दस वटा नयाँ जीवन बिमा कम्पनी खोल्न सरकारले अनुमति दिएसँगै करिब ६ हजारको संख्यालाई रोजगारीको अवसर सिर्जना हुने भएको छ। पहिलो चरणमा अर्थात अबको ६ महिनाभित्रमा ति कम्पनीमा सरदर १ सयका दरले कुल १ हजारले प्रत्यक्ष रोजगार पाउने छन्।
प्रमुख कार्यकारी अधिकृत (सिइओ)देखि कार्यालय सहायकसम्म एउटा कम्पनीलाई करिब १ सय जना कर्मचारी स्थापना हुनकै लागि चाहिने बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले जानकारी दिए।
‘स्वीकृत पाएका जीवन बिमा कम्पनीहरु कर्मचारीको प्रवन्ध गर्नतिर लागिसकेका छन्, यी दस कम्पनीलाई सुरुमा एक हजार कर्मचारी आवश्यक पर्दछ’ सेतोपाटीसित उनले भने।
सिटिजन्स, सन, ज्योति, सानिमा लगायत केही लाइफ इन्स्योरेन्स कम्पनीहरुले त कर्मचारी माग समेत गरिसकेका छन्। ति कम्पनीहरुले क्षेत्रीय म्यानेजरदेखि जुनियर असिस्टेन्टसम्मका कर्मचारीहरु माग गरिसकेका छन्।सबै कम्पनीमा पदहरु उस्तै छन्।
दोस्रो चरणमा अर्थात एजेन्टमार्फत हुने काममा प्रत्येक कम्पनीलाई कम्तीमा थप पाँच सय जना कर्मचारी जरुरत पर्ने चापागाईंले बताए। सिटिजन्स, स्टार, सन, सानिमा, रिलायन्स, रिलायबल, आइएमई, महालक्ष्मी, ज्योति र युनियन लाइफ इन्स्योरेन्स कम्पनी हालै स्वीकृत पाएका जीवन बिमा कम्पनी हुन्।
हाल संचालनमा रहेका बिमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या त्योभन्दा धेरै छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मुख्य तथा शाखा कार्यालय गरी प्रत्यक्ष रुपमा ३ सय ५० कर्मचारीहरु संलग्न छन्।
कम्पनीको ‘ह्यूमन रिसोर्स डिपार्टमेन्ट’ले दिएको जानकारी अनुसार त्योबाहेक १५ हजारभन्दा बढी एजेन्टहरु सक्रिय छन्। ति एजेन्टले पोलिसीअनुसारको कमिसन पाउने गर्दछन्।
बिमा क्षेत्रमा पनि दक्ष कर्मचारीको भने अभाव रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका एक वरिष्ठ अधिकारीले जानकारी दिए। ‘यो क्षेत्रको इतिहास ठूलो छैन, त्यसकारण पुराना कम्पनीलाई पनि दक्ष कर्मचारीको अभाव खड्किएकै छ’ उनले भने ‘नयाँ कम्पनीहरुले पनि यो महसूस गर्ने छन्।’ पछिल्लो समय बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरिएसँगै पुराना कम्पनीहरुका लागि पनि धेरै कर्मचारीको जरुरत पर्ने उनले जानकारी दिए।
नयाँ कम्पनीमा त सेयर पनि पाउँछन् कर्मचारीलेनयाँ जीवन बिमा कम्पनीमा प्रवेश गर्ने कर्मचारीले कम्पनीको सेयर पनि पाउँछन्। त्यसकारण जागिरको अलवा सेयर पाउने भएकाले कर्मचारीले दोहोरो फाइदाको लाभ उठाउन सक्छन्। जुन अवसर ज्यादै कम मात्रै आउने गरेको बिमा सम्वद्ध अधिकारीहरु बताउँछन्।
जीवन बिमा कम्पनीका लागि तोकिएको दुई अर्ब रुपैयाँ चुक्ता पुँजी अनुसार कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइनुपर्ने प्रावधान छ। जसअनुसार एउटा कम्पनीले कम्तीमा ६० लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याउनुपर्दछ। यसैमध्येको ५ प्रतिशत अर्थात ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित छ।
समूहगत रुपमा हेर्दा पछिल्लो समय बिमा कम्पनीहरुको सेयर मूल्य दोस्रो बजारमा सबैभन्दा उच्च छ।
बिमा समितिका अध्यक्ष चापागाईँ भन्छन् ‘बैंकको भन्दा बिमा कम्पनीमा जाने कर्मचारीलाई फाइदा बढी देखिन्छ, यसलाई अझै आकर्षकको केन्द्र बनाउन म लागिपर्नेछु।’