'यस्तो बेला पनि अनसन बस्ने हो? ई: र पुकार बमलाई अनसन तोडाउन पहल गर्नुस्। नेकपा नै फुट्लाजस्तो छ। सरकार नै जालाजस्तो छ।'
युवाहरूको अनसन चलिरहँदा अधिकांश साथीहरूबाट पाउने गरेको प्रतिक्रिया हो यो।
यसमा समाजका बुद्धिजीवि, सम्पादक अनि नेताहरू पनि पर्छन्। जब जब म यो प्रतिक्रिया पाउँथेँ, मेरो मनमा एउटा अजीव बेचैनीको आँधी चल्थ्यो। कोरोना रोकथाममा सरकार पूर्णत: असफलतातर्फ उन्मुख छ। नागरिकहरूको जीवन जोखिममा छ तर पनि सत्तासीन दल, सरकार, प्रतिपक्ष अनि बुद्धिजीविहरूलाई हाम्रो स्वास्थ्यको मुद्दा महत्वपूर्ण लागेको छैन। रक्तचाप र मधुमेहबाट ग्रस्त आमाबुवाको स्वास्थ्यभन्दा हामीलाई नेकपाको चटक महत्त्वपूर्ण लागेको छ।
चटक यस अर्थमा कि, सरकार कोरोना रोकथाममा पूर्ण असफल हुँदा पनि यो विषय उनीहरूको पार्टीभित्र प्रमुख मुद्दा बनेको छैन। न त पहिले पनि कहिल्यै जनस्वास्थ्यको विषय सत्ताको प्रमुख एजेन्डा बनेको थियो। अहिले हुँदै गरेको सत्ता परिवर्तनको खेल पनि देशलाई राम्रो गरौं, नागरिकको हित गरौं भन्ने हेतुले भन्दा स्वार्थ अनि अहंकारको जालोमा अल्झिएको छ। कसको टेबलमा कुन रङको कपडा छ भन्ने समाचार आज हाम्रो सञ्चारमाध्यममा हेडलाइन किन बन्दै छ? त्यो पनि यस्तो बेला?
नेपालका लागि आजको प्रमुख मुद्दा कोभिड-१९ महामारी रोकथाम तथा व्यवस्थापन हो। तर, आज सरकार, सत्ताधारी दल नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसदेखि अधिकांश नागरिक समेत यसमा चुक्दै छन्। यही दौरान स्वतःस्फुर्त रूपमा युवाहरू सहन नसकेर ‘इनफ इज इनफ’ भन्दै सडकमा आए। कुनै नेतालाई कुर्सीमा टिकाउन वा फाल्न ओर्लेको भीडभन्दा नितान्त फरक स्वरूपको भीड थियो यो। त्यहाँ युवाहरू सामाजिक दुरी कायम गराउँदै, मास्क लगाउन अनुरोध गर्दै र स्यानिटाइजर बोक्दै स्वयंसेवामा ओर्लिएका थिए। उनीहरू व्यक्तिगत स्वास्थ्यसँगै समाजको स्वास्थ्यका लागि सडकमा आएका थिए।
त्यो उमेरका युवाहरूले राजनीतिक दाउपेचका उडन्ते अनि रोमाञ्चकारी चलखेलमा रमाउन छाडेर स्वास्थ्यको मुद्दा बोक्दै गर्दा, यो पुस्ताका यी युवाहरू कति परिपक्व छ भनेर देखाइदिए। अझ टायर बाल्न छाडेर, सरकारी सम्पत्तिको विनाश नगरेर, संसारकै सबभन्दा शान्तिपूर्ण तर कठिन बाटो रोजे- सत्याग्रहको। समाज र नागरिकको स्वास्थ्यका लागि आफ्नो ज्यान जोखिममा राखे।
करिब दुई साता लामो सडक प्रदर्शनलाई पनि सरकारले नमानेपछि, चार जना युवा सत्याग्रहमा ओर्लिएका थिए। ई:, पुकार बम, सुवानी सिजापती र सुदन गुरुङ। यी युवाहरूको निस्वार्थ सत्याग्रहले देशको सुनौलो भविष्यप्रति आशा जगाएको छ। अझ पुकार बमसँग त मैले विगत ७ वर्षसम्म निरन्तर राजनीतिक अनि सामाजिक अभियानमा सँगै काम गर्ने मौका पाएको छु।
पुकार बमले विगत १५ वर्षे अवधिमा समाज सुधारका निम्ति महत्वपूर्ण योगदान दिएका छन्। यो अभियानमा भने पुकार बम स्वतन्त्र रूपमा सरिक भएका थिए। यो लेख विगत केही वर्षहरूमा नेपालको राजनीतिक अभियान अनि आन्दोलनको स्वरूप फेर्ने तिनै हजारौं पुकारहरूको बारेमा हो।
‘एक रुपैयाँले पनि हुन्छ भ्रष्टाचार’ अभियानमा पुकार बम एउटा क्यामरा बोकेर विद्युत प्राधिकरण र नेपाल टेलिकमका कार्यालय धाउँथे। बिल तिर्न जाँदा एक दुई रुपैयाँ फिर्ता नदिने प्रचलनमा उनले अभियान छेडेका थिए। पहिलो संविधानसभा विघटन हुँदा पनि पुकार बम संविधान बन्नुपर्छ भनेर सडकमै अभियान गर्दै थिए। पुकारहरू त्यति बेलादेखि नै प्लेकार्ड बोकेर शान्तिपूर्ण विरोध गर्थे। यही क्रममा कुसंस्कारले लिप्त राजनीतिको विकल्प सुसंस्कृत राजनीति नै हो भन्दै पुकार बमहरू मिलेर सुसंस्कृत राजनीतिको बाटो पहिल्याए। विवेकशील नेपाली दल पुकारहरूको त्यही अभियानको एउटा नतिजा हो।
पुकारले २०७० सालको निर्वाचनमा 'कुकुर' चिह्न लिएर काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र रूपमा चुनाव लड्दै राजनीतिमा हस्तक्षेप गरे। कहिले धनगढीबाट काठमाडौं आउँदा यातायात समिति र चालकको लापरबाहीविरुद्ध आवाज उठाउने, कहिले प्रहरी दमनविरुद्ध बोल्ने त कहिले अन्यायमा परेकाहरूको आवाज बुलन्द गर्ने पुकार बमले हाम्रो समाजमा मर्दै गरेको 'शान्त र सुरक्षित राष्ट्र' निर्माणको त्यो 'आशा' लाई बचाइरहेका छन्।
दिनहुँजसो नेपाल बन्द हुने कठिन परिस्थिति देशले भोग्दै थियो। एउटा अमुक दलले नेपाल बन्द घोषणा गर्थ्यो। १०-१५ जना कार्यकर्ता उतार्ने अनि नेपाल नै ठप्प पारेर आफ्नो राजनीतिक हैसियत देखाउने परम्परा नै बनेको थियो। त्यसविरुद्ध पुकार बमहरू 'नेपाल खुल्ला छ' भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा आउँथे। विस्तारै बन्दकर्तालाई आमा समूह, व्यापारी र आमनागरिकले पनि लखेट्न थाले।
कालान्तरमा पुकारहरूको त्यो साहसले जनजीवनको अभिन्न अंगजस्तै बनेको 'नेपाल बन्द' को संस्कारसँग नेपाली जनताको कहालीलाग्दो सामीप्य अन्त्य गर्यो।
भूकम्पको विपदमा पनि विवेकशील नेपालीले जति काम गरेको छ, त्यसमा पुकारहरुको नेतृत्वदायी भूमिका छ। सरकार पनि पुग्न नसकेको गोर्खाको लु, ली, प्रोकजस्ता हिमाली भेगमा समेत विवेकशील नेपाली पुकारहरूकै नेतृत्वमा पुगेको थियो।
यथास्थितिलाई पुकारहरूले सामाजिक-राजनीतिक रूपमा चुनौती दिन थालेका छन्। नयाँ पुस्ताले इन्टरनेटमा हराउने, सामाजिक सञ्जालको सेयर, लाइक, कमेन्ट अनि च्याटमै रमाउने मात्र होइन, मुद्दाअनुरूप सडकमै आएर पनि आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भनेर देखाएका छन्।
पछिल्लो उदाहरणमा चार जना युवाले आफ्नो ज्यानको बाजी थापेर कोरोनाविरुद्ध सरकारलाई थप गम्भीर हुन बाध्य पारे। यति आधारभूत कुराका लागि पनि सत्याग्रह बस्नुपर्ने स्थितिले हामी कस्तो अवस्थामा छौं र हाम्रो सरकार नागरिकका मुद्दामा कति बेपरवाह छ भन्ने निराशाको तार त बजाउँछ नै, तर पनि यी युवा साथीहरूको अभियानले कालो बादलमा चाँदीको घेरा देखिएको अनुभूति पक्कै दिन्छ।
विगत १० वर्षमा नेपालको सामाजिक अनि राजनीतिक संस्कारमा परिवर्तन आएको स्पष्ट देखिन्छ। मलाई मुख्य गरी तीनवटा परिवर्तनको आभास भएको छ, जुन पुकारहरूकै प्रयासले सम्भव भएको हो।
पहिलो, केही वर्षयता स्वतन्त्र युवाहरूले नेपालको आन्दोलनलाई पुनर्स्थापित गरेका छन्। आन्दोलन भनेको दलका कार्यकर्ताले मात्र गर्ने हो भन्ने बुझाइलाई नै विस्थापित गरेर अहिले आन्दोलन आमनागरिकले पनि नेतृत्व गर्न सक्छन् भन्ने देखिएको छ। यसले समाज अनि राजनीति सुधार गर्न ठूलो बल पुगेको छ। नागरिकलाई व्यक्तिगत अनि पार्टीगत स्वार्थभन्दा माथि उठ्न सिकाएको छ।
२०७२ सालको भूकम्पमा विना कुनै स्वार्थ तत्कालीन विवेकशील नेपाली दलसँग आबद्ध भएर हजारौं युवाले स्वयंसेवालाई राजनीतिसँग जोडेका थिए। डाक्टर गोविन्द केसीको अभियानमा होस् वा अहिले स्वतन्त्र युवाहरूले नेतृत्व लिएको ‘इनफ इज इनफ’ अभियान किन नहोस्, त्यहाँ विवेकशील नेपाली दलका सदस्यहरूले स्वतन्त्र रूपमा सहयोग गरेका थिए भने दलले ऐक्यबद्धता जनाएको थियो।
अहिले पनि वैकल्पिक पार्टीले गरेको विभिन्न सामाजिक अनि राजनीतिक अभियानमा स्वतन्त्र नागरिक वा अन्य दलको सदस्य नै रहेको ठूलो जमात सक्रिय सहभागी हुने गरेको छ। तसर्थ पुकारहरूको प्रयासले विस्तारै राजनीतिलाई राजनीतिकर्मी अनि कार्यकर्ताको घेराबाट तोडेर आमनागरिकसम्म पुर्याउँदै छ। अभियान अब नेताले होइन, स्वतन्त्र युवाहरूले पनि गर्न सक्छन् भन्ने स्थापित भएको छ।
दोस्रो, केही वर्षयता डा. गोविन्द केसीले, ई: हरूले अनि पुकारहरूले सामाजिक मुद्दालाई मूलधारको राजनीतिसँग जोडेका छन्। स्वास्थ्य, शिक्षा, भ्रष्टाचारजस्ता सामाजिक मुद्दा मूलधारको राजनीतिमा उठाएर बहस चलाउन सक्नु सानो उपलब्धि होइन। स्वास्थ्य, शिक्षा, सुशासनजस्ता सामाजिक मुद्दाको उत्थानबाट अख्तियार अनि सर्वोच्चमा समेत नागरिक स्तरबाटै राजनीतिक शुद्धीकरण गराउन महत्त्वपूर्ण बल पुगेको छ। शासकहरूलाई नागरिकका मुद्दामा झुक्न बाध्य बनाएको छ। केही हदसम्म भए पनि पारदर्शी अनि जवाफदेही बनाएको छ। पारदर्शिता र जवाफदेहीताको मुद्दा आज नागरिक चासो बनेको छ। नेपालमा नागरिक समाजको भूमिकासमेत यी युवाहरूले नै निर्वाह गरिरहेको आभास हुन्छ।
तेस्रो ठूलो उपलब्धि विरोधको शैलीमा आएको क्रान्ति हो। आज ‘आइएम विथ केपी ओली’ भनेर पनि प्लेकार्ड बोकिन थालेको छ। पेट्रोलको भाउ बढ्दा होस् वा सरकारको विरोध गर्नुपर्दा होस्, चक्काजाम गर्ने, बन्द गर्ने, हडताल गर्ने राजनीतिक परम्परा थियो। विगत १० वर्षको युवा अभियानले 'नेपाल खुला छ' जस्ता अभियान अनि शान्तिपूर्ण दबाबको नयाँ शैली ल्यायो, जसले आन्दोलनको नयाँ रूपमा माइतीघरलाई अगाडि सार्यो।
केही पुराना दलले पनि ‘प्लेकार्ड’ बोकेर शान्तिपूर्ण राजनीति सुरू गर्दै छन्। केही वर्षयता काठमाडौं लगायत देशभरका रेलिङ कम भाँचिएका छन्। पार्टी र चुनावी अभियानको आयव्ययमाथि छलफल हुन थालेको छ। जवाफदेहिता र पारदर्शिताबारे प्रश्न उठ्न थालेको छ। राजनीति सकारात्मक अनि रचनात्मक बन्दै गइरहेको छ। युवाहरूले नेतृत्व गर्दा आज प्रत्येक पार्टीमा पुस्ता हस्तान्तरण र युवा नेतृत्वबारे देशव्यापी बहस हुँदै छ। यी एजेन्डा कुनै क्रान्तिका एजेन्डाभन्दा कम छैनन्। छन् र?
परिवर्तनका निम्ति ऊर्जा र चेतना आवश्यक रहन्छ। आधुनिक र गतिशील संसारमा अनुभवले खारिनु पनि ‘अप्सन’ मात्रै हो। अझ, अनुभवले कहिलेकाहीँ क्रान्तिको ज्वालालाई रोक्न पनि सक्छ। तपाईं एउटा दुर्गन्धित घरमा जानुभयो भने जानेबित्तिकै नाक थुन्नुहुन्छ, तर त्यहाँ पहिलेदेखि नै रहेका मानिसलाई गन्ध आइरहेको हुँदैन। किनकि, त्यहाँ रहेकालाई बानी परिसकेको हुन्छ। यसर्थ, अनुभवले बेथितिलाई पनि सहज रूपमा स्विकार्य बनाइदिने गर्छ।
त्यस्तै, देशको बेथिति, भ्रष्टाचार, कुशासनले अघिल्लो पुस्तालाई भन्दा युवापुस्तालाई बढी उद्वेलित बनाउँछ, जसका कारण उसले सहन सक्दैन अनि विद्रोह गर्छ। त्यही भएर आजको युगको आवश्यकता नवीनता र साहस बोकेका पुकारहरूकै पुस्ता हो। अनुभव सहायक सर्त हुन सक्ला। तर, यो युगमा अब अनुभवले मात्र बगेको खोला फर्काउन सक्दैन। त्यसैले अबको युगको नेता युवा नै हुन्।
हामीलाई कहिलेकाहीँ लाग्दो हो– नाम चलेका कलाकारहरू, विज्ञहरू, नागरिक अगुवामध्ये केही मान्छे आए परिवर्तन सहज हुन्थ्यो कि ? तर, त्यसो होइन रहेछ। यही कोरोनाकै मुद्दामा पनि अनुभवी व्यक्तिहरूभन्दा युवा साथीहरू नै गम्भीर देखिए। मेरो अनुभव अनि दाबी छ– अब त्यो 'केपी ओली पुस्ता' सहायक बन्न सक्छ, तर त्यो पुस्ताले समाधान दिन सक्दैन। फेरि परिवर्तन गर्न सांसद हुनु, चर्चित हुनु, कुनै संस्थाको प्रमुख नै हुनुपर्छ भन्ने आवश्यकता पनि छैन।
केही समययता संसारभरको नेतृत्व हेर्ने हो भने पनि उनीहरूको पृष्ठभूमि साधारण नै छ, युवा नै छ। साधारण मानिसभित्रको असाधारण नेतृत्व क्षमताले अबको क्रान्ति हाँक्नेछ।
राजनीतिक नेतृत्व तीन प्रकारका हुन्छन्– वैचारिक, सांगठनिक तथा अभियन्ता। अहिलेको नयाँ नेतृत्व हेर्ने हो भने, ठूलो-ठूलो विचार दिएर, अनि संगठन निर्माण गरेरभन्दा केही अत्यावश्यक मुद्दामा अभियान चलाएर नेतृत्व गरेको पाइन्छ। नागरिकको अवस्थाको मुद्दा उठाएको पाइन्छ। भनौं, सांगठनिक जडताले बाँधेको कार्यकर्ता नभई 'इनफ इज इनफ' भन्दै जुर्मुराएर उठ्ने नागरिक समूहको अभियानले निकासको बाटो देखाउँछ। कृषि, शिक्षा, वातावरण, स्वास्थ्य, रोजगार आदि विषयमा अभियान चलाएर युवा संसारभर नेतृत्वमा पुग्दै छन्।
अभियान भनिरहँदा एउटा चुनौती छ। अभियन्ताले मुद्दा उठाउन त सक्छ, तर हाम्रोजस्तो समाज र व्यवस्थामा त्यसलाई लागू गर्न राजनीतिक संगठन नै चाहिन्छ। त्यसैले आजको हाम्रो समाजको आवश्यकता भनेको यी कुरालाई बुझ्ने वैकल्पिक सुसंस्कृत राजनीतिक दल हो, जसले यी मुद्दालाई नीतिगत रूपमा अंगाल्न सकोस्, संरचनागत सुधारनिम्ति निरन्तर लड्न सकोस् र भोलि सत्तामा पुगेपछि यी ‘अभियान्ता’हरूलाई नेतृत्वमा पुर्याउने जिम्मेवारी वहन गर्न सकोस्।
परिवर्तन भनेको मोटो मान्छे शरीर घटाउनलाई व्यायाम गर्न जिमखाना गएसरहको प्रक्रिया हो। व्यक्ति पहिलो दिन जिम जान्छ, दुई घन्टा व्यायाम गर्छ, फर्केर आएर ऐना हेर्छ, फरक पाउँदैन। भोलिपल्ट पनि जान्छ, व्यायाम गर्छ, फर्केर आउँछ, फरक पाउँदैन। पर्सिपल्ट त्यही गर्छ, फेरि नतिजा आउँदैन। तर निरन्तर जिमखाना गएर व्यायाम गर्ने हो भने केही समयपछि उसले थाहै नपाईकन फरक देखापर्न थाल्छ।
युवाहरूको विगत १० वर्षको अभियानले पनि विस्तारै देखिने स्तरको परिवर्तन ल्याउँदै छ। त्यसैले हामी पाँचै जना किन नहोऊँ, माइतीघरमा उभिन छाड्नुहुँदैन। हालको सत्ता-चटकमा भुलेर नागरिकको मुद्दा उठाउन छाड्नुहुँदैन, प्रश्न गर्न छाड्नुहुँदैन।
अहिले सरकारले युवाहरूसँग सम्झौता मात्र गरेको छ, माग पूरा गरेको छैन। माग पूरा गराउन अर्को युवाहरूको आन्दोलन जरुरी हुन सक्छ। ई:हरूको अनि पुकारहरूको आन्दोलन बाकी नै छ। नयाँ शैली र साहससहित थप ऊर्जा आजको परिवर्तनको आवश्यकता हो। युवाको ऊर्जा र सामाजिक सञ्जाल अनि प्रविधिको मिश्रणले कुन बेला आन्दोलनको आँधीबेहेरी ल्याउँछ, थाहा हुँदैन।
त्यसैले, अब शासकहरू सचेत हुन जरुरी छ। युवाहरूको यो चेतना र साहसले देश बन्छ, बन्छ।
अवस्था सुधारको मुद्दासहित उठेका युवा भोलि हाम्रा नेताहरू र पार्टीहरू सुध्रेनन् भने यो व्यवस्था नै परिवर्तन गरेर अझै नवीन र प्रविधिमैत्री व्यवस्था ल्याउन पनि पछि पर्ने छैनन्।
पब्जी खेल्दै घर बस्न छाडेर, गर्लफ्रेन्ड-ब्वाईफ्रेन्डसँग च्याट गर्न छाडेर वा फेसबुकमा नेतालाई गाली मात्र गर्न छाडेर नागरिक स्वास्थ्यका लागि अभियानमा हिँडेका अनि सत्याग्रहजस्तो कठिन बाटो रोजेका सम्पूर्ण युवा साथीहरूलाई नमन।
(पाण्डे विवेकशील नेपाली दलका अध्यक्ष हुन्।)