राजनीतिक अन्यौलता बढेसँगै नेप्सेमा प्रभाव परेको छ। आइतबार नेप्से ३२ दशमलव ६४ अंकले ओर्लिएको छ।
राष्ट्रिय जनता पार्टी र सत्तारुढ दलहरुबीच दोस्रो चरणको स्थानीय चुनावका विषयमा सहमति नजुट्दा नेप्से ओर्लिएको हो। कारोबार खुल्दा हरियो भएको ट्रेन्ड १५ मिनेट पनि टिक्न नसकी ओर्लियो। आजको कारोबारपछि नेप्से १५९० अंकमा झरेको छ।
१४६ कम्पनीको ७१ करोड १३ लाखको सेयर किनबेच भएको छ। होटल र उत्पादन बाहेकका समूहहरु ओर्लिएका छन्। होटल ३० र उत्पादन समूह १९ अंकले बढे। बैंकिङ २५, विकास बैंक २०, जलविद्युत ४५, फाइनान्स ७, बिमा १३८ र अन्य समूह १३ अंकले ओरालो लागे।
कारोबारका आधारमा स्टाण्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७ करोड ५३ लाखको कारोबार हुँदा मूल्य प्रतिकित्ता २२ सय ८७ कायम भएको छ। एनएमबि बैंकको संस्थापकतर्फको ४ करोड ८१ लाखको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४६ लाखको सेयर खरिदबिक्री भयो। यस दिन आरएसडिसी लघुवित्त र वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।
आरएसडिसीले १ बराबर २ को अनुपातमा हकप्रद निश्कासन गर्ने तयारी गरेकाले केही दिनयता उसको मूल्य उच्च दरले बढेको हो। एनएमबि बैंकको संस्थापक लगानीकर्ताले साढे ८ प्रतिशत मूल्य गुमाएका छन्। सोबाहेक अन्य गुमाउनेहरु ४ प्रतिशत र त्योभन्दा तल रहे।