हामी टाढा छौं।
बिल्कुल टाढा।
जन्मेको ठाउँबाट टाढा।
हुर्केको ठाउँबाट।
बढेको ठाउँबाट टाढा।
पढेको ठाउँबाट टाढा।
माटोबाट टाढा।
बाटोबाट टाढा।
टाढा हुनुका थुप्रै गुण र दुर्गुण हुन्छन्। एउटा कुरा पक्का हो, अमूर्त चित्रहरू टाढाबाट राम्रा र प्रस्ट देखिन्छन्। ठिक उल्टो, मूर्त चित्रहरू भने टाढाबाट धुमिल देखिन्छन्।
बडो विचित्र छ, प्रस्ट देख्न पनि कहिले नजिक हुनुपर्छ, कहिले टाढा। ठाउँ परिवर्तन गरिरहनुपर्ने।
अन्तत: देख्न त प्रस्टै खोज्दो रहेछ– मन। देख्न त प्रस्टै खोज्दो रहेछ– दृष्टि। चाहे त्यो अमूर्त आकृति होस् वा चाहे त्यो मूर्त आकृति होस्। चाहे त्यो सुखको आकृति होस् वा दु:खको आकृति होस्। चाहे त्यो खुसीको आकृति होस् वा पीडाको आकृति होस्।
जसो गर्दा पनि, जब दृश्यहरू प्रस्ट देखिँदैनन्, जब दृश्य धुमिल हुन्छन्, अनि एक खालको छटपटी पैदा हुन्छ मन र दिमागमा।
हामी अमेरिकामा छौं। कतिपय धेरै कुरा छन् नेपालतिरका जो यहाँबाट प्रस्ट देखिन्छन्। बिग्रेका, भत्केका, राजनीतिका, समाजका, नियम र त्यसका कार्यान्वयनका, अराजकताका। त्यसैले कहिलेकाहीँ भन्न मन लाग्छ– यो चाहिँ ठिक देखिएको छैन। भन्दा पनि मन अलि हलुंगो हुन्छ।
तर एउटा यस्तो चिज रहेछ मृत्यु जुन भन्दा मन हलुंगो होइन, भारी हुन्छ।
मृत्यु जो नेपालमा हुन्छ र हामी सुन्छौं मात्र, जो टाढाबाट देखिँदैन, सुनिन्छ मात्र, त्यसले धेरैपटक मलाई बिथोलेको छ।
हरेक दिन बिहान जब म फेसबुक खोल्छु, त्यसबाट तर्सिने एउटा मात्र कुरा हो मृत्युको खबर।
यो कोरोना कहरमा त झन् यस्ता खबर कति कति!
नेपालबाट कसै न कसैले, कुनै न कुनै दिन, कसै न कसैको मृत्युको खबर पोस्ट गरेको हुन्छ। अझ तस्बिरसहित।
बितेका यी दुई सातामा मेरै पाँच जना आफन्तजनको मृत्युको खबर फेसबुकले लिएर आयो। चिनेजानेकाको मृत्युको कुरा गर्ने हो भने दस जनाभन्दा बढी।
घटस्थापनाको तीन दिनअघि मेरा एक जना हजुरबुवाको मृत्यु भयो। दसैंको टीकाको तेस्रो दिन ठूली आमाको मृत्यु भयो। ठूली आमाको मृत्युको खबर सुनेको तीन दिनपछि एक दिनको फरकमा साढुभाइका बा-आमाकै मृत्युको खबर सुन्नुपर्यो।
साढुभाइका बा-आमाको मृत्युले एकखालको वैराग्य पैदा गराइरहेकै बेला फेरि नेपालबाट खबर आयो– सानो बुवा शारदाप्रसाद पण्डित रहनुभएन। सर्वोच्च अदालतका पूर्वन्यायाधीश सानोबुवा पण्डितसँगका सम्झना र सन्दर्भहरूले मलाई अझै बिथोलिरहेका छन्।
यसअघि मैलै आफ्नै वरिपरि यतिसाह्रो मृत्युको शृंखला देखे वा सुनेको थिइनँ। यस्तो लागिरहेछ– मृत्यु हाम्रै वरिपरि घुमिरहेको छ। कहिले आफ्नो परिवारकै, कहिले साथीको, कहिले छिमेकको, कहिले समाजको, कहिले देशको, कसै न कसैको मृत्युको खबरले म यति बेला अलि बिथोलिएको छु।
यसै पनि, मृत्युको खबरले जहिले पनि, जसलाई पनि, जहाँ पनि झस्काउँछ।
हामीजस्तो टाढा बस्नेलाई यसले बढी झस्काउँदो रहेछ। अलि फरक ढंगले झस्काउँदो रहेछ।
यो झस्काइको म ठ्याक्कै वर्णन गर्न सक्छु कि सक्दिनँ, थाहा छैन। तर नेपालमा हुँदा, त्यता कतै नजिकै देखेको, सुनेको मृत्युभन्दा यता टाढाबाट सुनेको मृत्युको खबरको अनुभूति अलि बेग्लै खालको हुँदो रहेछ। नेपालमा जसलाई जस्तो अवस्थामा छाडेर आएका थियौं, ती आज पनि त्यस्तै अवस्थामा होलान् वा हामी नफर्कुन्जेल रहिरहून् भन्ने लागेर हो कि, किन हो थाहा छैन। त्यसो त हामी आफू फर्किने नै के टुंगो छ र?
बाँच्ने वा मर्ने त न यताकाको टुंगो छ न उताकाको टुंगो।
यो दोसाँधको जिन्दगी!
हामी यताकालाई समय बितेको पत्तै नहुने हो वा खोइ के हो, थाहा छैन। वा, हामीलाई लाग्ने हो– उताको समय टक्क कहीँ रोकिएको छ। र, हाम्रा हजुरबुवा, हजुरआमा, आमाबा, ठूलाबा–ठूलीआमा, सानाबा–सानीआमा, फुपू दिदी, अन्य नातागोता, छरछिमेक, साथीभाइ, नेता, प्रोफेसर, अर्थात् चिनेजानेका र मानेका, देखेभोगेका सबै आज पनि उस्तै छन्, जस्तो मैले देखेँ वा भोगेर आएको थिएँ।
साँच्चै भनुँ, तीमध्ये कतिपयसँग अंगालिने, माया गर्ने, भेट्ने, गफिने, हाँस्ने, रूने, झगडा गर्ने, ठुस्सिने, गुनासो गर्ने रहर पुगेकै थिएन। पुगेकै छैन।
आधा पूरा र आधा बाँकी रहरहरू छाडेर हिँडेका छौं हामी।
हुन त हाम्रो जिन्दगी नै पूरा छैन, रहरहरू कसरी पूरा होऊन्। रहर त पृथ्वीजस्तै हो जो मनको सूर्यको चक्कर लगाइरहन्छ। जति शितल भए पनि बटुवा कहाँ चौतारीमै बसिरहन्छ र?
जति शितल भए पनि चौतारी घर होइन। तै पनि तलतल चाहिँ शितलताकै लागिरहने। कहिल्यै नमेटिने तलतल।
एकछिन चौतारीमा बस्यो, उठ्यो हिँड्यो, फेरि शितल खोज्यो। हिँडन त हिँडिएकै छ।
यो हिँडाइमा कति चौताराहरू, त्यसका शितलताहरू पछि पर्छन् पर्छन्।
मेरो जन्मगाउँ देउरालीका कतिपय हजुरआमा, हजुरबुवा, सानाबुवा वा ठूलाबुवालाई मैलै गुमाएँ अमेरिका आएयता। कति साथीहरूलाइ गुमाएँ अमेरिका आएयता। कति मैले मानेका नेताहरूलाई गुमाएँ अमेरिका आएयता। कति मेरा प्रिय प्रोफेसरहरूलाई गुमाएँ अमेरिका आएयता।
मलाई किन किन लागेको थियो, मैले मनपराएका र केही महत्वपूर्ण समय बिताएका वा अझ यसो भनौं, म हुरूक्क भएका प्रोफेसर डा. दुर्गाप्रसाद भण्डारीको कहिल्यै मृत्यु नहोस्।
साँँच्चै भनुँ– मेरो एउटा सपना थियो– कुनै दिन म एउटा किताब लेख्ने छु। र, डा. भण्डारीले त्यसमा भूमिका लेखिदिनु हुनेछ।
समयमा न मैले किताब तयार पार्न सकेँ न उहाँ सय वर्ष बाँच्नुभयो।
हिन्दीमा एउटा गीत छ–
आधा हे चन्द्रमा रात आधी,
रहन जाहे तेरी मेरी बात आधी
ठिक यस्तै भयो।
मेरो लागि चन्द्रमा पनि आधी नै रह्यो। बात पनि आधी नै रह्यो।
डा. भण्डारीसँगको मात्र कुरा होइन, अरू पनि थुप्रै छन् जोसँगको बात आधाको आधै रहन्छ।
एउटा मान्छेले आफ्नो जीवनकालमा आफूले चिनेजानेका वा देखेभोगेका वा जानेमानेका कति मान्छेहरूको मृत्यु देख्दो हो वा सुन्दो हो, म भन्न सक्दिनँ। हिसाब गर्न मन लागेको छ मलाई। कोही कसैले हिसाब गरेको छ भने कृपया मलाई भनिदिनु होला– एउटा मान्छेले आफ्नो जीवनकालमा अनुमानित कति जना आफ्ना नजिकका, चिनेजानेका र जानेमानेकाको मृत्यु अनुभव गर्छ?
सम्झिनुस् है, गन्नुस् है।
तर ख्याल गर्नुस्, यो संख्याको मात्र कुरा होइन, यो भावनाको पनि कुरा हो।
कति मृत्युले तपाईं-हामीलाई बिथोलेका वा चोट पुर्याएका छन्?
अघि भनेजस्तो, म यति चाहिँ भन्न सक्छु– नजिक वा त्यतै कतै बसेर मृत्यु देख्नु वा सुन्नु र टाढाबाट मृत्यु सुन्नुमा फरक पर्दो रहेछ। झसंगजस्तो भइँदो रहेछ।
फरक खालको झसंग।
मैले धेरैपटक अलि फरक खालको झस्काइ अनुभूत गरेको छु, नेपालबाट आएका आफूले चिनेजानेकाको मृत्युको खबर सुनेर।
चिनेजानेकाको मृत्युको खबरले त यति झस्काउँछ भने आफ्नै परिवारभित्रको मृत्युले कति झस्काउँदो हो? म कल्पनासम्म गर्न सक्दिनँ।
मेरा कतिपय साथीहरू छन् जो आफू अमेरिकामा छन् र नेपालमा एक्कासि आफ्नी आमा वा बुवा गुमाएको खबर सुने। साथीभाइको मात्र के कुरा, मेरै साढुभाइ गोपाल शाह जो पन्ध्र वर्ष भयो अमेरिका आएको, उनले नेपाल जाने टिकट लिनुअघि नै आमाबुवा गुमाए।
कल्पना गर्नुस् त, देखेको होइन, सुनेको आमा-बुवा गुमाएको खबर!
कसरी तिनले टाढाबाट सहन सके होलान्? म कल्पना गर्न सक्दिनँ।
नजिक हुँदा बरू घाटमा लगेर नजलाइन्जेसम्म सँगै छु नि भनेजस्तो लाग्दो रहेछ। हरक्षणको साक्षी भएजस्तो।
टाढा हुँदा त ओ हो भुमरीमा फसेजस्तो।
के गर्ने, कसो गर्ने पत्तै हुँदैन।
कसैले नेपालबाट मिलाएर खबर सुनाउँछ सांकेतिक रूपमा – आमा वा बाको अवस्था यस्तो छ भनेर। अब कल्पना गर्नुस्, तपाईं-हामी छोराछोरीहरू अमेरिकाबाट नेपाल जानुपर्नेछ। कहाँ सजिलो छ र? व्यवहारका जटिलता त छँदै छन्, त्योभन्दा पनि भावनाका जटिलता त कति कति!
भावनाको यो जटिलतामा हामी टाढावासीहरू कति बिथोलिन्छौं कति, भनी साध्यै छैन। भन्नलाई पो सजिलो हो त, भोग्ने र अनुभूत गर्ने कुरा त बेग्लै छ नि।
म अमेरिका आएयता, मेरा कति हजुरआमाहरू, मेरा कति हजुरबुवाहरू, मेरा कति सानाबाहरू, मेरा कति साथीहरूको मृत्युको खबर म टाढाबाट सुनिरहेको छु। सिर्फ सुनिरहेको छु।
मेरा गाउँका कतिपय हजुरआमाहरूलाई भनेर हिँडेको थिएँ – हजुरआमा अब आउँदा म तपाईंलाइ यो वा त्यो लिएर आऊँला। हजुरआमा फुरूंग हुनुभएको थियो।
म यता सोचिरहेको थिएँ, ती हजुरआमाहरूलाई फेरि फुरूंग बनाऊँला। तर दुर्भाग्य, त्योभन्दा अघि नै हजुरआमाहरू गए।
म फेसबुक वालमा हेरेको हेर्यै भएँ।
कति हजुरआमाहरूले दसैंको टीका लगाउने बेला भनेका थिए– आघुम् देख्न पाइन्छ पाइँदैन। ठ्याक्कै त्यस्तै भयो!
न उनीहरूले देख्न पाए न मैले देख्न पाएँ।
म रहर साँचेको साँच्यै भएँ, उनीहरू रहर पालेको पाल्यै भए।
जब म नेपाल जान्छु र हजुरबुवा–हजुरआमाहरूको अगाडि वा भनौं बुढाबुढीहरूको अगाडि पर्छु र जब उनीहरूले अब फेरि देख्न पाइएला वा नपाइएला भन्छन्, म सहनै सक्दिनँ। आँखा रसाएर आउँछन्।
हो त, त्यही देखाइ वा भेटाइ अन्तिम पनि हुन सक्छ।
त्यसैले आजकल हजुरबुवा–हजुरआमाहरूका अगाडि पर्दा मेरा आँखा पहिल्यै रसाउँछन्। अझ भनौं, उनीहरूको अगाडि पर्न नै मलाई डर लाग्छ।
जब म उनीहरूबाट टाढा हुनेछु, कुनै दिन यस्तो आउनेछ, म सिर्फ उनीहरूको मृत्युको खबर फेसबुक वालमा देख्नेछु।
नजिक हुँदा, भेटै नभए पनि अस्ति देखेकै वा भेटेकै त हो नि, परे यहीँ कतै त छु नि भनेजस्तो लाग्दो रहेछ। टाढा भएपछि केही अत्तोपत्तो नहुने, अरू कुरै थाहा नहुने, मृत्युबाहेक।
कुरा अमेरिका हुँदाको मात्र होइन, गाउँ छाडेर सहर आउँदाको पनि उही हो।
नेपालका कुनै पहाडी अन्तरकुन्तरबाट जब हामी काठमाडौं छिर्छौं, गाउँ नगएको धेरै समय हुन्छ। फर्किँदा एउटा चोलो, पटुका, मिश्री र गुँदपाक ल्याइदिऊँला भनेर छाडेर हिँडेका हजुरबुवा-हजुरआमाहरू हुँदैनन्।
मेरो गाउँमा असाध्यै रमाइला जौशी हजुरबा हुनुहुन्थ्यो। कुरा गर्न साह्रै रसिक। भारतीय सैनिकका रिटायर्ड पण्डित। मास्टर मित्रसेन र रत्नदासका गीतहरू रमाइलो मानी मानी सुनाउने। काठमाडौंबाट गाउँ जाँदा अक्सर म उहाँलाई भेट्न जान्थेँ। हामी केटाकेटीदेखि बुढाबुढीसम्मलाई असाध्यै माया गर्नुहुन्थ्यो। मिठाइ दिनुहुन्थ्यो।
अलिक केटाकेटी हुँदासम्म त रमाइलो मान्नुबाहेक अरू के हुनु र? पछि लेखनतिर लागेपछि भने सोचेको थिएँ– जौशी हजुरबासँग बसेर अनेक गफ सुनौंला। बुझूँला जिन्दगीका रङका धर्साहरू। र, लेखूँला कुनै दिन। उ बेला कहाँ उति बेलै रेकर्ड र प्रसारण गर्न मिल्ने फेसबुक र युट्युबहरू थिए र?
सुनेर कापीमा नोट गर्ने सोच्दासोच्दै एकदिन खबर आयो जौशी हजुरबा बित्नुभयो।
हत्तेरी!
मेरा आफ्नै हजुरबा पनि म काठमाडौं हुँदा बित्नुभएको हो। काठमाडौंबाट घर फर्किँदा उहाँलाई घाटमा लगिसकिएको थियो।
हजुरबा बितेपछि मलाई लाग्यो– एउटा जान्नैपर्ने इतिहासको पाना नपढिँदै च्यातियो।
सँगै भएको भए वा नटाढिएको भए सायद अन्तिम दिनहरूसम्म पनि म पिँढीमा बसेर हजुरबाका कुरा सुनिरहेको हुने थिएँ। उहाँले लिएका अन्तिम सासको हिसाबकिताब राखिरहेको हुने थिएँ। मेरो झस्काइ क्रमश: कम हुँदै जाने थियो। मलाई सायद जीवन र मृत्युको हिसाब मिलाउन अलि सजिलो हुने थियो।
जब हामी सानो थियौं, हजुरबालाई बुझेनौं। जब बुझ्ने भयौं, हजुरबा रहनुभएन।
जति बेला हजुरबा पिँढीमा बसिरहनुहुन्थ्यो, हामी त्यो पिँढी छाडेर अन्यत्रै हिँड्यौं। पछि त्यही पिँढी पनि रित्तो भयो। हामीले रित्तिएको खबर पायौं।
मिल्ने भए आफन्तहरू जीवनका अन्तसम्म सँगै होऊन् झैं लाग्छ आजभोलि।
उ बेला मृत्युको खबर अलि मिलाएर सुनाउने चलन थियो। पहिले सोधिन्थ्यो– कहाँ के गर्दै छ वा खाना खाइसकेको छ कि छैन भनेर। खान लागेको छ भने मृत्युको खबर केही बेर 'होल्ड' गरिन्थ्यो। खाइसकेपछि सुनाइन्थ्यो।
अहिले त न सोध्नु न पुछ्नु। कसैलै वीभत्स तस्बिरसहित फेसबुकमा पोस्ट गरिदिन्छ। टाढा बस्नेहरू तस्बिर देखेर झस्कन्छन् एक्कासि मजस्तै। आउँछन् खबर हवारहवार्ती।
एक समयको कुरा हो। अघिल्लो साँझ भारतका चर्चित मुशाहर राहत इन्दोरीको मृत्यको खबर देखेर सुतेको थिएँ युट्युबमा। एक हिसाबले उनको मृत्युको शोकमा थिएँ म। त्यस्तो तेज शायर एक्कासि कहाँ, किन हराएको होला? म सोचिरहेको थिएँ।
मैले सोचेँ पनि नसोचेँ पनि राहत इन्दोरी बिलाएका थिए कतै।
कतै, आकाशमा।
कतै, जमिनमा वा कता कता।
खोइ किन हो मलाई फेरि उनलाई सुन्न मन लाग्यो।
खोजेँ।
सुनेँ।
सुनिरहेको थिएँ–
फुलोँका दुकाने खुलो,
खुश्बुका व्यापार करो।
इश्क खता हे तो, ऐ खता एकबार नही सौ बार करो।
भोलिपल्ट बिहानै मेरा एक जना नेपालका पत्रकार प्रिय मित्र बलराम बानियाँको मृत्यको खबर देखेँ फेसबुकवालमा।
म झस्किएँ।
जानेमाने अनुहार मित्र बलरामको।
समाचारहरू भनिरहेका थिए– उ खोलामा हेलिएर मर्यो।
म टाढाबाट यो समाचार पढी मात्र रहेको छु।
म समाचारको साक्षी होइन।
म सिर्फ समाचारको स्रोता वा पाठक हुँ।
सुनेको छु, पढेको छु। देखेको छैन।
म टाढा छु।
टाढा हुनुको मतलब म बलरामको दैनिकीसँग परिचित छैन। त्यसैले मलाई उसको जीवनका हिसाब वा बेहिसाब थाहा छैन।
मलाई यत्ति मात्र थाहा छ– नमर्नुपर्ने समयमा ऊ मर्यो। नमर्नुपर्ने मान्छे मर्यो।
हुन त नमर्ने मान्छे को हुन्छ र? तर फरक छ है दुइटा कुरामा- मान्छे मर्नुमा वा मर्नुनपर्ने मान्छे मर्नुमा।
उसको मृत्यु साँच्चिकै असामयिक र अस्वाभाविक हो। किन र कसरी भयो, यसको लेखाजोखा चुइगमजस्तो हो। जति तन्कायो, त्यति तन्किने।
जीवनलाई पो हो त तन्काउने। मृत्युलाई म कति तन्काऊँ?
बलरामसँग मैले नेपाल पत्रकार महासंघमा दुई वर्षभन्दा बढी सँगैजसो बिताएको थिएँ। उ बेला हामी कति नजिक वा टाढा थियौं, म जान्दिनँ। तर यति भन्न सक्छु, हामी एकअर्कालाई जान्दथ्यौं। एकअर्कालाई जान्नु पनि सामान्य कुरा होइन आजको यो दुनियाँमा।
एकअर्कालाई राम्ररी जानेका र बुझेका यस्तै यस्तै सम्बन्धहरूलाई 'पज' मा राखेर म अमेरिका हिँडेको थिएँ।
बलरामसँग मात्र होइन, धेरै सँगैका सम्बन्धहरू 'पज' मा थिए जब म अमेरिका आएँ।
'पज' मा हुनुको मतलब चाहेका बेला वा मौका मिलेका बेला म ती सम्बन्धहरूलाई 'एक्टिभेट' गर्न चाहन्थेँ।
बलरामको मृत्यले बिथोलिएको केही दिन मात्र भएको थियो, फेरि अर्को मृत्यको खबर आयो राष्ट्रकवि माधव घिमिरेको।
राष्ट्रकवि माधव घिमिरेको मृत्युको खबर पनि मैले एकाबिहानै ट्वाइलेटमा मेरो ट्याबलेटमा पढेको हुँ। उता साँझ पर्दा यता बिहान हुन्छ। उता दिनभर भएका सुखद वा दुखद खबरहरू यता हाम्रो बिहान बिथोल्न आइपुग्छन्।
जसरी म राहत इन्दोरी र बलराम बानियाँको मृत्युको खबरबाट बिथोलिएको थिएँ, त्यसरी नै बिथोलिएको थिएँ माधव घिमिरेको मृत्युबाट पनि।
सायद माघव घिमिरेसँगको नजानिँदो सम्बन्धलाई पनि 'पज' मा राखेर हिँडेको थिएँ।
यस्ता धेरै जानिँदा वा नजानिँदा सम्बन्धहरू जसलाई मैले 'पज' मा राखेर हिँडेको थिएँ, ती फेरि 'एक्टिभेट' नहुँदै सिस्टमबाटै 'डिलिट' भएर गए।
मान्छेहरू अक्सर सोच्छन्, मान्छे टाढा भयो, माया पनि टाढै गयो।
अहँ, यसो हुँदै होइन।
जति मान्छे टाढा, उति माया नजिक।
मान्छे टाढा भए पनि माया टाढा हुँदो रहेनछ। बरू माया 'पज' मा हुन सक्छ तर हतपती 'डिलिट' गर्न नसकिने रहेछ।
मेरी एउटी कवि दिदी हुनुहुन्छ निरा शर्मा जो 'बा' कविताबाट असाध्यै चर्चामा पनि आउनुभयो। धेरै समयको अन्तरमा एकदिन उहाँलाई फोन गरेर मैले भनेँ– दिदी माया मार्नुभयो।
उहाँले जे जवाफ दिनुभयो, म अवाक् भएँ।
उहाँले के भन्नुभयो थाहा छ?
उहाँले भन्नुभयो– भाइ, माया थियो भने मर्दै मर्दैन। यदि मर्यो भने त्यो माया नै थिएन।
हो त नि, माया छ र थियो भने त्यो मर्दो रहेनछ। मर्यो भने त त्यो माया नै होइन रहेछ।
एकपटकको माया सधैंको माया।
हो, यही मायाले हो, मृत्युमा पनि जीवितहरूलाई पोल्ने।
नारायण गोपालको एउटा असाध्यै कर्णप्रिय गित छ–
यति धेरै माया दिई मनभरी दु:ख नदेऊ...
म अक्सर सोचिरहन्थेँ– मायामा दु:खको कुरा? यो अलि मिलेन कि! के भनेको होला यो?
हो त रहेछ, जब आफूले असाध्यै माया गरेको मान्छेको मृत्यु हुन्छ, त्योभन्दा दु:ख अरू के हुन सक्छ? कसैको मृत्युमा, त्यही मान्छे बढी रून्छ जो मृतकको असाध्यै नजिक छ।
नजिक हुनु पनि कुनै बेला पीडामा बदलिँदो रहेछ।
नजिक शरीरको मात्र होइन, भावनाको पनि।
हो, हामी टाढा आउनेहरूले मायाको भारी बोकेरै आएका हुँदा रहेछौं। त्यही भारीले हामीलाई पिरोल्दो रहेछ।
मृत्युको बारेमा मेरो कुनै तर्क छैन। यो आउँछ आउँछ। कहिले र कसरी आउँछ, फरक यत्ति मात्रै हो।
मैलै आजसम्म नजिकबाट मृत्यु देखेको मेरो हजुरआमाको मात्र हो। हजुरआमाको मृत्यु हुँदा म दोस्रो तलामा सुतिरहेको थिएँ। हजुरआमा पिँढीमा हुनुहुन्थ्यो। रातको एक बजेतिर उहाँले प्राण त्याग गर्नुभयो। उहाँलाई तुलसीको मठमा राखियो। तुलसीको मठमा भइन्जेल मलाई उहाँ घरमै हामीसँगै हुनुहुन्छ भन्ने लागिरह्यो।
जब बिहान उज्यालो भयो र उहाँलाई लिएर गइयो सेलाउन, त्यसपछि बल्ल मलाई बोध भयो उहाँ जानुभयो, अब आउनुहुन्न।
त्यसपछि भएको एक्लोपन म वर्णन गर्न सक्दिनँ।
जब म सानो थिएँ, त्यही हजुरआमाको बुइ चढेर म गाउँतिर डुल्थेँ। त्यति बेला जब कसैको लाश घाटतर्फ लगिरहेको हुन्थ्यो, हजुरआमाले मेरो मुख छोपी दिनुहुन्थ्यो, हेर्न हुँदैन भनेर। मलाई भने एकखालको रहर हुन्थ्यो, मरेको मान्छे कस्तो हुन्छ हेर्नमा।
उ बेला हेर्न रहर लाग्थ्यो, अहिले सुन्न पनि मन लाग्दैन।
सुन्न नपरोस् जस्तो लाग्छ।
हुन त, हामी पहिले के थियौं? को थियौं? कसका थियौं? र, भोलि के हुनेछौं? को हुनेछौं? र, कसका हुनेछौं? थाहा छैन।
भानुभक्तीय रामायणमा एउटा श्लोक छ। रावण मारिएपछि विक्षिप्त बनेका भाइ विभिषणलाई सम्झाउँदै भनिएको छ–
तिम्रो यो अघि जन्ममा कउन हो, अहिले त, दाज्यु भयो।
फेरि क्या हुनलाइ रावण यहाँ, छोडेर कहाँ गयो।
जम्मा भैकन बालुवा जसरि फेर फिर्छन् ति गंगामहाँ
यस्तै रित सित फिर्दछन् इ दुनियाँँ कोही छैन आफ्नो यहाँ।
हो, ठिक यस्तै हामी किनारका बालुवा हौं। न हाम्रो बग्ने ठेगान न हाम्रो उड्ने ठेगान। कहिले फालिन्छौं किनारमा, कहिले हेलिन्छौं पानीमा। कहिले उड्छौं हावामा।
तै पनि जतिन्जेल जहाँ हुन्छौं, मन त्यतै जोडिँदो रहेछ। त्यसैका वरिपरि जेलिँदो रहेछ। यसलाई मायामोह भनौं वा जे भनौं।
मेरो गाउँमा एउटी हजुरआमा हुनुहुन्थ्यो जोसँग मैले नभेटेको पाँच-सात वर्ष भइसकेको थियो। म काठमाडौंमा, उहाँ गाउँमा। खै कुन चेत वा भावमा हो, मर्नु केहीअघि उहाँले मलाई देख्न मन लागेको छ भन्नुभयो रे।
यो कुरा मैले उहाँ मरिसकेपछि मात्र थाहा पाएँ।
हेर्नुस् त कस्तो रहर?
हो, यति जाबो मुख देखाउन पनि नसक्दा बढ्ता पोल्छ टाढा बस्नेहरूलाई।
नजिक बस्नेहरूले कमसेकम यति जाबा रहरहरू त मन भए पूरा गर्न सक्छन् नि। टाढा बस्नेहरू जस्तो रहर साँचेर बस्नुपर्दैन नि!
टाढा बस्नेहरूले त अरू धेरै कुरा सँगै रहर पनि साँचेर राख्नुपर्ने। टाढा बस्नेहरूले साँचेको रहर धेरैजसो साँचेको साँच्यै भइदिन्छ। अनि त नराम्रा सपनाहरूले पनि तर्साउँछन् नि।
दीप श्रेष्ठले गाएको चर्चित गीतजस्तो–
हर रात सपनीमा ऐठन हुन्छ,
गाउँमा सायद पहिरो गयो कि...
हो, टाढा हुनेहरूलाई सपनीको ऐठनले त पिरोल्छ, बिपनीको खबरको कुराले पनि कति पिरोल्छ कति!