बञ्चरेडाँडा र सिसडोलका स्थानीयले भदौ १ देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएपछि मंगलबारबाट काठमाडौंको फोहोर व्यवस्थापन सहज हुने आशा गरिएको थियो। तर त्यस्तो भएन।
फोहोर लिएर गएका गाडीलाई मंगलबार पनि बाटो छेकियो। प्रहरीले भीड नियन्त्रणमा लिन हवाई फायर गर्नुपर्यो।
सरकारले स्थानीय माग सम्बोधन गर्न प्राविधिक परामर्शदातासहितको अध्ययन समिति गठन गर्ने र तीन महिनाभित्र प्रतिवेदन दिने भनेपछि बञ्चरेडाँडा-सिसडोल संघर्ष समितिले आन्दोलन स्थगन गरेको थियो।
बञ्चरेडाँडा-सिसडोल संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले 'तीन महिना अध्ययन समितिलाई सहयोग गर्ने र त्यसपछि पनि माग सम्बोधन नभए नयाँ कार्यक्रम घोषणा गर्ने' बताएका थिए।
संघर्ष समितिका संयोजकले नै सार्वजनिक रूपमा यस्तो भन्दाभन्दै मंगलबार फोहोरका गाडी किन रोकिए?
हामीले मंगलबार साँझ ढुंगानालाई 'आन्दोलन फिर्ता लिँदा पनि फोहोर फाल्न किन अवरोध पुर्याएको' भनी प्रश्न सोधेका थियौं। उनले आजको घटनामा आफूहरू संलग्न नरहेको बताएका छन्।
'आज फेरि विरोध भयो भन्ने मैले पनि थाहा पाएँ,' उनले भने, 'यसमा हाम्रो हात छैन। सरकारले हाम्रा माग सम्बोधन गर्न काम सुरू गरेको छ भनेर चिठी पठाएपछि हामीले अहिलेको आन्दोलन फिर्ता लिइसकेका छौं।'
उनले अगाडि भने, 'सरकारले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्न तीन महिना लाग्ने भनेपछि हामीले त्यति समय दिएका छौं। तै पनि त्यहाँ कुन समूहले गाडी रोक्ने काम गरिरहेको छ भन्ने हामीलाई थाहा छैन।'
जुन समूहले गरेको भए पनि बञ्चरेडाँडामा फोहोरका गाडी रोकिएपछि त्यसको जिम्मेवारी संघर्ष समितिले लिनुपर्छ कि पर्दैन भन्ने प्रश्नमा ढुंगानाको जवाफ थियो, 'सिसडोल र बञ्चरेडाँडाका प्रभावित जनताका तर्फबाट हामीले नै लामो समयदेखि आन्दोलन गर्दै आएकाले त्यहाँ कुनै घटना हुँदा हामीमाथि जिम्मेवारी आउनु स्वाभाविक हो। हामीले सरकारलाई समय दिएर आन्दोलन फिर्ता लिइसक्दा पनि कुन समूहले बाटो छेक्ने काम गरिरहेको छ भन्नेमा हामी आफैं छक्क छौं।'
मंगलबारको घटनाले संघर्ष समितिमाथि दबाब आइपरेको उल्लेख गर्दै उनले भने, 'हामी यसबारे स्थानीयसँग कुराकानी गर्नेछौं। कुनै समूहले अहिलेको अवस्थाबाट फाइदा उठाउन खोजिरहेको छ भने पहिचान गरेर किनारा लगाउने छौं।'
संघर्ष समितिले आफ्नो माग पूरा गर्न सरकारलाई साउन ३१ सम्मको अल्टिमेटम दिएको थियो। अल्टिमेटम सकिनु दुई दिनअघि मात्रै सरकारले प्राविधिक परामर्शदातासहितको समिति गठन गरेपछि आन्दोलन स्थगन गरिएको हो।
संघर्ष समितिका संयोजक ढुंगानाले नै मंगलबारको घटनामा आफूहरूको हात नभएको बताएपछि हामीले काठमाडौं महानगरपालिकाको वातावरण विभागका उपनिर्देशक सरिता राईसँग यसबारे कुरा गर्यौं।
उनले मंगलबारको आन्दोलन संघर्ष समितिले नभई अर्कै पक्षले गरेको हुनसक्ने बताइन्।
बञ्चरेडाडाँमा विभिन्न समूह, पार्टी र व्यक्ति सक्रिय रहेको उल्लेख गर्दै राईले तिनैमध्ये एक हुन सक्ने जानकारी दिइन्। कुन समूहले गरेको हो भन्ने चाहिँ उनले पनि खुलाउन सकिनन्।
उनका अनुसार यो समूहले आफ्नो आधिकारिक मागसमेत राखेको छैन।
'श्रीराम ढुंगानाजीको समूहले सोमबार नै आन्दोलन फिर्ता लिने घोषणा गरेको हो,' उनले भनिन्, 'तर यहाँ विभिन्न समूहले पूर्वजानकारीबिनै आन्दोलन गर्ने गरेका छन्।'
उनले अगाडि भनिन्, 'उहाँहरूको के, कस्तो माग हो, महानगरलाई पनि थाहा छैन। सरकारलाई भनेका छन् भने हामीलाई जानकारी भएन। उहाँहरूको माग फोहोर फाल्नै दिन हुन्न भन्ने हो कि के हो, केही पनि बताएका छैनन्।'
फोहोर व्यवस्थापनमा सहजीकरण गरिदिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई बारम्बार पत्र पठाएर छलफल गरेको पनि राईले जानकारी दिइन्।
'कुनै माग छ भने महानगरसँग वार्ता गर्न आउनुपर्यो,' उनले भनिन्, 'त्यसपछि बल्ल कुरा अगाडि बढ्छ। अहिले त आन्दोलन गर्ने को हो, उहाँहरूको माग के हो भन्ने पनि थाहा छैन।'
काठमाडौंका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा समस्या उत्पन्न गराउन 'राजनीतिक खेल भइरहेको' टिप्पणी गरेका थिए।
सत्तारूढ तीन दलका स्थानीय नेताले नै बञ्चरेडाँडाको आन्दोलनमा साथ दिने घोषणा गरेका थिए।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको धादिङ धुनिबेसी नगरपालिका- १ का अध्यक्षले पीडित जनताको आन्दोलनमा आफूहरूको साथ रहने भन्दै आइतबार संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा कांग्रेसका पूर्णसिंह तामाङ, माओवादी केन्द्रका विष्णु तामाङ र एकीकृत समाजवादीका भिषण धितालले हस्ताक्षर गरेका छन्।
विभिन्न चरणमा काठमाडौं महानगर लगायत निकायसँग १७४ वटा सहमति हुँदा पनि कार्यान्वयन नगरेको उनीहरूको विज्ञप्तिमा छ। महानगर लगायतका निकायले सहमति कार्यान्वयन नगरी राज्यशक्ति दुरूपयोग गर्दै पीडित जनतालाई दुःख दिएको उनीहरूको आरोप छ।
यसबीच आइतबार बिहानै तारेकश्वर नगरपालिका-३, आठमाइलको खोलाको मुहानमा फोहोर फालेको र दिउँसो गाडीले बाख्रा मारेको भन्दै बञ्चरेडाँडामा फोहोरका गाडी रोकिएका थिए।
मंगलबार पनि फोहोर पुर्याउन हम्मे पर्यो। काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई सिसडोल र बञ्चरेडाँडाको बीचमा पर्ने आलेटारमा रोकियो। केही समूहले दिनभरि डाँडामा बसेर गाडीमाथि ढुंगा हाने।
अवरोध हटाउन गएको प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।