'हेल्लो, पासाङ मेमे, सुन्नोस् न! म दिलबहादुर थापा, तालामाराङबाट बोलेको। मेलम्ची खोलाको सतह के कति बढेको छ?'
'खोला त खासै बढेको छैन तर यता झरी चैं परिरहेको छ।'
'ए हुन्छ मेमे, गड्याङगुडुङ आवाज गर्यो र खोला बढ्ला जस्तो भयो भने फोन गर्नु होला है?'
'ए हुन्छ, हुन्छ।'
***
'हेल्लो! श्याम, नाकोटेको जल सतह मापन केन्द्रमा पानीको सतह कति छ?'
'हेल्लो! हजुर छविरमण अकंल, पानीको सतह ५.६१ मिटर छ। बाढीको थ्रेसहोल्ड (खतरा तह) चाहिँ नाघेको छैन।'
'ल ठिकै छ। धेरै त रहेनछ। ए सुन त, यता सरस्वती माविको ट्वाइलेट र दुई कोठे भवनमा त क्षति पुर्याउँदै छ त।'
'ए हो र? म आइहालेँ। विद्यालयमा भएका शैक्षिक सामग्रीहरूलाई जस्सरी पनि जोगाउनुपर्छ है अंकल।'
उल्लिखित वार्तालाप तथा परिदृश्य हेलम्बू मेलम्ची क्षेत्रमा मनसुन लागेपछि मेलम्ची खोला तथा आसपासका समुदाय क्षेत्रमा हुने गरेका घटना क्रमहरूका केही अंश हुन्।
शान्तसँग बग्ने मेलम्ची खोलाले २०७८ असार १ गते एकाएक आफ्नो सुरताल गुमायो। कलकल पानी बग्नुको साटो खोलामा आफूसँगै ढुंगा माटो बगाइरह्यो। कल्पनाभन्दा बाहिरको बाढीको क्षति पनि कल्पना नगरिएकै थियो। भयावह बाढीले स्थानीय बासिन्दामा पुर्याएको घाउ वर्षौंसम्म निको हुने छैन। विपत्तिपछिको पुनर्निर्माण र पुनर्स्थापना काम कछुवा गतिमा छ।
माथिल्लो तटीय क्षेत्रमा भएको त्यो अनिष्टको सूचना विभिन्न माध्यमबाट तल्लो तटीय क्षेत्रमा नआएको होइन। तर बाढीबाट हुन सक्ने सम्भावित क्षतिलाई व्यापक नजरअन्दाज गरियो।
जोखिम सम्बन्धी बुझाइ र जोखिम सही सूचनाको कमी
२०७८ सालभर मेलम्ची बाढीको दुखद सूचनाले सामाजिक सञ्जालका भित्ताहरू पूर्ण रूपले भरिएका थिए। जोखिम सञ्चारको हिसाबले सामाजिक सञ्जालको उपयोग प्रशंसायोग्य त थियो तर व्यक्तिपिच्छे अपलोड गरिएका सूचना आममानिसले शतप्रतिशत विश्वास गरेनन्। एकाध विश्वास गरे तर पूर्वतयारी गरेनन्। तसर्थ, जनधनको क्षति बढी भयो।
व्यक्ति वा समुदायले आफ्नो समुदायको जोखिमको स्तर र सम्भावित क्षतिको अनुमानबारे ज्ञान नभई पूर्वतयारी गर्दैनन्। जोखिमको सूचना, अनुमानित क्षतिसहितको वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित सूचना प्राप्त नभएसम्म जोखिममा रहेका व्यक्ति तथा समुदाय पनि सचेत हुँदैनन्। मेलम्ची बाढीको बखत भएका यथार्थपरक घटनाक्रमले उक्त विषय प्रमाणित गरेको छ।
हृदय विदारक अवस्थाहरू
घटना एक —
हेलम्बू-६ का चेंगा तामाङ र उनकी श्रीमती मेलम्ची खोलाको तिरमा रहेको खेतमा धान रोप्दै थिए। उनीहरू अप्रत्यासित बढेको खोला र बाढीबारे जानकार थिए। सुरूआती बाढीको अवस्थामा छोरीलाई बेलुकाको खाना पकाउन घर पठाए। उनीहरू भने बाँकी रोपाइँ सकेर घर फर्किने विचारमा थिए।
केही समयपछि खेतको दायाँबायाँ तर्फबाट बाढी बग्न थाल्यो। दुवै जना उत्तिसको रूखमा चढे। अन्तिमसम्म बाँच्ने प्रयत्न गरिरहे। मोबाइल फोनबाट धेरैलाई हारगुहार गरे। मानिसहरूको घुइँचो लाग्यो। आएकाहरूसँग उद्धार सामग्री थिएन। खराब मौसमका कारण हवाइ उद्धार सम्भव भएन। न कुनै वैकल्पिक उपाय। वारिपारिकाले आश्वासन मात्र दिइरहे।
संघीय राजधानी काठमाडौंबाट ६० किलोमिटर दुरीमा, ती/चार घन्टा अवसर हुँदा समेत उद्धार पाएनन्। न कोही उद्धारकर्मी भेटिए। अन्ततः रूखसँगै दुवै जनालाई बाढीले बगायो। वारिपारिका मानिस विक्षिप्त हुँदै आ–आफ्नो ज्यान जोगाउन लागे।
घटना दुई —
हेलम्बू-६ चनौटेका ज्ञानेन्द्र कक्षपती मेलम्ची खोलामा बाढी आएको सूचना पाएपछि छोरासँग बाइकमा चार किलोमिटर माथि रहेको आफ्नै रेन्बो ट्राउट फार्ममा गएका थिए। उनलाई पुर्याएपछि छोरा घर फर्किए। फार्म जानुको कारण धमिलो बाढीबाट माछा पोखरी बचाउनु थियो। अनेक प्रयास गरे।
उनी र उनका सहयोगी साथीलाई धमिलो भलपानी तर्काउँदा तर्काउँदै बाढीले बगायो। पोखरी बचाउने आसले आफ्नै ज्यान बग्यो सदाका लागि। सँगै रहेका उनका साथीले संयोगले रूखको सहारा पाएर ज्यान बचाए। ज्ञानेन्द्रले ज्यान गुमाए।
घटना तीन —
हेलम्बू-२ चिउरी खर्कका केही सोनम मगर र उनका साथीहरू बाढी आएपछि माछा मार्न खोलामा गए। अप्रत्यासित बढेको बाढीले एक जनालाई बगाइसकेको थियो, संयोग कपडाले तानेर बचाए। त्यसपछि ज्यान बचाउन तत्काल माथिल्लो सुरक्षित भूभागमा भागे।
घटना चार —
हेलम्बू-३ गैरीबेँसीका देवनारायण गिरीलाई बाढीले घर बगाउने कुरा पत्यार नै लागेन। अधिकांश जमिन बगाएको असार १ गतेको बाढीले घर जोगायो भन्नेमा उनी ढुक्क थिए। घरको उचाइसम्म बाढी आउने कल्पना गरेका थिएनन्। छिमेकी घरका बहुमूल्य सामग्री आफ्नो ज्यानै जोखिम मोलेर निकाले। उचाइमा भएकाले बाढी आउँदैन भन्नेमा ढुक्क हुँदै आफ्नो घरका सामग्री निकाल्ने प्रयास नै गरेनन्। साउन १६ गते पुनः आएको बाढीले उनको घर र सम्पूर्ण जायजेथा बगायो।
अप्रत्यासित बाढीको उल्लेख्य क्षति भोगेका समुदायहरूले यस्तो भयावह अवस्था इतिहासमै सुनेका थिएनन्। न अनुमान गर्न सकेका थिए। नजरअन्दाज पनि गरे। माथिल्लो र तल्लो तटीय क्षेत्रबीच विश्वसनीय पूर्वसूचना प्रणाली थिएन। बिडम्वना, २०७८ साउन १६ गते (पहिलो मेलम्ची बाढी आएको ४५ दिनपछि) को बाढीले उल्लेख्य क्षति गर्यो।
मेलम्ची बाढीको जोखिम बढ्दो छ। यो बाढीले हेलम्बू गाउँपालिकामा २७ अर्ब रूपैयाँ बराबरको क्षति भएको तथ्यांक छ। पुनर्निर्माण र पुनर्स्थापनाका लागि धेरै बजेट अपुग छ। हेलम्बू लगायत अन्य क्षेत्रमा विपदपछिको पुनर्निर्माण काम कछुवा गतिमा छ।
खोला र बाढीको जोखिममा रहेका समुदायको भूमिका के?
मेलम्ची खोला किनारमा रहेका तिम्बू, किउल, चनौटे, ग्याल्थुम, गैरेबेँसी, सेरा, पाल्चोक बेसी, तालामराङ, मेलम्ची बजारजस्ता बस्ती बाढीको उच्च जोखिममा छन्। ती बस्तीमा सूचना प्रसारण तथा पूर्वकार्यका लागि विपद व्यवस्थापन समितिहरू स्थापना भएका छन्। ती समितिले विज्ञानलाई समुदायसँग जोड्ने काममा पुलको भूमिका निर्वाह गरिरहेका छन्।
बर्खा याममा माथिल्लो तटीय क्षेत्र हेलम्बू-१, नाकोटेका पासाङ लामा (मेमे) को मोबाइल फोन व्यस्त हुन्छ। वर्षा हुनासाथ फोनहरू आउँछन्। मेलम्ची खोलाको तल्लो तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिमको मात्रा बुझ्न फोन गर्छन्। वर्षातको समयमा खोलाको अवस्था बुझ्न पासाङ जागा नै रहन्छन्। उनी जागा रहँदा उनी र उनको समुदायलाई सम्भावित जोखिमको पहिचान र अनुगमन भइरहेको छ। विज्ञान र प्रविधिले दिने सूचना र समुदायको अनुगमन तथा जानकारीको संयोजनलाई विश्वास गर्न थालेका छन्।
पूर्वसूचनाले मात्र पूर्वसूचना प्रणालीको मूलभूत उद्देश्य पूरा गर्न भने सकिँदैन। बाढीबारे जानकार चेंगा दम्पतीले सम्भावित क्षति अनुमानै गर्न सकेनन्। अत्यन्तै दर्दनाक मृत्यु वहन गरे। जोखिमको मात्रा कम आकलन गर्दा ज्ञानेन्द्रको जीवन बचेन। अरूको घरको सामग्री बचाउने देवनारायणले आफ्नो घर बचाउने प्रयास गरेनन्।
यी घटना नियाल्ने हो भने सम्भावित क्षतिको सही अनुमान लगाउन सकिएन। पूर्वसूचना भए पनि घटनाको गम्भीर प्रभाव आकलनसहित सूचना प्रवाह भएन। समुदायले आजसम्म नभोगेको कुरालाई सहज विश्वास समेत गर्न गाह्रो भयो। न समुदायलाई कहिल्यै भरपर्दो र आधिकारिक सूचना संयन्त्रबारे जानकारी गराइएको थियो।
हालको अवस्था
२०७८ सालको मेलम्ची बाढीपछि पूर्वसूचना प्रणाली (बाढी) मा अनुभवी संस्था 'प्राक्टिकल एक्सन' ले जल तथा मौसम विभागसँगको समन्वय र सहकार्यमा वैज्ञानिक प्रविधिमा आधारित जल, मौसम र बाढीको तह नाप्ने केन्द्रहरूसहितको पूर्वसूचना प्रणाली स्थापना गरेको छ।
वर्षा, जलवायु, मौसम र नदी सतहको सूचना विभागको वेबसर्भरमा प्रदान गरिरहेको छ। जसले गर्दा जल तथा मौसम विज्ञहरूलाई जोखिम विश्लेषण गर्न सजिलो भएको छ। पूर्वानुमानको गुणस्तरमा वृद्धि भएको छ। सोही अनुरूप जोखिमको सूचना प्रसारण भइरहेको छ।
पछिल्लो समय स्थानीय बासिन्दाको सोच र व्यवहारमा पनि परिवर्तन आएको छ। विभागको मौसम तथा बाढीको पूर्वानुमान र माथिल्लो तटीय क्षेत्रका पासाङ मेमेको वस्तुगत जानकारीले तल्लो तटीय क्षेत्रका दिल बहादुरहरू सुरक्षित र ढुक्क हुने गरेका छन्। श्याम र छविरमणहरूले विपदको पूर्वकार्य र प्रतिकार्य गरेर क्षति कम बनाएका छन्। देवनारायणहरू बाढीको पूर्वानुमान गरी नदी किनारका आफन्तको महत्त्वपूर्ण सामग्रीहरू (गाई, भैंसी, कुखुरासहित) बेलुकीपख सुरक्षित स्थानमा सार्ने र बिहान फर्किने काममा अगुवाइ गरिरहेका छन्।
पूर्वसूचना प्रणाली – भौतिक विज्ञान र नागरिक विज्ञानको सम्मिश्रण
पूर्वसूचना प्रणालीका दुइटा पाटा हुन्छन्।
एक, भौतिक विज्ञान र प्रविधिको।
अर्को, नागरिक विज्ञानको।
वैज्ञानिक प्रविधि र उपकरणले सही तथ्य र सूचना दिन्छ। तर ती सूचना र तथ्य सही तवरले, सही समयमा समुदायहरूमा पुगिरहेका हुँदैनन्। समुदायलाई विज्ञानसँग जोड्न सकिएन भने पूर्वसूचना प्रणालीमा विज्ञान प्रविधिको कुनै अर्थ नै छैन।
तसर्थ, वैज्ञानिक सूचना दिन सक्ने भरपर्दो पूर्वसूचना प्रणालीमा नागरिक विज्ञानको सम्मिश्रण अपरिहार्य छ। पूर्वसूचनाहरू वैज्ञानिक भए पनि आमनागरिकले सजिलै पत्याउँदैनन्। वैज्ञानिक सूचना र समुदायको रैथाने ज्ञान, जोखिम निगरानी, वर्षाको पूर्वानुमान सूचनासहित सम्भावित प्रभावको जानकारी थपिँदा पूर्वसूचनामा विश्वास र पूर्वकार्यका अभ्यासले पुष्टि गरेको छ। भौतिक विज्ञान र सामाजिक सञ्जालजस्ता प्लेटफर्म मोबाइल तथा इन्टरनेट नेटवर्कमा निर्भर रहन्छ तर नागरिक विज्ञान समुदायका व्यक्तिको भूमिकामा निर्भर रहन्छ। त्यसैल् भौतिक विज्ञानको मात्रै भर पर्नु हुँदैन।
अबको कार्यदिशा
यो आलेख तयार गर्दासम्म, २०८१ सालको मनसुन आगमनको चरणमा छ। मौसम विज्ञहरूका अनुसार यस वर्ष सामान्यभन्दा धेरै वर्षा पूर्वानुमान गरिएको छ। बाढी र पहिरोको जोखिम उच्च रहन्छ। विपद हुन सक्ने र यसले पार्ने प्रभावबारे विश्वासिलो पूर्वसूचना प्रणाली नहुँदा धनजनको क्षति कम गर्न सकिँदैन। यसर्थ, नागरिक र भौतिक विज्ञानलाई चुस्तदुरूस्त बनाउनुपर्ने देखिन्छ। नागरिक विज्ञानका अपरेटरहरू अधिक मात्रामा सक्रिय र चनाखो हुनुपर्ने देखिन्छ।यसका लागि स्थानीयदेखि राष्ट्रियस्तरसम्म आवश्यक पूर्वतयारी गर्नुपर्ने देखिन्छ।
सही सूचना, सही समयमा, सही ठाउँमा पुर्याउने हो भने जनधनको क्षति उल्लेख्य मात्रामा कम गर्न सकिन्छ। मेलम्ची बाढी जलवायु संकटको चरम नमूना हो। यसप्रकारको विपदबाट देशभरका हिमाली क्षेत्र र हिमालसँग जोडिएका नदी आसपासमा बस्ने बस्ती उच्च जोखिममा छन्। जुनसुकै बेला अकल्पनीय र भयावह घटना हुन सक्छन्। साधारण अध्ययन तथा अनुसन्धानहरूले जलवायु संकटबाट हुन सक्ने क्षति आकलन गर्न सकिँदैन।
मेलम्ची हेलम्बू क्षेत्रमा पूर्वसूचना प्रणाली विकास भए पनि बाढी जोखिमको मात्रा घटेको छैन। गेग्रान थुप्रिएकाले खोलाको धार परिवर्तन भइरहेको छ। यसले गर्दा विगतमा क्षति नपुर्याएका बस्ती तथा स्थानमा जोखिम बढ्दै गइरहेको छ। सतर्कता तथा क्षतिको मात्रा घटाउन पूर्वसूचना प्रणालीको अधिकतम प्रयोग र अभ्यास गर्नुपर्ने देखिन्छ।
(लेखक मिनेश गुरूङ विपद जोखिम तथा न्यूनीकरण र पूर्वसूचना प्रणाली क्षेत्रमा कार्यरत छन्)