कुरा मेरो बाल्यकालको हो। म मानभवनस्थित आदर्श विद्या मन्दिरमा पढ्थेँ। मेरो बसस्टप त्यतिखेरको आरएनएसीमा थियो।
हामी साथीहरू बसस्टप जाँदा पछाडिबाट आएको मोटरसाइकल कुन कम्पनीको हो भनेर आवाजबाटै चिन्ने प्रयास गर्थ्यौं। यो खेल हामीबीच निकै लोकप्रिय थियो।
कक्षा ७ पछि म इन्द्रचोकदेखि स्कुलसम्म साइकलमै आउजाउ गर्न थालेँ। बिदाका दिन पनि साइकल लिएर नजिकका ठाउँ घुम्न जान्थेँ। कहिले पशुपति, कहिले स्वयम्भू, कहिले बालाजु त कहिले महाराजगन्ज हुँदै बुढानिलकण्ठसम्म पुगेको स्मरण ताजा छ। म काठमाडौंका गल्लीहरूसँग धेरै अभ्यस्त भएको त्यही बेला हो।
त्यो समय काठमाडौंका बाटाहरू खुला र सुरक्षित थिए। सवारीसाधन कम गुड्थे। सवारी हाँक्ने चालक पनि भद्र स्वभावका हुन्थे जो पैदलयात्रु वा साइकलयात्रु वा सडकका अन्य प्रयोगकर्तालाई बढ्ता प्राथमिकता दिन्थे।
काठमाडौं सहर त्यसै पनि सुन्दर र शान्त। बाटो वरिपरि शिरीषका रूखहरू प्याजी रङका फूलले ढकमक्क ढाकिएका हुन्थे। फूल झर्ने बेला बाटोभरि प्याजी रङ पोखिएको हुन्थ्यो। पैदलयात्रुका लागि फुटपाथ प्रशस्त थियो। सडकले आतंकको रूप लिइसकेको थिएन।
प्रत्येक शनिबार संकटा, महांकाल, स्वयम्भू, पशुपति, भद्रकाली लगायत मन्दिर घुम्न जानु काठमाडौंवासीहरूको नियमित कर्म थियो। टुँडिखेलको बाटो पैदलै महांकाल घुमिसकेपछि खुल्लामञ्चको पदमार्ग हुँदै भद्रकालीसम्मको यात्रा कत्ति मनमोहक थियो!
बाटो हिँड्दा जहाँतहीँ ऐतिहासिक, पुरातात्त्विक तथा कलात्मक ढुंगेधाराहरू, मन्दिरहरू, पाटीपौवाहरू, प्राकृतिक कञ्चन नदीहरू र चारैतिर हरियालीले मनै हर्थ्यो।
अहिले काठमाडौं त्यही हो तर समय बदलिएको छ।
मानिसहरू सुन्दर र शान्त खोज्दै काठमाडौं वरिपरिका डाँडाकाँडा धाउन लागेका छन् जुन अनुभूति पहिले सहरभित्रै पाइन्थ्यो। विकासका नाममा विनाशको प्रवेश भइसकेको थिएन। सहरले कोलाहलको रूप लिइसकेको थिएन।
आज काठमाडौंका सडक मानवमैत्री छैनन्। सडकमा गाडी र मोटरसाइकलको चाप बढ्दो छ तर हिँड्ने र साइकल हाँक्ने ठाउँ छैन। सडकहरू बिस्तार हुँदैछन् तर ट्राफिक लाइट, जेब्रा क्रसिङ र साइकल लेन छैनन्। यसले सडक प्रयोगकर्ताहरूको ज्यान जोखिममा छ। खासगरी बालबालिका र वृद्धवृद्धाका लागि सडक पहिलेजस्तो सुरक्षित छैन। दुर्घटनाका समाचार नियमित सुनिन्छ।
यहाँ नियममा बस्नेलाई झनै सास्ती छ। आफैंले गल्ती गर्ने अनि आफैं झोक्किँदै आँखा तर्नेहरूको कमी छैन। यस्तो देखेर कहिलेकाहीँ मलाई 'आँखा तर्दैमा, हर्न बजाउँदैमा बाटो ठूलो हुँदैन' भन्ने टिसर्ट लगाएर हिँडूँ कि जस्तो लाग्छ!
सडकमा जथाभाबी खाल्डाखुल्डीको त के कुरा गरौं! जसलाई मन लग्यो त्यसले सडक भत्काउने होड छ। बाटो खनेर यसै असुरक्षित छाडिन्छ। मान्छे हिँड्ने फुटपाथ यसै त कम छन्, त्यही पनि मिचेर पसल थापिएका हुन्छन्। कहीँ फुटपाथमै गाडी पार्क गरिन्छन्। अचेल त्यही साँघुरा फुटपाथमा पनि मान्छेलाई हिँड्नै गाह्रो हुने गरी रूख रोप्ने फेसन छ। बाटोमा जथाभाबी लठ्ठा र तगारो गाड्ने, घर-टहरो वा छाप्रो बनाउने, सार्वजनिक सडकसँग जोडिने गरी प्रवेशमार्ग बनाउने प्रवृत्ति पनि उस्तै छ जसले ट्राफिक जाम बढाउन ठूलो भूमिका खेलेको छ।
यस्ता कार्य नीति र कानुनको कमीले भएका होइनन्। 'सार्वजनिक सडक ऐन २०३१' अनुसार स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न पाइँदैन। माथि उल्लिखित सबै कार्यलाई उक्त सडक ऐनले प्रतिबन्धित गरेको छ। तर कानुन प्रभावकारी कार्यान्वयन नभएकाले यी समस्या बढ्दो क्रममा छन्।
नीति र कानुन कार्यान्वयन नहुँदा ट्राफिक जाम कसरी बढ्छ भन्ने अर्को उदाहरण 'सवारी तथा यातायात व्यवस्था ऐन, २०४९' हो।
उक्त ऐनको दफा १२१ ले 'गाउँ, नगर तथा जिल्लाका स्थानीय निकायका पदाधिकारीसँग परामर्श गरी मूल सडकको आवागमनमा प्रतिकूल असर नपर्ने गरी पार्किङ स्थान तथा बस बिसौनी निर्धारण गर्नुपर्ने' प्रावधान राखेको छ। यस्तो प्रावधान कार्यान्वयन हुन सकेको छैन। सार्वजनिक बसहरू जहाँतहीँ रोक्नु आम कुरा हो। निजी गाडी सडक किनारमै वा मान्छे हिँड्ने फुटपाथ नै ढाकेर पार्किङ गरिनु पनि विरल घटना होइन।
काठमाडौंले सिंगो नेपालको प्रतिनिधित्व गर्छ। काठमाडौं व्यवस्थित नभएसम्म नेपाल व्यवस्थित हुन सक्दैन। यो व्यवस्थित गर्ने कुरा काठमाडौंको सडक व्यवस्थापनबाटै सुरू गर्नुपर्छ।
हालै 'प्रदेश सार्वजनिक सडक ऐन, २०७८' ले बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयलाई सडक निर्माण, विकास, विस्तार, मर्मतसम्भार र व्यवस्थापनको जिम्मा दिएको छ। सडक व्यवस्थापनमा देखिएका कमी-कमजोरी सच्याउने जिम्मा अब यो निर्देशनालयको काँधमा आएको छ।
काठमाडौंका लाागि लडाइँ
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्न सुरू गरेको दिनदेखि मैले सडक व्यवस्थापनका विषय औपचारिक र अनौपचारिक रूपमा उठाउँदै आएको छु। यसबारे सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्ने प्रयास गरिरहेकै छु।
तत्कालीन प्रदेश सरकारद्वारा सांसदहरूसँग योजना माग भइरहेका बेला मैले परोपकार र ताहाचल जोड्ने पुलमा ट्राफिक जाम कम होस् भनी ट्राफिक बत्तीहरू जडान गर्न पहल गरेँ। उक्त योजना प्रस्ताव गर्दा प्रदेश योजना आयोगका केही कर्मचारी र केही माननीयज्यूहरूले 'यस्तो पनि विकासको योजना हुन्छ?' भनेर खिसी गरेका थिए।
खिसी गर्नेहरूलाई मैले भनेको थिएँ, 'काठमाडौंलाई विकासभन्दा व्यवस्थापनको खाँचो छ। त्यसैले मेरो योजना यही हो।' आज पनि मेरो धारणा यही छ।
त्यसको केही समयपछि म आफ्नो प्रस्ताव लिएर मुख्यमन्त्रीलाई भेट्न गएँ। आफू प्रदेशसभा सदस्य भएपछि मन्त्रालय धाएको त्यो पहिलोपटक थियो।
त्यति बेला भौतिक तथा यातायात मन्त्रालय मुख्यमन्त्रीकै मातहत थियो। मैले मुख्यमन्त्रीलाई काठमाडौंको ट्राफिक जाम, अस्तव्यस्तता र भद्रगोल सडक व्यवस्थापनबारे बिस्तारमा जानकारी गराएँ। त्यसपछि उक्त योजना कसरी कार्यान्वयन गर्न मिल्छ भन्ने प्रक्रियाको खोजी भयो र यातायात विभागबाट गर्न सकिने उपाय निस्क्यो। यसको पूर्ण जिम्मेवारी भौतिक तथा यातायात मन्त्रालयले नै लिने भयो।
त्यसपछि परोपकार पुलवारि र पारि सौर्य ऊर्जाबाट चल्ने आठवटा ट्राफिक बत्ती जडान गरिए।
तर खाली पेटलाई एउटा समस्या, खाएपछि हजार समस्या भनेजस्तै नेपाली इञ्जिनियरहरूले नै निर्माण गरेको ट्राफिक बत्ती जडान त भए तर त्यसको सञ्चालन जिम्मेवारी कसले लिने भन्नेमा अहिलेसम्म समाधान निस्केको छैन।
मैले ट्राफिक बत्ती सञ्चालनका लागि सम्बन्धित ठाउँहरूमा पहल गरेँ। ताकेता पनि थुप्रैपटक गरेँ। तर स्वामित्वको विषय सुल्झिन नसकेर अहिलेसम्म बत्ती बलेको छैन। त्यहाँको ट्राफिक जामका दैनिक भुक्तमानहरूले बत्ती राखेकामा पहिले धन्यवाद भन्थे, अचेल किन सञ्चालन नभएको भनेर गुनासो गर्छन्।
मैले प्रदेशसभामा 'बागमती प्रदेशमा नयाँ सवारीसाधन दर्ता बन्द गर्नुपर्छ' भन्ने आवाज पनि उठाएको थिएँ। मुहान नै सफा नगरेसम्म पोखरी सफा हुँदैन। अहिले हाम्रो सडकको आकार हेर्दा ती संरचनाले बढ्दो सवारी चाप धान्न सकिरहेको छैन। यसको समाधानका लागि सडक बिस्तार गर्ने वा नयाँ सडक थप्ने अवस्थामा हामी छैनौं। हाम्रो ऐतिहासिक, पुरातात्त्विक सहर यसरी सवारीसाधन हुइँक्याउन बनाइएकै होइन।
त्यसैले बढ्दो सवारी चेप थेग्ने नाममा सडक बिस्तार गर्नु भनेको यो सहरका सम्पदा र संस्कृति मास्नु हो। सहरलाई झन् साँघुरो बनाउँदै लैजानु हो। सार्वजनिक यातायात प्रवर्द्धन गर्दै नयाँ सवारी दर्ता नियन्त्रण गर्ने हो भने धेरै हदसम्म समस्या समाधान हुन सक्छ।
यसै सन्दर्भमा म आफ्नो अनुभवका आधारमा काठमाडौंको ट्राफिक जामका मुख्य कारण यहाँ औंल्याउन चाहन्छु।
यसमा तीनै तहका सरकारको उदासीनता, समयसापेक्ष नीतिहरूको अभाव, सडक प्रयोगकर्ताहरू संवेदनशील नहुनु, सार्वजनिक यातायातको गुणस्तर वृद्धि र वैज्ञानिक व्यवस्थापनको अभाव, पैदल, साइकल र अन्य सडक प्रयोगकर्तालाई सरकारले प्रोत्साहन नगर्नु प्रमुख कारण हुन्।
सडकहरूलाई पैदलमार्ग, फुटपाथ, अपांगतामैत्री, सवारीमुक्त क्षेत्रमा वर्गीकरण नगरिनुले पनि जाम बढाएको छ। सडक अनुशासनका लागि पर्याप्त प्रविधि, पूर्वाधार र नीति नहुनुले समस्या थप बढाउँछ।
चुरो कुरो के भने, हामी सबै हतारमा छौ। एकछिनको हतारले अरूलाई अप्ठ्यारो पार्छ भन्ने संवेदनशीलता धेरैमा छैन।
अब समाधानको कुरा गरौं।
सबभन्दा पहिला त मैले यसअघि भनेजस्तै तत्काललाई नयाँ सवारीसाधन दर्तामा नियन्त्रण गर्नु एउटा विकल्प हुनसक्छ। काठमाडौंमा भएका सबै सरकारी कर्मचारीलाई साइकल वा सार्वजनिक यातायात प्रयोगमा प्रोत्साहित गर्न सकिन्छ। अभिभावकहरूलाई आफ्ना केटाकेटी विद्यालय भर्ना गर्दा घरबाट नजिक भर्ना गराउन प्रोत्साहिन गर्न सकिन्छ। साँघुरा सडकलाई सवारी चाप हेरेर पूर्ण वा आंशिक वान-वेमा परिणत गर्न सकिन्छ।
यसबाहेक ट्राफिक बत्ती, सिसिटिभी लगायत प्रयोगले सवारी आवागमन व्यवस्थित गर्न सक्छ। सडक लेन, जेब्रा क्रसिङ, लेन अनुशासन पालना र ट्राफिक नियममा शून्य सहनशीलता पनि समाधानका उपाय हुन सक्छन्।
फुटपाथ पसलहरूलाई ठाउँ हेरेर हटाउने र व्यवस्थित गर्नाले पनि पैदलयात्रीको समस्या धेरै हल हुनेछ। काठमाडौंको कोर-एरिया सवारी निषेध गरेर साइकल वा पैदलमार्गका रूपमा विकास गरे ऐतिहासिक र पुरातात्विक महत्व जोगाउन सकिन्छ।
काठमाडौंलाई अहिलेको समयमा 'धूलोमाडौं' को संज्ञा दिइन्छ। यो सहर आफैं धूलोमाडौं बनेको होइन। यसलाई अस्तव्यस्त पारेको हामीले नै हो। सहर अव्यवस्थित हुनुमा हामी सबैको उत्तिकै हात छ। त्यसैले समाधानको जिम्मेवारी पनि हामीले आफ्नै हातमा लिनुपर्छ।
हरेक तहबाट सबै मिलेर नवीनता र सुनियतका साथ अगाडि बढ्यौं भने, एकपटक फेरि बागमतीमा कलकल पानी बग्नेछ। शिरिषको फूलले बाटो फेरि सजिनेछ। यहाँका गल्लीहरू स-साना बालबालिकाको हाँसोले भरिनेछन्। यो भूमि स्वच्छ हावाले प्रफुल्लित हुनेछ।
र, हाम्रो काठमाडौं फेरि एकपटक कुइरीमण्डल धूलोबाट पुनर्जीवित हुनेछ।
(लेखक बागमती प्रदेशसभाका सांसद हुन्।)