प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भईरहेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धि आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पारे।
दमक–चिसापानी सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्न मंगलबार काठमाडौंमा आईपुगेका स्थानीय उपभोक्ता समितिका पदाधिकारीमाझ प्रधानमन्त्री ओलीले सडक, पुलजस्ता विकास, निर्माणको कामका लागि आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन दिए। उनले विकास आयोजनहरुको कामलाई अघि बढाउँदै लैजाने योजना पनि स्मरण गराए।
प्रधानमन्त्री ओलीले विकासमार्फत् मुलुकमा समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको पनि उल्लेख गरे। उनले उत्पादनमा बढावा दिँदै मुलुकमा रोजगारीको अवसर सृजना गर्न लागिएको समेत बताए। प्रधानमन्त्री ओलीको गृह जिल्ला झापास्थित दमक–चिसापानी सडकको उचित व्यवस्थापनका लागि थप १ अर्व ७५ करोड बजेट निकासा गर्नुपर्ने स्थानीय उपभोक्ताको माग छ।
उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरीले आवश्यक बजेटको अभावमा सडकमा पक्की ढल, ब्रेष्ट वाल, ग्राभेलिङलगायतका काम अघि बढाउन नसकिएको गुनासो पनि प्रधानमन्त्री ओलीसँग गरेका थिए।