पहिराका कारण विस्थापित गलकोट नगरपालिका–७ मल्मकी मनकुमारी चोखाललाई जापानमा रहेका नेपालीले पाँच लाख रुपैयाँ सहयोग जुटाएका छन्।
चोखालको पुनःस्थापना र जीवनयापनमा सघाउन गलकोटबाट जापान पुगेका प्रवासीले सहयोग अभियान चलाएका थिए। एक सय १० जनाबाट उक्त रकम संकलन भएको गलकोट समाज जापानका उपाध्यक्ष भवानी पन्तले जानकारी दिए।
त्रिसठ्ठी वर्षीया चोखालको अस्थायी कच्ची घर दुई साताअघि गएको पहिराले क्षतिग्रस्त बनाएको थियो। परिवारमा कोही नभएपछि एक्लै जीवनयापन गर्दै आएकी चोखाल अहिले छिमेकीका घरमा आश्रय लिएर बसेकी छन्। अन्नपात, लत्ताकपडा, भाडाकुँडासमेत पहिरामा पुरिएपछि उनको उद्धार र राहतका लागि जिल्ला र प्रवासमा समेत सहयोग अभियान चलेको हो।
जापानमा संकलित रकमबाट चोखाललाई नयाँ घर बनाइदिने योजना बनाइएको अभियानकर्मी तेजबहादुर थापाले बताए। चोखाललाई राहत रकम जुटाउन प्रवासीले ‘मनकुमारी चोखाललाई सहयोग गरौँ’ भन्दै फेसबुक अभियान चलाएका थिए।
पति वियोगपछि एक्लो बनेकी चोखाल २०५६ सालमा सुकुम्बासी आयोगले दिएको जग्गामा रहेको अस्थायी घरमा बस्दै आएकी थिइन्। पति, सन्तति र परिवारमा कोही पनि सदस्य नभएपछि चोखाल सहराराविही छिन्। उनलाई राहत उपलब्ध गराउने उद्देश्यले बागलुङ सदरमुकाममा चलेको अभियानमा पनि ४० हजार संकलन भएको छ।
नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लबलगायत संघसंस्थाले नगद तथा राहत सामग्री उपलब्ध गराएको अभियानकर्मी मुकेशचन्द्र राजभण्डारीले बताए। जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि उनलाई दश हजार उपलब्ध गराएको छ। रासस