काठमाडौं लगायत सहरी क्षेत्रमा हरियालीका लागि रूखबिरूवा रोप्नुपर्छ भन्ने भावना विकास भएको छ, यो राम्रो कुरा हो। तर, सहरी क्षेत्रमा वृक्षरोपण गर्दा प्राविधिक पक्षमा विचार पुर्याउन सकेनौं भने रूख रोप्दैमा सहर सुन्दर हुँदैन। बरू तिनै रूखबिरूवा पैदलयात्रीहरूका लागि अवरोध बनिदिन्छन्।
यसका प्रशस्त उदाहरण हामी काठमाडौंका सडकहरूमा पाउँछौं। यहाँ कलंकीदेखि कोटेश्वरसम्म चक्रपथको दायाँबायाँ रोपिएका बिरूवा र त्यसको स्याहारसम्भारका प्रयास प्रशंसायोग्य भए पनि भित्री सडकहरूमा गरिएको वृक्षरोपण तथा व्यवस्थापन प्रभावकारी र सहरमैत्री देखिँदैन। यससम्बन्धी केही उदाहरण चित्रसहित हामीले यहाँ प्रस्तुत गरेका छौं।
फुटपाथमा वर र पिपल
माइतीघर-तीनकुने सडकको बबरमहल खण्डमा वन विभाग परिसरबाट बाहिर निस्कँदा बायाँतर्फ वरको रूख रोपिएको छ। हिन्दु सनातन संस्कृतिको प्रचलित मान्यताअनुसार वर र पिपल एकैठाउँ रोपेर ठूलो भएपछि विवाह गरिदिने चलन छ। यी रूखका जरा ज्यादै परसम्म फैलिने र निकै झ्यांगिने भएकाले खुला स्थानमा रोपिन्छ।
यी प्रजातिका रूख रोप्नु सकारात्मक भए पनि हिँड्ने बाटोमा रोप्दा पैदलयात्रुलाई असजिलो हुन्छ। पैदलयात्रुलाई तीन फिट चौडा बाटो पनि उपलब्ध नभएको काठमाडौंजस्तो घना बस्तीमा दिनहुँ हजारौं मानिस ओहोरदोहोर गर्छन्। यस्तोमा तीव्र रूपले फैलिने रूख फुटपाथमा रोप्नु न सहरको बाटोमैत्री हो, न प्रकृतिमैत्री।
माथिको चित्र बबरमहल फुटपाथको हो। यहाँ रोपिएको वरको रूख पैदलयात्रुमैत्री छैन। अझ दृष्टिविहीनहरूका लागि त हिँड्ने ठाउँमा यस्तो रूख रोप्नु राम्रो हुँदै होइन।
माथिको चित्र राम्ररी हेर्ने हो भने भने यहाँ दृष्टिविहीनहरूलाई हिँड्न बनाइएको बाटोभन्दा जम्मा ५५ सेन्टिमिटर दुरीमा रूख रोपिएको छ। रूखको जरा फैलिनलाई ७० सेन्टिमिटरजति लम्बाइ-चौडाइ रहेको खाडल छुट्टयाइएको छ, जुन ठाउँ वरको जराले पूरै भरिएको हामी बाहिरैबाट देख्न सक्छौं। आगामी १०-२० वर्षमा यसको जरा अझै फैलिएर धेरै नोक्सान पार्न सक्ने प्रस्टै छ। रूखको जरा फैलिने ठाउँसम्म जमिनमुनि र जमिनमाथिको भागमा पनि यसले क्षति पुर्याउन सक्छ।
यस्ता वर र पिपलको रूख कुनै घरको चर वा छानामा उम्रिए भित्ता चुहिन्छ वा चर्किन्छ भन्ने हामी धेरैलाई जानकारी छ।यस्तै क्षतिको डर सडक र फुटपाथमा पनि हुन्छ।
यी रूखको जरा यति टाढासम्म फैलिन्छ, त्यसले सडक नजिकका भवन र ढल निकासलाई समेत नोक्सान पार्न सक्छ। हावाहुरी आउँदा रूखका हाँगाबिँगा भाँचिएर सडकमा खस्न सक्छन्। फल लाग्ने समय सडकमै झर्नसक्छन्, जसले दुर्घटनाको जोखिम निम्त्याउँछ। यसका फल रसदार र चिसो हुने भएकाले पनि सडकलाई नोक्सान पुर्याउँछ।
यति मात्र होइन, वर-पिपलका हाँगा र पातको फैलावट धेरै परसम्म हुन्छ। यसले सडकको धेरै भाग छायाँमा पार्छ। सडकको चिस्यान बढाउँछ। यदि हामीले सडकलाई सुख्खा राख्न सकेनौं भने गुणस्तरमा कमी आउँछ। सडकको आयु घट्छ। धेरै सुख्खा र तापक्रम बढी हुने खुला क्षेत्रमा सडककिनार वर-पिपल रोप्नु उपयुक्त भए पनि मध्यपहाडी क्षेत्र तथा सहरका साँघुरा सडक, जहाँ घरहरू हुन्छन्, त्यहाँ यस्ता प्रजातिका रूखबिरूवा रोप्नु राम्रो होइन।
यो तस्बिर विष्णुमती करिडोरको हो। यहाँ फुटपाथमा रोपिएको रूखको जरा ह्युम पाइप फुटाएर बाहिर निस्केको छ। यसले पैदलयात्रीलाई हिँड्न दायाँबायाँका केही ठाउँ मात्र बाँकी छन्।
जराको प्रकृतिअनुसार यो रूख व्यवस्थापन गर्ने हो भने फुटपाथको पूरै क्षेत्र ओगट्नुपर्ने हुन्छ। त्यसैले यहाँ फुटपाथ डिजाइनदेखि तथा रूखको प्रजाति छनौटमा समेत समस्या देखिन्छ।
माथिको तस्बिर पनि विष्णुमती करिडोरकै हो। यहाँ पिपलको फेदको मोटाइले लगभग आधा फुटपाथ ढाकेको छ। यो रूखको जरा मुनिमुनि टाढासम्म फैलिने हुँदा विष्णुमती करिडोरको सडक, फुटपाथ र नजिकको मन्दिरलाई दीर्घकालीन रूपले असर पार्न सक्ने देखिन्छ।
रूखको मुनि र वरिपरिको भागमा चिस्यान भइरहने भएकाले यस्तो ठाउँमा हामीले सडक र फुटपाथको डिजाइनलाई नै नयाँ ढंगमा सोच्नुपर्ने भएको छ।
रूख जोखिम पनि हो
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सडकको दायाँबायाँ पुराना चौताराहरूमा रहेका वर-पिपलका रूखको आकार हेर्दा यस्ता रूख कति ठूला हुन्छन् र यसका जरा कति टाढासम्म फैलिन्छन् भन्ने प्रस्ट देखिन्छ।
वर-पिपलजस्तै काँगियो फूल, कल्की फूल, चाँप (सुन चाँप), जामुन, फिस्टेल पाम लगायत प्रजातिका बिरूवा रामशाह पथ, माइतीघर-तीनकुने, धोबिखोला, विष्णुमती करिडोर लगायत ठाउँमा रोपिएको पाइन्छ।
यो तस्बिर त्रिपुरेश्वर, बस बिसौनीछेउको हो। यहाँ बस रोक्ने ठाउँनजिकै काँगियोको बोट रोपिएको छ। यो बिरूवा रोपेको करिब दुई वर्ष भयो। बिरूवा वरिपरि लगाइएको बारले ४० सेन्टिमिटर भाग ओगटेको छ भने फुटपाथमा पैदलयात्रुलाई हिँड्न जम्मा १३५ सेन्टिमिटर भाग बचेको छ।
यो रूख जति बढ्दै गयो, फुटपाथ उति सानो हुँदै जानेछ। यो प्रजातिको रूख सामान्यतया ६० फिटभन्दा अग्लो हुने भएकाले पछि विभिन्न समस्या देखापर्न सक्छन्। यस्ता अग्ला प्रजातिका रूखको काण्ड र हाँगा ठूलो हुने र यसका जरा धेरै टाढासम्म फैलिने भएकाले फुटपाथजस्तो मान्छे आउजाउ गर्नुपर्ने साँघुरो ठाउँमा यस्ता बिरूवा रोप्नु उपयुक्त होइन।
यी रूखहरू राम्ररी हुर्किएको अवस्थामा हावाहुरी तथा बर्खा याममा दायाँबायाँ ढल्ने जोखिम धेरै हुन्छ। हामीले यस्ता जोखिम आकलन नगरी वृक्षरोपण गरेर सुरक्षाको खतरा बढाइरहेका छौं।
हाम्रो यो कदम सहरमा बोटबिरूवा रोपेर हरियाली बढाउनुपर्छ भन्ने भावनाबाट प्रेरित छ। हरियाली बढाउनु राम्रो कुरा हो, तर हरियालीका नाममा जनधनमै क्षति उत्पन्न हुने अवस्थातर्फ विचार नपुर्याउनु सही होइन। हामीमा हरियाली बढाउने चेत त आयो, तर सहरी क्षेत्रमा कस्ता प्रजातिका रूखबिरूवा रोप्नुपर्छ भन्ने ज्ञान नभएको देखिन्छ। वृक्षरोपण गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरूको सल्लाह र सुझाव नलिने प्रवृत्तिका कारण यस्तो स्थिति आएको हो।
कतिपय प्रजातिका फलफूल तथा हाँगापातको झुसले केही मानिसमा एलर्जी गराउने गरेको पनि पाइन्छ। काँगियो फूलको रूख पनि एलर्जीको स्रोत हो। कतिपय बोटका फल र बीउहरूमा विषको तत्व पनि हुन्छ। त्यसैले, वृक्षरोपण गर्ने भन्दैमा रूखबिरूवाका प्रजाति छनौटमा सावधानी अपनाएनौं भने पछि पछुताउनुपर्ने हुनसक्छ।
यो चित्रमा देखाइएको गोलाकार भागले ३० वर्षपछिको अवस्था अनुमान गरेको छ। यसमा के देखाउन खोजिएको छ भने, यदि ३० वर्षमा यो रूखको काण्ड ६० सेन्टिमिटर चौडा भयो भने यसको जरा कम्तिमा ७ मिटर वरिपरिसम्म फैलिनसक्छ। त्यस्तो अवस्थामा सडक र सडक नजिकका भवनको भौतिक संरचनामै असर पर्न सक्छ। बिजुलीका खम्बा र तारहरूलाई पनि बारम्बार समस्या पर्ने देखिन्छ।
जमिनमाथि काँटछाँट, जमिनमुनि समस्या
सहरमा रोपिएका रूखबिरूवा हुर्किंदै गर्दा बिजुलीका तार र घर वरिपरि समस्या देखिने गरेका छन्। यो समस्या समाधान गर्न रूखका टुप्पा काटिदिने, हाँगाहरू निरन्तर छिमल्ने चलन छ। जमिनमाथिको भागमा त हामी हाँगा छिमलेर, टुप्पा काटेर समस्या सल्टाउँला, तर जमिनमुनि जराको फैलावटले सिर्जना गर्ने जोखिमलाई के गर्ने?
रूखको जरा सामान्यतया त्यसको छत्रले ढाक्ने भागसम्म फैलिने गर्छ। अझ दूध आउने खालका प्रजाति जस्तै पाकुरी, वर, पिपल आदिको जरा धेरै टाढासम्म फैलिन्छ। त्यसैले कुनै पनि घर, भवनबाट ८ फिटभन्दा नजिक यस्ता प्रजातिका रूखबिरूवा लगाउनु हुँदैन भन्ने मान्यता छ। यसको निर्धारण त्यसको छत्र र मोटाइ कतिसम्म ठूलो हुन्छ भन्नेले गर्छ।
हामीकहाँ सहरी हरियाली बढाउन जराको जोखिम आकलन नगरी वृक्षरोपण गर्ने चलन छ। विकसित देशहरूमा हेर्ने हो भने, सहरी क्षेत्रमा वृक्षरोपण गर्दा रूखको जरालाई धेरै फैलिनबाट रोक्न कम्तिमा आधा मिटरजति वरिपरि खाडल खनेर प्लास्टिकको बाधक राख्ने गरिन्छ। यसले रूखका जरा फैलिएर सडक चर्काउने, ढलहरू फुटाउने, पानीको पाइपलाई नोक्सान पार्ने, भवन तथा घरका भित्ता र जग कमजोर बनाउने तथा रूख रोपिएको स्थानवरिपरिका संरचना बिगार्ने सम्भावना कम हुन्छ।
सुख्खा क्षेत्रमा र खडेरीको समयमा त रूखका जराहरू पानी र खनिज पदार्थको खोजीमा हामीले अनुमान गरेभन्दा निकै टाढासम्म जाने गर्छन्।
वृक्षरोपण गर्ने तरिकामै पुनरावलोकन गर्नुपर्छ
सहरमा हरियाली बढाउन विष्णुमती किनार, बागमती किनार, धोबिखोला तथा अन्य सहरी बाटोहरूमा कतै ह्युम पाइपमा त कतै स-साना खाडल खनेर रूखबिरूवा रोप्ने गरेको पाइन्छ। यसरी रूखबिरूवा रोप्दा फुटपाथ भनेको मान्छे हिँड्ने बाटो हो भन्ने पनि ख्याल राखिँदैन। फुटपाथ बनिसकेपछि रूखबिरूवा रोप्नकै लागि फेरि भत्काइएका उदाहरणसमेत छन्।
यो धोबिखोला करिडोरमा गरिएको वृक्षरोपणको तस्बिर हो। यसमा ह्युम पाइपजस्तो देखिने संरचनामै बिरूवा रोपिएको छ। ह्युम पाइप बिरूवा रोप्ने संरचना होइन। बिरूवा रोप्न भनेर यसलाई गमलाको डिजाइनमा ढालिएको हो। यदि हामीले जरा थोरै फैलिने बिरूवा रोप्ने हो भने त्यस्तै प्रकारका गमला डिजाइन गर्न सक्छौं।
धोबिखोला करिडोरमा ह्युम पाइपजस्तो संरचनामा रोपिएका बिरूवाहरूको सम्भार रूखबिरूवाको स्वभावअनुसार प्रकृतिमैत्री हुन सकेको छैन। कुन बिरूवा कुन प्रकृतिको हो भन्ने आकलन नगरी रोप्दा स्याहारसम्भारका लागि गरिने क्रियाकलाप पनि प्रभावकारी हुँदैनन्।
यो माथिको तस्बिर (बायाँ) मा रोपिएको बिरूवा र तारले जेलिएको भागले हाम्रो सहरी संरचनाको कुरूपता झल्काउँछ भने दायाँ तस्बिरले बिरूवा रोपेको तरिका नै प्राविधिक दृष्टिकोणबाट नमिलेको देखाउँछ। दायाँ तस्बिर त्रिपुरेश्वरबाट सहिदगेट जाँदा सानो ह्युम पाइपजस्तो देखिने भागमा रोपिएको बिरूवाको हो। यो वन विज्ञान पद्धतिमा कुनै कोणबाट पनि सही तरिका होइन।
तरिका नै थाहा नभइकन रोपिएका बिरूवाहरूको बाँच्ने दर ज्यादै कम पाइएको छ। हुन त बिरूवा रोप्न सबैलाई मनपर्छ, तर उपयुक्त विधि थाहा भएन भने त्यसले बिरूवा हुर्कंदैन, बरू सहरको सौन्दर्य बिगार्छ।
माथिको तस्बिरमा जस्तै बिरूवा रोपिसकेपछि यस्ता विभिन्न डिजाइनका ग्रेटर राखेर व्यवस्थापन गर्नुपर्छ। हामीले के बुझ्नुपर्छ भने, जस्तो कुनै सडक, भवन वा पूर्वाधार बनाउन इञ्जिनियर तथा आर्किटेक्टको आवश्यकता पर्छ, त्यस्तै बिरूवाको प्रजाति छनौट गरेर सहरी क्षेत्रमा वृक्षरोपण गर्न पनि वनस्पतिविद तथा त्यस क्षेत्रमा काम गरेका विज्ञहरूको परामर्श आवश्यक पर्छ।
कतिपय अवस्थामा बिरूवा रोपेको दुई वर्षमै टुप्पो काटेर त्यसलाई प्राकृतिक रूपमा हुर्किनबाट वञ्चित गरिएको पाइन्छ। यस्तो कार्यले वृक्षरोपणको उद्देश्य पूरा गर्दैन। रोपिएको एक-दुई वर्षपछि नै रूखको टुप्पो काटिदिने हो भने होचो प्रजातिका वनस्पति लगाउनुका साथै बोन्साइ प्रविधिबाट वृक्षरोपण गर्नुपर्छ।
सहरमा वृक्षरोपण गर्दा हरियाली बढाउने उद्देश्य त लिनुपर्छ नै, त्यो सँगसँगै पैदलयात्रुलाई असुविधा नहुने र सहरी सौन्दर्यसँग मेल खाने प्रजातिका वनस्पति छनौटमा हामीले ध्यान दिनुपर्छ। यी सबैको संयोजन मिलाउनेतर्फ सम्बन्धित निकायले ध्यान दियो भने मात्र सहरी क्षेत्रको वृक्षरोपण सार्थक हुन सक्छ।
(कोइराला वन तथा वातावरण मन्त्रालयका सहसचिव हुन् भने ढकाल सहरी विकास अभियन्ता हुन्।)
सबै तस्बिर स्रोत: कोइराला र ढकाल