सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार गत पुस ११ गते भएकै निर्णयलाई आज सर्वसम्मत निर्णय गरिएको हो।
‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै अघि बढ्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि पत्रकारहरूसँग शर्माले भने।
शर्माका अनुसार जिल्ला अधिवेशनको कार्यतालिका यसअघिको भन्दा हेरफेर गर्ने सहमति पनि भएको छ।
पुस ११ मा सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू मात्रै उपस्थित बैठकले महाधिवेशन कार्यतालिका ल्याएको थियो। १४ औं अधिवेशनका लागि मात्रै क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन गर्ने निर्णय त्यसबेला भएको थियो।
सोमबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन नगर्ने सहमति भएको छ।
शर्माका अनुसार पार्टी कार्यालयमा सोमबार दिउँसो नेविसंघका दुई समुहबीच झडपले पार्टीलाई दुखित बनाएको छ।
‘विद्यार्थीबीच केही विवाद भएको छ। यसलाई गम्भीरतापूर्वक लिएका छौं,’ उनले भने, ‘शान्तिपूर्ण अनसन हुनु स्वभाविक थियो।’
मंसिर २६ देखि केन्द्रीय समिति बहिष्कार गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सोमबारको बैठकमा उपस्थित थिए। पुस ११ का केही निर्णयबाट पछि हट्न सभापति देउवा गत शुक्रबार नै सहमत भएपछि पौडेल बैठकमा उपस्थित भएका हुन्।