काठमाडौंको संस्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै मेयर बालेन शाहले महानगरको नीति तथा कार्यक्रम घोषणा गरेका छन्।
उनले आइतबार महानगरपालिकाको एघारौं नगरसभा बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनलाई महत्वका साथ समेटिएको छ।
‘सांस्कृतिक सहर समृद्ध नगर’ को मूल नारा बोकेर महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै महानगर हराभरा बनाउने उनले बताएका छन्।
मेयर शाहले भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनसँगै भौतिक पूर्वाधार विकास, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशीलता, कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार, फोहोरमैला व्यवस्थापन लगायत लैंगिक समानता र सामाजिक समावेशीकरणलाई नीति तथा कार्यक्रममा जोड दिएका छन्।
महानगरभित्र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको विश्रामका लागि बस स्टपमा फल्चा निर्माण गर्ने कार्यक्रममा छ। उनले डबलीहरू पनि पुनर्स्थापना गर्ने भनेका छन्।
नेवा समुदायमा प्रचलित स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पूरा गरी अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न पहल गर्ने घोषणा पनि गरिएको छ।
महानगरको कार्यालय रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको बागदरबारलाई मेयर शाहले प्रबलीकरण गर्ने घोषणा गरेका छन्।
हाँडीगाउँको लिच्छविकालीन सभ्यताबारे विस्तृत अनुसन्धान गर्ने कार्यक्रम पनि छ। प्राचीन सभ्यताको धरोहरका रूपमा रहेको हाँडीगाउँ क्षेत्रमा होमस्टे सञ्चालनको व्यवस्था मिलाइने र यसका लागि तालिम दिने उनले भनेका छन्।
महानगरका करदाताको स्वास्थ्य बिमाका लागि ५० प्रतिशतसम्म अनुदान दिने घोषणा गरिएको छ। सहरी योजना आयोगलाई काठमाडौं महानगरपालिकाको विशिष्टीकृत योजना कार्यालयका रूपमा विकास गरिनेछ।
युवा पुस्ताको नवीन सोच र प्रविधिप्रति आकर्षणलाई बढावा दिन काठमाडौंमा बिजनेस हब स्थापना गर्ने कार्यक्रम छ। यसका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिनेछ।
स्टार्टअपका माध्यमबाट उद्यमी बन्न चाहने युवालाई डिजाइन, उत्पादन, प्रविधि, बजार, वित्त व्यवस्था, कानुनी प्रक्रिया लगायत परामर्श एकैथलोबाट उपलब्ध गराउने मेयर शाहले बताएका छन्। छनोट भएर आएका २० परियोजनालाई पाँच लाख रूपैयाँका दरले अनुदान उपलब्ध गराइने छ।
सामुदायिक विद्यालयका हकमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पाउने विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको सुविधा वृद्धि गरिनेछ।
महानगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार र स्वास्थ्य सचेतनाका लागि महानगरको सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरू खटाइने घोषणा गरिएको छ।
ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न एक सय बेडको अस्पताल निर्माण गरिनेछ। शाहले २०७८ असार मसान्तभित्र ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूलाई विशेष भत्ताबापत वार्षिक १२ हजार रूपैयाँ उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने बताएका छन्।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण गर्न वडास्तरमा महानगरपालिका ज्येष्ठ नागरिक मनोरन्जन केन्द्रलाई मिलन केन्द्रका रूपमा सञ्चालन गरिनेछ।
उनले महिलाहरूलाई सीपमूलक तालिम दिई आयआर्जनमा सहभागी गराउन महानगर महिला उद्यमशिलता सहजीकरण केन्द्र स्थापना गर्ने भनेका छन्।
भौतिक पूर्वाधारमा शाहले फ्लाइओभर, अण्डरपास, आकासे पुल, पार्किङ भवन, सडक विस्तार लगायत टेलिफोन, इन्टरनेट र विद्युतका तार भूमिगत गर्ने बताएका छन्। रानीपोखरी, शङ्खधर पार्क र खुला मञ्चसमेत समेटेर बृहत रानीपोखरी विकाससम्बन्धी गुरूयोजना तर्जुमा गरिने उनले उल्लेख गरेका छन्।
अतिक्रमण भएका जग्गालाई खुला क्षेत्रका रूपमा विकास गर्ने पनि उनले भनेका छन्।
महानगरभित्र रहेका सार्वजनिक जग्गाको विद्युतीय अभिलेखीकरण गरी अतिक्रमित जग्गाको अतिक्रमण हटाउने र त्यस्ता जग्गालाई बालमैत्री उद्यान, योग पार्क, ज्येष्ठ नागरिक पार्क एवं खुला क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम छ। कम्तिमा एक वडा एक पार्कको अवधारणा अगाडि बढाउने मेयर शाहले बताएका छन्।
निजी क्षेत्र र अन्य नगरपालिकासमेतको सहकार्यमा उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा जिपिएस जडान गर्नुका साथै यात्रुहरूले विद्युतीय माध्यमबाट सवारी भाडा तिर्न सक्ने व्यवस्था मिलाइनेछ।
हनुमानढोका परिसर तथा कोत क्षेत्रमा रहेका पुरातात्विक मापदण्डविपरीतका नेपाली सेना, साविक जिल्ला प्रहरी कार्यालय, कान्ति ईश्वरी र कन्या निकेतन विद्यालय रहेका संरचना हटाई उक्त क्षेत्रको बृहत गुरूयोजना बनाएर कार्यान्वयन गरिनेछ।
जुद्ध वारूणयन्त्र भवन अगाडि र तलेजु मन्दिर उत्तरतर्फ रहेका अनधिकृत टहराहरू हटाई उक्त स्थानमा खुला सत्तल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
निजी क्षेत्रका व्यवसायी, स्थानीय समुदाय, सुरक्षा निकाय, यातायात व्यवसायी लगायतसँग सहकार्य गरी पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरूमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न नीतिगत प्रबन्ध र पूर्वाधारको व्यवस्था मिलाइने उनले बताएका छन्।
रिचार्ज काठमाडौं अभियानअन्तर्गत प्रत्येक वडाको कम्तिमा एउटा सार्वजनिक वा सामुदायिक स्थलमा आकासे पानी संकलन तथा पुनर्भरण गरिनेछ। हाल प्रयोगमा रहेका सार्वजनिक शौचालयहरू स्तरोन्नति गरिनेछ। यसका लागि सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू गरिने उनले बताए।
रेस्टुरेन्ट, सपिङ मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरूको शौचालयमा सर्वसाधारणको पहुँच वृद्धि गरिनेछ।
उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ र प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गरिने जनाइएको छ।
माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माण गरिनेछ। अन्य स्थानमा साइकल लेन निर्माण सम्बन्धमा सम्भाव्यता अध्ययन गरिने मेयर शाहले बताएका छन्।
महानगरपालिकाको आफ्नै स्वामित्वमा रहेको टेकुको जग्गामा आधुनिक बहुतले पार्किङ भवन निर्माण सुरू गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना छ।
थापाथलीदेखि बाँसबारीसम्मको सडकमा सवारी साधन लेन, बस लेन, साइकल लेन तथा फुटपाथ व्यवस्थित गर्ने कार्य सुरू गर्ने घोषणा गरिएको छ।
काठमाडौंको भित्री सहरमा रहेका पुराना भवनहरूबाट हुने जोखिम न्यूनीकरण गर्न त्यस्ता भवन रहेको स्थानमा सुविधासम्पन्न एकीकृत बस्ती विकास गर्दै लगिने नीति तथा कार्यक्रममा छ।
महानगरले सुरक्षित भवन निर्माण गर्न प्रोत्साहित गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी जग्गाधनीको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्दा नक्सा पास दस्तुरमा ९० प्रतिशत छुट दिने नीतिलाई निरन्तरता दिने भनिएको छ।
नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय प्रणालीबाट नक्सा पास प्रक्रियामा जोड दिने र पूर्ण रूपमा कागजरहित र भौतिक उपस्थितिरहित सेवा प्रवाह गर्ने जनाइएको छ।
विपद व्यवस्थापनलाई समयमै सम्बोधन गर्न महानगरपालिका क्षेत्रको जोखिम नक्सांकन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तर्जुमा गरिनेछ।
महानगरले प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैला दीगो व्यवस्थापन गर्ने घोषणा गरेको छ।
फोहोर न्यूनीकरण, पुनःप्रयोग र प्रशोधन गर्न स्रोतमै फोहोर वर्गीकरण गर्ने व्यवस्था मिलाउने शाहले बताएका छन्।
महानगरले फोहोर वस्तु संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा उर्जा उत्पादनका लागि काठमाडौं लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरूमा ‘वेस्ट टु इनर्जी प्लान्ट’ जडान गर्ने नीति बनाएको छ।
शाहले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गर्ने भनेका छन्।
सबै वडा कार्यालयहरूमा गुनासो सुन्ने व्यवस्थालाई प्रभावकारी बनाउने घोषणा गरिएको छ। नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपसँग आबद्ध गराउँदै महानगरको सेवाप्रवाहलाई प्रविधिमैत्री बनाइनेछ।
शाहले नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विभिन्न जात्रापर्वलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गर्ने भनेका छन्।
इन्द्रजात्रा अवसरमा काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध तथा सहकार्य भएका अन्तर्राष्ट्रिय सहरहरूका मेयर तथा प्रतिनिधि आमन्त्रण गरी यो जात्रा विश्वस्तरमा परिचित गराउने उनले बताएका छन्।
डडेलधुराको अमरगढी नगरपालिका र धनकुटाको पाख्रिबास नगरपालिकाको पर्यटन पूर्वाधार विकासका लागि एक करोड ५० लाख रूपैयाँ अनुदान सहयोग गरिने जनाइएको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकालाई समेत विपद् व्यवस्थापनका लागि क्रमशः २ करोड ५० लाख र ५० लाख रकम उपलब्ध गराइने भएको छ।