विद्यार्थीकाल बोधविक्रम अधिकारीले लेखेको नेपाली दन्त्यकथा पढेको थिएँ। कक्षा चारदेखि पढ्न थालेको पुस्तक अहिले लगभग हराएको रहेछ।
भाइहरूलाई खोज्न लगाएँ। हिजोमात्र गुरू बरालका सहायताले भेटेँ। यो पुस्तकको अन्तिममा बाँदर्नी मैंयाको कथा छ। आज यसैमा बोल्छु।
कुनै देशका राजाका सात छोरा हुन्छन्। राजाले सातै राजकुमारलाई तिमीहरू वाण हान, अनि त्यो वाण जहाँजहाँ लाग्छ, त्यहीँत्यहीँबाट विवाह गर भन्छन्।
राजकुमारहरूले वाण हान्छन्, कसैको वाण अर्को देशको राजाकोमा जान्छ, कसैको वाण प्रधानमन्त्रीको घरमा जान्छ। कसैको ठूला जमिनदारको घरमा जान्छ। उनीहरू आफ्नो वाण लागेको ठाउँमा गएर विवाह गरेर ल्याउँछन्।
तर कान्छा राजकुमारको वाण एउटा रूखको टोड्कामा गएर लाग्छ।
त्यो टोड्कामा एउटा बाँदर्नी भेटिन्छे। वचनले बाँधिएका राजकुमारले त्यही बाँदर्नी विवाह गरेर ल्याउँछन्।
विवाहपछि सबैले भोज दिन्छन्। सबै सम्भ्रान्तकी छोरी पाककलामा निपूर्ण हुन्छन्।
तर बाँदर्नीसँग न सम्पत्ति हुन्छ, न त पाककला। कान्छा राजकुमार चिन्तित देखिन्छन्।
बाँदर्नी भन्छे- तिमी सुर्ता नगर। म भोज गर्छु। मभित्र यस्तो शक्ति छ।
तिमीले मलाई जुन टोड्काबाट ल्याएका थियौ, त्यहीँ लगेर छोडिदेऊ। भोजबाट म एउटा सन्देश र संकेत दिन्छु।तिमी भरे साँझ आऊ।
साँझ आउँदा नभन्दै भव्य महल छ। चौरासी व्यञ्जन बनेको छ। टेबल कुर्सी सजिएको छ। हिजोसम्म नभएका १२ फ्रिज छ। बत्ती बलिरहेको छ। एकदम आधुनिक जीवन छ।
अनि त्यसपछि उसले भनिछ- म राजकुमारी नै हो। श्राप परेर म बाँदर्नी भएको हो। तर यस्ता काम पर्दा म आफ्नो स्वभाविक रूपमा आउन सक्छु। तिमी आरामले खानापिन गर।
राजा आए, उनका छोराहरू आए। उनीहरूले तयार गरेको व्यञ्जनभन्दा बढी खाना देख्छन्।
धनाढ्यको घरभन्दा कुनै कुराको कमी रहेनछ बाँदर्नीको घरमा।
दाजुभाइ लज्जित भएछन्। राजा पनि छक्क परेछन्। बाँदर्नीसँग चमत्कार रैछ भनेर।
जाँदाजाँदै दाजुभाइहरूलाई यति धेरै रिस उठेछ। उनीहरूले 'यो नक्कली बाँदर्नी रैछ। बाँदरको खोस्टा ओढेर हामीलाई ठगेकी रैछ' भने।
दाइहरूले भाइलाई अह्राए- यसको खोल खोज, निकाल र त्यसलाई डढाइदेऊ।
धुँइपत्ताल लगाएर खोज्दा नभन्दै बाँदर्नी मैंयाले खोल ल्याएर कुनामा सन्दुकमा राखेको रैछ।
बाँदर्नीको त्यो खोल ती राजकुमारले कुनामा लगेर आगो लगाइदिए।
यता खोल डढ्न थाल्यो, उता बाँदर्नी मैंयालाई भतभत पोल्न थाल्यो। मरेँ मरेँ भन्दै बाँदर्नी दौडेर जंगलतिर लागिछ।
अब राजकुमार के गरोस्। पछिपछि कुदे। १० किलोमिटर कुदे, २० किलोमिटर कुदे। हेर्दाहेर्दै बाँदर्नी मैंया अलप भई।
यही कथा मैले कक्षा चारमा पढेको।
अचेल म सोच्न थालेको छु, यो बाँदर्नी मैंया कथामा मात्र छ कि हरेक घरमा पनि छ?
जसको त्यो खोस्टोलाई, जंगलबाट ल्याएको संस्कारलाई, आफूले सिकेको विद्यालाई, माइतीबाट ल्याएको ज्ञानलाई, खाने तरिकालाई, टेबल म्यानर्सलाई, ख्वाक्क गर्दा खोकेको तरिकालाई, कुनचाहिँ घरमा जस्ताकोतस्तै स्वीकार गरिन्छ?
बाँदर्नी मैंयाको कथा मेरा विचारमा एउटा दु:खी नारीलाई ऊ विवाह गरेर पुगेको घरमा जस्ताकोतस्तै स्वीकार गर्न नसकिएको कथा हो।
बाँदर्नी मैंयाले मलाई धेरै प्रभावित किन गरेको भने बाँदर्नी मैंया भन्दाभन्दै हाम्रो समाजमा जुन पञ्चकन्या भन्ने चलन चल्या छ नि, अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोधरी, यी पाँच महिलालाई के भनिन्छ भने यिनले समाजका सारा नियम कानुन तोडिदिए।
बाँदर्नी मैंयाले त बाँदरको खोलमात्र लगाएकी थिइन्। यी सबैका त पाँच/छ वटा पति थिए। यिनले कुराकानी गरेको सुन्नुहोला, यस्ता बझौटे थिए। यस्ता झगडिया थिए। सिनेमामा देखाउने पुरानो जमानाका शशीकलालाई पनि माथ गर्थे।
तर हाम्रो सनातन परम्पराले के भन्छ भने यी पाँच वटीलाई बिहानबिहान सम्झ। यिनलाई सम्झियो भने सारा पाप नाश हुन्छ।
बाँदर्नी मैंया सम्झने क्रममा यी पाँच जनालाई सम्झिरहेको थिएँ। के हो पञ्चकन्या भनेको?
आजको समाजमा दौप्रदीको के महत्व छ। दौप्रदीका पाँच पति थिए। सबैलाई थाहा छ। त्यतिले उनलाई चित्त बुझेको थिएन। उनी छैठौं पतिका रूपमा कर्णसँग विवाह गर्न चाहन्थिन्।
महाभारतमा उनी युधिष्ठिरसँग बातैपिच्छे बाझेको हेर्नुभयो भने आजका श्रीमतीलाई केको बाझ्ने आँट होला!
दोस्रो, अहिल्या। उनी सबैभन्दा महत्वपूर्ण छिन्। उनी को हुन् र किन यति महत्वपूर्ण छन्?
तारा किन महत्वपूर्ण भइन्? मन्दोधरी, को हुन्?
तारा बानरकी छोरी र राजा बालीकी पत्नी हुन्। जसलाई रामले मारे। पछि उनले बालीका भाइ सुग्रीवसँग विवाह गरिन्।
मन्दोधरीले रावणसँग विवाह गरिन् र विभिषणसँग पनि गरिन्।
मैले के देखेको छु भने सायद सबै समाजमा खास गरिकन जसलाई हामीले समाजका मान्यताभन्दा बाहिर गएर हिँडेको देख्छौं, सधैँ तिनीहरूको आवरण, पोशाक र प्रस्तुतिलाई डढाइदिन चाहन्छौं। ती हामीलाई अमान्य हुन्छन्। तिनलाई हामी ढुंगा हान्छौं। अनि लाचार भएपछि पूजा गर्न थाल्छौं।
सुरूमा तिनलाई सिध्याइदिन र मारिदिन खोज्ने अनि अन्तिममा त्यो सिद्धिइन, बेइज्जत र उपेक्षा गर्न सकिएन भने पूजा गर्न थाल्छौं। अरे, तिनीहरू त पञ्चकन्या हुन् भनेर!
होइन भने मैले यी पाँच महिलालाई अध्ययन गर्दा के देखेको छु भने बाँदर्नी मैंयाको कथा जस्तै मनुष्य जीवनको विडम्बना र वेदनाका जीवन्त उदाहरण छन्।
यिनीहरूलाई महिलामात्र भनेर हेर्नु मनुष्यको प्रारब्धलाई नबुझ्नु हो। यी जो महारानी थिए, कति अपूर्ण थिए।
लड्न, झगडा गर्नबाहेक केही नजान्ने, कहिल्यै नटेर्ने, संवाद नै नगर्ने बालीसँग ताराले कसरी जीवन बिताइन् होली?
ताराले मिनेटमिनेटमा बालीलाई भन्छिन्- तैलें यो गल्ती गर्दैछस्। मुर्खतापूर्ण गर्दैछस्।
तर गर्ने के!
बालीको देहान्त हुन्छ। उनले सुग्रीवसँग विवाह गर्छिन्। सुग्रीवजस्तो निमुखा, कमजोर, डरछेरुवा अर्को कोही छँदै छैन। यस्तासँग उनको जीवन कसरी बित्यो होला?
यिनीहरूको जीवनी देख्दा मलाई के लाग्छ भने यो यिनीहरूको जीवनी होइन, मनुष्य जीवनको अपूर्णताको कथा हो।
यी पाँच महिलाका कथा दन्त्यकथाका माध्यमबाट तिख्खर र चर्को पाराले दिइएको छ।
केहीदिन अघि डाक्टर तुलसी गिरीको देहान्त भयो।
त्यसबेला उहाँका महिला मित्र र पत्नीहरूको बडा चर्चा आयो।
परिवारकै सदस्य भएकाले तुलसी गिरीका महिलाहरूलाई म चिन्छु। तुलसी गिरीका महिलाहरूलाई मात्र उल्लेख गरिएन।
बिपीलाई पनि लपेटियो। तुलसी गिरी र बिपीको सम्बन्धमा उहाँहरूबीचका मित्रहरूको पनि चर्चा गर्नुभयो। महिलाहरूको मात्र, पुरूषको कसैले चर्चा गरेन।
हठात् मैले सम्झें- मैले चिनेका मान्छे पनि मेरो जीवनकालमै दन्त्यकथा बन्ने रहेछन्। तिनीहरूका बारेमा गहिराइपूर्वक नसोच्दा तिनीहरूको व्यक्तित्वसँग न्याय हुने रैनछ।
यस किसिमको व्यक्तित्व खोज्दै जाँदा मलाई लाग्यो- हाम्रा महिला, दिदीबहिनी, प्रेमिका, पत्नी, भूतपूर्वपत्नीलाई सबै बाँदर्नी मैंया बनाएर उनीहरूको खोल, परिचय र उनीहरूको अस्मिता हामी डढाइदिने प्रयास गर्दैछौं।
त्यसैले म यो दन्त्यकथालाई पक्डिन्छु। बाँदर्नी मैंयाको दन्त्यकथा सम्झाएर जीवनको अपूर्णताबारे भन्छु।
एक शब्दमा भन्दा जीवन आधारभूत रूपमा दुखान्त छ, अपूर्ण छ।
अपूर्ण र दुखान्त जीवनलाई साँचो अर्थमा सामना गर्ने साहस दिनका लागि मिथ र दन्त्यकथाको सिर्जना हुन्छ। यसमा कहीँ भ्रम नराख्नुस् जीवन कस्तो छ। हाम्रो परम्पराको, समाजको सबैभन्दा ठूलो हिरो, रसिक नायक कृष्णको मृत्यु कसरी भयो?
सारा दाजुभाइ आफ्नाअघि काटिएर मरे।
अन्तत: उनी आफू पनि सुनसान जंगलमा एउटा ब्याधाको हातबाट विशाक्त वाणबाट मारिए।
युधिष्ठिर जंगल गएको भनेको के हो? द्रौपदी हिमालयमा खसिन् भनेको के हो? त्यो एक प्रकारको आत्महत्या हो। अरू केही पनि होइन।
सीताको मृत्यु कसरी भयो? अरूको मृत्युको चर्चा छैन।
अत्यन्त बदानामी खपेपछि सीताले 'पृथ्वी मलाई लेऊ' भनिन्। प्रकारान्तरले आत्महत्या गरिन् भनेको हो। मलाई के लाग्छ भने सबै दन्त्यकथा, सबै माइथोलोजी जीवनबाट उम्किने प्रयास हो।
नेपाली समाजले धेरै क्रान्ति देख्यो। एक, दुई, तीन, चार, पाँच।
म कुनै संकोचबिना भन्छु नेपाल सानो देश भए पनि विगत २०/३० वर्षमा यसले जस्ता परिवर्तन देखेको छ, साँच्चै गम्भीर लेखक, संवेदनशील चिन्तकले यो राजनीतिक परिघटनाको सार संक्षेप खिच्ने हो र यसले सिद्धान्तकार भेट्ने हो भने यो चिनियाँ क्रान्तिभन्दा व्यापक रसियाको क्रान्तिभन्दा गहक र भारतको परिवर्तनभन्दा दुरगामी छ। एकदुई वटा कमी छ कि हामीले यसको आइडियोलोजी भेटेका छैनौं।
यसलाई हामीले अगाडि बढाउने हो भने दलित, महिला, जनजाति र पहिचानका नाममा पिछडिएका मानिसहरूका बारेमा हामीले यी रूपकहरूका सहायताले यी माइथोलोजीका सहायताले हाम्रो नयाँ नयाँ परिचय सिर्जना गर्नुपर्छ। परम्परामा यस्तो थियो भनेर हुँदैन। परम्पराका तागतलाई परम्पराका शक्तिलाई बचाउन सक्छौं।
मलाई के लाग्छ भने आज नेपाली महिलाको आदर्श कुनै पतिव्रता सावित्री हुन सक्दैन। नेपाली महिलाको आदर्श विद्रोही द्रौपदी हो। नेपाली महिलाको आदर्श कृष्णसँग राजनीतिदेखि रणनीतिसम्म बहस गर्न सक्ने द्रौपदी हो। रामलाई र्याख्यर्याख्ती पार्ने तारा हो।
हाम्रो अध्यात्मको अवमूल्यन गरिकन यी महिलाका बारेमा हामीलाई सामान्य जानकारी पनि छैन। यिनीहरूको नकारात्मक पक्ष हामीलाई थाहा छ। हामी भन्छौं- सीता एकदमै रामकी पतिव्रता थिइन्। सीताले वन जाने बेलामा रामसँग गरेको बहस तपाईंले पढ्नुभयो राम चरित्रमा उनी भन्छिन्- आफ्नो अधिकारले पाएको राज्य छोडेर तिमी किन जाने, मुर्ख?
राम भन्छन्- होइन, होइन म जान्छु।
सीता सोध्छिन्- किन जाने?
'तपस्या गर्न जाने।'
अनि धनुषवाण किन बोकेको भन्छिन्। जंगल जाने हो तपस्या गर्न साधु भएर भने धनुष किन बोक्नु पर्यो, तरबार किन बोक्नु पर्यो?
राम निरूत्तर हुन्छन्- होइन त्यहाँ विधर्मीहरू छन्। राक्षसीहरू छन्। दु:ख दिँदाखेरि उनीहरूबाट मैले आफ्ना धर्मका मान्छेलाई बचाउन पर्छ।
उही अहिले नरेन्द्र मोदीले त्यहाँ मुसलमान छन् पाकिस्तानमा हान्छु भनेजस्तै।
सीताले भन्छिन्- ती राक्षसहरूको आफ्नै धर्म छ, तिम्रो आफ्नो धर्म छ। उनीहरूको संहार गर्न जाने तिमीलाई के अधिकार छ?
यिनै सीतालाई हामीले एकदम डराएकी, हराएकी, पीडित रहेकी, बोल्न पनि नसक्ने बनाएका छौं। हिन्दी सिनेमा गीता और सीता भन्ने कहानीकी सीताजस्तै।
ऊनी गीता थिइनन् सीता पनि थिइनन् उनको आफ्नो व्यक्तित्व थियो।
(नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् चिन्तक गिरीले आइएमई लिटेरेचर फेस्टिभलमा शनिबार दन्त्यकथा शीर्षकमा दिएको प्रवचनको सम्पादित अंश)