झापाको गौरादह नगरपालिका– २ मा निर्माण हुन लागेको शहरी स्वास्थ्य क्लिनिक भवन निर्माणका लागि स्थानीय दुईजना दाताले ४ कठ्ठा जग्गा दिएका छन्।
गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीका अनुसार स्थानीय भोलानाथ पौडेलले तीन कठ्ठा र दुर्गादेवी अधिकारीले एक कठ्ठा जग्गा दान दिएका हुन्। दान दिएको जग्गाको मूल्य करिब १५ लाख रुपैयाँ पर्ने बताइएको छ। दाता पौडेलले जनस्वास्थ्य कार्यालयको नाममा जग्गा पास गरिसकेका छन् भने दाता अधिकारीले छिट्टै पास गरिदिने वडाध्यक्ष कार्कीले बताए।
वडाध्यक्ष कार्कीका अनुसार क्लिनिक निर्माणका लागि स्वास्थ्य मन्त्रालयतको पुर्नजागरण शाखाबाट २५ लाख रुपैयाँ निकासा भएको छ। समुदायमा आधारित क्लिनिकको भवन निर्माणका लागि अनुदानस्वरुप सरकारले एकमुष्ट उक्त रकम उपलब्ध गराएको हो। क्लिनिक निर्माणमा लाग्ने बाँकी रकम उपभोक्ता समितिले पूर्ति गर्नुपर्ने वडाध्यक्ष कार्की बताउँछन्।
नगरपालिकाअन्तर्गत महारानीझोडा स्वास्थ्य चौकीका प्रमुख गोविन्द श्रेष्ठले बजार क्षेत्रभन्दा टाढाका जनतालाई सेवा पुर्याउने उद्देश्यले शहरी स्वास्थ्य क्लिनिक निर्माणको योजना ल्याइएकोले हाल उपलब्ध जग्गा सही स्थानमा भएको बताए।
उक्त स्थानमा क्लिनिक निर्माण भए नगरका दक्षिण क्षेत्रका ठूलो संख्यामा आदिवासी समुदायले घरनजिकै स्वास्थ्य सेवा पाउने छन्। रासस