नेकपा एमालेले चितवनमा हुने केन्द्रीय महाधिवेशनको तयारी तीब्र पारेको छ।
बन्दसत्रका लागि तय गरिएको सौराहास्थित होटल सेभेन स्टारमा भेटिएका नेता सुरेन्द्र पाण्डेले आन्तरिक तयारीका साथै उद्घाटन र बन्दसत्रस्थल व्यवस्थापनको पनि तयारी भइरहेको बताए।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।
महाधिवेशनको उद्घाटन नारायणी नदीको किनारमा र बन्दसत्र सौराहामा गर्ने तय भएको छ। उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने तयारी गरेको एमालेले महाधिवेशन प्रतिनिधिका रुपमा २ हजार भन्दा बढी सहभागि हुने जनाएको छ।
‘केन्द्रीय सदस्यसहितका २ हजार जना प्रतिनिधि सहभागि हुने निश्चित भइसकेको छ। एक सय जना जति मनोनित भए भने पनि २१ सय जना प्रतिनिधिहरू मतदानमा सहभागि हुनेछन्,’ सेतोपाटीसँगको कुराकानीमा महाधिवेशन व्यवस्थापन समितिका सह–संयोजक पाण्डेले भने।
नारायणगढमा उद्घाटन कार्यक्रम सकिए लगत्तै सौराहा जाने तयारी रहेको पाण्डेले बताए।
‘संभवतः त्यो दिन हाम्रो केन्द्रीय समितिको बैठक पनि बस्नेछ। ९ गते वा १० गते कहिले बस्ने भन्ने अझै तय भइसकेको छैन,’ उनले भने, ‘११ गते बिहानै बन्दसत्र सुरू हुन्छ।’
११ गते विहान ८ बजे बन्दसत्रको तयारी गरिएको छ। होटल सेभेन स्टार परिसरसँगै जोडिएको चौरमा पण्डाल बनाउन लागिएको उनले बताए। त्यहाँबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई सम्बोधन गर्नेछन्।
‘करिब एक घण्टामा बन्दसत्र सकिन्छ। भन्दा वैचारिक भन्ने तर महाधिवेशनमा मान्छेहरू नेतृत्वका लागि हानथाप गर्ने र विचारतिर छलफलै नहुने गरेकाले विचारका लागि विधान महाधिवेशन छुट्टै गर्न थालिएकाले बन्दसत्रले लामो समय लिँदैन,’ उनले भने।
बन्दसत्रमा अध्यक्ष मण्डल घोषणा हुनेछ। आन्तरिक व्यवस्थापनका लागि विभिन्न समितिहरू बनेर पारित हुनेछ।
त्यसपछि अध्यक्ष मण्डलले निर्वाचन समितिलाई निर्वाचन प्रकृया आरम्भ गर्न निर्देशन दिनेछ। ११ गते साँझसम्ममा उम्मेदवारी दर्ता र फिर्ताको काम सकेर अन्तिम नामावली प्रकाशन गरिसक्ने तयारी छ। त्यसपछि भोटिङको काम सुरू हुनेछ।
‘सबै उम्मेदवारको नाम सफ्टवेयरमा राख्न समय लाग्छ। त्यो सकिएपछि १२ गते बिहानबाट मतदान कार्य सुरू हुन्छ,’ पाण्डेले भने। ११ गते दिनभर महाधिवेशन प्रतिनिधिहरूलाई भोटिङ मेसिनबाट मतदान गर्ने तालिम दिइने उनले बताए।
महाधिवेशनको तयारीका लागि मंसिर ५ गतेदेखि सचिवालय नै बन्दसत्र स्थलमा बस्ने पाण्डेले बताए।
प्रतिनिधिहरूका लागि डिजिटल परिचयपत्रको व्यवस्था गर्ने र परिचयपत्र नबोकेको अवस्थाका जो सुकैलाई पनि बन्दसत्र स्थलमा प्रवेश नदिने तयारी छ। महाधिवेशनमा देशभरबाट २ सय जना पत्रकारहरू पनि सहभागि हुने आँकलन पार्टीको छ। पत्रकारहरूका लागि मिडिया सेन्टरको व्यवस्था गर्न लागिएको र हरेक दिन पत्रकार सम्मेलन गरेर जानकारीहरू दिने पाण्डेले बताए। महाधिवेशनअघि विभिन्न जनवर्गीय संगठनहरूले महाधिवेशनको सन्दर्भमा छलफल कार्यक्रमहरू गर्ने उनले बताए।
‘९ गते बुद्धिजिवी परिषदले चितवनमा महाधिवेशनको विषयमा छलफल कार्यक्रम गर्दैछ, त्यसअघि काठमाडौंमा विभिन्न जनवर्गीय संगठनले त्यस्तै कार्यक्रम गर्नेछन्,’ उनले भने।
नेकपा एमालेले सौराहाका होटलहरूलाई करिब ४ हजार जना नेता, कार्यकर्ताहरूलाई राख्नेगरी तयारी गरेको छ। सह–संयोजक पाण्डेले क्षेत्रीय होटल संघ नेपाल सौराहा र रेष्टुरेन्ट तथा बार एसोसिएशनसँग १० गतेदेखि १२ गतेसम्मका लागि ३५ सयदेखि ४ हजार वटा बेडहरू उपलब्ध गराउन आग्रह गरेको बताए।
‘हामीलाई ३५ सयदेखि ४ हजार बेड ग्यारेन्टी गरेर मात्र अरूलाई भाडामा देउ, हामीलाई नदिई मिलेन भनेर भनेका छौं,’ उनले भने, ‘सबै पैसा हामी एकमुष्ट पैसा तिर्छौं।’
महाधिवेशनमा सहभागि हुन आउने कार्यकर्ताका लागि पार्टीले २ रात सुत्ने ५ छाक खाना खाने व्यवस्था मिलाएको छ। त्यसभन्दा बढी बस्नेले खर्चको व्यवस्था आफैंले गर्नुपर्ने पाण्डेले बताए।
बन्दसत्र हुन लागेको होटल सेभेन स्टारका सञ्चालक माधव दवाडीले महाधिवेशनका लागि आवश्यक व्यवस्थापन चलिरहेको बताए। हरेक दिन नेताहरू आएर सरसल्लाह गर्ने गरेको जानकारी दिँदै उनले धेरैको सहभागिता रहने भएकाले त्यहीअनुसारको व्यवस्थापन गर्न कर्मचारीहरू खटेको बताए।
‘१ गतेदेखि ८ गतेसम्म विभिन्न कार्यक्रमहरूका लागि होटल बुक भइसकेको छ। त्योसँगै हामी महाधिवेशनको व्यवस्थापनमा पनि जुट्छौं,’ उनले भने।
कोरोना भाइरसको संक्रमण कम हुन थालेसँगै सौराहामा पर्यटकको चहलपहल बढ्न थालेको छ। आन्तरिक पर्यटकले सौराहाका होटलहरू भरिभराउ हुन थालेको छ। शनिबार र बिदाका दिन होटलमा कोठा पाउनै मुस्किल पर्ने गरेको छ।
पार्क सफारी रिसोर्टका सञ्चालक महेश खनालले पाहुनाले बुक भइसकेको भएपनि एमालेका नेताहरूले महाधिवेशनका लागि कोठा चाहियो भनेपछि बुकिङ् क्यान्सिल गरिएको बताए।
‘कोरोना महामारीले चौपट भएको व्यवसायमा चहलपहल देखिँदैछ। घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढिरहेको छ,’ उनले भने, ‘राष्ट्रिय पार्टीको महाधिवेशन नै यहीँ हुने भएपछि त चहलपहल थप बढेर जाने अपेक्षा गरेका छौं।’
होटल जंगल सफारीका सञ्चालक सुमन घिमिरेले घुम्न आउने पर्यटकका अलावा तामिल, सेमिनार, विवाहलगायतका कार्यक्रमहरू पनि सौराहाका होटलहरूमा बढ्न थालेको बताए।