सन् २००४ देखि २०१९ सम्ममा अमेरिकाका करिब एक हजार पाँच सय सहरका स्थानीय अखबार बन्द भए। अमेरिकी पत्रकारिता परियोजनाले स्थानीय अखबारलाई जोगाउने प्रयास पनि गरेको थियो जसअनुसार यसले परार साल मात्रै करिब चार करोड बीस लाख डलर सहयोग गर्ने घोषणा गरेको थियो।
तर त्यहाँका सयौं अखबार तथा पत्रिकाको वितरण निरन्तर घट्दै गएको छ।
युरोपको कथा पनि उस्तै हो।
तर आश्चर्यजनक के छ भने विकासशील वा अतिकम विकसित एसियाली र अफ्रिकी मुलुकहरूमा पनि छापा माध्यम बन्द भएका छन् भने वितरण निरन्तर खस्किरहेको छ।
कोभिड–१९ को महामारीले संसारलाई चपेटामा पारेपछि नेपालमा सेयरकाष्टले मानिसहरूले नयाँ रोगबारे जानकारी कहाँबाट पाए भनेर अध्ययन गरेको थियो। जसमा जम्मा एक प्रतिशतले मात्र कोरोना भाइरसबारे जानकारी अखबारबाट पाएको बताएका छन्।
यसैबीच अखबार पनि भाइरस ढुवानीको माध्यम बन्न सक्छ भन्ने अपुष्ट खबर सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरू तर्सिए। पहिलो लकडाउनमा काठमाडौं उपत्यकामै कतिपय आवास क्षेत्रमा साइकल ब्वाइहरूलाई प्रवेश निषेध गरियो। एकाध स्थानमा त उनीहरूमाथि हातपात नै भयो। काठमाडौं बाहिरका अधिकांश पत्रपत्रिका बन्द भए भने उपत्यकाबाट प्रकाशन हुने ठूलापाते अखबारले प्रकाशन र वितरणमा ठूलै समस्या झेल्नुपर्यो।
करिब दुई दशकदेखि मृत्युमार्गमा लम्किरहेको भनिएको अखबारलाई कोरोना भाइरसले मानिसलाई जस्तै थला पारेको छ। नेपालकै केही चर्चित म्यागेजिन तथा अखबारसमेत अनिश्चितकाल तथा केही आउटलेट सधैंका लागि बन्द हुनुले पनि त्यसलाई बल पुगेको छ।
हुन त यो महामारीपछि अखबार अझ राम्रो बनेर आउनेमा कतिपय आशावादी छन्। केही विद्वानले जसरी रेडियो र टिभीजस्ता बलिया प्रतिद्वन्द्वीसँग भिडेर अखबार जिवित रह्यो, त्यसैगरी इन्टरनेटसँग पनि जोगिएर अगाडि बढ्छ भन्ने दलिल दिएका छन्। तर शिक्षा, मनोरञ्जन तथा सञ्चारका क्षेत्रमा भएका पछिल्ला विकास, नवप्रवर्तन र संस्कृतिले भने अर्कै संकेत गर्छन्।
हरेक सञ्चारमाध्यमले आफ्नो 'अडियन्स' सिर्जना गर्नुपर्छ जसका लागि उनीहरूले वर्षौं र कतिपयले दशकौं प्रयास गरेका हुन्छन्। अडियन्स ज्यादै गतिशील तत्व हो। आज कुनै एक माध्यममा रमाएको पाठक वा दर्शक भोलि अर्कोमा पुग्छ। रेडियोका वफादार श्रोता कुनै अनलाइनका चौबीस घन्टे प्रयोगकर्ता हुनसक्छन्। त्यसैले संसारभर अखबारले आफ्ना पाठक सिर्जना गर्न वा उनीहरूलाई आफूसँग जोडिराख्न बालबालिका, युवा, कला तथा साहित्यका क्षेत्रमा अतिरिक्त सामग्री वा पुलआउट (झिकेर छुट्टै पढ्न मिल्ने) को प्रकाशन गर्छन्।
यहाँ बालबालिकाको उदाहरण लिऊँ। बालबालिकाका लागि पुलआउट परिशिष्टांक निकालेर अखबारको आयश्रोतमा त्यत्ति टेवा पुग्दैन किनकि अधिकांश यस्ता प्रकाशन ज्यादै कम वा विना विज्ञापनसहित छापिन्छन्। तर पनि अखबारले तिनको प्रकाशन गर्छन् किनकि त्यसको माध्यमबाट अखबारका पाठक सिर्जना गर्नुछ।
आज बाल प्रकाशन पढ्ने बालबालिका किशोर हुँदा खेलकुद हुँदै पूरै अखबारको पाठक बन्ने सम्भावना हुन्छ। पाठकको सिर्जना र क्षय निरन्तर प्रक्रिया हो– सिर्जना गर्न सकिएन र क्षय मात्र भइरह्यो भने कुनै पनि माध्यमको मृत्यु निश्चित हुन्छ।
अहिले अखबारको मुख्य चुनौती भनेकै नयाँ पाठकको सिर्जना हो। पहिले कापी र कलममा लेख्ने बालबालिका अहिले डिजिटल प्लेट वा कम्प्युटर र स्क्रिनमा लेखपढ गर्छन्। मोबाइल उपकरणमा गेम खेल्छन्। उनीहरूका लागि हेर्ने कार्टुन, सुन्ने कथा र कोर्ने चित्र सबै कम्प्युटरमा छन्। फेसबुक पेजमार्फत कथा सुन्ने बालबालिकाको संख्या प्रतिकथा नै दस हजारभन्दा बढी हुनुले अर्कै भविष्यको संकेत गर्छ। मल्टिमिडियाले जस्तो अरू कुनै पनि सुविधाले बालबालिकालाई आकर्षित गर्न सक्दैन।
यो सहरमा रहेका, अलि जानकार बाबुआमा भएका र प्रविधिसँग पहुँच भएका बालबालिकाका कथा हो। सम्भवतः एक दशकभित्रै मुलुकभर यो अवस्था हुने छ। त्यसबेला उनीहरूका पाठ्यपुस्तक पनि सम्भवतः कम्प्युटर, मोबाइल वा क्लाउडमा हुनेछन्। कागज पढ्ने र कागजमै लेख्ने दिन विस्तारै इतिहास बन्दैछन्। यसरी छापा सामग्रीसँग बालबालिकाको विच्छेद अखबारको मृत्युको सबैभन्दा पहिलो शर्त बन्दैछ।
यस्तै संकेत वयस्कहरूले पनि दिएका छन्। सबेरै अखबारको गन्ध नसुँघी दिनचर्या सुरू नगर्नेहरू समेत विस्तारै छापा माध्यमसँगको साइनो तोड्दैछन्। कारण हो, अनलाइन प्रकाशनले दिने सुविधा।
अनलाइनमा समाचार जूम गरेर ठूलो आकारमा पढ्न सकिन्छ। पढ्न अल्छी लाग्नेलाई भिजुअल रिपोर्टिङ समेत दिइएको हुन्छ। समाचार पढ्न भोलि बिहानसम्म पर्खिन पर्दैन। फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालले हरेक उमेर र तहका मानिसलाई कुनै पनि घट्ना वा विषयबारे तत्कालै जानकार हुनै पर्ने बाध्यता सिर्जना गरिदिएको छ। जसका लागि अखबार विकल्प होइन र हुन पनि सक्दैन।
सूचना सामग्रीको कहिल्यै नमेटिने भोक मेटाउन पनि अखबार असक्षम बन्दै गएका छन्। दिनभर रेडियो, टेलिभिजन र अनलाइनबाट टुक्राटुक्रामा ग्रहण गरेका समाचार नै अखबारले भोलिपल्ट विवरणको रूपमा छाप्ने भएपछि किन दोहोर्याउने भन्ने निष्कर्षमा पाठक पुगेको छ। अखबारले दिएको एउटा दृष्टिकोणभन्दा अनलाइनमा खोजी गरी धेरै दृष्टिकोण जान्न चाहन्छ ऊ।
त्यसैले कुनै समय कार्यालय वा घरमा अध्ययन टेबलको शोभा बन्दै आएका अखबारहरू शब्दकोषजस्तै गायब हुँदैछन्। डिजिटल अध्ययन सामग्रीप्रतिको आकर्षण बढ्दै गएपछि शब्दकोषहरू छापिने क्रम घट्दै गएको छ।
टेबलको शब्दकोष पल्टाएर एक-दुई शब्द वा अर्थ खोज्नुभन्दा अनलाइनमा अनेकौं अर्थ, उदाहरण र पर्यायवाची तथा विपरितार्थक खोज्न सजिलो मात्र होइन, उपयोगी पनि हुन्छ।
त्यसैले अखबारको अनलाइन संस्करण सञ्चालन गरे पनि कतिपय अखबारले एकाध विशेष समाचार छापाको लागि भनेर जोगाउने र छापिइसकेपछि मात्र डिजिटल माध्यममा प्रकाशन गर्ने गरेका छन्। यद्यपि पछिल्लो समय आएको सञ्चारमाध्यमको बाढीले कुनै पनि खबर एक मात्र प्रकाशनसँग हुन्छ भन्ने प्रत्याभूति रहेन। कुनै अखबारले भोलिका लागि जोगाएको समाचार अर्को अनलाइनले आजै प्रकाशन गरेर चुनौती दिएका उदाहरण यहीँ प्रशस्तै छन्।
भारत र नेपालजस्ता कतिपय विकासशील मुलुकमा अझै साक्षरताको दर बढ्दै गएकाले अखबारका पाठक बढ्दै जाने अनुमान पनि नेपालका गाउँसहरमा खुलेका एफएम, अनलाइन समाचार माध्यम र फेसबुकले गलत साबित गरिदिएका छन्। काठमाडौंका ठूला भनिने खबरको विवरण सामाजिक सञ्जाल र अनलाइनबाट लिएपछि स्थानीय अडियन्स आफ्नै वरिपरिका एफएम सुनेर सूचनाको भोक भेटाउँछ र सन्तुष्टि लिन्छ।
सिद्धान्ततः हरेक व्यक्तिले समाचारमा आफैंलाई देख्न चाहन्छ। त्यो भनेको कुनै न कुनै रूपमा आफ्नो क्षेत्र, पेसा, वर्ग वा समूहको समाचार पढ्न वा सुन्न चाहन्छ भन्ने हो। यस्तो अवस्थामा निश्चित पृष्ठ भएका अखबारका लागि हरेक क्षेत्रको समाचार वा सामग्री समावेश गर्नु असम्भव छ। छापाको यही कमजोरीमा अहिले मुलुकभर स्थानीय एफएम र अनलाइन समाचार पोर्टल मौलाएका छन्।
कोरोना भाइरस नियन्त्रणमा आएपछि अखबारका सुदिन आउलान् भन्ने सम्भावना यसकारण पनि कमजोर देखिन्छ। छापा माध्यमले कोरोना महामारी अघिकै स्थान सुनिश्चित गर्न सक्यो भने अहिलेका लागि त्यही उसका लागि ठूलो उपलब्धि हुने छ।
(लेखक ढकाल द राइजिङ नेपाल डेलीका संवाददाता र नेपाल एसोसिएसन अफ फाइनान्सियल जर्नालिस्ट्स (नाफिज) का अध्यक्ष हुन्)
ट्वीटरः @ModDhakal