रत्ननगर उद्योग वाणिज्य सङ्घ, चितवनको आठौँ अधिवेशनले राजाराम रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ।
असार २६ गतेबाट शुरु भएको आठौँ अधिवेशनमा विधान संशोधनको विषयमा विवाद उत्पन्न हुँदा छ दिनपछि शनिबार तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो। समितिमा सबै कार्यसमिति निविरोध भएको सङ्घका वर्तमान अध्यक्ष रेग्मीले जानकारी दिए।
वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, वाणिज्यतर्फ उपाध्यक्षमा विनोद पोखरेल, वस्तुगततर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएटतर्फको उपाध्यक्षमा शंकर गिरी निर्विरोध भएका छन्।
असन्तुष्ट पक्षको नेतृत्व गरेका भट्ट र गिरीले उपाध्यक्ष पद पक्का गरेपछि विरोधका कार्यक्रम रोकेर सहमतिमा आएका हुन् । यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी चयन भएका छन्।
अधिवेशनले विभिन्न क्षेत्रबाट १८ जना सदस्यसमेत निर्विरोध चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जनाएका छन्। रासस