लामो समयदेखि चर्चाको विषय बन्दै आएको काठमाडौं उपत्यकाका तीन जिल्ला समेट्ने बाहिरी चक्रपथको निर्माण कार्यले गति लिएको छ।
सडकको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि उपत्यका विकास प्राधिकरण काठमाडौंले जग्गा एकीकरणको सूचना जारी गरेसँगै आयोजना निर्माणको कार्य आधारभुत तहमा गएको जिल्ला आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।
चक्रपथ निर्माणको लागि उपत्यका विकास प्राधिकरणले बनाएको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) केही समय अगाडि स्वीकृत भएको थियो। डिपिआर पारित भएर जग्गा प्राप्तीको प्रक्रिया सुरु भएकोले सडक निर्माण यही वर्षबाट सुरु हुनेमा तिवारी ढुक्क छन्।
डिपिआरमा ल्यान्ड पुलिङको माध्यमबाट जग्गा प्राप्ति तथा व्यवस्थापन गर्ने, ब्लक योजना बनाउने जस्ता व्यवस्था गरिएको छ।
कुल ७३ किलोमिटर लामो बाह्य चक्रपथ खण्ड–खण्डमा निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा सतुंगल–चोभार खण्ड निर्माण हुने तिवारीले जानकारी दिए । यो खण्ड साढे ६ किलोमिटर लामो हुनेछ। कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाभित्र पर्ने ठाउँहरू बाह्य चक्रपथको यो खण्डले समेट्नेछ।
अयोजनाबाट प्रभावित हुने सात हजार रोपनी जग्गाको कित्ताकाट गरेर जिल्ला आयुक्तको कार्यालय काठमाडौंले राखेको छ। कसको जग्गा कति परेको छ भनेर कुनैपनि बासिन्दा कार्यालयमा बुझ्न आएमा कार्यालयले उपलब्ध गराउने आयुक्त दिपक श्रेष्ठले जानकारी दिए।
सडकको लागि आवश्यक पर्ने सबै जग्गा एकीकरण गरेर सडक बनाउने र सडकको वरीपरी घडेरी वा टाउनप्लानिङ गरेर सम्बन्धित धनीहरुलाई अनुपातिकरुपमा प्राधिकरणले जग्गा वितरण गर्ने छ।
यो प्रक्रियामा कुनै पनि जग्गा धनीहरुलाई विस्थापित नगर्नेगरी ल्यान्ड पुलिङको माध्यमबाट व्यवस्थापन गर्ने योजना बनाएको प्राधिकरणले सबै जग्गा र धनीको सूची तयार पारेको थियो। यसरी तयार पारिएको सुचना अनुसार अतिक्रमणमा पर्ने जग्गाधनीहरुको सूची राजपत्रमा प्रकाशित भएको छ।
यो खण्डमा ८ हजार ९ सय रोपनी जग्गा एकीकरणको लागि सूचना जारी गरिएको छ। जसमा १३ हजार ७ सय कित्ता जमिन रहेको छ। यो सूचीनमा परेका जग्गाको कित्ता कारोबार बन्द हुने छ भने ट्रयाक खोल्ने काम थालनी हुने प्राधिरकणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।
ट्रयाक खोल्दा सार्वजनिक खरिद ऐन, नियमअनुसार गरिने र आवश्यकता अनुसार उपभोक्ता समितिबाट पनि काम सम्पन्न गरिने आयोजनाले जानकारी दिएको छ। उपत्यकाको ट्राफिक व्यवस्थापन र फैलिँदो सहरीकरण व्यवस्थित गर्न सरकारले बाह्य चक्रपथको अवधारणा ल्याएको हो।
आव २०६०/६१ देखि नै निरन्तर बजेट विनियोजन हुँदै आएको थियो। जग्गा अधिकरणलाई लिएर ठाउँ–ठाउँमा स्थानीयको विरोधका कारण निर्माण सुरु हुन सकेको थिएन। उपत्यका विकास प्राधिकरणअन्तर्गत सञ्चालन हुने यो आयोजना एकैपटक निर्माण गर्न सम्भव नदेखिएपछि खण्ड–खण्डमा अघि बढाउने निर्णय भएको अधिकारीहरुको भनाइ छ।
प्रारम्भिक योजनाअनुसार बाह्य चक्रपथ काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ। यसैमध्ये पहिलो चरणमा काठमाडौंमा पर्ने सतुंगल–चोभार खण्ड निर्माण हुन लागेको हो। यसबाहेक अन्य खण्डको विस्तृत आयोजना प्रतिवेदन तयार हुन बाँकी छ। त्यस आधारमा बाह्य चक्रपथको स्वरुप प्रारम्भिक योजनाभन्दा फरक पनि हुन सक्छ।
अहिलेसम्मको योजनाअनुसार काठमाडौंमा बाह्य चक्रपथले ओगट्ने क्षेत्रमा चोभार, गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी छन्। ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्मती हुँदै चोभारसम्म जानेछ।
त्यस्तै, भक्तपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोटलाई पनि बाह्य चक्रपथले समेट्नेछ। पचास मिटर चौडा हुने बाह्य चक्रपथ आठ लेनको हुनेछ। यसमा साइकल लेनको पनि छुट्टै व्यवस्था हुनेछ। बाहिरी चक्रपथको दायाँबायाँ ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गर्ने योजना यसअघि नै घोषणा गरिएको थियो।
यसअघि आव २०६५/६६ मै सतुंगल–चोभार खण्डको निर्माण थालनी गर्ने भनिए पनि स्थानीयको विरोधले रोकिएको थियो। खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने स्थानीयको माग थियो। प्राधिकरणले ‘ल्याण्ड पुलिङ’ को अवधारणाबाट प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र बसोबास गराउने योजना ल्याएर सबैको सहमतिमै आयोजना सुरु गर्ने जानकारी दिएको छ।