(नोटः यो लेख सेतोपाटीमा पहिलोपटक २०७७, भदौ ६ गते प्रकाशित थियो। राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औं पुण्यतिथिमा उनकी छोरी शान्ति शर्मा अधिकारीले यो लेख लेखेकी हुन्। हिजो, बुधबार राष्ट्रकविको निधन भएको एक वर्ष भयो। उनी १०१ वर्षका थिए।)
मेरो बुवा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्झिँदै यो लेख लेख्दैछु।
म अहिले अमेरिकामा छु। केही महिनाअघि म र मेरो श्रीमान सोमकान्त शर्मा छोराछोरी भेट्न अमेरिका आएका थियौं। हामी चाँडै फर्कनुपर्छ भन्ने चाँजो मिलाएर आएका भए पनि केही समस्याले सोचेभन्दा लामो समय यतै अलमलियौं।
नेपालमा आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइसँग कुराकानी भइरहेकै थियो। सबैले ‘आत्तिनुपर्दैन, बुवाको स्वास्थ्य ठिक छ’ भन्नुहुन्थ्यो। बुवासँग कुरा हुँदा पनि ‘मलाई ठिक छ, तिमीहरू काम सकेर आओ’ भनेर ढुक्क बनाउनुहुन्थ्यो।
यसैबीच संसारभरि कोरोना महामारी सुरू भयो र यसले विश्वव्यापी लकडाउनको रूप लियो। हामी चाहेर पनि नेपाल आउन सकेनौं। जहाजै नउडेपछि हामी थुनिएजस्ता भयौं। मनमा अतेस लाग्थ्यो। हामी बुवालाई फोन गर्थ्यौं। उहाँले थुम्थुम्याउँदै भन्नु हुन्थ्यो, ‘यो सरुवारोग हो, हेलचेक्र्याइँ नगर्नू, सबथोक ठिक नभएसम्म तिमीहरू आउनुपर्दैन।’
हामी यता थुनिएर बसेका बेला उता बुवाको स्वास्थ्य बिग्रन थाल्यो। हामी तारनतार उहाँको हालचाल सोधिरहन्थ्यौं। हाम्रो मनमस्तिष्क स्थिर थिएन। म हरपल उडेर जान चाहन्थेँ, तर जान पाइनँ।
आखिरमा भदौ २ गते एकाबिहानै (अमेरिकी समयअनुसार) बुवाको निधनको खबर आयो। मेरो मनस्थिति शून्यजस्तै भयो।
नियतिको लेखा पनि कस्तो, बुवाका हामी आठ सन्तानमध्ये सात जना उतै छन्, म एक्लै यता। हामी आठ जनामध्ये बुवासँग सबभन्दा बढी समय बिताउने मै हुँला सायद, तर मैले आफ्नो ऋषितुल्य बुवाको अन्तिम दर्शन गर्न पाइनँ।
कुनै पनि सन्तानका लागि आफ्नो बुवाको अन्तिम विदाइमा सरिक हुन नपाउनुजत्तिको पीडा अरू के होला!
मसँग अब जीवनको यो शाश्वत सत्य स्विकार्नुको विकल्प छैन। जन्मेपछि मृत्यु वरण गर्नैपर्छ, यही सृष्टिको नियम हो। जसरी आमा गौरीको निधनपछि बुवाले यतिका वर्ष जीवन चलाउनुभयो, आमाबिना हामीलाई सम्हाल्नुभयो, आफूलाई सम्हाल्नुभयो, हामीले पनि उहाँको त्यही हौसलाबाट प्रेरणा लिएर आफूलाई सम्हाल्नुपर्छ।
हामी उहाँका सन्तानहरू एक मानेमा भाग्यमानी हौं, किनकि यतिका लामो समय हाम्रो शिरमा पिताको हात रह्यो। हामीले यतिका वर्ष बुवा भन्न पाइरह्यौं। त्यसमाथि उहाँ त राष्ट्रकै गौरवमय इतिहास भएर जानुभयो। नेपाली जनमानसमा भिजेर जानुभयो। मान, सम्मान र आयु सबैमा सर्वश्रेष्ठ भएर जानुभयो।
म आज बुवालाई उहाँकै कविताबाट श्रद्धाञ्जली दिन चाहन्छुः
मीठो बाफ उठिरहेछ फूलमा रेखा परी हरहरी
जोरी अञ्जुली अर्चना-समयमा नाचेसरी अप्सरी
माटोको फूल हुँ मभित्र पनि ता त्यै मृत्तिका गन्ध छ
आफैं अर्पिनुमा स्वयं सकिनुमा उन्मुक्त आनन्द छ!
...
विक्रम सम्बत् २०१६ सालमा बुवाले एउटा गीत लेख्नुभएको थियो– त्यसरी होस् मरण, त्यसरी होस् मरण ...
यो गीत ‘किन्नर किन्नरी’ भन्ने गीति संग्रहमा प्रकाशित थियो। त्यसमा यसको शीर्षक ‘आफैंलाई गरूँ वरण’ भन्ने छ।
करिब दुई वर्षअघिको कुरा हो। एकदिन बुवाले मलाई भन्नुभयो, ‘यो गीत संगीतबद्ध गरेर मेरो मृत्युपछि बजाउनू। त्योभन्दा अगाडि मलाई सुनाउनु पर्दैन। मेरो मृत्यु नभएसम्म गीत सार्वजनिक पनि नगर्नू।’
बुवाले यसलाई आफ्नो अन्तिम गीतका रूपमा रोज्नुको कारण के होला भन्ने सबैलाई जिज्ञासा हुन सक्छ। बुवा आफ्नो मृत्युलाई उत्सवका रूपमा मनाइयोस् भन्ने चाहनुहुन्थ्यो।
मेरो विचारमा कवि आफ्नो कवितामार्फत् भूत, वर्तमान र भविष्य जहाँ पनि विचरण गर्न सक्छ। उहाँको यो गीतले जीवनको शाश्वत सत्य वर्णन गर्छ। मान्छेले जीवन पाएपछि बाँच्नु जति जरूरी छ, मृत्यु वरण गर्नु त्यति नै जरूरी छ। मृत्यु जीवनको सत्य हो, तर समाप्ति होइन। बरू यो जीवनबाट अर्को जीवनको निरन्तरता हो। पूर्वीय दर्शनको यही मान्यतामा आधारित रहेर बुवाले यो गीत रच्नुभएको थियो भन्ने मलाई लाग्छ।
बुवाले धेरै अगाडिदेखि यसको संगीत पनि परिकल्पना गर्नुभएको थियो। यो यस्तो गतिमा गाइयोस्, यसको ताल, लय र भाव यस्तो हुनुपर्छ भन्ने प्रस्ट चित्र उहाँले कोर्नुभएको थियो। उहाँ त्यसबारे बारम्बार मसँग चर्चा गर्नुहुन्थ्यो। मैले त्यही आधारमा यो गीत कसरी संगीतबद्ध गर्ने भनेर एउटा स्वरूप तयार पारेकाे थिएँ।
मैले बुवाकै प्रेरणाबाट संगीत र गायनको तालिम लिएकाे छु। तर, बुवाको यो अन्तिम गीतमा आफैं संगीत संयोजन गर्ने आँट मलाई आएन। त्यस्तो मृत्युञ्जयी बुवाको अन्तिम इच्छासँग जोडिएको गीतलाई न्याय गर्न सकुँला कि नसकुँला भन्ने दोधारले मैले यसमा प्रत्यक्ष हात नहाल्ने निधो गरेँ।
म के गर्ने, कसो गर्ने भनेर अलमलिएको थिएँ, उता बुवा घरिघरि सोधिरहनुहुन्थ्यो।
म भन्थेँ, ‘बुवा तयारी भइरहेको छ, कम्पोज हुँदैछ।’
सबैलाई थाहा भएको कुरा हो, बुवा सय वर्ष पुग्नुभन्दा पाँच–छ महिनाअघि सिकिस्त बिरामी पर्नुभएको थियो। म त्यति बेला पनि अमेरिकामै थिएँ। खबर पाउनेबित्तिकै तारन्तै नेपाल फर्केँ।
त्यो बेला हामी परिवारका सदस्य मात्र होइन, राज्य नै उहाँको उपचारमा जुटेको थियो। सरकारका तर्फबाट ठूलो सहयोग प्राप्त भएको थियो। मलाई भने बुवाको अन्तिम इच्छा पूरा गर्न सक्दिनँ कि भन्ने डर लाग्यो। त्यति बेलासम्म गीत तयार भइसकेको थिएन। बुवालाई केही भइहाल्यो भने त उहाँको अन्तिम इच्छा अधुरै रहने हो कि भनेर म चिन्तित भएँ।
जुन बुवाको प्रेरणाबाट मैले संगीत सिकेँ, त्यही बुवाको अन्तिम धोको पूरा गर्न नसकेपछि मैले संगीत सिकेको के सार! यही चिन्ताले मलाई गाँज्न थाल्यो।
मैले यो कुरा सञ्चार क्षेत्रमै संलग्न मेरो देवरको छोरा अशेष (अशेषकान्त शर्मा) लाई सुनाएँ। उनले सबै परिस्थिति बुझे। उनले गीत कम्पोज गर्ने सबै व्यवस्था मिलाउँछु भनेर मलाई ढुक्क बनाए।
मैले उनलाई बुवाको परिकल्पना सुनाएँ। यो गीत यस्तो भावमा गाउनुपर्छ, यसको ताल, लय र गति यस्तो हुनुपर्छ भनेर बताएँ।
उनी आफ्नो तर्फबाट गीत कम्पोजमा लागेँ। यसमा आशिष अविरलले संगीत संयोजन गर्नुभयो, कर्ण दासले गाउनुभयो।
मैले अशेषलाई भनेँ, ‘यो गीत त अत्यन्तै गोप्य राख्नुपर्छ नि बाबु। बुवाले आफूलाई पनि नसुनाउनू भन्नुभएको छ।’
अशेषले गीतको गोपनीयता भंग नहुने र बुवाको अन्तिम इच्छाअनुसारै सार्वजनिक हुने विश्वास दिलाए। उनकै पहलमा हामीले ‘सेतोपाटी’ अनलाइनसँग कुरा गर्यौं। यो गीतको गोपनीयता सुरक्षित राख्ने र बुवाको मृत्युपछि मात्र सार्वजनिक गर्ने गरी हामीले यसको जिम्मा सेतोपाटीलाई सुम्प्यौं। पहिलो २४ घन्टा सेतोपाटीले मात्र प्रसारण गर्न पाउने अधिकार पनि दियौं।
हामीले सबै चाँजो मिलाइसकेका थियौं, सौभाग्यले बुवाको स्वास्थ्य सुधार हुँदै गयो। हामी सबै ढुक्क भयौं। त्यति बेला यो गीत सार्वजनिक गर्नुपर्ने अवस्था आएन।
यसपालि भने कोरोना महामारीले म यता अमेरिकामै अड्किएका बेला बुवाले मृत्युसँगको लडाइँ हार्नुभयो। बुवाको अन्तिम इच्छाअनुसार हामीले पहिले नै तयार पारेर राखेको गीत सार्वजनिक गर्ने व्यवस्था अशेषले मिलाए।
अहिले बुवाको अन्तिम गीत सार्वजनिक भइसकेको छ। उहाँ जहाँ भए पनि आफ्नो परिकल्पनाअनुसार संयोजन गरिएको गीत सुनेर सन्तुष्ट हुनुभयो होला। आफ्नो अन्तिम धोको पूरा भएको सुनेर बुवाको आत्मालाई शान्ति मिल्यो होला।
यसका लागि म यो गीत बनाउन योगदान गर्ने संगीतकार आशिष अविरल, गायक कर्ण दास, मन्दिरा ढुंगेल, अशेष, सेतोपाटी मिडिया र यो गीतमा संलग्न सम्पूर्ण टोलीप्रति धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छु।
यो पनि हेर्नुहोस्: राष्ट्रकविले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत– त्यसरी होस् मरण, त्यसरी होस् मरण ... (भिडिओ)
...
मैले आफ्नो जीवनको ७० वर्षमा धेरैजसो समय कुनै न कुनै रूपले बुवाको साहित्यिक यात्रासँग आबद्ध रहने सौभाग्य पाएँ।
मेरी बहिनी कान्ति छ महिनाको हुँदा दैवले हाम्री आमा गौरीलाई चुँडेर लग्यो। आमाको निधनपछि कान्ति मामाघर बसेर हजुरआमाको काखमा हुर्किइन्। म भने कहिले मामाघर बस्थेँ, कहिले बुवासँगै बस्थेँ।
मैले थाहा पाएदेखि नै बुवाले मलाई जिउँदो खेलौनाजस्तो नचाउँदै, खेलाउँदै हुर्काउनुभयो। उहाँ ‘बाख्राको पाठो दिन्छौ कि तीन आनामा किन्छौ कि’ भन्दै मलाई खेलाउनुहुन्थ्यो। त्यो सम्झँदा मेरो भक्कानो फुटेर आउँछ।
उहाँले थुप्रै बालगीत रच्नुभएको छ। तीमध्ये ‘घामपानी’ मा संकलित ढिकी र जाँतोको सवाइ, कमिला रानीजस्ता बालगीत मैलाई काखमा लिएर गुनगुनाउनुभएको सम्झना छ।
बुवालाई संगीतको ज्ञान थियो। उहाँ जे लेख्दा पनि गुनगुनाउने गर्नुहुन्थ्यो। मलाई अहिले पनि याद आउँछ, त्यो बेला गाउँमा हुने साहित्यिक र सांगीतिक जमघटहरूमा बुवा आफ्ना कविता मीठो भाकामा सुनाउनुहुन्थ्यो। उहाँका सहयात्रीहरू पनि कोही हारमोनियम बजाएर गाउँथे, कोही तबला बजाउँथे।
उहाँ त्यो बेलाको माहोल सधैं सम्झिरहनुहुन्थ्यो। जीवनको उत्तरार्द्धमा गाउँमा गएर उताकै हावापानीमा बस्ने उहाँको धोको थियो। त्यो चाहिँ पूरा हुन सकेन।
काठमाडौं आएपछि बुवाको साहित्यिक जमघट अझ विस्तार हुँदै गयो। मेरो सौभाग्य के भने, त्यस्ता साहित्यिक जमघटहरूमा मैले पनि भाग लिने मौका पाएँ। बुवा जता जाँदा पनि मलाई सँगै लिएर जानुहुन्थ्यो। यसरी म साहित्य र संगीतमा विस्तारै विस्तारै भिज्दै गएँ।
मलाई संगीत मन पर्न थाल्यो, साहित्य पनि मन पर्थ्यो। बुवाको लक्ष्य भने मलाई संगीततिर लगाउनु रहेछ। त्यसैले एसएलसी सकिनेबित्तिकै मेरो हातमा सितार थमाएर मलाई संगीत सिकाउनुभयो।
उहाँले मलाई संगीतमा लगाउनुको कारण म बुझ्छु। संगीत र साहित्य एकअर्काका परिपूरक हुन्। बुवालाई संगीत साह्रै मन पर्ने, तर साहित्य छाडेर त्यतापट्टि लाग्न नसक्ने। त्यही भएर उहाँले आफ्नो अधुरो पाटो ममा पूरा भएको देख्न चाहनुभयो। त्यही भएर मलाई संगीततिर लगाइदिनुभयो।
सितारमा मैले पहिलो शिक्षा लक्ष्मीनारायण डंगोल गुरुजीसँग पाएको थिएँ। उहाँ अहिले हामीबीच हुनुहुन्न। म उहाँलाई पनि नमन गर्न चाहन्छु।
त्यसपछि जीवनले अर्को मोड लियो। २०१७ सालमा मेरो विवाह भयो। कतिपय परिस्थितिमा विवाह भएपछि छोरी मान्छेले आफ्नो इच्छा र आकांक्षा त्याग्नुपर्छ। यस मानेमा म भाग्यमानी भएँ। मैले आफ्नो इच्छा र आकांक्षा छाड्नुपरेन। मैले विवाहपछि पनि आफ्नो साहित्य र संगीतको अनुराग कायमै राख्न पाएँ।
यसरी घरको परिस्थितिले पनि मलाई बुवासँग आबद्ध रहन सहयोग पुर्यायो।
पछि मलाई गायनमा लाग्ने इच्छा भयो। मैले रंगराम कादम्बरीसँग गायन सिक्ने अवसर पाएँ। क्लासिकल गायन पनि सिकेँ। साहित्यतर्फ भने बुवाको रचनासँग जोडिएकै थिएँ।
जब म विदेशतिर छरलिएँ, संगीतमा मेरो निरन्तरता टुट्यो।
विदेशमा पनि संगीत नटुटोस् भनेर मैले बुवाकै रचनाका किताब लिएर आएको थिएँ। छन्दका कविता त्यसै पनि लयपूर्ण हुन्छन्। मैले त्यसमा संगीत भर्न र गाउन थालेँ। त्यो म बुवालाई पठाइदिन्थेँ। उहाँ आफ्नो प्रतिक्रिया दिनुहुन्थ्यो। मलाई हौस्याउनु हुन्थ्यो।
बुवाले केही वर्षदेखि महाकाव्य लेख्न थाल्नुभएको थियो। उहाँले मलाई बोलाएर महाकाव्यको पहिलो सर्गमा संगीत हाल भनेर दिनुभयो। त्यसलाई मैले सम्पन्न पनि गरेँ।
आफ्नो गायनलाई निरन्तरता दिन नसकेपछि म धेरै समय संगीत रचनामै बिताउँथेँ। बुवाको महाकाव्यलाई संगीतमा ढाल्ने प्रयत्न गर्दै थिएँ।
बुवाको त्यो अन्तिम गीतमा पनि संगीत भर्ने इच्छा थियो, तर हिम्मत गर्न सकिनँ। बुवाको अन्तिम इच्छा पूरा गर्ने जिम्मेवारीको भार मेरो हिम्मतका अगाडि निकै ठूलो भइदियो।
अब मेरो संगीतको निरन्तरता बुवाकै महाकाव्यलाई संगीतबद्ध गर्नुमा रहनेछ। यो महाकाव्यमा मैले जुन काम गरेको थिएँ, त्यसलाई उहाँ रहँदै पूरा गर्न नपाएकोमा मलाई थकथकी छ। उहाँसँगै बसेर सक्न पाएको भए मैले बुवाबाट अझै केही निर्देशन पाउँथेँ कि भन्ने लाग्छ।
मैले बुवासँग ७० वर्ष समय बिताउने अवसर पाएँ। यति लामो समय साथ हुँदा पनि बुवाबाट सिक्ने मेरो प्यास मेटिएन।
अझ उहाँको जीवनको अन्तिम घडीमा आफू सँगै हुन नपाउनुले मलाई पीडा दिइरहन्छ। बुवालाई अन्तिम समयमा मलाई केही भन्नु थियो कि! केही कुरा सुनाउनु थियो कि! त्यो अवसर गुमाएको चोट मलाई सधैं रहिरहनेछ।
उहाँको महाकाव्यको पहिलो सर्ग अध्ययन गर्दा, त्यसमा संगीत हाल्दा र उहाँको अभिप्राय बुझ्दा मैले उहाँभित्रको महर्षिपन बुझ्ने अवसर पाएँ। त्यसमा संगीत हाल्दा म उहाँसँग एकदमै निकट भएँ। हामी बाबु–छोरी होइन, साहित्य र संगीत भएर खडा भयौं। बुवाले जति अर्थ लगाउनुहुन्थ्यो, म त्यसमा त्यत्तिकै डुब्दै जान्थेँ।
यसले हामी बाबुछोरीबीच साहित्य र संगीतको नाता जोडिदियो। बुवा साहित्य, म संगीत। अनन्तसम्म हाम्रो नाता यही रहनेछ भन्ने मलाई लाग्छ।
महाकाव्यको पहिलो सर्गमा काम सकेपछि ‘गौरी’ काव्यमा संगीत भर्ने मेरो मन छ। यो यस्तो काव्य हो, जसको म पनि एउटी जीवित पात्र हुँ।
पत्नीलाई दैवले चुँडेर लगेपछि शोकाकूल पति र दुइटा बच्चाको जिम्मेवारी बोकेका पिताको आँशुले लेखिएको काव्य हो यो। यो काव्य पढ्दा मलाई बुवाको लामो जीवनमा आमाको अभाव सधैं रहिरह्यो होला भन्ने लाग्छ। उहाँको पहिलो प्रेम मेरी आमा हुनुहुन्थ्यो, पानीमा मिश्री घोलिएझैं उहाँको अन्तरमनमा प्रेरणाको स्रोत बनेर बस्नुभयो।
आमा गएपछि बुवाको संसारमा वर्तमान आमा आउनुभयो। उहाँका आठ सन्तान भए। थुप्रै काव्य रचना गर्नुभयो।
बुवाले आफ्नो जिन्दगीको ६० वर्ष लैनचौर घरको माथिल्लो तल्लामा पश्चिम फर्किएको कोठामा बसेर साहित्य साधना गर्नुभयो। त्यो कोठाभित्र एउटा अलौकिक संसारमा बुवा र आमाको भेट हुन्थ्यो कि भन्ने मलाई लाग्छ।
आज ७३ वर्षको पर्खाइपछि हामी सबैलाई वर्तमान आमाको जिम्मा छाडेर उहाँ आमा गौरीसँग अनन्तयात्रामा जानुभयो। म यहाँ 'गौरी' काव्यका केही पंक्ति सम्झन चाहन्छुः
तिम्रा गीत म फाँट शैल वनका एक्लासमा गाउँला
आफ्ना मानिसका गएर घरमा तिम्रा कथा गाउँला
हुर्काइकन शान्ति कान्ति भुइँमा छाडी त्यहाँ आउँला
देवी! अन्तिम साँझमा गहभरी आँसू लिई आउँला
‘गौरी’ काव्यमा जुन घटना दर्शाइएको छ, त्यो बुवालाई मात्र परेको होइन, नेपालीलाई मात्र पर्ने पनि होइन, यो त समस्त मानव जातिलाई पर्ने घटना हो। यस्तो विश्वव्यापी मानवीय संवेदनामाथि लेखिएको काव्यलाई विश्व साहित्यमा पुर्याउने मेरो धोको छ।
बुवालाई अंग्रेजी विद्या पढ्न नसकेकोमा थकथकी थियो। अंग्रेजी जानेको भए आफूभित्रको भावना विश्व जगतमा पुर्याउन सकिन्थ्यो भन्ने उहाँलाई लाग्थ्यो।
नेपाल र नेपालीले उहाँलाई माया गर्ने हो भने उहाँको साहित्य अनुवाद गरेर विश्वसमक्ष लैजाने काम गर्नुपर्छ। म पनि जीवनपर्यन्त संगीतको माध्यमबाट बुवाको साहित्यलाई जीवन्त राख्न सहयोग गर्नेछु।
बुवाले हामी आठै जना सन्तानलाई एउटा–एउटा कलामा निपूर्ण बनाउनुभयो। हामीले आ–आफ्नो तर्फबाट बुवाको रचनालाई जीवन्त राख्नुपर्छ।
हामी आठमध्ये सबभन्दा जेठी मै भएकीले सबै भाइबहिनीलाई एउटै फूलको मालाजस्तो उनेर राख्ने जिम्मेवारी मेरो हो, जसरी बुवाले हामी आठै जना सन्तानलाई एउटै मालामा उनेर राख्नुभयो।