नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब भगवान् रामले माडीलाई मणि बनाउने बताएका छन्।
माडीको अयोध्यापुरीमा राम-सीता मन्दिरमा पूजा गरेपछि मन्दिर परिसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस क्षेत्रको विकास गर्न भगवान राम स्वयं उपस्थित भएको बताए।
चार वर्षअघि पुष्पकमल दाहाल 'प्रचण्ड'को चुनाव प्रचारका लागि माडी आएका ओलीले माडीलाई मणि बनाउने घोषणा गरेका थिए।
'मिलेर माडीलाई मणि बनाउने भनेर घोषणा गरिएको थियो तर तपाईंहरूले जिताएका मान्छे गतिला परेनन्,' ओलीले भने, 'अब अयोध्याधामको माध्यमबाट माडीको विकास हुन्छ, देशकै विकास हुन्छ।'
उनले चितवन कुरुक्षेत्र नभई धर्मक्षेत्र बन्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले केही दिनअघि भरतपुरमा एक कार्यक्रममा बोल्दै 'अब महाभारत हुने, चितवन कुरुक्षेत्र बन्ने' बताएका थिए। ओलीले प्रचण्डको उक्त भनाइ चितवनमा अयोध्याधाम बन्न लागेर आएको दाबी गरे।
उनले अयोध्याधाम बन्यो भने माडीको विकास हुन्छ भनेर केही मान्छे आत्तिएको बताए।
'भगवान् राम-सीताको सुरक्षाका लागि हनुमान तम्तयार भएर बसेका छन्,' उनले भने, 'अहिले त बाहिर नमस्कार गरेर बसिरहेका छन्, आइपरे गदा उचालेर हान्छन्, पापीहरूलाई छाड्दैनन्।'