नेकपा(माओवादी केन्द्र)को सहयोग बेगर नेकपा(एमाले)को सिंहदरबार पुनः प्रवेश असम्भव थियो। निर्वाचन प्रणाली र समीकरणको क्रुर खेलका कारण जनताको सह्राहनीय साथ र सहानुभूतिका वावजुद पनि एमाले आफ्नो एक्लो बलबुत्ताले यो हैसियतमा पुग्न कम्तीमा एक वा आधा दशक लाग्ने थियो। लोकतन्त्र, राष्ट्रियता, स्वाभिमान र समृद्धिको मुद्दामा अब्बल भए पनि समीकरणको खेलमा कमजोर देखिएको एमालेले चुनाव अघि एकाएक ‘यु’ टर्न मोड लिन सक्यो। माओवादी केन्द्रसँग चुनावी तालमेल, गठबन्धन संस्कृतिको विकास हुँदै पार्टी एकताको संघारमा आइपुग्दा कांग्रेसलाई अस्तित्व रक्षाको महासंकटमा पार्दै एमाले आज राष्ट्रिय राजनीतिको मियो बनेको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा एमालेसँग तालमेल नगरेको भए माओवादी केन्द्रको हालत आजको नेपाली कांग्रेसको भन्दा पनि नाजुक हुने पनि निश्चित थियो। नेपाली कांग्रेससँगको अप्राकृतिक गठबन्धन तोडेर एमालेसँगको प्राकृतिक गठबन्धन कस्ने एउटै सही निर्णयले माओवादीलाई उठाइ दियो। एमालेसँगको सहकार्यको आडमा माओवादीले आफ्नो आँगनमा हुन थालेको औंसीको अवतरणलाई कांग्रेसी आँगनतिर ठाउँ सारी गर्न सक्यो। समग्रमा दुई ठूला वाम घटकका लागि फुटको निरन्तरताको क्रमभंग वरदान सावित भएको छ भने वामपन्थीहरुलाई फुटाएर भैँसीको मासु सिँगको अचानो गर्न पल्केको कांग्रेस जीवनबाट हात धुन विवश देखिदैछ। गणेशमान सिंह, वृmष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला जस्ता विशाल बटवृक्षको छहारी बिनाको आजको कांग्रेसले भोग्नु परेको यो करारी हारले कृष्णको मृत्युपछिका यदुवंशीहरुले भोग्नु परेको महाविनाशलिला स्मरण गराउँछ भने आफ्नै कमजोरी, असफलता र अनुभवबाट पाठ सिक्तै यहाँसम्म आइपुगेका वामपन्थीहरुको पोल्टामा परेको उत्थान र उत्कर्षमा टुहुराको पनि दिन आउँछ भन्ने नेपाली उखान चरितार्थ भएको छ।
सँगसँगैको सत्य के पनि हो भने केवल एउटा चुनावको परिणाम हेरेर काग्रेसको पुनरुत्थानका सबै संभावनाहरु टरिसके र वामपन्थीहरुका संकट र चुनौतीहरु सदाका लागि सकिए भन्ने निष्कर्षमा पुग्नु सुरुवाती गल्ती हुनेछ। यस प्रकारको सुरुवाती गल्तीबाट बाम गठबन्धन जोगिनु वा नजोगिनुमा नेपालको राजनीति निर्भर हुनेछ। एक हदसम्मको युद्ध, द्वन्द्व, कटुतापूर्ण प्रतिष्पर्धा, ताममेल, गठबन्धन हुँदै पार्टी एकताको संघारसम्म आइपुग्दा एमाले र माओवादी बिचको समन्धका विभिन्न आयामहरु रहेका छन्। अब यी दुई पार्टीको समन्ध र त्यसको असर केवल दुई पार्टीमा सीमित रहेन। चुनावमा अभिव्यक्त जनमत र राज्य हाँक्नका लागि प्राप्त जनादेश सृजित गहनता र उत्तरदायित्वले यी दुई दललाई अघि बढ्ने अनुमती छ तर पछि हट्नलाई छुट छैन। किनकी इतिहास यस्तो निर्मम र अरर्रो हुन्छ कि जस्ले मागेको बेला गज दिदैन नमागेको बेला थान सुम्पिदिन्छ र गज दिन नचाहँनेबाट थान असुल्ने गरिदिन्छ।
सत्तारुढ दलको आन्तरिक जीवन जनादेश र जनमतसँग जोडिएको विषय हो। जनता र राष्ट्रको मुटुको धमनी जस्तो संवेदनशील यस मुद्दालाई बिगतमा उत्कर्षको बेला एमाले, कांग्रेस, माओवादी, राप्रपा र फोरम सबैले हल्का रुपमा लिएको इतिहास छ। भाइ छुटिए जस्तो वा श्रीमान् र श्रीमतिले पारपाचुके गरे जस्तो वा पारिवारिक पुनर्मिलन जस्तो सपाट मुद्दा होइन, पार्टीकोे एकता र विग्रह। काँधमा हिमालयभन्दा गरौं बोझ छ भन्ने सत्यलाई हर पल र हर घडी ह्रदयंगम गर्ने चेत र विवेक भएको दलले मात्र जनताको जनादेशको कदर र सदुपयोग गर्ने सामथ्र्य राख्दछ। विगतमा कांग्रेस बारम्बार यसमा चुकेकै हो। एमाले र माओवादी केन्द्र इतिहासको यस मागलाई संवोधन गर्न चुक्नुको मूल्य यी दुई दललाई निकै महंगो पर्ने छ। त्यसको प्रत्यक्ष लाभ नेपाली कांग्रेसको पोल्टामा पर्ने छ। यसबाट एकातिर वामपन्थ संसारमा असफल भएको नजीर बस्नेछ र अर्कोतर्फ पुनरुत्थानका सबै संभावनाहरु कमजोर रहेको कांग्रेस फेरि उठ्ने छ र कांग्रेस बिना देश चल्न सक्तैन भन्ने भ्रम पुनः सवल भएर आउने छ। यदि भविष्यमा कांगे्रस तंग्रिए छ भने वामपन्थीहरुको विजय उन्माद, वेमेल, विचार शुन्य राजनीति, भड्किलो र अपारदर्शी जीवन शैली, अनियमितता र मनमौजी जस्ता कमजोरी र अकर्मण्यताले प्रदान गर्ने मैदान भएरै तंग्रिने हो।
खँदिलो एकता र विचार राजनीतिको जादु बिना कुनै पनि दल जनताको दिलमा बस्न सक्तैन। राजनीतिमा जनताको दिलमा बस्न नसक्नुको अर्को नाम नै भिरको डिलमा पुग्नु हो वा पतनलाई वरण गर्नु हो। आफु र आफ्नो दललाई जनताको सेवक र देशको सच्चा सौन्दर्यकर्मीका रुपमा वचन र व्यवहारले उभ्याउन सक्ने र जनतालाई अनुभूति दिलाउन सक्ने नेतृत्व, जनताको हित, जीविका, स्वाभिमान, समृद्धि र एकतालाई सर्वस्व ठान्ने सचेत, संगठित र लक्ष्यवर्ती कार्यकर्तापंति भएको दल मात्र आधुनिक राष्ट्र राज्यको नायकत्वको हकदार हुन्छ। यसको उल्टो कार्यकर्तापंति, सहकर्मी, पार्टी, राष्ट्र र जनतालाई आफ्ना सौन्दर्यकर्मी ठान्ने नेतृत्व र उसैको तावेदारी गरी रहलपहलमा राल काडेर लुछाचुडीमा हात धोएर लाग्ने आत्मसुरक्षाको भावनाले ग्रस्त सहयोगी पंति भएको दल ढिलो चाँडो जनताको कोपको भागेदार हुन्छ। अहिले एमाले र माओवादी जनताको कठोर अग्निपरीक्षामा छन्। यो समय यी दुई दलका लागि मूलतः आफ्नो इमान र औकात पुष्टि गर्नु पर्ने दुर्लभ र अन्तिम अवसर पनि हो। वेइमान गर्न सक्ने ठाउँमा पुगेर पनि वेइमान नगर्नेले मात्र इमानदारको प्रमाण पत्र पाउँछ। अहिले जनता जनाद्र्धनले वामपन्थी शक्तिलाई ठूलो अनुकम्पा गरेर लोकतन्त्रप्रतिको अटल निष्ठा प्रमाणित गर्ने ठाउँमा पु¥याएका छन्। जनताको विकर्षण र कोपबाट जोगिन सक्ने कलाको अर्को नाम नै लोकतान्त्रिक व्यवहार हो। लक्ष्यवर्ती राजनीति नै कुनै पनि दलका लागि रक्षा कबच हो। पार्टीको आन्तरिक जीवनको संवेदनशील घडीमा संयम, प्रतिपक्षमाथि सहिष्णु, विरोधका स्वर सुन्न कक्ने धैर्य, जनताप्रति उत्तरदायी, जनताबाट नियन्त्रित र परीक्षित रहेसम्म वामपन्थीहरु मुलुकको मियो बनिरहने छन्।
विकसित हुँदै गएको सहकार्यको राजनीति र चाँडै हुन थालेको एकीकृत पार्टीका मुहान भनेका आजका एमाले र माओवादी नै हुन्। मुहान सङ्लो भए मात्र चुहान सङ्लो हुन्छ। तुलनात्मक रुपले अहिले बढी धमिलो एमालेकै भँगालोमा देखिन्छ। ठूलो आकार, वहुधु्रवीय नेतृत्वसहितको आन्तरिक जीवन, भुसभुसे र गनेगने प्रकृतिकै सही जवज र जवज विरोधी मतको अस्तित्व सहितको वैचारिक मतभेद र जनताको वहुदलीय जनवादका वंशज र झट्केला समर्थकको बीच वहशको लामो परम्पराका कारणले एमाले माओवादीको तुलनामा बढी विवादग्रस्त भएको हो। वैचारिक भिन्नता र तुषको मौजुदीका कारण भोलि बन्ने पार्टीको टाउको दुःखाइको विषय एमालेमा ल्याउन खोजिएको कृतिम वैचारिक भिन्नता र उत्तराधिकारको प्रश्न हुने देखिन्छ। यही बीचमा वामपन्थीहरुको उत्थान र उत्कर्ष नचाहने बाह्य शक्तिको चलखेल तिब्र छ। पार्टीभित्रको अन्तरसंघर्षमा तल परेकाले धमिलो पानीमा माछा मार्न खोज्नु वा पकड जमाएकाले थप बलियो हुन खोज्नु पनि द्वन्द्ववादको नियम संगतकै कुरा हो। जसरी पनि एकता टुटाहाल्ने तत्व र जसरी पनि एकता गर्नु पर्छ भन्ने दुई थरि अतिवादको विचमा सिद्धान्तनिष्ठ भावनात्मक एकता समाधान सूत्र हो। नून बिनाको अचार र सर्जाम बिनाको नून उपयोगी हुँदैन। सत्य जहिले पनि बीचमा हुन्छ। एकताको सट्टामा विचार फ्याँकिहाल्ने वकालत गर्नु, स्थापित सिद्धान्त, मूल्य र मान्यतालाई फाटेको चप्पल जस्तै त्याज्य ठान्नु, एकतासँग विचारको अंगभंग, विक्री वा विस्थापन गर्ने दाउ हेर्नु निष्ठाको राजनीति होइन।
प्रतिकूलतामा होस् वा उत्कर्षको अवस्थामा विचार राजनीतिको औचित्य सदावहार प्रकृतिको हुन्छ। जननेता मदन भण्डारीले समृद्ध पार्नु भएको विचार राजनीतिको वैतर्णीको उपाध्येता अहिल्यै सकिसकेको निष्कर्षमा पुग्नु एमालेका लागि विनाशकाले विपरीत बुद्धि हुनेछ। लोकतन्त्र, अग्रगमन, स्वाभिमान र समृद्धिको खुला ध्वजाको रुपमा रहेको जनताको वहुदलीय जनवाद हालै सम्पन्न चुनावमा अभिव्यक्त जनमतको ढुक्ढुकी हो। महाभारतमा महाप्रस्थानको बेला युधीष्ठिरले साथमा रहेको कुकुरका लागि स्वर्गको ढोका नखुल्ने हो भने एक्लै स्वर्ग प्रवेश गर्न इन्कार गरे जस्तै जस्तासुकै अवसरको मूल्यसँग एमालेले जवज त्याग्नु छैन। यसका लागि जवजको अधिरचना वा गर्भगृह,र यसका प्रतिको तूष र विरोधको लामो सिलसिला, कुण्ठा विस्फोट, प्राधिकारको दौड र चलखेलहरुको विश्लेषण आवश्यक हुन्छ।
सर्व प्रथम त जवज, माओवाद, प्रचण्ड पथ र एक्काइसौं शताब्दिको जनवाद नेपालको सन्दर्भमा लेनिनले भन्नु भएको र माओले समृद्ध पार्नु भएको नौलो जनवादका भिन्नाभिन्नै नेपाली संस्करण हुन्। २०४९ सालमा सीपी मैनालीले जवजको प्रतियोगी कार्यक्रमका रुपमा प्रस्तुत गर्नु भएको परिमार्जित नौलो जनवाद र हाल एमालेमा उपमहासचिव घनश्याम भुसालले प्रकट गर्ने गरेका धारणाहरु नौलो जनवादी सिद्धान्तबाट चिप्लिएका संशोधनवादी भ्रान्तहरु हुन्। यो भ्रान्तबाट कम्युनिष्ट आन्दोलनलाई जोगाउने दायित्व एमालेभित्रका विचार राजनीतिका पारखीहरुको हो। किनकी समस्या एमालेभित्रै बाट प्रकट भएको छ। पार्टी एकतापछि स्वभाविक रुपले सुरु हुने संक्रमणकालीन अवस्थाको संवेदनशीलमा खेल्न कुण्ठाग्रस्तहरुको झुण्ड पारंगत छ। यो भ्रान्तबाट कम्युनिष्ट आन्दोलनलाई अप्रभावित राख्न सकिए मात्र अब बन्ने एकीकृत पार्टी विचार राजनीतिको सही लिकमा उभिन सक्ने छ। यसका लागि नौलो जनवादका आधारभूत प्रस्तापना र संशोधनवादको अन्तर्यमाथि विश्लेषण आवश्यक छ।
के हो नौलो जनवाद भन्ने बारे चर्चा गरौं। नौलो जनवादका विशेषताबारे जननेता मदन भण्डारीको अध्ययन हाम्रा लागि सान्दर्भिक छ। भण्डारी उल्लेख गर्नुहुन्छ–‘क्रान्तिको यो नयाँ सिद्धान्तका मुख्य तत्वहरुलाई यसरी उल्लेख गर्न सकिन्छः
१. माक्र्सवाद–लेनिनवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्नु
२.पछौटे मुलुकहरुको माक्र्सवादी पद्धतिको आधारमा विश्लेषण गर्दै सम्बन्धित देशको ठोस् स्थिति अनुरुप सामन्ती, अर्धसामन्ती, उपनिवेशी, अर्धउपनिवेशी वा नवउपनिवेशी के हो भनी आधारभूत सामाजिक चरित्र निरुपण गर्नु
३. लक्ष्यको रुपमा सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादमाथि प्रहार गर्नु र उन्मुलन गर्नु
४. सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता हासिल गर्नु
५.क्रान्तिको नेतृत्वदायी वर्ग र शक्तिको रुपमा सर्वहारा श्रमजीवि वर्ग र त्यसको माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्टीद्वारा नेतृत्वको अविभारा वहन गरी तद्अनुरुप विकास गर्नु
६. क्रान्तिका आधारभूत तथा निर्णायक शक्तिको रुपमा मजदुर किसानहरु र दृढ सहयोगीको रपमा निम्न पूँजीपतिवर्गका अन्य तहहरुको भूमिका एबं मध्यम वर्ग(राष्ट्रिय पूँजीपति र धनी किसान)हरुको दोहोरो चरित्रका बाबजुद सहयोगी भूमिका स्वीकार गर्नु र उक्त वर्गीय भूमिका कै आधारमा समन्धित वर्गहरुलाई प्रतिनिधित्व गर्ने राजनीतिक–सामाजिक वा वर्गीय संगठनहरुसँग समन्ध निर्धारण गर्नु
७.वर्तमान क्रान्तिद्वारा पूँजीपति वर्गको अधिनायकत्व भएको पूँजीवादी राज्य होइन र सर्वहारा समाजवादी क्रान्ति पनि होइन, साम्राज्यवाद र सर्वहारा कामजीवि बर्गको अधिनायकत्व भएको समाजवादी राज्य पनि होइन, सामन्तवाद, साम्राज्यवाद बिरोधी बिभिन्न बर्ग तहका आम जनताको संयुक्त जनवादी अधिनायकत्व भएको तेश्रो खालको राज्यसत्ताको स्थापना गर्नु
८.वर्तमान युगको नयाँ क्रान्ति पुरानो युगको पूँजीवादी जनवादी क्रान्ति जस्तो होइन र सर्वहारा समाजवादी क्रान्ति पनि होइन साम्राज्यवाद र सर्वहारा क्रान्तिको नयाँ युगमा गरिने नयाँ खालको पूँजीवादी जनवादी क्रान्तिको रुपमा क्रान्तिको चरित्र स्वीकार गर्नु
९. सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनका आधारहरुलाई समाप्त पारेर उत्पादक शक्तिलाई शोषणबाट मुक्त गर्दै आर्थिक क्षेत्रमा निजी होइन सरकारको प्रधान भूमिकाको आधारमा एकाधिकार पूँजीवादलाई समाप्त पार्दै पूँजीलाई नियन्त्रित रुपमा विकास गर्नु
१०.अर्थतन्त्रमा रहेको राजकीय क्षेत्रको भूमिकालाई उचित ढंगले बृद्धि गर्दै समाजवादमा संक्रमण गर्ने भौतिक र साँस्कृतिक तयारी गर्नु
११.वर्ग संघर्षलाई आधार बनाएर सामन्तवाद साम्राज्यवाद विरोधी आम जनताको क्रान्तिकारी संघर्ष मार्फत क्रान्तिमा विजय प्राप्त गर्ने बाटो लिनु’(मदन भण्डारीका संकलित रचनाहरु भाग १, पृष्ठ २१३–२१४)
मदन भण्डारीले थप्तै भन्नु भएको छ–‘सन् १९१७ पछि धेरै देशका क्रान्तिकारी जनताले नयाँ सिद्धान्तको आधारमा आफ्नो देशमा क्रान्ति गरेका छन्। प्रत्येक देशको क्रान्तिमा अनेकौं भिन्न भिन्न राष्ट्रिय विशेषताहरु देश, काल, र परिस्थितिका विविध भिन्नताहरु पनि रहेका छन्। तर हजारौं खाले भिन्नताका वावजुद सबै क्रान्तिमा आधारभूत रुपमा यही सिद्धान्त लागू भएको छ। यसको आधारमा कतिपय देशमा आफ्नो क्रान्तिको कार्यक्रमलाई नयाँ जनवाद, कहीँ राष्ट्रिय जनवाद, जनताको जनवाद तथा लोक जनवाद जस्ता नामाकरण गरिएको छ। क्रान्तिको कार्यक्रमको नामाकरण आफ्नो आवश्यकता र स्थिति अनुरुप जेसुकै गरिएको भए पनि क्रान्तिको सिद्धान्त भने उही छ र एउटै छ।’ (मदन भण्डारीका संकलित रचनाहरु भाग १, पृष्ठ २१४–२१५)
एमालेमा हिजो सीपी मैनाली र आज घनश्याम भुसाल मदनको समस्टी अध्ययन र सही निष्कर्षलाई आग्रह राखेर एउटै ढंगले चुनौती दिन रमाउनु दुःखद् संयोग हो। उहाँहरु यो वा त्यो प्रकारको पछौटे अवस्थाको मुलुकमा अब नौलो जनवादले सान्दर्भिकता गुमाइसकेको निष्कर्षमा पुग्नु भएको छ। संशोधनवादको चक्करमा परेर कहिलै परिमार्जित नौलो जनवादी कार्यक्रम ल्याएर त कहिलै जवजको च्याप्टर क्लोज भनेर एमालेलाई वैचारिक रुपले नै टाट पल्टाउने चेष्टा गरिदै छ। पछौटे अवस्थाको मुलुक सामन्ती अवस्थामा, उपनिवेशी अवस्थामा, वा दलाल नोकरशाही पूँजीवाद हाबी भएको अवस्थामा किन नहोस् हाम्रो क्रान्ति समन्धी कार्यक्रम नौलो जनवादी हो भन्ने मदनको निष्कर्षलाई सीपीले मुलुकमा पूँजीवाद आइसक्यो त्यसैले नौलो जनवादको परिमार्जन आवक्यक छ भनेर चुनौति दिनु भएको थियो। उहाँले नौलो जनवादलाई क्रान्तिको सुरुवाती काल, विजय काल, सुदृढीकरण हुँदै समाजवादमा सक्रमणसम्म तन्किएको देख्न छाड्नु भयो। सी पीले नौलो जनवादको परिभाषा यस्तो दिनु भयो–‘नौलो जनवाद भनेको पूँजीवाद र समाजवाद वीचको एउटा सक्रमणकालीन व्यवस्था हो।ं’ उहाँले परिमार्जित नौलो जनवादी क्रान्तिका शत्रुहरुको निक्र्योल यसरी गर्नु भयो–‘सामन्तवादका अवशेषहरु र दलाल एबं नोकरशाही पूँजीवाद देशभित्र यस क्रान्तिका निशानाहरु वा शत्रु शक्तिहरु हुन् र साम्राज्यवाद, प्रभुत्ववाद तथा कुनै पनि नवउपनिवेशवाद यसका बाह्य बिरोधी शक्तिहरु हुन्।’ (परिमार्जित नौलो जनवादी कार्यक्रम, पृष्ठ ४)
यसलाई मदनले यसरी खण्डन गर्नु भएको थियो–‘क्रान्तिका शत्रुहरुको किटानी गर्दा समेत देशमा सामन्तवाद होइन त्यसका अवशेषहरु मात्र बाँकी रहेको देख्नु र समग्रताको हिसाबले दलाल नोकरशाही पूँजीवादलाई मात्र शत्रुको रुपमा उल्लेख गर्नु कुनै भुलचुक र संयोगको कुरा मात्र होइन। परिमार्जित नौलो जनवादको नयाँ सिद्धान्त निर्माण गर्ने सुविचारित आविस्कार हो।...पूँजीवादी सामाजिक आर्थिक संरचना होइन, पूँजीवादी एबं साम्राज्यवाद मिश्रित नयाँ खाले संक्रमणकालीन आर्थिक–सामाजिक संरचनाको स्थापना गर्ने कुरा उल्लेख गरेको छ। यसबाट के स्पस्ट हुन्छ भने माओको जनवाद र हाम्रो उक्त अल्पमतको नौलो जनवादको क्रान्ति समन्धि मान्यतामा धेरै फरक छ।’ (मदन भण्डारीका संकलित रचनाहरु भाग १, पृष्ठ २१४–२१५)
सीपी मैनाली भन्दा घनश्याम भुसालको जवजमाथिको हमाला र आत्मसमर्पणको पिङ खेलाई जटिल प्रकृतिको छ। परिमार्जित नौलो जनवादी मुहान हुँदै जवजको झट्केलो समर्थक एबं व्याख्याता र छद्म आलोचक भएकाले जटिलता थपिन गयो। पहिला त भुसालले जवजमाथि गरेका हमलाका उदाहरणहरु हेरौं–
‘गएको सय वर्ष कम्युनिष्ट आन्दोलनमा सबैभन्दा प्रभावकारी रहेको क्रान्ति समन्धी रचना लेनिनको राज्य र क्रान्ति हो। त्यसका आधारमा हेर्ने हो भने जनताको वहुदलीय जनवाद दक्षिणपन्थी, अवसरवादी गद्दारी थियो।
जनताको वहुदलीय जनवाद आरम्भ देखि नै असन्तुलित दृष्टिकोणको शिकार भयो। यसको बिरोध वा समर्थन गर्नेहरुको पनि एउटै कोण छैन।
नेकपा एमालेले जनताको वहुदलीय जनवादी कार्यक्रम पारित गरेको थियो तर सिद्धान्ततः जवज भनेको नयाँ जनवाद नै हो भनेको थियो। तर जनताको वहुदलीय जनवादी कार्यक्रम नयाँ जनवादी सिद्धान्तको जगमा उभिनै सक्दैनथ्यो।
यस्तो विरोधाभास हुन्छ कि या त वलपूर्वक क्रान्ति हुँदैन या त बहुदलीयता रहन्न। या त संसदीय बाटोबाट बल प्रयोग गर्ने पार्टी नै बन्दैन।
जवज नेपाली कम्युनिष्ट आन्दोलनको पानी ढलो थियो, त्यसले क्रान्तिका सिद्धान्तको नयाँ सृंखला तयार गर्न सक्थ्यो। जनताको बहुदलीय जनवादले आफ्नो पूर्णतामा विकसित हुनै पाएन। लोकतान्त्रिक बाटोबाट समाजको श्रमजीवि वर्गीय रुपान्तरण गर्ने सैद्धान्तिक अन्तर्यलाई बाहिर ल्याइएन, स्थापित गरिएन। श्रमजीवि जनताका व्यवहारमा कसी लगाउनु पथ्र्यो तर मदन भण्डारीको निधनपछि त्यसलाई वैज्ञानिक भन्दा भौतिक र बस्तुगत भन्दा आत्मिक बनाउन थालियो। सिद्धान्तलाई आत्मिक बनाएपछि आफुले मात्र बुझे हुने भयो, प्रमाणित गर्नु नपर्ने भयो। एक हिसाबले मदनको आत्मिक उत्तराधिकारका लागि प्रतिष्पर्धा देखिन गयो।
मदन भण्डारी कम्युनिष्ट पार्टीलाई समेत खोपीको देउता नबनाउन बरु खुला मैदानमा उतार्नु पर्छ भन्थे, हामीले उनका विचारलाई समेत खोपीको देउता बनाई दियौं।
सर्वप्रथमतः जनताको वहुदलीय जनवादले यी तथ्यलाई अंगीकार गर्नु पर्छ। त्यसको निष्कर्ष के हो भने नेपाली समाज पूँजीवादी समाज हो तर दलाल तथा अनुत्पादक पूँजीको बाहुल्य भएको हुँदा हाम्रो मुख्य कार्यभार पूँजीको त्यस चरित्रलाई राष्ट्रिय अर्थात् उद्यमशील पूँजीमा रुपान्तरित गर्नु हो।’ (कान्तिपुर दैनिक २०७० साउन ४ र २६ गते)
भुसालजी समस्या अडिन नसक्नुमा छ। आलोचना बढ्तै भएपछि बचाउका खातिर पछि हट्तै उहाँ आफ्ना लहडहरुको आफै खण्डन गर्नु हुन्छ। हेरौं केही उदाहरणहरु–
जवज देखिन छाडेको भन्ने आरोपको आफै खण्डन–‘कम्युनिष्ट पार्टीले नयाँ जनवादी क्रान्तिको कार्यक्रममा राखेका राजनीतिक मागहरु, २०४७ सालको संविधानमा क. मदन भण्डारीले नेकपा(एमाले)का तर्फबाट राख्नुभएका असहमतीका २७ बँुदा र जनताको वहुदलीय जनवादका थप विशेषता भनेर राखिएका १४ बुँदाहरु वर्तमान अन्तरिम संविधानमा आधारभूत रुपले उल्लेख गरिएका छन्। अर्थात् जनवादी क्रान्तिका राजनीतिक कार्यभार आधारभूत रुपले सम्पन्न गरिएको छ।’(कान्तिपुर दैनिक २०७० साउन २६ गते)
जवज सिद्धान्त हुन सकेन भन्ने दाबीको खण्डन–‘मदन भण्डारी, जनताको बहुदलीय जनवाद जस्ता प्रश्नमा एमालेमा कुनै बिबाद छैन।....हामीले जनताको वहुदलीय जनवाद सिद्धान्त होइन भनेका छैनौं।’(उही)
हालै पार्टी एकीकरणको प्रसंग चलेपछि भुसालका रहेको जवजप्रतिको तूष फेरि जागृत भएको छ। उहाँले पार्टी एकता जवजकै कारणले नहुने हो भने युवाहरुले आफ्नो भविष्य जवजका लागि दाउमा नराख्ने भन्दै भावनालाई भड्काउने कोसिस पनि गर्नु भयो। जवजको च्याप्टर क्लोज भयो भन्ने निष्कर्ष कुनै हतारको अभिव्यक्ति थिएन। मैनालीको विरासत धान्दै पूँजीवादको निहुँले नौलो जनवाद वा नेपालको सन्दर्भमा जनताको वहुदलीय जनवादको सान्दर्भिकता सकिएको पुष्टि गर्ने चलाकी हो। जवजलाई मृत घोषणा गर्न उहाँमा हुटहुटी देखिन्छ। एउटा चरण पार भएको निहुले जबज मरिसकेको निष्कर्षमा पुग्नु भएको छ। सिधै भन्न नसकेर हिजोको जवज र आजको जवज भनिदै छ। यसको अर्थ मदनले प्रतिपादन गरेको जवज रहेन बरु आफुले जवजको आवरणमा तानतुन पारेर घुसाउन खोजेको परिमार्जित नौलो जनवाद नै आजको जवज हो भन्ने हो। भुसाल उल्लेख गर्नु हुन्छ–‘माओवादीको हेटौडा महाधिवेशन र एमालेको नवौं महाधिवेशनले ती दुबै पार्टीलाई एकै ठाउँमा उभ्याए। वस्तुतः नत एमाले हिजोको जनताको वहुदलीय जनवादी रह्यो, न माओवादीका लागि हिजोको माओवाद नै बाँकी रह्यो। किनकी हिजोको जनताको वहुदलीय जनवाद अर्ध सामन्ती, अर्ध औपनिवेशिक मुलुकमा सकेसम्म शान्तिपूर्ण रुपले नयाँ जनवादी क्रान्ति गर्ने सिद्धान्त हो भने आजको जनताको बहुदलीय जनवाद राष्ट्रिय पूँजीको विकास गर्दै लोेकतान्त्रिक विधिबाट समाजवादको तयारी गर्ने सिद्धान्त हो। त्यसैले हिजो र आजको जनताको वहुदलीय जनवाद अलग–अलग अवधारणा हुन्।’
जनताको वहुदलीय जनवाद शब्द सुन्न नचाहने दिग्गजलाई हिजो मदन भण्डारीले कालीदासको ‘क’ बुझाइले माक्र्सवाद बुझ्न सकिदैन भनेर कटाक्ष गर्नु परेको थियो। भुसालको भ्रान्ति कुकुरको पुच्छर ढुग्रोमा हाल्दा पनि बांगाको बांगैको समतुल्य छ। यसरी जवजप्रतिको भुसालको निष्ठा र तुषको छिनोफानो आजको एमाले हुँदै भोलिको एकीकृत पार्टीको लागि बहशको मुद्दा बनेको छ।
इमेल-
[email protected]