दलित समन्वय नगरसमिति उर्लाबारीले पाँचजना अपाङगता भएका दलितलाई सिलाइ मेसिन वितरण गरेको छ । शनिबार उर्लाबारी– ४ स्थित रामेश्वर शिवालय मन्दिरमा आयोजित स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा सिलाइ मेसिन वितरण कार्यक्रममा पाँचजना अपाङ्गता भएका दलित तथा तिनका आश्रित परिवारलाई मेसिन वितरण गरिएको हो।
उर्लाबारी नगरपालिकाको सहयोगमा प्राप्त सिलाइ मेसिन उर्लाबारीका प्रेमकुमारी बर्देवा, विश्वेश्वरी विश्वकर्मा, हर्कमाया विश्वकर्मा, मायाशङ्कर र दिलबहादुर दर्जीलाई वितरण गरिएको हो। कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फाँगो, उपप्रमुख लक्ष्मी भण्डारी, नगरपालिकाका कार्यकारी अधिकृत अम्बिकाप्रसाद चौलागाईंले उनीहरुलाई सिलाइ मेसिन प्रदान गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख फाँगो, उपप्रमुख भण्डारीका साथै वडाध्यक्ष, सदस्यलाई समितिले सम्मान तथा बधाई ज्ञापन गरेको थियो। रासस