झापाको दमक नगरपालिकास्थित वडा नम्बर एकमा आफू विजयी भए पनि जिल्ला निर्वाचन आयोगका पदाधिकारीहरुको मिलेमतोमा आफूहरुलाई हराउने योजना बनेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय कार्यकर्ता आक्रोशित भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर मानिएको यो ठाउँमा सुरुमा राप्रपाको उम्मेद्वारले चुनाव जितेका थिए। तर, मतगणना चित्तबुझ्दो नभएको भन्दै एमालेका पदाधिकारीले पुनः मतगणना गर्न दबाब दिएका थिए। पुनः मतगणना हुँदा दुवैतर्फका उम्मेदबार राप्रपाका ताराप्रसाद अधिकारी र नेकपा एमालेका हरि न्यौपानेले बराबर ८ सय १ मत खसेको निर्वाचन आयोगले जनाएको थियो।
तर, राप्रपाका पदाधिकारी तथा कार्यकर्ताले नियतवस आफूहरुलाई हराउन सुनियोजित ढंगले काम भएको भन्दै यसको आलोचना गरे। उनीहरुले बदर भएको मत पनि एमाले उम्मेद्वारको नाममा गणना भएको आरोप लगाएका थिए।
राप्रपाका कार्यकर्ताहरुले अहिले दमकस्थित मतगणना भएको स्थान घेरेर जिल्लाका निर्वाचन अधिकार परिवर्तन गर्नुपर्ने र पारदर्शीताका लागि मिडियालाई पनि मतगणना स्थलमा जान दिन पाउनुपर्ने माग राखेका छन्।