पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहमा रहेका नेता भीम रावलले पार्टी टुक्राउन असहमत भएर एमालेमै रहने निर्णय गरेपछि उनी निकटका जिल्ला तहका नेता तथा सांसदहरू समाजवादीमा खुलेका छन्।
निर्वाचन आयोगले दिएको समय सीमाअगावै नेताहरू जिल्लामा खुल्ने क्रम जारी छ।
रावललाई सुरूदेखिनै साथ दिँदै आएका जिल्लादेखि प्रदेश तहका अधिकांश नेता माधव नेपाल पक्षमा उभिएपछि जिल्लामै रावल कमजोर देखिएका छन्।
दुई निर्वाचन क्षेत्र रहेको अछामका दुबै क्षेत्रका सांसद नेकपा एमालेमा खुलेका छन्। निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रावल हुन् भने क्षेत्र नम्बर २ बाट यज्ञबहादुर बोगटीले जितेका थिए। *
अछामका राष्ट्रिय सभा सांसद शेरबहादुर कुँवरले समाजवादी रोजेका छन्।
एमाले जिल्ला अध्यक्ष तथा राष्ट्रियसभा सदस्य रहिसकेका कुँवरले माधव नेपाललाई पहिलेदेखि नै साथ दिएका थिए। रावलनिकट मानिएका उनको क्षेत्रका कुँवर पार्टी टुक्रिएसँगै माधव नेपालतिर लागेका हुन् ।
प्रदेश सदस्य शंकर भण्डारी पनि समाजवादीमा लागेका छन् । अछाम क्षेत्र नं. २ का प्रभावशाली नेता भण्डारीले रावललाई छोड्दै माधव नेपाललाई साथ दिएका छन्। प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र नम्बर १ क मा जितेका हर्कबहादुर कुँवर एमालेमै छन्। ख मा माओवादीबाट जितेका झपट बोहोरा एमाले प्रवेश गरेपछि उनको पद रिक्त छ।
निर्वाचन क्षेत्र नम्बर २ क बाट निर्वाचित बलबहादुर सोडारीले समाजवादी रोज्दा ख बाट जितेका अक्कल रावल एमालेमै छन्।
अछामबाट समानुपातिक सांसद दुर्गाकुमारी कामी र मना साउदले पनि समाजवादीमा सनाखत गरेका छन्। यसअघि गृह जिल्लाका नेता रावललाई साथ दिँदै आएकी कामीले नेता रावल नेकपा एमालेमै रहेपछि उनको साथ छाडेकी हुन्।
‘सुरूमा आफ्नै पार्टी अध्यक्ष केपी ओली र उनको सरकारलाई प्रतिगमन भनेर रावलले विरोध गर्न लगाए। मान्यौं, समानान्तर कमिटी बनाउने भने मान्यौं र कनम रावलले नेतृत्वमा समामान्तर कमिटी बनायौं। जनस्तरमा पनि ओलीविरूद्ध उत्रन रावलले नै आव्हान गरे। आज आएर आफू सुटुक्क ओलीतिरै गएपछि हामीले उहाँको साथ छोडेका हौं’, कामीले भनिन्।
नेकपा एमाले अछाम जिल्ला तहका अधिकांश नेता समाजवादी पक्षमा छन् । एमाले अछामका अधिकांश जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरू पनि समाजवादीमै छन् ।
सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।
भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले आफूसहित तीन जना सांसदले आयोगमा गएर सनाखत गर्ने बताए।
उनीसहित अर्चना गहतराज र तारा लामा तामाङले सनाखत गर्न बाँकी छ।
५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए। तीमध्ये यसअघि १८ सांसद नेपाल पक्षमा भएको बताइएको थियो।
सुदूरपश्चिमको एमालेमा उपाध्यक्ष भीम रावलको बलियो प्रभाव थियो। २०७४ को निर्वाचनमा उनले आफूनिकट धेरैलाई टिकट दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता माधव नेपालको टकराव हुँदा रावल नेपालसँगै थिए। तर पछिल्लो समय उनी नेपालको साथ छोडेर एमालेमै बसेका छन्।
* यसअघि अन्यथा भएकोमा सच्याइएको छ।