धरानका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोरमैला र खासगरी मेयर बालेन शाहलाई लक्षित गरी सामाजिक सञ्जालमा लगातार टिप्पणी लेखिरहेका छन्। उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषाशैलीलाई लिएर सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ।
यसै सन्दर्भमा सेतोपाटीले धरानका मेयर साम्पाङलाई उनका स्ट्याटसहरूबारे कुराकानी गरेको छ।
हामीले उनलाई सोध्यौं, ‘तपाईंले किन बालेनलाई नै लक्षित गरी स्ट्याटस राख्नुभयो?'
जवाफमा साम्पाङले काठमाडौं सबैको साझा राजधानी भएकाले टिप्पणी गर्नु आफ्नो अधिकार भएको बताए।
‘यो हामी सबैको राजधानी होइन? कि तपाईंहरूको मात्र हो?’ उनले भने, ‘हामी सबैको हो भने यो मेरो पनि राजधानी हो। मैले मेरो राजधानीमा कुनै कुरा भएको छैन भनेर बोल्न पाउने कि नपाउने?’
उनले अगाडि भने, 'मैले धरानको मेयरका रूपमा होइन, एक आममानिसका रूपमा काठमाडौंका सडकमा थुप्रिएका फोहोरमैलामाथि टिप्पणी गरेको हुँ। मैले बालेनलाई व्यक्तिगत रूपमा लक्षित गरेको होइन। काठमाडौं महानगरलाई लक्षित गरी व्यंग्य हानेको हुँ।'
काठमाडौं महानगरलाई काम गर्न कठिन भएको भए आफूहरू सहयोग गर्न तयार रहेको बताउँदै हर्कले भने, ‘एक जनाले गुलेली हान्यो, बाख्रा मार्यो भनेर हुन्छ, काम गर्न त डङ कि डङ लाग्नुपर्यो नि। काम गर्न कठिन भएको भए भन्नुस्, हामी सहयोग गर्छौं। महानगरले फोहोर उठाउन नसकेको हो भने मेचीदेखि महाकालीसम्मको जनतालाई फोहोर उठाउन अनुरोध गरे हुन्छ, सबै जना सहयोग गर्न आउने छन्।'
आफूले सामाजिक सञ्जालमा लेखेका टिप्पणीलाई आलोचनाका रूपमा होइन, सुझावका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ, ‘आलोचनालाई सुझावको रूपमा लिनुपर्यो नि! जबसम्म फोहोर उठ्दैन तबसम्म प्रहार गरिरहन्छु।’
केही दिनअघि काठमाडौं आएका साम्पाङले फर्केलगत्तै आफ्नो फेसबुकमा काठमाडौंको फोहोर सफा होस् भन्ने कामना गर्दै स्ट्याटस लेखेका थिए। त्यसको एक घन्टापछि उनले अर्को स्ट्याटस लेखे, ‘जसले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ! कमसे कम काम त सुरू गरे!’
यही स्ट्याटसमुनि बालेनले जवाफ फर्काए, 'हो नि! तपाईंकै लौरा चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि।'
यो क्रम यतिमै सीमित रहेन। त्यसपछि हर्कले लगातार दुइटा स्ट्याटस लेखे।
पहिलो थियो- ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा!’
दोस्रोमा उनले लेखे- ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो! नामले खाएकाहरू हो... तिमेरूको रिस उठोस् बेस्सरी! काम गर काम हावा तालका हो।’
यति मात्र होइन, उनले काठमाडौंको फोहोरमैलामाथि टिप्पणी गर्दै भिडिओ पनि सार्वजनिक गरे। आफ्ना सबै स्ट्याटस र भिडिओमा उनले खासगरी बालेनलाई लक्षित गरी
व्यंग्य हानिरहेका छन्। उनले प्रयोग गरेको भाषाशैली 'अशिष्ट' र 'अमर्यादित' भएको टिप्पणी सामाजिक सञ्जालहरूमा आइरहेको छ।
सामाजिक सञ्जालमा लेखेका यिनै कुरा उनले काठमाडौं आएका बेला बालेनलाई भेटेरै भन्न सक्थे। भेट्न खोज्दा-खोज्दै पनि बालेनले इच्छा नगरेका हुन् कि हर्कले नै नचाहेका हुन्?
हामीले सोधेको यो प्रश्नमा हर्कको जवाफ थियो, 'मैले पहिलेदेखि सबै कुरा फेसबुकमा लेख्ने गरेको छु। त्यसैले यो सुझाव फेसबुकबाटै दिएको हुँ। मैले यस्तो स्ट्याटस लेखेको पहिलोपटक होइन। मन्त्रीदेखि प्रधानमन्त्री सबैलाई आलोचना र व्यंग्य गर्दै आएको छु। यही कुरा भन्न बालेनलाई भेटेर चार-पाँच घन्टा किन खर्च गर्नु, पाँच मिनेटमा हुने कुरालाई। त्यसैले मैले बालेनलाई भेट्नै खोजिनँ।’
आफूले टिप्पणी गरेको भोलिपल्टदेखि नै राष्ट्रिय युवा संघ लगायतले फोहोर उठाउन महानगरलाई साथ दिएको उनले दाबी गरे।
उनले काठमाडौंको फोहोरका कारण धरानका उपमेयर अइन्द्रविक्रम बेघालाई पखाला लागेको समेत बताए।
‘हाम्रो उपमेयरलाई त्यहाँ बसुन्जेल पखाला लाग्यो,’ उनले भने, ‘त्यसपछि मैले व्यंग्य गरेको हुँ। जबसम्म फोहोर उठ्दैन, म व्यंग्य गरिरहन्छु।'
उनले अगाडि भने, ‘जुन दिनसम्म काठमाडौंको फोहोर सोहोरिँदैन, सहर सफा हुँदैन। त्यसैले धरानले मात्र होइन, चारैतिरबाट प्रहार गर्नुपर्छ अनि बल्ल काम हुन्छ।’
धरानमा श्रमदान प्रवर्द्धन गर्दै आएका साम्पाङले ढुंगा बोक्नु मात्र श्रमदान नभएको बताए।
'ढुंगा बोक्नु मात्र श्रमदान होइन तर फेसबुक चलाएकोलाई श्रम गरेको भन्न मिल्दैन। उहाँहरूले त फेसबुकमा लेखेको मात्र देखियो,’ उनले भने, ‘खै त काम गरेको? फेसबुक मात्र चलाएर त हुँदैन नि!’
उनले यो पनि भने, ‘पहिले मेयरले पनि ढुंगा कुट्न हुन्छ र भन्थे! मैले कुटेँ त। रूख पनि रोपेँ, ढुंगा पनि उचालेँ। केही भयो त? भएन। मेयर भएर टुलुटुली नहेरी काम गर्न फिल्डमै खटिनुपर्छ।'
जनप्रतिनिधिहरू देश बनाउने अभियानमा लागेकाले सबैतिरका र सबै किसिमका बेथितिबारे बोल्नुपर्ने धारणा उनले राखे।
‘यहाँ कसैको केही बेथिति छ भने त्यसविरूद्ध बोल्नुपर्छ र सुधार गर्नुपर्छ,’ उनले भने, ‘काठमाडौंको फोहोर उठेन भनेर मैले टिप्पणी गरेको हुँ, बञ्चरेडाँडामा फोहोर भयो भनेर होइन। मेरोमा पनि केही छ भने भन्नुस्, म त सुझावको रूपमा लिन्छु।’
चुनाव चिह्नको विषयमा पनि हर्क र बालेनबीच जुहारी चलेको थियो। यी दुवै स्वतन्त्र उम्मेदवारले लौरो चिह्न लिएर चुनाव लडेका थिए।
यस सम्बन्धमा हर्कले आफूले धारा चिन्ह्र माग्दा संयोगले लौरो पाएको बताए।