विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरू गरेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तरगत उक्त सडक व्यवस्थित एवं पुनर्निर्माण हुुन लागेको हो ।
१४ वटा सडकको निर्माण लागत एक अर्बभन्दा बढी रहेको छ । उक्त सडकको लम्बार्इ २५ किमी रहने जनाइएको छ । महानगरपालिकाका विभिन्न १० वटा वडाका सडकलाई व्यवस्थित एवं विस्तार गर्न लागिएको हो । सडक विस्तारका लागि ठेक्काको कामसमेत सम्पन्न भइसकेको छ । विराटनगर महानगरपालिकाको वडा नं १६ देखि २० नं जोड्ने दरैयामार्ग, वडा नं १८ को जतुवा चोकदेखि कठकुप्पासम्म व्यवस्थित सडक निर्माण गर्न लागिएको बताइएको छ ।
त्यस्तै, विराटनगर–५ को खानेपानी ट्याङ्की हुँदै जामुनेश्वर मार्गसम्म, वडा नं ४ को कञ्चनमार्ग, भूपूुमार्ग तथा औषधि व्यवस्था विभाग हुँदै बिहीबारे हटियासम्म त्यस्तै, वडा नं १ को नमूनामार्ग, वडा नं २ को संसारी माईपथ तथा विराटनगर–११ को अशोक चोक जाने सडकलाई व्यवस्थित गर्न लागिएको हो ।
यसै आवमा काम सम्पन्न गर्ने गरी सडक विस्तारसँगै दुवैतर्फ व्यवस्थित नाला र स्तरीय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमूना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख इन्दु कार्कीले बताईन् । रासस