नेकपा एमाले सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले अहिलेको एमाले जेठ २ को पार्टी नभएको बताएका छन्।
उनले बुधबार धनगढीमा अध्यक्ष ओलीले बताएको कुरा सुनाउँदै एकता र एकीकरण सहितको अहिलेको एमाले भएको बताएका हुन्।
‘हामीले त्यही रूपमा ग्रहण गरेका छौं यो जेठ ३ देखि निरन्तर अन्तरसंघर्षबाट अघि बढ्दै आएर एकीकरण र एकता सहमतिको एमाले हो। नयाँ बनाउनेमा लागेकै छौं,’ उनले भने।
‘केन्द्रीय समितिमा पनि ओलीले दश बुँदेलाई डेकुमेन्टेड होइन। यो निर्णय होइन, यो त उहाँहरू (कार्यदल सदस्य) ले सुझाव दिएको हो। यो सुझावलाई पार्टी केन्द्रले अनुमोदन गर्छ भने स्थायी समिति र केन्द्रीय समितिबाट अनुमोदन भएको हो। पार्टीको कार्यविभाजन चेन्ज भएको छैन भन्नुभयो,’ उनले भने।
दश बुँदे र जेठ २ को कुरा उठेपछि बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुवास नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, कर्ण थापा, आफू उपस्थितिमा भीम रावललाई तपाईंले उपाध्यक्षको हैसियतले सहजीकरणको संयोजन गर्नुस् इन्चार्ज लेखराज जी नै हो भनेको उनले बताए।
यो विषयमा उपाध्यक्ष रावलले चित्त नबुझेको र असहमति व्यक्त गरेको भट्टले बताए।
‘जेठ २ जस्ताको तस्तै लागु हुनुपर्ने भनेपछि अध्यक्षले जेठ २ इतिहासको कुरा भयो अब। त्यसपछि धेरै चिज अगाडि बढिसकेको छ। माधव नेपालसहितलाई जेठ २ भनिएको हो भन्नुभएको हो,’ उनले भने।
एमाले पार्टी विभाजनपछि भट्ट सुदूरपश्चिम पहिलोपटक आएका भए पनि प्रदेश पार्टी कार्यालय गएनन्।
उपाध्यक्ष रावलले भने जिल्ला र प्रदेश कार्यालय पुगेर कार्यकर्ता, नेतासँग भेटेका छन्।
सहजीकरण भएर नौ जिल्लाकै समस्या समाधान गरेपछि एकताको मनोविज्ञानलाई समेटेर लैजानुपर्ने भट्टले बताए।