वर्षाका कारण महोत्तरी जिल्लाका ४० ग्रामीण सडकमध्ये ३२ सडक अवरुद्ध भएका छन्।
पटक पटकको वर्षाका कारण सडक बिग्रिएपछि बाटो अवरुद्ध भएको छ भने बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन्। वर्षायाम सुरु भएपछि मटिहानी–जलेश्वर परिक्रमा, भिठ्ठामोड–जनकपुर सडक, मटिहानी–जनकपुर –रामजानकी पथ, जलेश्वर–हर्दी हुलाकी सडक, जनकपुर– लोहारपट्टी सडक र जलेश्वर बर्दिवास सडकखण्डको यातायात सेवा अवरुद्ध एवं पटक पटक प्रभावित हुने गरेको छ।
सवारी साधन चाँडै बिग्रने र हिलाम्मे सडकमा गाडी चलाउँदा हैरानी खेप्नुपरेपछि चालक सो सडकमा गाडी गुडाउन मान्दैनन्। सडकमा जताततै खाडल र पानी पर्नासाथ आउजाउ गर्न नसकिने तथा हिलोले हैरानी भोग्नुपरेपछि चालकदेखि यात्रुलाई सास्ती बेहोर्नुपरेको हो।
जिल्लाका अधिकांश सडकमा ठूलाठूला खाल्डाखुल्डीका कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ। यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्दा मानिस सदरमुकाम जलेश्वरलगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन्।
ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउन समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ। ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा वस्तुको मूल्यवृद्धि हुन थालेको छ। ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्यक सेवाका लागि समस्या भइरहेको स्थानीयवासी बताउँछन्।
जिल्ला समन्वय समिति(जिसस), परिक्रमा सडक परियोजना तथा सडक विभागलगायत निकायले सडकको मर्मतसम्भार तथा नयाँ सडक निर्माणका नाममा वर्षेनी करोडौँ रुपैयाँ खर्चिने गरेका छन्। तीनै निकायको आँकडालाई नियाल्ने हो भने पछिल्लो एक वर्षमा जिल्लामा सडकका नाममा झण्डै रु ५० करोडभन्दा बढी रकम खर्च हुने गरेको छ।
खासगरी जिल्लास्थित कच्ची तथा कृषि सडकका लागि प्रत्येक वर्ष असार मसान्तमा जिससले ठूलो लगानी गर्ने गरेको छ। चालु आवमा पनि विदेशी संस्थाको सहयोगमा झण्डै रु दुई करोडभन्दा बढी लगानी गरिएको जिसस योजना शाखाले जनाएको छ। अझै पनि जिल्लाका कुनै सडकखण्डमा जिल्लावासी निर्धक्क र सामान्य रुपमा हिँडडुल गर्न नसकिने अवस्था छ। रास