काठमाडौं महानगरपालिकाले डोजर चलाएर संरचना भत्काएको एक हप्ता पुगेपछि पार्किङ र बेसमेन्टका लागि नक्सा पास भएका ठाउँ खाली गर्न अल्टिमेटम दिन थालेको छ।
पछिल्लो समय अनधिकृत संरचनामा डोजर चलाउने महानगरले सोमबारदेखि अल्टिमेटम दिन थालेको हो।
गत सोमबार बानेश्वरस्थित बानेश्वर प्लाजाबाट महानगरले अनधिकृत रूपमा बनाइएका संरचना भत्काउन सुरू गरेको थियो।
महानगरले हिजो (आइतबार) पनि रत्नपार्कको सव-वेमा बनेको संरचना हटाएको थियो। महानगरले आज (सोमबार) भने आफ्नो कार्यशैली फेरेको छ।
डोजर, ड्रिलिङ मेसिन र पिकको प्रयोग गरी संरचना भत्काउने महानगरको टोली आज विभिन्न ठाउँमा पार्किङका लागि बनाइएका ठाउँ खाली गर्न समय दिएर फर्किएको छ।
महानगरले डोजर लगाएर भत्काउन छोडेर कार्यशैली फेरेको भनी हामीले काठमाडौंका नगर प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेलाई सोधेका थियौं।
उनले महानगरले आफ्नो कार्यशैली नफेरेको बताए।
‘हामीले कार्यशैली फेरेको होइनौं तर आवश्यकताअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘यस्तो ठाउँमा डोजर ल्याई भत्काउने काम गर्नु राम्रो हुँदैन। आवश्यकता परेको खण्डमा भोलिका दिन डोजर पनि चलाउने छौं।’
आज निरिक्षणका लागि जाँदा पनि व्यापारीहरूले सहजै खाली गर्छु भनेका कारण उनीहरूलाई समय दिएको उनले बताए।
‘जसले अटेरी गर्छ त्यस्तो ठाउँमा मात्र डोजर चलाएका हौं,’ उनले भने, ‘जसले सहजै काम गर्छु भन्नुभएको छ। उहाँहरूलाई समय दिएका नै छौं।’
सोमबार पनि दिनहुँझैं महानगरको टोली अन्डरग्राउन्ड निरीक्षण गर्न काठमाडौंको कोर सिटी एरियामा पुगेको थियो। कोर सिटीमा पनि वडा नम्बर २४ मा नगर प्रहरी, नेपाल प्रहरी र वडाअध्यक्ष सहितको टोली सुरज आर्केडमा पुगेको थियो।
सुरूमा पत्रकारहरू मात्र पुगेपछि व्यापारीहरूले महानगर टोली आउने थाहा पाएका थिए। त्यसपछि व्यापारीहरूले सटर लगाएर बसेका थिए। महानगरको टोलीले सटर खोली स्थलगत निरीक्षण गर्यो। त्यसपछि नक्सामा भएअनुसार नै काम गर्न नगर प्रहरी प्रमुख राजु पाण्डेले निर्देशन दिए।
पाण्डेका अनुसार न्युरोडस्थित आर्केडको नक्सामा बेसमेन्ट मात्र भनी उल्लेख गरिएको छ।
बेसमेन्ट मात्र भनी उल्लेख गरे पनि बेसमेन्टमा पसल सञ्चालन हुँदै आएको छ। त्यसैले त्यहाँ रहेका पसलहरू हटाउन पाण्डेले निर्देशन दिएका थिए।
टोली पुग्नासाथ व्यापारीहरू आफ्नो सामान प्याक गर्ने तरखरमा लागिसकेका थिए। महानगर टोली त्यहाँबाट निस्कने बेलासम्म व्यापारीहरूले करिब ७० प्रतिशत सामान हटाइसकेका थिए। सबै आ-आफ्नो सामान प्याक गरी राख्न हतार थिए।
व्यापारीहरूले सहजै सामान निकाल्ने गरे पनि उनीहरूको एउटा गुनासो थियो। त्यही मध्येका एक प्रतिनिधि पात्र मनोज शर्मा हुन्। उनी करिब सात वर्षदेखि सोही स्थानमा चस्मा व्यापार गरिरहेका छन्। उनले सामान एकै दिनमा असरल्ल तरिकाले उठाउन परेकोमा दुःख पोखे। पसल हटाउनु पर्ने भनी आज मात्र थाहा पाएको उनले बताए।
‘घरका साहुजीहरूले केही दिनअघि मात्र थाहा दिनुभएको भए पनि सहज हुन्थ्यो,’ ती व्यापारी शर्माले भने, ‘मिडिया आएपछि मात्र थाहा पायौं। उहाँहरूले एकचोटि भन्न त सक्नुहुन्थ्यो नि!’
आर्केडका म्यानेजर रन्जित झाले आफूहरूले काम गर्ने सूचना दिन महानगर जानै आँटेको र सोही समयमा महानगर टोली आइपुगेको बताए।
‘आज नै महानगरलाई चिठी पठाउन जान लागेका थियौं,’ उनले भने, ‘हिजो सल्लाह पनि गरिसकेका थियौं। आज व्यापारीहरूलाई सामान हटाउन आग्रह गर्ने निधो पनि गरेका थियौं। एक्कासी महानगरको टोली आइपुगेकाले काम गर्न सकेनौं। व्यापारीहरूलाई पनि जानकारी दिन सकेनौं।’
झाले नक्सा अनुसार नै काम गर्ने बताए।
‘हाम्रो नक्सामा बेसमेन्ट मात्र भनेर उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यसैले बेसमेन्टमा रहेका पसलहरू बेलुकासम्म खाली गर्नेछौं।’
झाले त्यो बेसमेन्ट आगामी दिनमा गोदामका रूपमा प्रयोग गरिने बताए।
नगर प्रहरी प्रमुख पाण्डेले बेसमेन्टमा रहेका पसलहरूको सामान बेलुकीसम्म हटाई सक्न निर्देशन दिएका छन्।
ती पसलहरू बेलुकीसम्म खाली नभए महानगरले कारबाही गर्ने चेतावनी समेत उनले दिएका छन्।
आजै महानगरको टोली नजिकै रहेका दुई-तीन वटा घरमा समेत निरीक्षण गर्न पुगेको थियो। पसलको सामान जथाभावी राखी व्यापार गर्दा पैदलयात्रीलाई कठिन भएको भन्दै त्यस्तो नगर्न ती घरका घरबेटीलाई पाण्डेले आग्रह गरेका थिए। त्यसपछि व्यापारीहरूले सबै बाटामा भएका सामानहरू हटाई महानगरलाई सहयोग गर्ने प्रतिबद्धता जाहिर गरे।
लगत्तै महानगरको टोली बसन्तपुर प्लाजा पुगेको थियो। टोलीले प्लाजाको अन्डरग्राउन्डमा सञ्चालन हुँदै आएको ९९ बजार हटाउन निर्देशन दिएको थियो। उनीहरूले पनि उक्त बजार आजै हटाइसक्ने जनाएका थिए।
वडा नम्बर २४ का वडाध्यक्ष बिनोदकुमार राजभण्डारीले विशालबजारस्थित विशालबजार प्लाजामा पनि अनधिकृत संरचना बनाइएको भन्ने सूचना पाइएकाले निरीक्षणमा आएको बताए।
गेटबाट छिर्नासाथ दाहिनेतर्फ भएको दुई तले भवन अनधिकृत बनाइएको कारण नक्सा खोजी गर्न आएको उनले बताए।
‘हामीले यो भवन पनि नक्सा पास नगरी बनाएको भन्ने सूचना पाएका थियौं,’ उनले भने, ‘त्यसैले के हो सत्यतथ्य भनी बुझ्न आएका हौं। हामीले उहाँहरूलाई नक्सा देखाउन आग्रह गरेका छौं।’
प्लाजाका सञ्चालकलाई नक्सा ल्याउन भनी केही घन्टा कुर्दा पनि ती संरचनाको नक्सा ल्याउन प्लाजाको व्यवस्थापनले ल्याउन सकेन। त्यो समय व्यवस्थापकका कर्मचारीले आफूहरूको अख्तियार दुरूपयोग आयोगमा मुद्दा चलेको र त्यसैको सिलसिलामा सम्पूर्ण सक्कली कागजात आयोगले लगेको बताएका थिए।
धेरै समय कुर्दा पनि नक्सा देखाउन असफल भएपछि प्लाजाका व्यवस्थापकलाई महानगर र वडाले २४ घन्टे अल्टिमेटम दिएको छ।
‘आज तपाईंहरूले ती संरचनाको नक्सा देखाउनु भएको छैन,’ पाण्डेले भने, ‘तपाईंहरूसँग २४ घण्टाको समय छ, त्यतिबेलासम्म वडा कार्यालय र महानगरमा तपाईंहरूले नक्सा पेश गर्नुहोला। बुझाउन नसकेको खण्डमा अनधिकृत हो भनेर बुझिने छ र त्यही अनुसार कारबाही गरिनेछ।’
प्लाजा अनधिकृत भनिएको संरचनामा रंगरोगनको काम चलिरहेको थियो। पाण्डेले ती कामदारलाई तल आउन आग्रह गरेर नक्सा नदेखाएसम्म काम रोक्न आग्रह गरे।
त्यसपछि टोली न्युरोडस्थित नबिल बैंक रहेको भवन अवलोकनका लागि पुगेको थियो। गत बुधबार मेयर बालेन शाहले नबिल बैंकको बेसमेन्टमा बनाइएका संरचना हटाउन निर्देशन दिएका थिए।
महानगरको टोली पुग्नुभन्दा अघि नै ती ठाउँ खाली गरिसकिएको थियो। उक्त ठाउँमा नबिल बैंक रहेको थियो। आग्रह मानेर काम गरी महानगरलाई सहयोग गरेकोमा पाण्डेले कामको प्रंशसा समेत गरेका थिए।
आजै महानगरको टोली बिरा कम्प्लेक्स पुगेको थियो। उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड होलसेल पसलहरू राखिएका थिए। स्वीकृति लिँदा बेसमेन्टको भनी खुलाइएको र अहिले व्यवसाय गरिएको कारण महानगर टोली उक्त कम्प्लेक्समा पुगेको थियो।
कम्प्लेक्स र महानगर टोलीबीच लामो छलफल चलेपछि पसल हटाई अन्डरग्राउन्डमा गोदाम मात्रै चलाउने सम्झौता भएको छ।
महानगरको टोली पिनट्समा जाने योजना भएता पनि समय अभावले गर्दा जान नसकेको पाण्डेले बताए।
‘वडा नम्बर २४ मा मुख्यत: चार ठाउँमा अनधिकृत संरचना छन्। जसमध्ये तीनवटा स्थलमा निरीक्षण गरिसकिएको छ,’ पाण्डेले भने, ‘यो वडामा एक स्थल बाँकी छ। त्यो पनि गर्नेछौं।’
सबै व्यापारीहरूले सहजै सामान हटाएका छन्। उनीहरूको एउटै गुनासो छ, ‘बालेनले यो राम्रो काम गरेको होला, हो भने हाम्रो साथ पनि छ। तर घरबेटीले हामीलाई अग्रिम जानकारी गराउनुपर्थ्यो। उनीहरूको कारणले हामीले कठिनाई भोग्नुपर्यो। हामीले घाटा बेहोर्नुपर्यो।’