चितवनमा हुने महाधिवेशनमा एमालेले लाखौं कार्यकर्ता उतार्ने दावी गरेको छ। उक्त महाधिवेशनको तयारीमा खटिएकी छन्, एमालेकी चितवन अध्यक्ष दिलकुमारी रावल 'पार्वती'।
मंगलबार बिहान ८ बजे हामी उनलाई भेट्न नेकपा एमालेको चितवन जिल्ला कार्यालय पुगेका थियौं।
कार्यालय परिसरमा जिल्ला नेता,कार्यकर्ताको जमघट सुरू भइसकेको थियो। कार्यालयका कर्मचारी, स्वयमंसेवकहरूलाई राष्ट्रिय महाधिवेशन तयारीको चटारो थियो।
अध्यक्ष रावल कार्यकक्षभित्र भेटघाटमै व्यस्त। पहिलै समय लिएकाले एकैछिन कुरेपछि उनलाई भेट्ने पालो आयो।
उनि दिनमा कति घण्टा खट्छिन्?
यो प्रश्नको जवाफ उनले सजिलै दिइन्- बिहान ६ बजेदेखि राति १० बजेसम्म।
उनी महाधिवेशन व्यवस्थापन मूल समितिमा सदस्य छिन्। अतिथि सत्कारको तयारी, पाहुना व्यवस्थापनका काम, सुरक्षा व्यवस्था लगायतका धेरै किसिमका समन्वय र तयारीमा उनी जुटेकी छन्। जिल्ला अध्यक्ष भएकाले पनि उनलाई कामको चाप बढी छ।
‘देशको सबभन्दा ठूलो पार्टीको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ। जिल्लाको नेतृत्वमा रहेका कारण मेरो जिम्मेवारी ठूलो छ,’ कुराकानीको सुरूआत गर्दै उनले भनिन्, ‘बिहान ६ बजेदेखि राति १० बजेसम्म तयारीमै हुन्छु। महाधिवेशनलाई कमजोरीरहित बनाउन कम्मर कसेर लागेका छौं।’
पहिले एमाले अध्यक्षले बुटवलमा महाधिवेशन गर्ने बताएका थिए। तर पछि चितवनमा गर्ने निर्णय भयो।
एमाले महाधिवेशन चितवनमा गर्नुको आफ्नै रणनीतिक पाटो छ।
चार वर्षअघि एमाले र माओवादी मिलेर बनेको नेकपा गएको फागुनमा सर्वोच्च अदालतको आदेशले छुट्टिएको थियो, पछि एमाले पनि विभाजन भयो। कार्यकर्ता विभाजित भए। यी पार्टीबीच तिक्तता कायमै छ। त्यसैले यो महाधिवेशन उसका लागि महत्वपूर्ण त छँदैछ, पहिले भन्दा फरक पनि छ।
नेकपाबाट छुटिएको माओवादीका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र हो चितवन।
यहाँ एमालेले महाधिवेशन गर्नु रणनीतिक चाल देखिन्छ। अध्यक्ष केपी शर्मा ओलीले त दाहाललाई चुनौती दिएका छन्- ल मेरो क्षेत्रमा महाधिवेशन गरेर देखाउनू।
एमालेकी चितवन अध्यक्ष रावल भने यहाँ महाधिवेशन गर्नुका धेरै कारण भएको बताउँछिन्।
देशकै केन्द्र, सबै कुराले सुविधा भएको र पार्टीलाई अप्ठ्यारो पर्दा मरिमेटेर सहयोग गरेको जिल्ला भएकाले महाधिवेशन चितवन सारेको रावलको भनाइ छ।
त्यसमाथि महाधिवेशनले यहाँको पर्यटनलाई गति दिने सोचाइले पनि नेतृत्वले चितवन रोजेको उनको तर्क छ।
‘कोरोना महामारीपछि धराशायी बनेको पर्यटन क्षेत्रलाई गति दिँदै आर्थिक गतिविधि बढाउने र कम्युनिष्ट आन्दोलनमा सधैं महत्वपूर्ण भूमिका खेल्दै आएको चितवनबाट समग्र देशलाई राजनीतिक सन्देश दिने पार्टी नेतृत्वको मनसाय म देख्छु,’ उनले भनिन्।
बुटवल, नेपालगञ्ज, जनकपुर लगायतका सहरमा पार्टीले पहिल्यै महाधिवेशन गरिसकेकाले यसपटक भरतपुरमा गर्न चितवनका नेताले नेतृत्वलाई आग्रह गर्दै आएका थिए।
तर एउटा कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने बताए। एमालेमा ओलीको बोली नै निर्णय हुने समय छ।
हैन चितवनमै महाधिवेशन गर्नुपर्छ भनेर सम्झाउन रावलसहितका केही नेता अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए।
ओलीले रावललाई सोधे, ‘चितवनमा महाधिवेशन गर्न सकिन्छ?’
‘सकिन्छ, बन्दसत्रका लागि ठूला हल त छैनन् तर व्यवस्थापन गर्न सकिन्छ,’ उनले जवाफ दिइन्।
त्यतिखेर ओलीले विधान महाधिवेशन छुट्टै हुने भएकाले बन्दसत्रका लागि पहिलेजस्तो झन्झट नहुने बताएका थिए।
रावल जिल्ला फर्किएर पार्टीको काममा केन्द्रित भइन्। तीन वर्षदेखि गर्नुपर्ने टन्नै काम थिए।
जिल्ला पार्टीमा केही विवाद थिए। माधव नेपाल समूह छाडेर आएका, रामबहादुर थापा 'बादल’ समूहका नेता-कार्यकर्ताको व्यवस्थापन गर्नुपर्ने थियो।
सबैलाई मिलाएर स्थानीय तहमा अधिवेशन गराउनुपर्ने थियो।
कात्तिक ४ गते सबै पक्षलाई समेटेर उनको अध्यक्षतामा जिल्ला समितिको बैठक बसिरहेको थियो, महासचिव ईश्वर पोखरेलको फोन आयो।
पोखरेलले स्थायी समितिले चितवनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको जानकारी गराए।
‘त्यसपछि बैठकको माहोल नै फरक भयो, पार्टी नेतृत्वको निर्णयले हामी असाध्यै उत्साहित भयौं,’ उनले भनिन्, ‘भोलिपल्टै पत्रकार सम्मेलन गरेर चितवनमा महाधिवेशनको तयारी सुरू भएको घोषणा गर्यौं।’
कात्तिक ५ यता करिब एक महिनाको अवधिमा महाधिवेशनका धेरै तयारी पूरा भइसकेको उनले बताइन्।
‘तीन वर्षमा गरिने काम एकै महिनामा सक्नुपर्दा कामको चाप त निकै छ तै पनि यसलाई अवसरका रूपमा लिएर नेकपा एमाले चितवन एक ढिक्का भएर अघि बढेको छ,’ उनले भनिन्, ‘हामी देश, विदेशबाट आउने पाहुनालाई न्यानो स्वागत गर्न तम्तयार भएका छौं।’
रावल यसअघि जिल्ला सचिव थिइन्। पार्टी जुट र फुटको परिस्थितिले उनलाई जिल्ला अध्यक्षको जिम्मेवारी दियो।
२०७७ सालको पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि झण्डै दुई तिहाइ बहुमतमा रहेको नेपाल कम्युनिष्ट पार्टीमा विभाजन देखिन थाल्यो।
ओली एकातिर, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल अर्कोतिर भए। पार्टीमा स्पष्ट दुई धार देखिए। त्यतिखेर चितवन नेकपाको जिल्ला समितिमा ओली पक्षधर दश प्रतिशत पुर्याउन पनि मुस्किल थियो।
तत्कालीन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का नेपाल समूहमा लागेका थिए।
तेस्रो वरियतामा रहेकी थिइन्- पार्वती रावल। वरियताका हिसाबले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी उनैको काँधमा आइपुग्यो।
जिल्लामा बलियो देखिएको प्रचण्ड-नेपाल समूहले भरतपुर-७ मा रहेको पूर्वएमालेको र भरतपुर-४ मा रहेको पूर्वमाओवादीको पार्टी कार्यालय कब्जा गरिसकेको थियो।
ओली समूहका लागि न कार्यालय थियो न त कागजपत्र। रावल नेतृत्वको समूहले भाडाको कोठामा पार्टी कार्यालय स्थापना गर्यो।
उता जिल्ला कार्यालयको सुरक्षा गरिदिन प्रशासनलाई आग्रह गर्यो। पूर्वएमालेको कार्यालयमा प्रहरी तैनाथ भए। दुवै पक्षले त्यो कार्यालय प्रयोग गर्न पाएनन्।
नेकपाभित्र अल्पमतमा देखिएको ओली समूह कार्यकर्ता खोज्दै हिँड्न थाल्यो।
‘भूमिकाविहीन, असन्तुष्ट कार्यकर्तालाई भेटेर निर्वाचित अध्यक्षलाई सहयोग गर्नुपर्यो, पार्टी विधान अनुसार महाधिवेशन भएर अरू कोही अध्यक्ष भए भने मानौंला तर अहिलेलाई निर्वाचित अध्यक्षलाई नै समर्थन गर्नुपर्छ भनेर मनाउन थाल्यौं,’ रावलले सुनाइन्, ‘हाम्रो कुरामा सहमत हुनेको संख्या बढ्दै जान थाल्यो।’
केही दिनमा यो समूहले चितवनमा ५९९ सदस्यीय जिल्ला समिति नै घोषणा गर्यो।
‘यो समूहमा नेता नै छैनन् भन्नेहरूलाई यसले ठूलो झट्का लाग्यो,’ रावलले सुनाइन्, ‘त्यसपछि संगठन विस्तारमा पूरै जिल्ला समिति खटियो।’
माघ १७ गते प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भरतपुरमा ६ लेन सडक र सिटी हलको शिलान्यास गर्न आए।
त्यतिखेर जिल्ला समितिले केन्द्रीय बसपार्क नजिकैको चौरमा जनसभाको आयोजना गरेको थियो। सभामा हजारौं कार्यकर्ता सहभागी भए। त्यो सहभागिताले पार्टीलाई थप हौस्यायो।
नेपाल समूहमा लागेका जिल्ला अध्यक्ष कृष्णभक्त पाखरेल त्यतिन्जेल ओली समूहमा आइसकेका थिए।
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग बनाइदियो। चितवनमा ओली समूहलाई अझ बलियो भयो।
पार्टी छुटिएपछि एमालेले आफ्नो कार्यालय फिर्ता पायो।
माओवादीका रामबहादुर थापा 'बादल’ निकटका नेता, कार्यकर्ता ओली समूहमा खुलेर आए।
माधवकुमार नेपालले नयाँ पार्टी बनाएपछि पनि असन्तुष्ट नेताहरू नेकपा एमालेमा फर्किए।
‘यी सबै घटनाक्रमहरूले हामीलाई थप उर्जा मिल्दै गयो,’ जिल्ला अध्यक्ष रावलको भनिन्, ‘कुनै दिन मान्छेहरू चितवनमा खोइ ओली समूहमा कार्यकर्ता भन्थे, अहिले ९९ प्रतिशत यतै आइसके।’
पार्टी फुटको संघारमा पुग्दाका सुरूआती दिनमा सानो समूहको नेतृत्व गरेकी रावल अहिले देशकै सबैभन्दा ठूलो पार्टीको राष्ट्रिय महाधिवेशन हाँक्ने कमाण्डरका रूपमा चिनिएकी छन्।
पार्टी महाधिवेशन चितवनमा गर्ने ६१ वर्षदेखिको सपना यसपाली नेतृत्वमा पूरा हुँदैछ।
नेकपा एमालेले आदर्श मान्ने पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मनमोहन अधिकारीहरुले नेतृत्व गरेको तत्कालीन नेकपाले २०१७ सालमा तेस्रो महाधिवेशन चितवनमा गर्ने तय गरेको थियो। तर केही दिन अघिमात्रै राजा महेन्द्रले निर्वाचित सरकार बर्खास्त गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाइदिए।
राजा महेन्द्रको कदमका कारण तुहिएको कम्युनिष्ट पार्टीको केन्द्रीय महाधिवेशन चितवनमा गर्ने सपना ६१ वर्षपछि पूरा हुनेछ।
रावलको राजनीतिक यात्रा
रावल अहिले राष्ट्रिय सभा सदस्य हुन्। साथै, उनी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति पनि हुन्। ३९ वर्षको उमेरमा उनी राष्ट्रिय सभा सदस्य बनेर समितिको सभापति पनि बनेकी थिइन्।
२०३५ सालमा पूर्वी चितवनको चैनपुरमा जन्मिएकी रावल २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनपछिका प्रायः पार्टी गतिविधिमा चासो राख्न थालिन्।
त्यो निर्वाचन हुँदा ८ वर्षकी थिइन्। उनले जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको निकै चर्चा सुनेकी थिइन्।
‘गाउँ, घर जताततै भेटवाल र उनको निर्वाचन चिन्ह छाताको चर्चा खुब हुने गर्दथ्यो, बुवाहरू पनि यही विषयमा गफ गरिराखेको सुन्थें,’ उनले भनिन्, ‘२०४६ सालतिर त साथीहरूसँग ट्रक चढेर नारायणगढमा भएको आन्दोलनमै आउन थालें। आन्दोलनमा महिलाले पाइन्ट लगाएर भाषण गरेको देख्दा नौलो लाग्थ्यो। यस्तै हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो।’
चैनपुर कुनाघारी प्राथमिक विद्यालय पछि उनले जनजागृति मावि पिठुवाबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गरिन्।
टाँडीमा रहेको सहीद स्मृति क्याम्पसमा आइए पढ्दा उनी विद्यार्थी राजनीतिमा सक्रिय हुन थालिन्।
अनेरास्ववियुको क्याम्पस अध्यक्ष, क्षेत्र नम्बर २ को अध्यक्ष, जिल्ला सदस्य, जिल्ला सह-सचिवसम्म बनिन्।
२०५४ सालको स्थानीय निर्वाचनको समयमा उनले चितवनका विभिन्न ठाउँमा पुगेर भाषण गरिन्। छिटो र स्पष्ट बोल्ने भएकाले उनलाई त्यतिखेर धेरै नेता, कार्यकर्तामाझ चिनिएकी थिइन्।
उक्त निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्यायो। २०५५ मा उनले पार्टीको सदस्यता लिइन्।
रावल त्यसपछि पार्टीको गाउँ, वडाहरूमा सक्रिय हुन थालिन्।
अखिल नेपाल महिला संघ हुँदै उनी युवा संघमा पनि सक्रिय भइन्। युवा संघको जिल्ला सदस्य, सचिव हुँदै अध्यक्ष पनि बनिन्।
२०६४ सालमा युवा संघको जिल्ला अध्यक्ष रहेको समय रावललाई संविधान सभा निर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव आएको थियो।
भर्खरै २९ वर्ष पुगेकी रावलले आफूलाई यति छिटै यस्तो प्रस्ताव आउला भन्ने सोचेकी पनि थिइनन्।
‘माओवादी भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको थियो, हल्ला निर्वाचनमा माओवादी र एमालेबीच तालमेल हुनसक्छ भन्ने पनि थियो।
चितवनको निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसको राम्रो प्रभाव भएको क्षेत्र भएकाले एमालेका नेताहरूले खासै महत्व दिन्नथे।
'एक जना महिला उम्मेदवार चाहिन्छ भनेर पनि हुनसक्छ मलाई प्रस्ताव आइपुग्यो,’ उनले भनिन्, ‘सुरूमा त होइन होलाजस्तो लागेको थियो। इच्छुक पनि थिइनँ तर पार्टीले निर्णय गरेपछि स्वीकार गरेर चुनाव लडें।’
त्यो निर्वाचनमा रावलले ६ हजारभन्दा बढी भोट ल्याइन्। नेकपा माओवादीका चित्रबहादुर श्रेष्ठले चुनाव जिते। कांग्रेसका टेकप्रसाद गुरूङ दोस्रो भए।
त्यतिखेर विजय सुवेदी एमालेका जिल्ला अध्यक्ष थिए। रावल जिल्ला सदस्य पनि भइसकेकी थिइनन्। सुवेदीपछि अध्यक्ष बनेका कृष्णप्रसाद खनालको पालामा उनी जिल्ला सदस्य बनिन्। त्यसपछि जगन्नाथ थपलिया जिल्ला अध्यक्ष हुँदा उनी उपसचिव बनिन्। थपलियापछि कृष्णभक्त पोखरेलको अध्यक्षतामा जिल्ला समिति निर्वाचित भयो। रावल चुनाव लडेर जिल्ला सचिव बनिन्।
२०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पनि पार्टीले उनलाई पहिलेकै क्षेत्रमा उम्मेदवार बनायो।
यो चुनाव उनका लागि निकै चुनौती थियो तर महत्वपूर्ण पनि थियो। किनभने उनका प्रतिद्वन्द्वी थिए-नेपाली कांग्रेसका सभापति।
त्यो बेला नेपाली कांग्रेसबाट पार्टीका केन्द्रीय सभापति सुशील कोइराला नै चुनाव लड्न यस क्षेत्रमा आइपुगेका थिए।
रावलले निर्वाचन जित्न नसके पनि भोट बढाइन्। यो पटक उनको भोट १० हजार नाघेको थियो। माओवादीका उम्मेदवारको भोट पनि उनकै हाराहारीमा थियो।
कांग्रेसका सभापति कोइरालाले बाँकेमा पनि चुनाव जितेका थिए। एक क्षेत्र छाड्नुपर्दा उनले चितवनको क्षेत्र छाडे। यहाँ उपनिर्वाचन हुने भयो। पार्टीले तेस्रो पटक रावललाई उठायो। नेपाली कांग्रेसले रामकृष्ण घिमिरेलाई चुनावमा उठायो। यसपटक भने रावललाई चुनाव जितिन्छ कि भन्ने लागेको थियो। त्यहीअनुसार प्रचारमा खटिइन्। तर पार्टीले भने खास महत्व दिएको थिएन।
२०७१ सालको असारमा उपनिर्वाचन हुँदै थियो सोही महिनामा पार्टीको राष्ट्रिय महाधिवेशन पनि हुनेवाला थियो। यसपटक रावलले १८ हजारभन्दा बढी भोट ल्याइन्।
‘त्यो चुनावमा मैले कांग्रेसका उम्मेदवारलाई कडा टक्कर दिएँ, जित्छु नै भन्ने लागेको थियो तर केही भोटले फेरि हार्नुपर्यो,’ उनले सुनाइन्, ‘भोट गनेपछि बल्ल हाम्रा नेताहरूलाई लाग्यो थोरै बढी मेहनत गरेको भए जितिने नै रहेछ।'
६ महिनामा ८ हजार भोट बढाउनु चानचुने कुरा थिएन।
'जे होस् यो पटक चुनाव नजिते पनि जनताको मन चाहिँ जितेंझैं लाग्यो,’ उनले भनिन्।
तीन पटक निर्वाचन हार्दा पनि रावल विचलित भइनन्। बरू यसबाट पाठ सिक्दै पार्टीको काममा सक्रिय बन्दै गइन्।
२०७४ सालमा स्थानीय तहको निर्वाचनमा पनि महानगरमा उम्मेदवार बन्न प्रस्ताव आयो। तर संविधान सभाको सदस्यमा चुनाव लडेको मान्छे स्थानीय तहमा जान हुँदैन भनेर उनले प्रस्ताव स्वीकारिनन्। विभिन्न आयोगका लागि आएका प्रस्ताव पनि उनले स्वीकार गरिनन्।
पछि प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाउने कुरा ल्यायो। उनले पार्टीले निर्णय गरे तयार हुने बताइन्। तर पार्टीले उनलाई राष्ट्रिय सभाका लागि रोज्यो।
‘एकातर्फ पारिवारिक जिम्मेवारी, अर्कातर्फ राजनीतिक, सामाजिक जिम्मेवारी सकेसम्म सन्तुलनमा राख्ने प्रयास गर्दै यहाँसम्म आइपुगेको छु,’ रावलले भनिन्, ‘महिलाका लागि यो सब गर्न गाह्रो त छ। तै पनि म पार्टी र संगठनका लागि जुनसुकै जिम्मेवारी पूरा गर्न सक्छु भनेर लागिरहेको छु।’
रावलको चाहना यसपटकको महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने छ। पार्टीलाई अप्ठ्यारो पर्दा जिल्लाको नेतृत्व लिएर संगठनलाई चलायमान बनाएकी रावल अब जिल्लाको नेतृत्व हस्तान्तरण गरेर केन्द्रीय राजनीतिमा होमिन चाहेकी छन्।
‘तर यो कुरा मैले भनेर मात्रै भएन। म यसका लागि सक्षम छु भनेर आफ्नो कुरा राख्छु,’ उनले भनिन्, ‘बाँकी कुरा त पार्टीको नेतृत्वले के भन्छ त्यसमा पनि भरपर्छ।’
यो पनि:
दुई वर्षे छोरालाई सकेसम्म सिंहदरबार लैजाने सांसद