बझाङ जिल्लामा निर्माण हुन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड जलविद्युत आयोजना साढे २ वर्षभित्र सम्पन्न गरिने भएको छ।
बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको लगानी जुटेको छ। परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन्।
ऋण लगानी सम्वन्धमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र बुङगल हाईडोको तर्पmबाट उमेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।
परियोजनाको कुल लगानी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ। यसमध्ये बैंकहरुको ७५ प्रतिशत र निर्माण कम्पनीको २५ प्रतिशत लगानी हुनेछ।
सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। परियोजनाको ट्रान्समिसन लाइन कम्पनी आफैले निर्माण गरेर चमेलियामा लगेर जोड्ने भएकोले ट्रन्समिसन लाइनको कुनै समस्या नरहने भएको छ।
परियोजनामा उमेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा, तीर्थ चटौत, राजेश श्रेष्ठ र बिरेन्द्र मल्ल मुख्य लगानीकर्ता रहेका छन्। परियोजनाको साइडको काम सुरु भइसकेको र कन्स्ट्रक्सनको काम पनि छिट्टै सुरु हुने कम्पनीले जानकारी गराएको छ। परियोजनाको डिजाइन एञ्जल इञ्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो।
यो समूहले बझाङमै कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१५.३३ मेगावाट) र अपर कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (३८.४६ मेगावाट) निर्माण गरिरहेको छ। तीनवटा परियोजनामा कुल लगानी करीव ११ अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ। यसमा आठ अर्ब बैंक र बाँकी निर्माण कम्पनीको लगानी हुनेछ। तीनवटा परियोजनामा १५ बैंक आवद्ध रहेका छन्।