विश्व तापमान वृद्धि हुँदै गएकाले हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ। त्यहाँबाट उत्पत्ति भएका नदीका तल्लो तटीय क्षेत्रमा हिमबाढीको प्रकोप बढ्दै छ।
हिमाली क्षेत्रमा हिमताल फुटेर, हिउँ वा बरफ पग्लेर अकस्मात आउने ठूलो परिमाणको गेग्रानसहितको बाढीलाई हिमबाढी भन्न सकिन्छ। दुई दशकअगाडि हिमतालको अध्ययन सुरू गर्दा यस्तो बाढी हिमताल विस्फोटनबाट मात्र आउने देखिएको थियो। अहिले यस्ता बाढी अन्य कारणले पनि आउने पुष्टि भएको छ। सन् २०१२ मे ५ मा आएको सेती बाढीको अध्ययनअनुसार यस्तो बाढी हिमपहिरोले पनि ल्याउने रहेछ भन्ने देखिएको हो।
मैले सन् २००३ मा आएको मादी नदीको यस्तै प्रकारको बाढी पनि छोटो समय ताल बनेर फुट्दा आएको ठानेको थिएँ। तर सेतीबाढी अध्ययनले हिमपहिरोबाटै सिर्जित भएको निर्क्यौलमा पुगेँ।
मेरो अध्ययन, अनुसन्धान र अवलोकनले हालका वर्षमा हिमबाढी मुख्य चार कारणले आउने देखिएको छ। यस्तो बाढी र यसका क्षति बुझ्न हिमाली क्षेत्रको सतहको भौगर्भिक अवस्था बुझ्नुपर्ने हुन्छ।
हिमनदीः
बगिरहेको बरफ नै हिमनदी हो। उच्च हिमाली क्षेत्रमा हिउँ पर्छ तर तापक्रम शून्य डिग्री सेल्सियसभन्दा माथि जाँदैन। तब हिउँ जम्मा हुन थाल्छ। यो प्रक्रियामा तल्लो तहको हिउँ माथिल्लो तहको हिउँले थिचिँदै जान्छ। यसरी तल्लो तहको हिउँको घनत्व बढ्दै जान्छ र बरफमा परिवर्तन हुन्छ। हिउँ र बरफ दुवै पानीको जमेको वा ठोस रूप हो। भर्खर परेको हिउँको घनत्व ०.०१ ग्राम प्रति घनसेन्टिमिटर हुन्छ भने बरफको ०.९१७ ग्राम प्रति घनसेन्टिमिटर हुन्छ। जमेको हिउँको घनत्व भनेको यी दुईको बीचमा हुन्छ।
हिउँको तह धेरै हुन थालेपछि विस्तारै भिरालोतिर बग्न थाल्छ। यसरी हिमनदी सिर्जना हुन्छ।
हिमनदीको बग्ने गति भने फरक हुन सक्छ। केही सेन्टिमिटर प्रतिसाता वा महिनादेखि केही मिटर प्रतिदिनसम्म हुन सक्छ। हिमनदीको बग्ने क्रमलाई तापक्रमले नियन्त्रण गर्छ। जति तल्लो उचाइतिर आयो, उति बढ्दो तापक्रम भएकाले पग्लिन थाल्छ।
तल्लो उचाइमा चिसो बढ्दा हिमनदी अझै तलसम्म बढ्छ। तापक्रम बढे माथिल्लो उचाइमा सर्छ। हिमनदी बग्ने क्रममा यसका वरिपरि तथा पिँधमा भएको चट्टानको टुक्रा र चट्टान क्षयीकरणबाट बनेको माटो, ग्रेगर सबै सँगै बग्छ। यी चट्टानका टुक्रा, ग्रेगर, बालुवा र माटोको मिश्रणलाई सम्मिश्रण (डेब्रिस) भनिन्छ।
हिमनदी दुई प्रकारका हुन्छन्ः शुद्ध बरफले ढाकेको र यस्तै पदार्थको सम्मिश्रण (डेब्रिस) ले ढाकेको।
हिमाली क्षेत्रमा सम्मिश्रणले ढाकेका हिमनदीको माथिपट्टि ढुंगामाटो मात्रै देखिन्छ। तर मुनितिर हिमनदी बगिरहेको हुन्छ। तल्लो उचाइमा पुगेर पग्लिँदा पनि त्यसमा भएको सम्मिश्रण पानीले बगाउन सक्दैन। त्यही स्थानमा जम्मा हुन थाल्छ। यो क्रम धेरै वर्षसम्म चलिरहँदा हिमनदीको अन्तिम विन्दुमा धेरै नै सम्मिश्रण (डेब्रिस) जम्मा हुन्छ। यसरी जम्मा भएको थुप्रोलाई हिमोढ (मोरेन) भनिन्छ।
बरफमा जमेको जमिनः
वर्षभरि नै तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम हुने ठाउँमा हिमनदीबाहेकको माटोमा भएको चिस्यान पनि जमेर एकै ढिक्का भएर बसेको हुन्छ। यसरी हिमनदी भएका स्थानमा बहने बरफले यु (U) आकारको नदी उपत्यका बनाउँछ। तर पानीको कटान क्षमता धेरै हुने भएकाले 'भी' आकारका बनेका हुन्छन्।
हिमतालः
हिमालय क्षेत्रमा भइरहेको तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमनदीमा देख्न सकिन्छ। तापक्रम बढ्दा हिमनदीहरू माथिल्लो उचाइतिर सर्न थाल्छन्। यसको मतलब, अब पहिला बनेका हिमोढ (मोरेन) भन्दा पछाडि नै हिमनदी पग्लिन थाल्छ। यस अवस्थामा हिमोढले हिमनदीबाट पग्लेर आएको पानी रोकेर बाँधको काम गर्छ। अनि पानी जम्मा हुँदै हिमताल बन्न पुग्छ।
यसरी बन्ने हिमताललाई हिमोढको बाँध भएको हिमताल भनिन्छ। कहिलेकाहीँ हिमनदी आफैंले पानी छेकेर पनि हिमताल बन्न सक्छ। यसलाई चाहिँ बरफको बाँध भएको हिमताल भनिन्छ।
हिउँ पग्लिने प्रक्रिया बढ्दै जाँदा हिमतालको क्षेत्रफल पनि बढ्दै जान्छ। क्षेत्रफल बढ्नु भनेको हिमतालमा जम्मा भएको पानीको आयतन पनि बढ्नु हो। यो पानी थेग्ने हिमोढको बाँध प्रायः धेरै बलियो हुँदैन। यसै कारण हिमोढ बाँध भएको हिमताललाई खतराको रूपमा लिइन्छ।
हिमताल विस्फोटनः
हिमोढ बाँध भत्केर तालको पानी तीव्र गतिमा बाहिरिने प्रक्रिया नै हिमताल विस्फोटन हो। यसका दुई कारण छन्ः
पहिलो, बाह्य कारणले हुने विस्फोटन।
ठूलो हिमपहिरो तालमा खस्न गएमा तालको पानी हिमोढ बाँधभन्दा माथिबाट बग्न थाल्छ। यसरी बग्ने पानीको मात्रा धेरै हुन्छ। यसको बहाबले बाँधमा भएका पदार्थ विस्तारै बगाउन थाल्छ। पानीको खोल्सा जति गहिरो हुँदै जान्छ, तालबाट बग्ने पानीको मात्रा त्यति नै बढ्छ र झन् गहिरो खोल्सा बन्छ।
गहिरिँदै जाँदा खोल्साको दायाँ-बायाँबाट पनि पहिरो जान्छ र चौडाइ पनि बढ्छ। अनि झन् धेरै पानी तालबाट बाहिरिन थाल्छ। कहिलेकाहीँ भूकम्पका कारण पनि बाँध भत्किन सक्छ। तर २०७२ सालको भुइँचालोको केन्द्रबिन्दु नजिकै रहेका ठूला हिमताल पनि नफुट्नुले यो सम्भावना धेरै कम रहेको पुष्टि हुन्छ।
अर्को हो, बाँध आफैं भत्केर हुने विस्फोटन।
कमजोर बनावट र त्यसमा भएका पदार्थको क्षयीकरण तथा बाँधभित्र हुने भूमिगत जल प्रवाहबाट बन्ने स-साना छिद्रमा पानीको बहाब बढ्दै जाँदा हिमोढ बाँध स्वस्फूर्त रूपमा पनि भत्किन सक्छ। बाँधभित्रको भूमिगत पानी हिउँदमा जम्छ, वर्षामा पग्लिन्छ। यसरी बाँधबाट हुने चुहावट जाडो मौसममा नदेखिने र गर्मीमा बढी देखिने हुन्छ। कहिलेकाहीँ बाँधभित्रै भएको बरफको ठूलो ढिक्का अकस्मात पग्लिएर पनि भत्किन सक्छ।
१. हिमताल विस्फोटनबाट आउने बाढीः
विगत केही दशकदेखि हिमताल बन्ने र तिनको आयतन वृद्धि हुने क्रम बढ्दो छ। यसले गर्दा हिमताल विस्फोटन भएर त्योभन्दा तल रहेका नदी छेउछाउका क्षेत्रमा आउने बाढीको सम्भावना पनि बढ्दै गइरहेको छ।
बाँध फुटेर हुने विस्फोटनबाट आउने अर्बौं लिटर पानीसँगै मिसिएर आउने थेग्रिनी (सेडिमेन्ट) ले हिमतालबाट बग्ने खोला तथा त्यसभन्दा तल्लो तटीय क्षेत्रमा व्यापक धनजनको क्षति गराउँछ। विस्फोटनबाट आउने सम्मिश्रण बहाब एकदमै शक्तिशाली हुन्छ। साधारण बाढी भन्नाले पानी मात्रै वा धेरथोर थेग्रिनी (५-१० प्रतिशत) को बहाब भन्ने बुझिन्छ। यो बहाबमा जति तीव्र गतिमा पानी बग्छ, उति नै ठूलो कणको थेग्रिनी बगाउने क्षमता हुन्छ।
थेग्रिनीको मात्रा ४० प्रतिशतसम्म भएको अवस्थामा लेदोयुक्त बाढी हुन्छ। यस्तो अवस्थामा घोलको बहन क्षमता साधारण बाढीभन्दा फरक हुन्छ। तर बहाबको नियन्त्रण भने पानीको मात्राले नै गर्छ। सम्मिश्रण बहाबमा भने थेग्रिनी अति धेरै मात्रामा (६५ प्रतिशतभन्दा बढी) हुन्छ।
सम्मिश्रण बहाबलाई भिरालोपन र यसमा भएका मसिना कणले नियन्त्रण गर्छ। सम्मिश्रण बहाब ५ डिग्री भिरालोभन्दा तल बहन सक्दैन र यस्तो स्थानमा बगाएर ल्याएको सबै पदार्थ जम्मा हुन्छ। मेलम्ची बजार यसै कारण पुरिएको हो। सन् १९९८ मा तामपोखरी फुटेर इङ्खु खोलामा आएको हिमबाढीले ल्याएको गेग्रानले दूधकोशी थुनेर एक किलोमिटर लामो ताल बनेको थियो।
यसरी हिमबाढीबाट आउने सम्मिश्रण बहाबले यसको बाटोमा पर्ने ठूल्ठूला संरचना पनि भत्काउन सक्छ। सन् १९८५ मा डिगच्छो हिमताल विस्फोटनले सोलुखुम्बुको नाम्चे साना जलविद्युत आयोजनाको लगभग तयार भइसकेको सम्पूर्ण संरचना भत्काइदिएको थियो। उक्त क्षेत्रका बासिन्दाको अनुभवमा धेरै ठूलो आवाजको साथै जमिनै हल्लिने गरी बहाब हुन्छ। दसौं हेलिकप्टर उडेजस्तो आवाज आउँछ। नदी क्षेत्रमा रहेका पुराना पहिरोको फेद खोतल्ने र बहाबमार्गमा रहेको सबै नरम तह सोहोरेर ठूल्ठूला ढुंगा समेत यस्तो बहाबले सजिलै बगाएर ल्याउँछ। त्यसै कारण यस्तो बाढीले ल्याउने थेग्रिनी अकल्पनीय हुन जान्छ।
यस्तो बहाबको असर हिमतालबाट दसदेखि सय किलोमिटरसम्म ठूलो हुन्छ। धेरै तलको नदीमा भने पानी मात्र बग्न जान्छ जुन साधारण बाढीका रूपमा बगेर जान्छ।
विगत केही दशकका बाढीको अध्ययन गर्दा हिमताल विस्फोटनबाट आउनेजस्तै बाढी वा सम्मिश्रण बहाब अरू तीन कारणले पनि आउने देखिएको छः
२. उच्च हिमाली क्षेत्रमा हुने ठूलो वर्षाः
उच्च हिमाली क्षेत्रमा साधारणतया अत्यन्तै कम पानी पर्छ।
उदाहरणका लागि मनाङको वर्षभरिको औसत बर्षा २५० मिलिमिटर हाराहारी छ। यस्तो स्थानमा छोटो समयमा ठूलो पानी पर्दा उक्त पानीको तापक्रम बढी हुन्छ। बरफ र जमेको जमिन समेत पगाल्ने भएकाले हिमबाढी सिर्जना हुन्छ। सन् २०१३ मा भारतको केदार क्षेत्र र नेपालको महाकाली क्षेत्रमा र यसपालि मेलम्ची क्षेत्रमा आएको बाढी यसै प्रकारको हो।
भू-उपग्रहबाट नापिएको बर्षाको तथ्यांक हेर्दा केदार क्षेत्रमा एक हप्ता अवधिमा ५०० मिलिमिटरभन्दा बढी बर्षा भएको देखिन्छ। यसैगरी मेलम्ची नदीको जलाधार क्षेत्रमा पनि अत्याधिक बर्षा भएको देखियो। मनाङमा वर्षको औसत २५० मिलिमिटर बर्षा हुने ठाउँमा २४ घन्टामा ८२.८ मिलिमिटर बर्षा हुँदा सम्मिश्रण बहाब आएको देखिन्छ।
३. हिमपहिरोः
हिमाली क्षेत्रको धेरै भिरालो स्थानमा ठूलो आयतनको हिमपहिरो आउँदा पनि हिमबाढी आउन सक्छ। सन् २००३ को मादी र सन् २०१२ को सेतीको प्रकोप यही कारणले आएको थियो। यसरी आउने हिमपहिरोमा माथि भनिएजस्तै उच्च हिमाली क्षेत्रमा जमेर बसेको मसिनो कण पर्याप्त हुने र भिरालोपन बढी हुने भएकाले सम्मिश्रण बहाबका रूपमा सजिलै तल्लो तटसम्म आउन सक्ने देखियो।
४. भिरालोमा रहेको हिमनदी वा जमेको जमिन द्रुत गतिमा पग्लिनुः
भिरालो जमिनमा रहेको हिमनदी द्रुत गतिमा पग्लिँदा पनि हिमबाढी आउन सक्ने देखिएको छ। सन् २०१९ मा पश्चिम नेपालको दोर्दी नदी तथा २०२१ जनवरीमा उत्तरी भारतको चमोली नदीमा यही कारणले बाढी आएको मेरो निर्क्यौल छ।
यसबाहेक वर्षायाममा पहाडी भिरालो भू–भागमा सानातिना खोल्सी पहिरोले थुनिएर बन्ने पोखरी विस्फोटन भएर आउने वा २५ डिग्रीभन्दा बढी भिरालोपन भएका स्थानका खोल्सीमा आउने भेलबाढी पनि सम्मिश्रण बहाब नै हो।
तात्कालिक सुरक्षाका उपायहरूः
नेपालका उच्च हिमाली क्षेत्र तथा तिब्बतबाट बग्ने नदीहरूमा विगतमा बरफले ढाकेको माथिल्लो जलाधार भएका क्षेत्रमा हिमबाढी आउने सम्भावना हुन्छ। यस्ता स्थानको नदी उपत्यकामा नदीभन्दा केही पर बसोबास गर्ने व्यवस्था मिलाउनु पर्छ। पुल, बाटोघाटो जस्ता संरचना बनाउँदा बाढीको लेदोसहितको आउने पानीको सतहभन्दा टाढा र बलियो बनाउनु पर्छ। स्थानीयलाई यस्तो बहाबबाट आउने ठूलो आवाजबाट सधैं सतर्क भएर माथिल्लो र चट्टानी क्षेत्रमा सुरक्षित जाने पूर्व तयारी गर्नु पर्छ।
माथिल्लो क्षेत्रमा बस्ने स्थानीय र तल्लो क्षेत्रमा बसोबास गर्नेबीच सम्पर्कले पनि क्षति कम गर्न धेरै सघाउ पुर्याउँछ। हिमबाढी आउने सम्भावना भएका बस्ती सुरक्षित पार्ने संरचना बनाउनेतर्फ कस्तो नीति लिने भन्ने सोच्न ढिलो भइसकेको छ। यो नयाँ खालको प्रकोपको विस्तृत अध्ययन, अनुसन्धान तथा बचावटका लागि सरकारी तहमा संस्थागत व्यवस्था हुनु अत्यावश्यक भइसकेको छ।
इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपिसिसी) का अनुसार हिमाली क्षेत्रको तापक्रम अझै बढ्ने पूर्वानुमानले हिमबाढीको खतरा अझै देखिन्छ।
नेपालका नदीहरूमा हिमताल विस्फोटनबाट आएका हिमबाढीहरूः
S. No. | Date | Name of the Lake | Major River basin | Sub River Basin |
---|
1 | 15 th century | Lake behind Machapuchhre (Seti Catchment) | Seti River | Seti River |
2 | Aug. 1935 | Taraco lake | Poiqu (Bhote- Sun Koshi)basin | Targyailing Gully Tibet |
3 | 1964 | Longda Glacier lake | Trishuli River Basin | Gyirongzangbo Tibet |
4 | 1964 | Zhangzangbo | Poiqu (Sun Koshi) basin | Zhangzangbo Gully Tibet |
5 | 21Sept.1964 | Gelhaipu Co | Pum Qu (Arun) Basin | Natang Qu, Gelhipu Qu Tibet |
6 | 1968-1970Three times | Ayaco or Ayico | Pum Qu (Arun) Basin | Zangboxan River Tibet |
7 | 3 Sept. 1977 | Nare | Dudh Koshi | Imja Khola |
8 | 25 July 1980 | Nagma Pokhari | Tamor Basin | Yangma Khola |
9 | 11 July 1981 | Zhangzangbo 2nd time | Poiqu (Sun Koshi) basin | Zhangzangbo Gully Tibet |
10 | 27 Aug. 1982 | Jinco | Pum Qu (Arun) | Yairu Zangbo Tibet |
11 | 4 Aug. 1985 | Dig-Tsho | Dudh Koshi | Langmoche Khola |
12 | 12 July 1991 | Chubung | Tama Koshi | Rolwaling Khola |
13 | 3 Sept. 1998 | Tam Pokhari | Dudh Koshi | Inkhu Khola |
14 | 15 August 2003 | (Kabache) Sonbu | Seti River | Madi Khola |
15 | 05 May 2012 | Collapse of Glaciated area in the upper Catchment of Seti River | Seti River | Seti River |
16 | 5 July 2016 | Unnamed lake (North of Zangzangbo ) | Poiqu (Sunkoshi) | Zhangzambo Gully Tibet |
Source: (Galay, 1985; LIGG, WECS, NEA, 1988; ; Vuichard, D. and Zimmermann, M., 1987 Damen, 1992, Dwivedi et. El, 1999, ; Yamada, T., 1998 Dwivedi, 2005, Dwivedi &Neupane 2012)