गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गयलकट्टी गरेको छ।
गृहसचिव स्तरको निर्णयबाट एक शाखा अधिकृत र एक जना नायब सुब्बाको गयलकट्टी गरिएको गृह मन्त्रालयले जनाएको छ।
केही समययता कर्मचारी खटनपटनमा कडाइ गरिरहेको गृह मन्त्रालयले नायब सुब्बा सुवास पौडेल र शाखा अधिकृत दिनेश सिवाकोटीको गयलकट्टी गरिएको जनाएको छ।
नायव सुब्बा पौडेलको गृहबाट जिल्ला प्रशासन कार्यालय गुल्मी सरूवा भएको थियो। उनी त्यहाँ नगएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरूवा भएर गएका थिए।
मन्त्रायलले पौडेललाई ५१ दिन गयलकट्टी गरेर रमाना दिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी मन्त्रालयले इलाका प्रशासन कार्यालय चौरझारी रूकुम पश्चिम खटाएका शाखा अधिकृत दिनेश सिवाकोटीको ६१ दिन गयलकट्टी गरेको छ। सिवाकोटी रूकुमपश्चिम नगएर निर्वाचन आयोगमा सरूवा गराएका थिए।
'दुवै जना कर्मचारी खटाएका ठाउँमा नगएपछि मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो,’ गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालले भने, 'स्पष्टीकरण चित्त नबुझेपछि गयलकट्टी गरिएको हो।'
त्यसैगरी मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन थप ३५ जना कर्मचारीहरूलाई साउन २८ गते (भोलि) सम्मको समय दिएको छ।
मन्त्रालयले ३५ जना शाखा अधिकृत र एक जना नायब सुब्बा गरी ३५ जनालाई साउन २६ गते तीन दिनको समय दिएर खटाएको कार्यालयमा हाजिर हुन समय दिएको छ।
'तोकिएको तीन दिनभित्र तोकिएको ठाउँमा नगए निजामती सेवा ऐन/नियम अनुसार कारबाही गरिनेछ,' महाशाखा प्रमुख रिजालले भने।