गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका गृहमन्त्रीहरूको श्रीलंकामा भएको बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका छन् । उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
बैठकमा सार्क राष्ट्रहरूमा आवागमन गर्दा सदस्य मुलुकका नागरिकका लागि राहदानी प्रक्रियालाई सरलीकरण गर्न आधुनिक सूचना प्रविधिसहितको ‘सार्क भिसा एक्जिम्सन स्टिकर स्किम’ को विकास गर्ने र सबै सदस्य राष्ट्रको सहमति कायम गरेर कार्यान्वयनमा जान बाँकी काम छिटो सम्पन्न गर्ने निर्णय गरिएको गृहमन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी बैठकमा सार्क राष्ट्रका प्रहरी संगठनबीच सहयोग र समझदारी विकास गर्न सार्क क्षेत्रका प्रहरीको सम्मेलन आगामी सेप्टेम्बर महिनामा नेपालमा आयोजना गर्ने निर्णय भएको थियो। बैठकमा आतंकवाद, क्रसबोर्डर, लागू पदार्थको ओसारपसारलगायतका विभिन्न आपराधिक गतिविधिको सबै सदस्य राष्ट्रहरूबाट भत्र्सनासमेत गरिएको थियो।
सूचना प्रविधिको विकाससँगै बढ्दै गएको साइबर क्राइम नियन्त्रण गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो।
बैठकबाट सार्क राष्ट्रका दुई पक्षीय र क्षेत्रीय सहायता बढाउन सहयोग पुगेको महसुस गरिएको विज्ञप्तिमा भनिएको छ। बैठकमा गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी र गृह प्रवक्ता दीपक काफ्ले श्रीलंका गएका थिए। रासस