काठमाडौंका मेयर बालेन शाह र नयाँबानेश्वरस्थित अल्फाबिटा ग्रुपका सञ्चालक द्विराज शर्माबीच बिहीबार दिउँसो भएको चर्काचर्कीले व्यापक चर्चा पायो।
खासमा यो घटनामा के भएको थियो?
मेयर शाह पहिलोपटक अल्फाबिटा जाँदा अनधिकृत संरचना निरिक्षणका लागि मात्र गएका थिए। त्यही क्रममा उनले अल्फाबिटा ग्रुपका सञ्चालक शर्मालाई भवन निर्माणको नक्सा मागे।
शर्माले भने भवन निर्माणको नक्सा आफूसँग नभएको र त्यो महानगरसँगै हुनपर्ने भन्दै पन्छिन खोजे।
उनको यही जवाफपछि शाह र शर्माबीच चर्काचर्की परेको थियो।
‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको होइन? तपाईंको घरको नक्सा मसँग हुन्छ?’ बालेनले शर्मासँग झोँक्किँदै भने।
उनको यस्तो जवाफपछि त्यहाँ 'जनप्रतिनिधि भएर जनतासँग यस्तरी बोल्ने' भन्दै उनको विरोध भयो। त्यसपछि चाहिँ शाह अलि मत्थर भएका थिए।
अल्फाबिटाका सञ्चालक शर्माले पनि आफूहरूले नियमविपरीत काम नगरेको दाबी गरे।
पहिलोचोटि निरीक्षण निम्ति जाँदा महानगरको टोली नक्सा नबोकी घटनास्थल पुगेको थियो। त्यसैले अल्फाबिटाको दाबीपछि टोली केही बेर बसेर कुराकानी मात्र गरी फर्किएको थियो।
महानगरको टोली अफिस आएर अल्फाबिटाको नक्सा हेर्दा सञ्चालकले दाबी गरेजस्तो देखिएन। नक्साविपरीत अनधिकृत संरचना बनाएको भेटिएपछि बालेन दोस्रोपटक महानगरको टोलीसहित घटनास्थल पुगे।
त्यति बेला उनी यत्तिकै गएनन्। उनले आफू पुग्नुअघि नै डोजर पठाए।
उनले सबैका अगाडि आफूले पट्याएर ल्याएको नक्सा खोलेर पार्किङ भएको क्षेत्रफल देखाए। उनले एक फन्को घुमेर वरिपरि जम्मा भएका सबैलाई त्यो नक्सा देखाएका थिए।
त्यसपछि कम्प्लेक्सको एक व्यक्तिले संरचना भत्काउन छ-सात दिनको समय माग्यो। त्यति बेला काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रहरी नायब उपरीक्षक मीरा चौधरीले पनि त्यति दिनको समय दिन नसक्ने बताइन्।
बिहान कुरा गर्दा अनधिकृत संरचना नबनाएको दाबी गर्ने र अहिले समय चाहियो भनेर दुईवटा कुरा गर्न नमिल्ने चौधरीले बताएकी थिइन्।
बालेनले भने सबैलाई ३५ दिनको समय दिइसकेकाले थप समय कसैले नपाउने बताएका छन्।
‘हामीले आजै आएर मात्र भनेका होइनौं,’ उनले भने, ‘त्यो काम तपाईंहरूको हो।’
बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अनुगमनमा जाँदा कुनै पनि अवैधानिक काम नगरेको दाबी गरिए पनि पछि नक्सा हेर्दा अवैध रूपले संरचना बनाएको पुष्टि भएको बताए।
‘उहाँहरूले जुन व्यहोरा देखाउनुभो त्यो एकदमै अशोभनीय थियो, उहाँहरूले राम्रोसँग पनि जानकारी गराउन सक्नुहुन्थ्यो,’ उनले भने।
महानगर फर्किएर ओरिजिनल नक्सा हेर्दा अल्फाबिटाले दाबी गरेको गलत पाइएपछि एक्सनमा जानुपरेको उनले बताए।
त्यस्तै अल्फाबिटाको अवैध संरचनामा डोजर चलाएपछि शाहले फेसबुक स्टाटस लेख्दै आफूले केही नबिराएको बताएका थिए।
उनले लेखेका छन्, 'उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ। अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैं बुझेर अवैधानिक रूपमा बनाइएको संरचना हटाइदिनु होला। नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनु होला।'