मानौं, तपाईं लामो यात्रामा जाँदै हुनुहुन्छ! बीच बाटोमै रात पर्यो वा बेस्कन थकाइ लाग्यो!
यस्तो बेला गाडीका सबै सिट पछाडि ढल्काएर लम्पसार सुत्न पाए कस्तो होला?
मानौं, लामो यात्रापछि गन्तव्य पुगेर तपाईंले कतै होटल पाउनुभएन!
यस्तो बेला होटल खोज्ने झन्झट गर्नुभन्दा गाडीकै सिटमा लम्पसार सुत्न पाए कस्तो होला?
तपाईंहरू यस्तै सुविधा भएको र सँगसँगै हेर्दा पनि 'स्टाइलिस' देखिने, प्राविधिक क्षमता राम्रो भएको र मूल्य मध्यम खालको इलेक्ट्रिक 'एसयुभी' को खोजीमा हुनुहुन्छ भने चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले उत्पादन गरेको 'नामी भिगो' उपयुक्त विकल्प हुन सक्छ।
नेपालका लागि डोङफेङको आधिकारिक वितरक एमएडब्लू वृद्धि कम्पनीले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा नामी भिगोका दुई संस्करण सार्वजनिक गरेको छ। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले आयोजना गरेको यो प्रदर्शनी भदौ ८ गतेसम्म चल्नेछ।
नामी भिगोको सबभन्दा मुख्य विशेषता भनेकै यसका पाँचवटा सिट अगाडिदेखि पछाडिसम्म फोल्ड गर्न सकिन्छ। प्रिमियम स्तरका एसयुभी गाडीले मात्र दिँदै आएको यस्तो सुविधा डोङफेङले नामी भिगोमा ल्याएको हो।
गाडीका सबै सिट फोल्ड गर्दा अगाडिदेखि पछाडिसम्म १.८ मिटरको फराकिलो ठाउँ बन्छ। त्यसपछि तपाईं सिटलाई आरामदायी सोफाका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। लामो यात्रामा निस्कँदा गाडीभित्रै आरामले सुत्न सक्नुहुन्छ। नयाँ ठाउँमा होटल नपाउँदा कहाँ बास बस्ने भनेर चिन्ता मान्नुपर्दैन। आफ्नो परिवार र साथीसंगीहरू मिलेर क्याम्पिङ वा पिकनिक जाँदा पनि यो सुविधा उपयोगी हुन सक्छ।
हरेक सिटमा भेन्टिलेसन सुविधा राखिएकाले जाडो बेला तातो हुन्छ भने गर्मीमा सिट चिसो रहन्छ। यसले यात्रा र विश्राम दुवै अवस्थामा तपाईंलाई सहज अनुभव गराउँछ।
अन्तर्राष्ट्रिय बजारमा 'नामी ०६' का नामले ब्रान्डिङ गरिएको भिगोका दुई संस्करण 'भिगो–इ२' र 'भिगो–इ२ प्लस' हुन्। यी दुई मोडलबीच ३ लाख रूपैयाँको मूल्य अन्तर छ।
एमएडब्लू वृद्धिका विशाल सिवाकोटीका अनुसार भिगो–इ२ ३८ लाख ९९ हजार रूपैयाँ पर्छ भने इ२ प्लसको मूल्य ४१ लाख ९९ हजार रूपैयाँ छ। नाडा प्रदर्शनीमै बुकिङ गर्नेहरूले दुवै मोडलमा एक लाख रूपैयाँ छुट पाउने उनले बताए।
सस्तो मूल्यमा राम्रो गुणस्तरको एसयुभी खोज्नेहरूलाई नामी भिगो किन उपयुक्त विकल्प हो त?
हामी यो स्टोरीमा यसैबारे चर्चा गर्दैछौं।

सबभन्दा पहिला कुरा गरौं, यसको इन्जिन क्षमता र ब्याट्रीको शक्तिबारे।
दुवै संस्करणका नामी भिगोमा चुम्बक भएको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसले ९९ किलोवाटको अधिकतम शक्ति दिन्छ। यो भनेको १३५ हर्सपावर बराबरको शक्ति हो। बोलीचालीको भाषामा भन्दा यो इलेक्ट्रिक कारले १३५ वटा घोडा बराबरको शक्ति दिन्छ भन्ने बुझिन्छ।
भन्नुको मतलब, यो कार शक्तिशाली वर्गमा पर्छ। मोटरको शक्ति जति बढी भयो, गाडी उति छिटो गुड्छ। त्यसैले यो तीव्र गतिमा हुइँकिन सक्ने र कम समयमा धेरै रफ्तार लिने कार हो। यो अधिकतम १५० किलोमिटर प्रतिघन्टाको गतिमा गुडेको पाइएको छ। मध्यम र लामो दुरीको यात्राका लागि यो क्षमता राम्रो मानिन्छ।
ब्याट्रीको कुरा भिगो–इ२ मा ४४.९४ किलोवाट–प्रतिघन्टा क्षमताको प्रयोग गरिएको छ भने इ२ प्लसमा ५१.८७ किलोवाट–प्रतिघन्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। ब्याट्रीको यो क्षमतालाई सरल भाषामा बुझ्ने हो भने हामीले घरमा एक किलोवाट–घन्टा क्षमताको हिटर एक घन्टा चलाउँदा एक किलोवाट बिजुली खपत हुन्छ। त्यसैले नामी भिगोका ब्याट्रीले एक घन्टा गाडी गुड्दा ४४.९४ देखि ५१.८७ किलोवाट बिजुली खपत गर्छ भन्ने बुझ्नुपर्छ।
भिगो–इ२ को ब्याट्री फुल चार्ज हुँदा ३०० किलोमिटर गुड्न सक्छ भने इ२ प्लसको ब्याट्री ३५० किलोमिटर चल्छ। यसबाट दुवै संस्करणका गाडी एकचोटि चार्ज गरेर काठमाडौंबाट पोखरासम्म जान पर्याप्त पुग्ने देखिन्छ।
ब्याट्री चार्जिङको कुरा गर्दा ७ किलोवाटको एसी चार्जरले फुल चार्ज हुन ७–८ घन्टा लाग्छ। तर १५० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ प्रयोग गर्ने हो भने १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन्छ।
अब कुरा गरौं, गाडीको बाहिरी बनावट र भित्री डिजाइनको।
यसको लम्बाइ ४.३ मिटर छ भने चौडाइ १.८ र उचाइ १.६ मिटर छ। बाहिरबाट हेर्दा जति ठूलो देखिन्छ, भित्र पनि उत्तिकै फराकिलो र आरामदायी छ।
यो गाडीको 'ग्राउन्ड क्लियरेन्स' अर्थात् सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी ६.७ इन्च (१७० एमएम) छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यो गाडी कच्ची बाटोको निम्ति पनि उपयुक्त हुन्छ।
यसबाहेक अगाडि र पछाडिका पांग्राबीचको दुरी २.७ मिटर छ। यसलाई प्राविधिक भाषामा 'ह्विलबेस' भनिन्छ।
ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।

नामी भिगोको प्राविधिक विशेषता भनेको यसमा चालकलाई गाडी हाँक्न मद्दत गर्ने प्रविधि उच्च स्तरको छ। यसलाई प्राविधिक भाषामा 'एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम– लेभल २' भनिन्छ। यसले गाडीमा जडान गरिएको सुरक्षा प्रणालीलाई बुझाउँछ।
उदाहरणका लागि —
यो गाडीले स्टेयरिङ, ब्रेक र एक्सिलेरेटरमा स्वत: नियन्त्रण गर्न सक्छ। भन्नुको मतलब, गाडी सडक लेनबाट बाहिर जान लाग्यो भने स्टेयरिङले स्वचालित रूपमा काम गर्छ।
गाडी गुड्दा गुड्दै अगाडि कुनै मान्छे आयो वा गाडी नै आयो भने क्यामराको मद्दतले गति आफै समायोजन हुन्छ। अर्थात्, अगाडिको गाडीको गति कम हुँदा यसको गति पनि स्वत: कम हुन्छ। ताकि, गाडी ठोक्किनबाट बचोस्।
यो गाडी चालकबिना आफै गुड्ने (सेल्फ ड्राइभिङ) भने होइन। यो प्रणालीले काम गर्न चालकको हात स्टेयरिङमा हुनैपर्छ। सँगसँगै, उसको ध्यान पनि सडकमै हुनुपर्छ। चालकले स्टेयरिङबाट हात हटायो वा केही सेकेन्डसम्म दायाँबायाँ आँखा डुलायो भने गाडीले चेतावनी दिन्छ। त्यो चेतावनीका आधारमा चालकले गाडी नियन्त्रण गर्ने समय पाउँछ।
यति हुँदाहुँदै पनि चालकले गाडी नियन्त्रण गर्न सकेन भने सिस्टम स्वत: बन्द हुन्छ र गाडी रोकिन्छ।
यसमा चारवटा क्यामरा जडान गरिएका छन्। एउटा क्यामरा अगाडि छ भने एउटा पछाडि। त्यस्तै, दायाँ र बायाँका लुकिङ ग्लासमुनि एक–एकवटा क्यामरा छन्। यी क्यामरले वरिपरिका दृश्य ३६० डिग्रीमा हेर्न मद्दत गर्छ।
नेपालमा मनसुन बेला र हिउँदमा हुस्सु लाग्दा अगाडिको दृश्य राम्ररी नदेखेर चालकलाई गाह्रो पर्छ। क्यामरा जडान गरिएका यस्ता गाडीले प्रतिकूल मौसममा पनि बाटो सफा देखिने हुँदा हाँक्न सहज हुन्छ।

यसको बाहिरी आवरणबारे कुरा गर्दा अंग्रेजी अंक '७' आकारमा एलइडी हेडलाइट छन्, जसले झट्ट हेर्दा नै हाम्रो ध्यान खिच्छ। इ२ प्लस मोडलमा त यी हेडलाइटको प्रकाश स्वत: कम वा बढी हुने सुविधा पनि छ।
यसका दुई संस्करणमध्ये भिगो–इ२ मा १७ इन्चको टायर छ भने इ२ प्लसमा १८ इन्चको टायर छ।
यो गाडीको 'टर्निङ रेडियस' लगभग ५.३ मिटरको छ। यसको मतलब, साँघुरो बाटोमा पनि सजिलै मोड्न सकिन्छ। टर्निङ रेडियस धेरै भएको गाडी घुमाउन फराकिलो ठाउँ चाहिन्छ। त्यही भएर नामी भिगो काठमाडौं लगायत सहरी क्षेत्रका साँघुरा बाटामा चलाउन सजिलो हुने देखिन्छ।
भित्री डिजाइनको कुरा गर्दा यो पाँचवटा सिट भएको गाडी हो। यसमा १२.८ इन्चको टचस्क्रिन छ, जसमा गाडीका सबै प्राविधिक सूचना अपडेट भइरहन्छन्। स्टेयरिङको ठिक पछाडि ८.८ इन्चको डिजिटल स्क्रिन पनि छ। गाडीभित्र आवश्यकताअनुसार विभिन्न रङको बत्ती बाल्न मिल्ने प्रविधि छ।
गाडीको पछाडिको डिक्की, जसलाई 'बुट स्पेस' भनिन्छ, त्यसको क्षमता ५०० लिटर छ, जसमा तीन वटासम्म ठूला खालका सुटकेस अट्छन्। डिक्कीलाई १००० लिटर क्षमतामा विस्तार गर्ने सुविधा पनि नामी भिगोले दिएको छ।
यो गाडी सेतो, खैरो, हरियो, कालो र सुन्तला रङमा उपलब्ध छ।
***
यी पनि पढ्नुहोस्: