सिसडोल र बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध नगर्नेबारे स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच बुधबार सहमति भएको छ।
काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा भएको बैठकमा चारबुँदे सहमति भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।
मंगलबार दिउँसो २ बजे सुरू बैठक साँझ ७ बजे सकिएको थियो।
सहमतिको पहिलो बुँदाअनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउँदै हिँड्न पाउने छैन। लिचड चुहिएर बाटो वरिपरिका गाउँ नै दूषित हुनुका साथै स्थानीय बासिन्दालाई समस्या हुँदै आएको थियो।
यो समस्या हल गर्न फोहोर बोक्ने गाडीहरूले लिचड नचुहिने व्यवस्था गर्नुपर्नेछ। सात दिनभित्र फोहोर बोक्ने सबै गाडीले लिचड नचुहिने व्यवस्था गरेपछि मात्र काठमाडौं महानगरपालिकाले ढुवानीको व्यवस्था मिलाउने सहमतिमा उल्लेख छ।
दोस्रो बुँदाले धूलो र दुर्गन्धको समस्या सम्बोधन गरेको रिसालले बताए।
कच्ची बाटोमा फोहोर ओसार्ने गाडीहरूले धूलो उडाएर स्थानीयलाई बसिनसक्नु अवस्था थियो। त्यसमाथि सिसडोल र बञ्चरेडाँडाको डम्पिङ साइटबाट निस्कने दुर्गन्धले टाढाटाढासम्म प्रभाव पार्दै आएको थियो।
धूलो नियन्त्रण निम्ति सडकमा नियमित पानी छर्किने सहमति भएको छ। यसका लागि पानी ट्यांकरको व्यवस्था गरिनेछ। त्यस्तै फोहोर विसर्जन गरिने ठाउँबाट दुर्गन्ध फैलिन नदिन नियमित औषधि छर्किने पनि सहमतिमा उल्लेख भएको रिसालले बताए। यी दुवै जिम्मा काठमाडौं महानगरपालिकालाई दिइएको छ।
‘फोहोर बोक्ने गाडीले बाटोमा फोहोर खसाल्दै हिँडिरहेको हुन्छ, फोहोर लिएर जाँदा कसरी खस्दैन त्यसरी नै लिएर जानुपर्छ,’ उनले भने।
तेस्रो बुँदाअनुसार काठमाडौं महानगरपालिकाले प्रत्येक तीन दिनमा फोहोर थुपारेको ठाउँलाई माथिबाट छोप्नुपर्नेछ। स्थानीय सुरक्षा निकायले नियमित अनुगमन गरी यसको जानकारी सम्बन्धित सरोकारवालाहरूलाई दिने व्यवस्था मिलाउने सहमतिमा छ।
चौथो बुँदा फोहोरमैलासँग सम्बन्धित छैन। यसमा आसन्न प्रदेश र संघीय निर्वाचनलाई हेरेर तीनवटै जिल्लाको सुरक्षा व्यवस्था समन्वय गर्ने उल्लेख छ।
यसबाहेक स्थानीय बासिन्दासँग गरिएका पुराना सम्झौता कार्यान्वयनमा लैजान पहल गर्ने पनि कुरा भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रिसालले बताए।
धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले आज भएको सहमति काठमाडौं महानगरले पूर्ण रूपमा पालना गर्ने आशा व्यक्त गरे।
‘आज भएको सम्झौता महानगरले राम्ररी पालना गर्छ भन्ने आशा गरेका छौं,’ उनले भने, ‘धुनीवेशी नगरपालिका-१ का स्थानीय नेताहरूलाई जुन कारबाही गर्न उजुरी परेको थियो, त्यो पनि हुँदैन।’
यसअघि सत्तारूढ तीन दलका स्थानीय नेताले नै बञ्चरेडाँडाको आन्दोलनमा साथ दिने घोषणा गरेका थिए।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको धादिङ धुनिबेसी नगरपालिका- १ का अध्यक्षले पीडित जनताको आन्दोलनमा आफूहरूको साथ रहने भन्दै आइतबार संयुक्त विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा कांग्रेसका पूर्णसिंह तामाङ, माओवादी केन्द्रका विष्णु तामाङ र एकीकृत समाजवादीका भिषण धितालले हस्ताक्षर गरेका थिए।
उनीहरूले संयुक्त विज्ञप्ति निकालेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो।
आचार्यले भने ती नेताहरूले बञ्चरेडाँडामा फोहोर फालेकोमा होइन, अव्यवस्थित ढंगले फालेकोमा विरोध गरेको बताए।
बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य लगायत जनप्रतिनिधि तथा केही स्थानीयहरू सहभागी थिए।
बञ्चरेडाँडा संघर्ष समितिका प्रतिनिधिहरूलाई यसमा सामेल गराइएको थिएन।
‘जनप्रतिनिधिहरू मात्रै छलफलमा बस्ने भनेपछि हामीले केही भनेनौं,’ संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने, ‘यो बैठकले जे गरे पनि हामीले भन्दै आएको माग सम्बोधन हुनुपर्यो।’
यो पनि हेर्नुहोस्: