प्रदेश नम्बर १ को एक मात्र महानगरपालिका विराटनगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुली निर्वाचित हुने लगभग पक्का जस्तै छ।
िपछिल्लो मत परिणामअनुसार भीमले एमालेका विनोद ढकाललाई ५ हजार ३ सय १६ मतान्तरले पछि छोडेका छन्। अब वडा नम्बर १०, ११ र १२ को जम्मा १३ हजार ५ सय ३८ मत गणना गर्न मात्र बाँकी छ। १२ नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगिसकेको छ भने १० र ११ को सुरुवात भइरहेको छ।
भीमले १९ हजार १ सय ५१ मत प्राप्त गरेका छन्। फोरम लोकतान्त्रिकसँग गठवन्धन गरेको एमालेका विनोदले १३ हजार ८ सय ३५ र माओवादी केन्द्रसँग तालमेल गरेका संघीय समाजवादी फोरमका उमेश यादवले १२ हजार ६ सय ७७ मत ल्याएका छन्। यी दुईबीच दोस्रो हुने प्रतिस्पर्धा चलिरहेको छ।
भीमले सेतोपाटीसँग कुरा गर्दै आफ्नो जित निश्चित भएको प्रतिक्रिया दिएका छन्।
उपमेयरतर्फ कांग्रेसकी ईन्दिरा कार्कीले १६ हजार ६ सय ७० मत प्राप्त गरेकी छिन्। उनी पनि विजयतर्फ अग्रसर छिन्। दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी नमिता न्यौपानेले ९ हजार ७ सय ०६ मत प्राप्त गरेकी छिन्। तेस्रो स्थानमा रहेकी फोरम लोकतान्त्रिककी सुची चौधरीको ८ हजार ५ सय ७० मत छ।
विराटनगरमा ८० हजार ४ सय ७७ मत खसेको थियो। जसमा शनिवार बिहान सम्म १६ वटा वडाको मत गणना भैसकेकको छ।