चितवनमा दुर्गा मन्दिर नजिकै भीमबहादुर विकमाथि कुटपिट गर्ने दुई जनालाई पुर्पक्षका लागि कारागार पठाउन चितवन जिल्ला अदालतले आदेश दिएको छ।
गत असोज २८ गते दसैंको नवमीको दिन बिहान भरतपुर-४ स्थित दुर्गा मन्दिर नजिकै स्थानीयको कुटपिटबाट विकको मृत्यु भएको थियो।
स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटका कारण ५८ वर्षीय विकको मृत्यु भएको भन्दै मृतकका छोरा किसन विकले उनीहरूलाई कारबाही गर्न माग गरेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
मन्दिरमा दसैंका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट भएको मृतकको परिवारको आरोप थियो।
उनीहरू दुबै जनालाई पुर्पक्षका लागि कारागार पठाउन अदालतले आदेश दिएको हो।
प्रहरीले बस्नेत र श्रेष्ठलाई सोही दिन नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको थियो।
अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेपछि सरकारी वकिलको कार्यालयले गत सोमबार अबेर अदालतमा अभियोजन दर्ता गरेको थियो।
मंगलबार नै यसमा थुनछेक बहस हुने भनिए पनि उक्त दिन नभ्याएपछि बिहीबारमात्रै अदालतमा थुनछेक बहसको पालो आएको थियो।
बिहीबार पनि बयान नसकिएपछि शुक्रबार बिहानमात्र आदेश भएको हो।
घटना भएको ठाउँ नारायणगढको सहिदचोकदेखि करिब ५ किमी पश्चिममा छ। भीमबहादुरको घर उक्त मन्दिरदेखि दक्षिणतर्फ करिब तीन सय मिटर पर पर्छ।
घटनापछि दलितसँग सम्बन्धित संघ संस्थाहरूले भीमबहादुर विकमाथि दलित भएकै कारण कुटपिट गरिएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेर दबाबमूलक कार्यक्रम गर्दै आएका थिए। तर अनुसन्धानका क्रममा प्रहरीले जातीय विभेदको विषय नभेटेको उल्लेख गरेको छ।
अदालतमा पेस गरिएको रायसहितको प्रतिवेदनमा घटनालाई आवेशप्रेरित हत्या भनी उल्लेख गरिएको छ।
प्रहरीकाअनुसार सीतारामले बिजुलीको तार राख्न प्रयोग हुने पाइपले भीमबहादुरलाई कुटेका थिए। भागेर केही पर पुगेका उनलाई मेडिकल सञ्चालक दिलिपले टाउकोमा हानेका थिए। पोस्टमार्टम रिपोर्टमा हेड इन्जुरी अर्थात् टाउकोमा लागेको चोटका कारण विकको मृत्यु भएको उल्लेख रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले बताए।
परिवारले अझै पनि शव बुझेको छैन ।
भीमबहादुर विकको मृत्यु सम्बन्धमा जाँचबुझका लागि मानवअधिकार आयोग, दलित आयोग र विभिन्न सामाजिक संघसंस्थाको टोली चितवन आएका थिए।
मानवअधिकार आयोगले प्रारम्भिक प्रतिवेदनमा पीडितलाई क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन, छुवाछूतसम्बन्धमा जनचेतना र सञ्चार माध्यमलाई पनि तथ्यपरक सूचना प्रवाहका लागि आग्रह गरेको छ। घटना जातीय हिसाबले भए वा नभएकोबारे थप अध्ययनपछि अन्तिम प्रतिवेदनमा समेटिने आयोगले बताएको छ।
यो पनि:
चितवन घटनामा भीमबहादुर विककी श्रीमतीको दुखेसो- गाली गर्दैमा मर्ने गरी कुट्नुपर्थ्यो र?
घटनापछि सेतोपाटीसँग मृतककी श्रीमती विन्दु विकले आफूहरूले मन्दिरमा बोकाको बली दिने विषय कहिल्यै नउठाएको बताएकी थिइन्।
'मन्दिरमा हामीले पूजा गर्न छाडेको १५-१६ वर्ष भइसक्यो। अचेल हामीले यस विषयमा कुरा गरेकै छैनौं,' उनले भनिन्, 'रक्सी पिएको बेलामा अल्ली बढी बोल्ने बानी उहाँको थियो, बोल्नुभयो होला। तर गाली गर्दैमा ज्यानै जानेगरी कुट्नु पर्थ्यो र?,' सेतोपाटीसँग उनले भनेकी थिइन्। स्थानीय दलितहरूले विगतमा मन्दिरको बाहिरैबाट फूलपाती, दक्षिणा दिएर पूजा गर्ने गरिएको भए पनि भित्र छिर्न नदिएपछि वर्षौंदेखि पूजा गर्नै छाडेका थिए।
विकमाथि कुटपिटको घटनापछि सामाजिक सद्भावमा खलल पुग्ने गरी विरोधका कार्यक्रम भएपछि दुर्गा मन्दिरमा वाचन शिरोमणि भनिने पण्डित दीनबन्धु पोखरेलको उपस्थितिमा दलित र गैरदलित समुदायले सामूहिक पूजा गरेका थिए।