँग दाइ अलि हच्किनु हुन्छ, केही थाहा छ र तपाईंलाई? छ भने यो पिउने बानी हटाउन पाए पनि कति हाइसन्चो हुन्थ्यो मलाई।’
दाइको पिउने बानीबारे त मैले अघि बाटोमा पहिलो पटक छनक पाएको थिएँ। भाउजूले मध्यरातमा यसरी पहिलो पटक देखे-भेटेको म पिउसोलाई आफ्नो चिन्ता व्यक्त गर्नुभएपछि मलाई साह्रै नरमाइलो लाग्यो।
हाम्रो छिमेकमा हाम्रो घरमा मात्र टिभी थियो, ब्ल्याक एन्ड ह्वाइट। राती आठ बजेको समाचार हेर्न एक जना छिमेकी हजुरआमा हाम्रो घरमा आउँथिन्। ती हजुरआमा अलि कडा स्वभावकी थिइन्। जाँड खाएर होहल्ला गर्नेहरूलाई साफ झपार्थिन्, ती हजुरआमा। हजुरआमादेखि टोलका जडियाहरू थुरुरु नै हुन्थे। रक्सी लागेर हल्लिँदै हिँडेका जडियाहरू पनि हजुरआमा वरपर देख्नासाथै सतर्क भएर कुनै सैनिकले आफूभन्दा उपल्लो ओहोदाको हाकिम देख्दा तन्किएझैँ गरी तनक्क तन्किन्थे, र चुपचाप आफ्नो बाटो लाग्थे। यो सब मलाई खुब रमाइलो लाग्थ्यो।
त्यस रात भाउजूको चिन्ता सुनिरहँदा मैले तिनै हजुरआमालाई सम्झिरहेको थिएँ।
‘चिन्ता नलिनु, भाउजू! हाम्रो घरतिर एक जना हजुरआमा हुनुहुन्छ। ती हजुरआमासँग जो पनि डराउँछ। रक्सी पिउनेहरूको त झन् झाँको झार्नुहुन्छ। म उहाँलाई भन्दिन्छु, अनि उहाँले नै ठिक पार्दिनुहुन्छ दाइलाई,’ मेरो निर्दोष र निश्छल मनमा जे विश्वास थियो, त्यो व्यक्त गरेँ।
मेरो कुराले भाउजूको अनुहार केही उज्यालिएको थियो। भाउजूले मुसुक्क मुस्कुराएर एक डाडु मासु अझ थपिदिनुभयो। अघि नै अघाइसकेको भए पनि भाउजूको प्रेम स्विकारेर थपेको मासु पनि मिठो मानेर खाएँ।
शुक्रवारको रात पुगेका हामी शनिवार एक दिन त्यहीँ बस्यौँ र आइतबार फर्कियौँ। घरबाट निस्किँदा भाउजूको अनुहारमा दाइको बेपर्बाह पिउने बानीलाई लिएर सिर्जित चिन्ता मडारिइरहेको थियो। मैले भाउजूलाई तगारोमा पुगेर एक पटक फर्केर हेरेँ। भाउजू तगारोमै आइपुगिसक्नु भएको थियो। मैले अस्ति राती भनेको कुराको स्मरण गराउँदै ढुक्क हुन आश्वासन दिएँ। तर यसअघि सबै उपाय लगाएर काम नगरेकाले होला भाउजू त्यति विश्वस्त देखिनु हुन्नथ्यो, जुन कुरा उहाँको अनुहारमा प्रस्टै देखिन्थ्यो।
मैले मनमनै मेरो बाचा पूरा गर्छु भन्ने प्रण गरेँ। त्यति बेला मैले आफ्नो तर्फबाट गर्न सक्ने जे थियो, त्यही गरेँ।
त्यसपछि पर पुगिसकेका दाइलाई पछ्याएर म त्यहाँबाट बिदा भएँ।
त्यो महाभारत गरेर चार हातखुट्टा टेकेर उक्लिएको उकालो बाटो फर्किँदा ओरालो परेकाले सहजै पार गरियो। बाटोमा झोलुङ्गे पुलहरू पाइलैपिच्छे भेटिन्थे। आउँदा ख्याल नगरेका, सप्रिएर हरिया भएका धानका खेतहरू र थप झोलुङ्गे पुलहरू मैले फर्किँदा याद गरेको थिएँ।
साँझपख हामी घर आइपुग्यौँ। म थकानले चुर परेको थिएँ। दाइ पनि थाक्नुभएको थियो तर उहाँ त कोठामा झोला फालेर कतै निस्किहाल्नु भयो। सायद रक्सीको निमन्त्रणा स्विकारेर कुनै भट्टीतिर लाग्नु भएको थियो।
यता म बिस्तरामा ढल्केर भाउजूको त्यो रातको चिन्ता र घरबाट निस्किनु अघिको भाउजूको मलिनो अनुहार सम्झिरहेको थिएँ। त्यसैले निदाउनै लागेको म बिस्तराबाट जुरुक्क उठेँ र हजुरआमाको घरतिर लागेँ।
ती हजुरआमाको कान्छो छोराले भर्खर-भर्खर किराना पसल खोलेका थिए। पसल घरसँगै जोडिएको थियो। म हजुरआमाको घरमा पुग्दा दाइ पनि हजुरआमाकै घरमा आउनुभएको रहेछ। दाइ चर्को-चर्को बोलिरहनुभएको थियो। हजुरआमा दाइको गफ सुनेर मुसुमुसु हाँस्दै बसिरहेकी थिइन्।
दाइको अगाडि रक्सीको बोतल र एउटा गिलास थियो। टेबलमा दालमोठ, काटेको कागतीको आधा फग्ल्याँटो र केही काँक्राका सिक्का थिए। त्यो दृश्य मेरो लागि अपत्यारिलो अवश्य थियो तर त्यो सत्य थियो। मेरो बाल मनोविज्ञानले सिर्जना गरेको एउटा विश्वासको पर्खाल भत्केको समय थियो।
त्यो दृश्य देखेपछि मैले एकाएक भाउजूसँग गरेको बाचा सम्झिएँ। हामी घरबाट निस्किनु अघिको भाउजूको निराश अनि मलिन अनुहार सम्झिएँ। मनमा यसै गाँठो परेर आयो। त्यहाँबाट फरक्क फर्केर आएँ।
आठ बज्नै लागेको थियो। समाचार आउने बेला हुन लागेको थियो। म रिसले मुरमुरिएर बेलाउतीको बोट हुँदै छानामाथि चढेँ र टिभीको ऐन्टिना सर्लक्क घुमाइदिएँ।
समाचार हेर्न आएकी हजुरआमा टिभीमा कमिला नाचेको देखेपछि फर्केर आफ्नो घर गइन्। त्यो देखेर मेरो रिस केही मत्थर भयो।
त्यसै दिन मैले बुझेको हुँ, मान्छे तबसम्म नैतिकवान् र आदर्शवादी रहिरहन सक्छ जबसम्म उसले हिँडेको नैतिकता र आदर्शको बाटो आफ्नो कन्तुरको बाटो काट्न आइपुग्दैन।